मैले हातमा डा. नवराज लम्सालको अग्नि महाकाव्य बोकेर खाजा टाइममा उसको क्याबिनमा छिरेँ। संयोगबस ऊ क्याबिनमा रहिछे। उसको छेउमा बस्ने समीर सर हुनुहुन्थ्यो।
हेलो, हाई, के छ? आराम छ ज्यानलाई। यस्तै छ, चलिराछ। बरु तपाईंको सुनाउनुहोस्। यस्तै भलाकुसारीका शब्द आदानप्रदान भए उहाँसँग।
अनि ‘मिनाजी खै त?’ मैले उसैलाई नै भेट्न आएको भान दिलाउने गरी सोधेँ।
‘खै, अलि अगाडि निस्किनुभा हो। खाजा खान झर्नुभयो कि?’ समीर सरले दिएको जवाफबाट पनि उसको गन्तव्य ठ्याक्कै पत्ता लाग्न सकेन।
केही समय उहाँसँगै गफिएर समय खर्चिएँ। उसलाई भेटेर फर्किनको लागि छुट्याइएको समयलाई पनि म्याद गरेँ मैले। बाहिर बरन्डातिर वरिपरि गरिरहेका स्टाफका छायाहरू एक-एक गरी नियालिरहेँ। अहँ, न ऊ आइपुगी, न त उसको छाया।
बसेँ, बसेँ, बसिरहेँ। कहाँ गई होली, हत्तेरी। म धेरै समय कसैको क्याबिनमा बसेर समय खर्चिने मान्छे होइन। उसलाई नभेटेर नजाने मनसाय भएपछि के लाग्यो, मैले उसलाई पर्खिन समयको म्याद थप गरिरहेँ।
केही छिनपछि मेरो पनि दाल गल्यो। ऊ आइपुगी उसको क्याबिनमा। ऊ आइदिई भन्दा पनि हुन्छ मेरो लागि त। ढोकैबाट दुई जोडेर मधुर मुस्कानमा मधुर वचन बोली।
‘सर, नमस्कार।’
‘नमस्ते, मिना जी।’
‘कता हराउनु भएको हो? तपाईंलाई भेट्न भनेर महाकाव्य बोकेर आएको छु।’
मैले आउनुको कारण दर्शाएँ।
‘ए ए, ठीक गर्नुभयो,’ यति भनेर ऊ आफ्नो घुम्ने कुर्सीमा बसी।
‘तपाईंले महाकाव्य, खण्डकाव्य, उपन्यास, निबन्ध जे दिए पनि म लिन्न, हुन्न दिनुस्। यहाँ कत्रो काम छ। पढ्ने फुर्सद पो कहाँ छ र।’
उसले अलि भाउ जनाई।
‘म तपाईंलाई किताब दिन कहाँ आएको हुँ र। किताबभित्र आरन र आरन चलाउने लोहारको सिङ्गो कथा छ। समाजले दलितप्रति गरेको जातीय विभेदको तिखो व्यङ्ग्य छ। यस्तै कथाहरू पढ्नुस्। र आफूभित्रको चेतनाको राँकोलाई प्रखर बनाउनुस्। एक दिन तपाईं पनि लेख्नु हुनेछ। आफ्ना पुर्खाको कहानी र यस्तै मदन पुरस्कार विजेताको सूचीमा तपाईंको नाम देख्न पाइनेछ। त्यही उत्साह जगाउन पो आएको हुँ त।’
मेरो उत्तरले कस्तो अनुभूति गरी कुन्नी।
तर पनि ‘भैगो, हुन्न दिनुस्। नदिनुस्। तपाईं कतिखेर किताब दिनुहोला र पढुँला भनेर बसेको छु र। सिधै दलित होस् तँ भन्नुस् न। म दलित भएकोमा कुनै अफसोच छैन। फेरि मसँग केको क्षमता छ र म कथा लेखुँ। कथा कसको हुँदैन र? कथा हुने सबैले कथा लेखेका छन् र? कथा लेखेका सबैले मदन पुरस्कार जितेका छन् र? म नवराज लम्सालको फ्यान र फलोअर्स हुँ। हुन्न दिनुस् मलाई यही किताब देखाएर उहाँजस्तै बन्नुस् नभन्नुस्। मेरो क्षमताले उहाँलाई नाप्दैन। बरु दुई/चार दिन पढ्न दिने भए पढिसकेर दिनुहोला।’
‘अहँ, हुँदैन। किताब त म दिँदै दिदिनँ कसैलाई। किताब भनेको किनेर पढ्ने हो। सबैले मागेरै पढे कसले किन्छ? लेखकको सम्मान कसरी हुन्छ?’
मैले आफ्नो किताब दिदै नदिने अडान छोडिनँ। मैले लेखकको सम्मान गरेको हुँ कि उसको अपमान गरेको हुँ। भित्रभित्रै खल्लो त लागिरहेकै थियो।
‘ल ल, भैगो, हुन्न दिनुस्। अहिले लैजानुस् तपाईंको किताब सिताव। म सके किनेर पढुँला, नत्र बिना पढाइ बसुँला। नबनुँला साहित्यकार। मलाई आफ्नो काम गर्न दिनुस् बरु।’
उसले जा भनिसकेपछि बसिरहनु पनि त भएन। उठें र लागें आफ्नो फाँटतिर। खाजाको टाइम पनि सकिसकेको थियो।
अर्को दिन खाजा टाइमकै मौका पारेर बागबजार पुगेँ र चार वटा किताब किनेर ल्याएँ। किताब झोलामै थिए। म आफ्नो काममा व्यस्त थिएँ।
कोबाट सुनिछ कुन्नी, ‘किताब किन्नुभा छ रे नि?’ भन्दै मेरो फाँटमा आइपुगी।
‘अँ त’ भन्दै आफ्नो झोला उधिनेँ मैले।
परिधि, ऐँठन, तोरकिन र एउटा मेडिटेशन बुक देखाएँ।
‘बरु यो किताब चार/पाँच पसलमा खोज्दा पनि भेटिएन। प्रदीप परियारको सियोधागो। दलित समुदायको पीडा समेटेकोले पढ्न खोजेको हुँ,’ कतै भेटिन्छ कि भनेर मैले मोबाइलमा किताबको फोटो देखाएँ उसलाई।
उसले खै, थाहा छैन भनी।
‘किताब पढ्न नपाए पनि हेरम भनेर आएको हुँ,’ उसले फेरि आशाको वाक्य मतिर फ्याँकी।
म अडान छोड्ने पक्षमा थिइनँ।
‘म किताब त कसैलाई नदिने, मिना जी। मेरा थुप्रै किताब लिएर फिर्ता गरेनन् मान्छेले। हुन त मेरै कमजोरी होला, मैले माग्नुपर्थ्यो आफ्ना बुकहरू।’
उसले ‘हैन, म समयमै फिर्ता गरुँला, दिनुस् न’ पनि भनिन्।
‘ल ल, नदिनुस् के। बरु यो तोरकिन ठाउँको नाम हो कि के हो।’
‘होइन, मुस्ताङका एक जना युवाको कथा हो रे। किनेर पढ्नु, पढ्ने भए।’
‘अब तरकारी किन्ने दाम त हुँदैन गोजीमा। यस खाल्डामा (काठमाडौं) किताब किनेर पढ्नु कसरी?’
उसले व्यङ्ग्यको एक झटारो हानी।
के सोची कुन्नी, फनक्क फर्केर जान्छु पनि नभनेर हिनी।
अर्को दिन उसको फेसबुक स्टाटस पढेँ।
‘शनिबार र आइतबार बिदाको सदुपयोगको लागि दलित समुदायको संघर्षको कथा सियोधागो पढ्दै...। यसले समाजमा दलित र गैरदलितको विभेदलाई अवश्य सिलाउने छ।’
हातमा किताब समाएको फोटो पनि थियो।
सोमबार इलेक्ट्रिक हाजिरी गर्ने ठाउँमा भेट भयो फेरि। अरू के सोधुँ, अँ एउटा कुरा सोधीहाल्छु सोचेर सोधेँ।
‘सियोधागो कहाँ भेटाउनु भएछ त?’
‘पढ्ने भए दिउँला नि, सर।’
उसको उत्तर व्यङ्ग्यात्मक हुन पनि सक्थ्यो किनकि मैले उसलाई कति पटक किताब माग्दा पनि दिएको थिइनँ।
‘नाईं, नाईं, भैगो’ मात्र भनेँ। यति भनेर म आफ्नो कार्यकक्षतिर हिँडेँ र ऊ पनि भर्याङ उक्ली।
त्यो दिन फेरि बागबजार पसेँ। कहाँ भेटाएको हो कुन्नि, त्यो किताब त मैले भेटाउँदै भेटाइनँ। अरू केही थान किताब किनेर फर्कें।
क्यान्टिनमा आफ्ना साथीहरूसँग चिया खाँदै थिई, म पनि छेवैको कुर्सीमा बसेँ। र सोधेँ, ‘कुन प्रकाशनको रहेछ सियोधागो किताब? भेटाइनँ आज पनि, मिना जी।’
मैले सोधेको उत्तर दिइन उसले तर भनी, ‘मैले पढिसकेँ। म भोलि ल्याइदिन्छु। लैजानुहोला के।’
उसले गरेको अफर हुन्न भन्नु न हुन्छ भन्नुको दोसाँधमा थिएँ म।
हुन्छ भनुँ, आफूले हरहालतमा दिएको थिएन। हुन्न भनुँ, छुट्टै कारण छैन।
फेरि थपिन्, ‘मसँग दुइटा छन्, एउटा ल्याइदिम्ला।’
‘हावा कुरा नगर्नुस्। दुइटा कसरी हुन्छ?’ यसपटक भने मैले जिद्दी गरेँ।
‘दिन नभए पनि लिन हुन्छ के, सर,’ झटारो कडा थियो।
‘हुन्न, लिन्नँ। किताब किनेरै पढ्नु पर्छ,’ म फेरि अलि आदर्शवान् बनेँ।
मैले प्रतिउत्तर जति मिलाउन खोज्दा पनि कता-कता नमिलेझैँ लागेकै थियो।
भोलिपल्ट सिधै हाजिर गरेर मेरो क्याबिनमा आई। एकछिन बसी।
‘सर, एक हजार छ कि सापटी पाऊँ न।’
उसको गरिबी र अभाव मलाई थाहा नभएको होइन। तर पनि उसले कसैसँग हात थापेको थाहा पाएको थिएँन। तर किन मागी, म पनि अन्योलै थिएँ।
‘भइहाल्छ नि’ भन्दै पर्सबाट पाँच सयका दुई लिनुहुन्छ कि हजारको एक भन्दै नोटहरू निकालेँ।
‘मलाई पाँच सयको एकै दिनुस्, भइहाल्छ।’
‘एउटा पाँच सयले हजारको कुरा कसरी होला त?’ मैले जिज्ञासा राखेँ।
फेरि पाँचै सय किन मागी, सोच्ने पालो आउँदै थियो। उसले भनेपछि पाँचै सय दिएँ।
पैसा झोलामा राख्दै थिई। मैले पनि बुझिसकेको थिएँ उसको चाल के हो भनेर। उहीँ झोलाबाट निकाली प्रदीप परियारको सियोधागो उपन्यास, जसलाई मैले धेरै दिनदेखि खोजिरहेको उसलाई पत्ता थियो। किताब टेबुलमा फुत्त फालेर आफू पनि फुत्त ढोकाबाट गायब भई।
‘मिना जी, होम डेलिभरीको पनि लाग्ला त’ भन्दै थिएँ। उसले नसुनेर हिँडिछ।
थुइक्क, मेरो पैसावाल व्यवहार।
किताबको मूल्य ६५० थियो। मैले २५ प्रतिशत छुटमा किनेको हो भनी।
दिनभरि सोचिरहेँ।
ऊ विक्रेता हो र? होम डेलिभर हो र?
मसँग भएका किताब माग्दा मैले दिएको होइन। मलाई किताब फ्रिमा दिन नखोजेकी पनि होइन। सित्तैमा लिँदैन भन्ने बुझेपछि सापटी पैसाको बहाना मिलाएरै मलाई मेरो स्वाभिमान बचाउन पैसा लिएकी हो।
बेलुका फेरि हाजिर गर्दै थिई। फेरि उही अर्को सियोधागो किताब निकालेर दिँदै थिई मलाई।
‘दिनभरि यही काम गर्नुहुन्छ कि क्या हो?’ मैले जिस्क्याएर सोधेँ।
‘कामले पाटन गएकी थिएँ। यो किताबमा मेरो समुदायको कहानी समेटिएको छ। घरमा राखुँला सोचेर एकप्रति फेरि ल्याएकी हुँ।’
‘लिनुस्, यो नयाँ। त्यो पुरानो मलाई दिनुस्।’
‘अक्षर पनि नयाँ र पुराना हुन्छन् र? मलाई सुरुमा दिएकै किताब ठीक छ। नयाँ तपाईं राख्नुस्।’
साहित्यका किताब पढेरै होला, मैले पनि भावुक हुन सिकेँछु क्यार।
त्यसपछि उसले नयाँ किताब झोलामा राखी। पहिला आफूसँग भएको पुरानो किताब दिई। पछि नयाँ किनेर नयाँ पनि दिन खोज्दै छे।
महाभारतको दानवीर कर्णलाई सम्झेँ।
किताब दिदैँ दिन्न भनेर अडान राख्ने म जस्तो छुच्चोलाई उसले स्नेहपूर्वक दिएको जवाफ साह्रै भारी परेको थियो।
एकपटक ऊसँग आफ्नो तुलना गरेँ। तुलोको एकापट्टि म थिएँ। हुत्तिएर आकाश पुगेको थिएँ। अर्को पट्टि ऊ थिई, झुकेर धर्तीमा टाँसिएकी थिई।
जीवन एउटा पाठशाला हो भने मैले सिकेको एउटा गतिलै पाठ थियो यो। पाँच सय रुपैयाँको सियोधागो किताबले मेरो स्वाभिमान जो बचाएको थियो।