आकाशको कुनै वर्ग हुँदैन, त्यहाँ उत्तर दक्षिण छुट्याउने बार हुँदैन, पूर्व र पश्चिमलाई रोक्ने पर्खाल हुँदैन। चराले उड्दा उसलाई कसैले सोध्दैन, तिमी कुन दिशाको उडानमा छौ? बादललाई कसैले जात, वर्ग र समूहको परिचय थमाउँदैन। आकाशको सुन्दरता नै सायद यही हो, त्यहाँ विभाजनका रेखाहरू देखिँदैनन्।
साहित्य पनि त्यस्तै एउटा आकाश हो। शब्दका चराहरू जहाँ स्वतन्त्र उड्छन्, संवेदनाका बादल जहाँ निस्फिक्री वर्षिन्छन् र कल्पनाका आदित्यहरू जहाँ सबैका लागि समान रूपमा उदाउँछन्। साहित्यको यही खुलापनले साहित्यलाई समाजको ऐना बनाएको हो। तर ऐनामा जब कसैले आफ्नो अनुहार मात्र देखाउन खोज्दछ, त्यहाँबाट ऐनाको निष्पक्षता हराउन थाल्दछ।
वर्गका इँटाहरू थपिँदै जाँदा, विभाजनका पर्खालहरू अग्लिँदै गएका इतिहास छन्। विभेद मेट्ने यात्रामा हामी कतै फेरि विभाजनकै नयाँ बाटो त बनाइरहेका छैनौँ? प्रश्न अलि असजिलो छ। तर असजिला प्रश्नहरू नउठाई समाजका पुराना घाउहरू पुर्न सकिँदैन।
हो, दलितले लेख्नुपर्दछ। अवश्य लेख्नुपर्दछ। आफ्नो इतिहास, आफ्ना पुस्तौँदेखि पिल्सिएका घाउ, आफूले भोगेको अपमान, आफ्नो संघर्ष, आफ्ना सपनाहरू लेख्नुपर्दछ। लामो समयसम्म जसका कथा अरूले लेखे, अब उसले आफ्नो कथा आफैँ लेख्नुपर्दछ, आफ्नो न्यायको लागि लेख्नुपर्दछ।
तर एउटा प्रश्न छ- के आफ्नो कथा लेख्नको लागि लेखकलाई एउटा छुट्टै साहित्यिक वर्गमा राख्नैपर्दछ र?
मेरो प्रश्न दलितको आवाजसँग होइन। मेरो प्रश्न त्यो आवाज वरिपरि कोरिन सक्ने सीमासँग हो। साहित्यलाई वर्गको नाममा विभाजन गर्दै जाँदा भोलि त्यही वर्गीकरण अर्को विभेदको आधार बन्न सक्दैन र? आज आवश्यकता खड्किएको 'दलित साहित्य', भोलि यही परिचयले लेखकलाई दलदलको घेरामा घिसारिदियो भने?
यदि हिजो कामको आधारमा वर्ग छुट्टाइएको थिएन भने आज मानिस, 'मानिस' मात्र हुन्थ्यो, बाहुन, क्षेत्री, मगर, नेवार, दमाइ, कामी, सार्की वा तामाङ केही पनि हुँदैनथ्यो।
अब साहित्यकारलाई पनि वर्ग छुट्टाएर यही दलदलमा फसाउने संरचना त निर्माण भइरहेको छैन? यही समाज हो, भोलि फेरि संघर्ष गर्नुपर्नेछ साहित्यकार हुनका लागि दलित साहित्यकारहरूले। किनभने यो समाजले पक्का भिराउनेछ दलित साहित्यकारको ट्याग। अपहेलित गर्नेछ दलित साहित्यकार भनेर।
उसले प्रेम लेख्नेछ- दलित साहित्य।
उसले प्रकृति लेख्नेछ- दलित साहित्य।
उसले मानवता लेख्नेछ- दलित साहित्य।
यसरी त साहित्य फेरि चिच्याएर रुनेछ भोलि।
मलाई डर त्यही सम्भावनासँग हो।
हो, पहिचान आवश्यक छ, तर पहिचान मानिसको अन्तिम सीमा हुनु हुँदैन। लेखकको जात उसको जीवनको एउटा सत्य हुन सक्दछ। उसको वर्ग उसको अनुभवको एउटा तह हुन सक्दछ। त्यसलाई उसको लेखाइको पिँजडामा थुनिदिने र?
हो, लेख्ने आफ्नो जमिन नै हो, जन्मभूमि नै हो, तर त्यही जमिन सधैँ गन्तव्य हुन सक्दैन। दलितले आफ्नो पीडा लेख्दा त्यो पीडा दलितको मात्र भएर नबसोस्। त्यसलाई गैरदलितले पढेर उसको विवेक हल्लियोस् र आफू बसेको र बाँचेको समाज बुझोस्। तब मात्र एउटा व्यक्तिको घाउ सामाजिक चेतनामा बदलिन्छ।
साहित्यको शक्ति पनि यही नै हो– एउटा मानिसको आँसु अर्को मानिसको आँखामा छचल्कियोस्। एउटा घरको अँध्यारोले अर्को घर असहाय महसुस गरोस् र एउटा घरको उज्यालोले अर्को घरको पिँढी उज्यालिओस्।
मलाई लाग्दछ, हामीले खोज्नुपर्ने फरक आवाज हो, फरक पर्खाल होइन। पर्खालले त फेरि विभेद जन्माउँछ, पर्खाल नै नरहनु पो मुक्ति हो। हिजो दलित वर्गलाई मूलधारबाट बाहिर राखियो भनेर आज त्यसका लागि अर्को स्थायी घेरा बनाउनु अन्तिम समाधान पक्कै होइन। घरलाई फराकिलो हुन दिने हो, ढोकाहरू खुल्ला राखिदिने हो। तब न माटोमुनिका बिउहरू स्वतन्त्र उम्रिन पाउँछन्।
म कार्ल मार्क्सलाई सम्झिन्छु, कार्ल मार्क्सले वर्गसंघर्षको अवधारणामार्फत समाजमा रहेका वर्गीय विभाजन र त्यसबाट पैदा हुने द्वन्द्वलाई व्याख्या गरे। लाग्दैन, हामीले भावी पुस्तालाई नयाँ-नयाँ वर्गका पर्खाल भत्काउने कार्ल मार्क्सहरू जन्माउने वातावरण सिर्जना गर्दैछौँ?
हुन त थाहा छ मलाई- एउटा वर्ग लामो समयदेखि स्वतन्त्र छ, निष्पक्ष छ, मैदानमा उसको तयारी प्रशस्त छ, यस्तोमा वर्षौँदेखि बन्धनमा जकडिएको पुस्तालाई एउटै मैदानमा दौडिन लगाउनु जायज हुँदैन, तर यसो भन्दै गर्दा फेरि पनि उसलाई निश्चित जमिन दिएर दौडिन लगाउँदा ऊ त्यस जमिनमा मात्र हराउन सक्छ। त्यसैले उसलाई खुला मैदानमै छोडिदिऔँ। होला केही समय लाग्ला, तर ऊ आफ्ना प्रतिद्वन्द्वीसँग जुध्दै सिक्नेछ र हामीले छुटाउन खोजेको जमिनभन्दा धेरै अगाडि पुग्नेछौँ।
हामी पुराना विभेदका विरुद्ध उभिएका हौँ भने नयाँ विभाजनको बीज पनि जोगाएर राख्नु हुँदैन। दलितको साहित्य लेख्ने हो, लेखाउने हो, उत्प्रेरणा जगाउने हो, सम्मान गर्ने हो, किनभने दलितको कथा दलितको मात्र होइन, सिमान्तको आवाज सिमान्तलाई मात्र सुनाउने होइन।
साहित्य त्यतिबेला फराकिलो हुन्छ, जब एउटा समुदायको कथा पढेर अर्को समुदायको अन्तरहृदय कोमल हुन्छ।
समाजलाई हेर्ने आँखा तिमीसँग पनि छ, मसँग पनि छ, तिमीले देखेको समाजको घाउ मैले भोगेको समाजको घाउ फरक हुन सक्छ। हामीहरूका दृष्टि फरक हुन सक्छन्, यसो भन्दैमा हामीले आँखाको वर्ग बनाउनुपर्दछ भन्ने होइन। हामीले फरक दृष्टि स्वीकार्ने हो, फरक 'दूरी' होइन। वर्गको नाममा दलितका साहित्य अझै समाजबाट दूरीमा विस्थापित नहोस्।
मलाई त डर त्यो दिनसँग हो, जब 'दलित साहित्यकारको' ट्याग हटाउन फेरि अर्को वर्गसंघर्षको आवश्यकता पर्यो भने? आज परिचयको आवश्यकताको लागि उठाइएको आवाज भोलि उपहासको ऐनामा पिल्सिरहने त होइन?
जबसम्म वर्ग छुट्याइँदैन तबसम्म साहित्यमा जातले विभेद गरेको छैन।
वर्गले सीमारेखा कोर्छ, सीमारेखाले दूरी बढाउँछ र आफ्नोपन घटाउँछ।
आज सम्मानको लागि दिएको नाम भोलि गिज्याउने हतियार बन्न सक्छ।
लेखकलाई आफ्नो जात लुकाउन भनिएको होइन। आफ्नो इतिहास बिर्सन भनिएको होइन। बरु उसले यति स्वतन्त्र भएर लेख्न पाओस् कि उसको जातबाट जन्मिएको शब्द अन्ततः सम्पूर्ण मानवताको ढुकढुकी बनोस्। साहित्यले समाजका पर्खाल देखोस्, पर्खालमाथि प्रश्न उठाओस्। साथै पर्खाल भत्काउने साहस देओस्, तर आफैँ अर्को पर्खाल नबनोस्, पछि आगामी पुस्तालाई यो पर्खाल ढलाउन फेरि संघर्ष गर्न नपरोस्।
हाम्रो लक्ष्य एउटा वर्गलाई अर्को वर्गको ठाउँमा राख्ने हुनु हुँदैन। लेखक आफ्नो शब्दले चिनिन पाओस्, न कि आफ्नो वर्ग प्रमाणित गरेर।
पीडाको कुनै जात नबनोस्, संवेदनाको कुनै वर्ग नबनहोस्। त्यसपछि कलम स्वतन्त्र हुनेछ र त्यो दिन साहित्य सबैको हुनेछ। न दलित, न गैरदलित, न नारी, न पुरुष, यो वर्ग, त्यो वर्ग। हामीले खोजेको मुक्ति हो। एउटा पर्खालबाट अर्को पर्खालतिर सर्न होइन, पर्खालविहीन आकाशतिर उड्न हो।
साहित्यको अन्तिम घर त मानवता हो। र त्यतिखेर बोध हुनेछ, विभेदको अन्त्य भनेको नयाँ वर्ग बनाउनु होइन, वर्गको आवश्यकता नै नपर्ने समाज बनाउनु हो।