म आफैँलाई सोध्छु—
आखिर म को हुँ त?
किन आएँ यो धर्तीमा?
उत्तर खोज्दै,
एकछिन नीलो आकाशतिर हेर्छु...
दिनहुँ मेरो मस्तिष्कमा
एउटै विचार खेल्छ—
किन मनुष्यको अस्तित्व
बिहानको सुनौलो किरण भएर आउँछ
अनि अन्तिममा फेरि त्यही अँध्यारोमा बिलाउनुपर्छ?
जीवन छालजस्तो उतारचढावयुक्त छ
तर पनि ऊ सोच्छ— म त अटल छु!
सधैँ दौडिरहन्छ ऊ
नजाने किन, उसैलाई मात्र हतार छ।
भीडमा एकछिन उभिने समय छैन,
यो पृथ्वीमा आफ्नो आयुको पनि त भरोसा छैन!
तैपनि, क्षणिक आकर्षणको पछि लागेर
मान्छे पैसा र म्याद नसकिने मस्तीमा भुलिरहेछ।
ऊ त ब्रह्माण्डको एउटा सानो अंश मात्र हो
माटोबाट सुरु भएर माटोमै टुङ्गिने यात्रा हो
यो दौडको अन्त्य कहाँ छ कुन्नि?
जहाँ पुगेर पनि फेरि सुरुमै फर्किनु छ।
म फेरि आकाशतिर हेर्छु,
र आफैँभित्र त्यो सुनसान रातको शान्ति महसुस गर्छु।