तिमी गणतन्त्र ल्याऊ या
प्रजातन्त्र ल्याऊ
त्यो फगतको कुरा
मेरो कर्णालीमा एउटा पुल ल्याऊ।
तिमी धर्म ल्याऊ या
धर्मनिरपेक्ष ल्याऊ
मलाई मेरो सुदूरमा एउटा
मोटर जाने बाटो पुर्याइदेऊ
सुदूरलाई केवल दूर नबनाइदेऊ।
तिमी एक तिहाइ जित या
दुई तिहाइ जित
तर
मेरो गाउँले
एक बोरा मल जितोस्।
मेरो गाउँको
अस्पताल त
अभावमै मर्यो
तर
नमार्नु अब फुल्दै
गरेका कोपिला।
जसले तिम्रै निम्ति फेरि
नयाँ नेपालको नारा लगाउने छन्
जसले तिम्रै निम्ति फेरि
सडकमा छाती थाप्ने छन्।
त्यो तिम्रो चस्माले
नछेकोस्
मेरो मोटर जाने
गाउँको बाटो।
तिमी सुशासन रोज्नु या
आश्वासन रोज्नु
तर मेरा गाउँका किसानलाई
अन्तको बाटो रोज्न बाध्य नपार्नु।
नछेकोस् तिम्रो चस्माले
मेरो गाउँ
कर्णालीका तुइन
सुदूरको मोटर।
नझुकुन् मलको
अभावले
फुल्दै गरेका कोपिला।
कैयौँ आए आशा
कर्णालीमा पुलको आशा
सुदूरमा मोटरको आशा।
आशा जगाउनेहरूले
आशा कै सिँढी चढेर
सत्तामा गए
आशा गर्नेहरू
माटोमै अस्तित्व भएर विलीन भए।
तर तिम्रो निम्ति
सडकमा छाती थपेकाहरू
तिम्रो आशासँगै
माटोमा विलीन नहुन्।
किनकि
तिमीले बोकेको झन्डाभन्दा ठुलो
उनीहरूले बोकेको सपना हो।
तिमीले जितेको सत्ताभन्दा ठुलो
उनीहरूले पर्खिरहेको
एउटा पुल हो,
एउटा मोटर हो,
र
एक बोरा मल हो।