जब म यो संसारमा रहनेछैन
मानिसहरूले बगाएका आँसुहरू
चाहे ती साँचो हुन् वा देखावटी
मसम्म पुग्ने छैनन्।
मेरो छेउमा राखिएका फूलहरू
तिनको सुगन्ध,
तिनको सौन्दर्य,
म कहिल्यै महसुस गर्नेछैन।
मेरो नाममा गरिएका पूजा पाठ,
बालिएका दियोहरू,
बाँडिएको भोजन,
भेला भएका सबैको हातमा पुग्ला
तर ती सबै मेरो लागि अर्थहीन हुनेछन्।
जीवनभर टाढा बसेका आफन्तहरू
म अस्ताएसँगै मेरो वरिपरि भेला होलान्,
मेरो बारेमा दुई चार शब्द बोल्लान्,
ढिलो नै सही
मैले गरेका केही राम्रा कुराहरू सम्झिएलान्।
मेरो तस्बिर
फेसबुकका भित्ताहरूमा देखा पर्ला,
मेरो नाम
समवेदना र श्रद्धाञ्जलीका शब्दहरूले सजिएला
‘स्वर्गमा बास् होस्’ का कामनाहरू सहित।
कतिपयले मलाई
केही दिन सम्झिलान्,
कसैले केही महिनासम्म,
अनि शायदै कसैले एक वर्षसम्म।
कोही डाँको छोडेर रोलान्
कसैका लागि मेरो मृत्यु
एकअर्कासँग भेट हुने बहाना बन्ला
कोही मुस्कुराउँदै
पुराना दिनहरू सम्झिलान्।
अनि कोही
आफ्नो व्यस्तताको बहाना बनाउँदै
बिस्तारै आफ्नो बाटो लाग्लान्।
र यी सबै;
शोक,
प्रशंसा,
सहानुभूति,
संस्कारहरू,
आधा अधुरा शब्दहरू,
हावाको वेगसँगै प्रतिध्वनि बनेर
माथि-माथि आकाशसम्म फैलिरहनेछन्।
बाँचिरहनेहरूका लागि त
धेरै कुरा महत्त्वपूर्ण हुन्छन्
तर एक पटक म गइसकेपछि
तीमध्ये कुनै पनि कुरा
मसम्म आइपुग्ने छैनन्।