प्यारी आमा,
हिजो मात्र जस्तो लाग्छ
तिम्रो फरियाको फेरो समातेर
तातेताते गर्दै औला समाएर
हिँड्न जानेको
तर आज तिमीसँगको
सामीप्य बिना यो
घना बस्तीहरू कति शून्य
लागिरहन्छन्!
यी गगन चुम्बी महलहरू कति
सानो भान भइरहेछन्
हाम्रो त्यो स्नेहको अनि
तिम्रो ममता मिसिएको हाम्रो
गाउँको त्यो सानो घरभन्दा।
किनकि
यो उजाड र विवश जीवन
एउटा उमेरको बहाव वा
नारी भएर मिलेको छ नि
यो कुन जुनीको पापको
भुक्तान हो आमा,
जबकि तिमी बिनाको जीवन
मेरो कोमल मनले कल्पना
गरेको नै थिएन
मेरो भुल होला सायद मैले
सृष्टि नामको चक्र वा
संस्कार नामको कु-संस्कार
जसले इच्छा विरुद्ध पनि जीवनको
खाका रच्दो रहेछ
मैले त्यसको अर्थ बुझ्न सकिनँ!
यसो हो भने माफ गर
म संसारको कुनै पनि
भौतिक सुखमा आफ्नो मनको
निस्वार्थ मायालाई बजारमा लिलामी
गराउन सक्दिनँ चाहे
त्यो पराई पुरुषको घर होस वा मन
किनकि प्रेमको भाषा तिमीबाट नै
सिकेको हो नि त आमा
अनि त्यो तिमीले सिकाएको प्रेम
तिमीलाई नै गर्न नपाउने
तिम्रो सामीप्य किशोरावस्थादेखि
नै लाचार बनाएर निमोठिदिने
पराई आँगनमा बोझिलो भएर पनि
तिम्रो स्नेहको स्पर्श गर्न नपाइने
यो कस्तो लक्ष्मण रेखा हो
जीवनको!
जहाँ कुनै मानव अस्तित्वसम्म
देखिँदैन त्यहीँ सिङ्गो जीवन
समर्पण गर्नु पर्ने
जहाँ पुरुषलाई माया गर्दा पनि
घृणा गर्दा पनि दुबैमा अपजस मात्र
दिने पराई चेतको तिम्रो आकृतिका
निरस जीवहरू खडा छन् हर पल
कपट र दुष्ट चालबाजले तिम्रो
आफ्नै हातमा फुलाएकी
कोमल फूललाई दाग लगाउन
आँसुको सागरमा बगाउन बाध्य
बनाउन समेत पछि नपर्नेहरू माझ
मेरो चम्किलो ज्योतिको उदय
कहिले हुन्छ आमा?
कि हर विवाहित चेलीले
उज्यालो आकाश,
निर्धक्क हेर्ने जून,
बिना धक निल्ने सास,
बिना अपजस पिउने एक घुट्को पानी,
बिना ठेस हिँड्ने एउटा गोरेटो
कुर्न चिहानकै यात्रा गर्नु पर्ने हो र?
अब कहिले हुन पाउँछु
म तिम्रो आकाशको जून
जहाँ तिमी मेरो मुहार हेरेर
भोक समेत मेट्ने गर्थ्यौ त
म पनि बाल्यकालको भोक
मेट्न तिम्रो उपस्थिति नै पर्याप्त हुन्थ्यो!
आमा सृष्टिको यति शक्तिशाली पात्र
भएर पनि आज तिम्रो
हात अनि स्नेहको बगैँचामा फक्रिएको
फूल निकै छिटो समय पहिले नै
तिम्रो अनि मेरो मनको स्वीकृति बेगर
अर्काको जुठ्यानमा मिल्काउने
अनुमति कसले दियो यो कालो
अन्धकार जीवनको मोल कसले
तोक्यो आमा
जहाँ आँसुहरू लिलामी छन्
आफ्नै श्रमले रचना गरेको
एक पाइलो भूमिमा समेत केही अधीन छैन।क
आमा,
तिमी मेरो आँखाको नानी बनेर
उदाइरहेकी त्यो जून हौ
जसको प्रकाशले मेरो
प्रत्येक पाइलामा पर्ने अँध्यारोलाई
चिर्नु छ।
तिम्रो आँचलमा हुँदा लाग्थ्यो
यो ब्रह्माण्ड नै मेरो हो
म सुन्दर फूल हुँ संसारलाई सुगन्धित बनाउने
लाग्थ्यो,
म त्यो दियो हुँ जो
प्यारी आमाको संघारबाट निस्केर पनि
संसार झलमल बनाउनेछु
तर त्यसको प्रत्येक हिस्सामा तिम्रो
हक लाग्नेछ
तर आज हेर त म तिमीलाई
प्रत्यक्ष कहन समेत नसक्ने
कैदमा बाँधिएर
हर समय तिमीलाई पुकारेर पनि
तिमीलाई देख्न पाउँदिनँ
तिम्रो छेउ आउन समेत डर लाग्छ
कि आफ्नै कलेजोको टुक्रा पनि
अतिथि भएर आगन्तुक भएर
ओहो...!
यो कस्तो हुन्डरी,
यो कस्तो नियति,
यो कस्तो निर्दयी कालखण्ड,
यो कस्तो क्रूर कैदखाना,
यो कस्तो अन्धकारको युग,
यो कस्तो निर्मम चेत,
यो कस्तो पराजयको खोल,
यो कस्तो चक्रव्यूह जाल,
जुन हजार तपस्याबाट पनि फोडेर
त्यो स्वर्णिम बाल्यकाल
त्यो ममताको सागरमा फर्किन सकिँदैन
एक थोपा स्नेह प्राप्त गर्न जीवनको
दौडले यति व्याकुल बनाउँदा पनि
जीवित सागरको
सामीप्य पाई सधैँको लागि
सँगै निदाउन पाइँदैन
पुनः तिम्रो ओजस्वीले
युक्त त्यो दैनिकीसँग जोडिन पाइँदैन।