आज यसो गाउँ डुल्न निस्केकी थिएँ। बाटोछेउको चौतारोमा मेरा छिमेकी हजुरबा एक्लै झोक्राएर बसेको देखेँ। उमेरले सत्तरी कटिसकेका हजुरबाको अनुहारमा सधैँझैँ चमक थिएन। आँखा कता-कता हराएका थिए।
म नजिकै गएर सोधेँ, ‘हजुरबा, के भयो? किन यसरी विरक्तिनुभएको?’
उहाँले मतिर हेर्नुभयो। केही बोल्नुभएन। बरु लामो सास फेर्नुभयो।
‘कथा अलि लामै छ, नानी। सुन्ने समय र धैर्य छ?’
‘छ, हजुरबा, भन्नुहोस् न।’
हजुरबा बिस्तारै बोल्न थाल्नुभयो।
‘नानी, मेरा तीन छोरा थिए नि।’
मैले टाउको हल्लाएँ।
‘मैले आफूले जानेको बाटो उनीहरूलाई पनि देखाएँ—इमानदारीको, मेहनतको र दयालुपनको। सोचेको थिएँ, बुढेसकालमा छोराहरूले मेरो आँगन उज्यालो बनाउलान्। मैले देखेका सपना उनीहरूले पूरा गरिदेलान्।’
मैले उत्सुक हुँदै सोधेँ, ‘केही गरेनन् त, बा?’
‘केही नगरेकै त भन्न मिल्दैन, नानी,’ उहाँले टाउको हल्लाउनुभयो, ‘धेरै गरे। तर आफूले गर्नुपर्ने जति गरेनन्।’
उहाँ केहीबेर रोकिएर फेरि भन्नुभयो, ‘जहाँ इमानदारी चाहिन्थ्यो, त्यहाँ आफ्नै स्वार्थ अघि सारे। जहाँ मिलेर बस्नुपर्ने थियो, त्यहाँ आफ्नै कुरा ठूलो बनाए। आफ्नो घमण्डलाई घरको शान्तिभन्दा माथि राखे। आफ्नै परिवारसमेत राम्ररी सम्हाल्न सकेनन्।’
‘अनि?’
हजुरबाले फेरि लामो सास फेर्नुभयो।
‘अनि गाउँले, साथीभाइ, इष्टमित्र सबैले भन्न थाले—‘तैँले जन्माएका छोराले त काम दिएनन्। गाउँमा एउटा साह्रै राम्रो, ज्ञानी र सबैको प्यारो केटो छ। त्यसैलाई धर्मपुत्र बना।’’
मैले सोधेँ, ‘अनि बनाउनुभयो त, बा?’
हजुरबा हल्का मुस्कुराउनुभयो।
‘सबैले एउटै कुरा भन्न थालेपछि मलाई पनि लाग्यो—सायद ठीकै भनेका होलान्। आफ्नै छोराभन्दा पराइको छोरो पो असल निस्किन्छ कि! बुढेसकालको सहारा पो बन्छ कि!’
त्यसबेला उहाँको आवाजमा आशा थियो।
‘अनि?’
‘सबै कानुनी प्रक्रिया पूरा गरेँ। गाउँले बोलाएँ। पूजापाठ गरेँ। बाजागाजासहित घर भित्र्याएँ। लागेको थियो—अब मेरो घरमा एउटा असल छोरो थपियो।’
मैले फेरि सोधेँ, ‘अनि त्यो छोरो कस्तो निस्कियो त, बा?’
हजुरबा केहीबेर मौन बस्नुभयो।
‘खै, कस्तो भन्नु, नानी...’
उहाँले टाउको निहुराउनुभयो।
‘आजभोलि कोही उसको नियत ठीक छैन भन्छन्। कोही भर पर्न सकिँदैन भन्छन्। कोही त अझै अर्कै कुरा गर्छन्—कसैले आफ्नै घर बिगार्ने मनसायले पठाएको हुन सक्छ रे!’
मैले अचम्म मान्दै सोधेँ, ‘अनि उसैलाई सोध्नुभएन त, बा? आखिर कुरा के हो भनेर?’
हजुरबा हल्का मुस्कुराउनुभयो। त्यो मुस्कानमा पीडा थियो।
‘पहिला त खिस्स हाँसेर बोल्थ्यो। थोरै भए पनि मीठो बोल्थ्यो। अहिले त ढुङ्गो बोल्ला, ऊ बोल्दैन।’
उहाँले अलि हाँस्दै थप्नुभयो, ‘सारै घोसेमोरो रहेछ नि, नानी।’
‘अब के गर्नुहुन्छ त, बा?’
उहाँले चौतारोको धुलोमा लट्ठीले केही कोर्न थाल्नुभयो।
‘खै, के गर्नु, नानी? आफ्ना छोरा बोलाऊँ भने पनि गतिला छैनन्। यसलाई त कानुन पुर्याएर ल्याएको छु। अब ‘जा’ भन्न पनि मिलेन। न त आफैँ जान्छ।’
लट्ठी केहीबेर रोकियो।
‘अब जे–जे हुन्छ, भोग्नु नै त होला नि।’
केही बेरपछि उहाँले मतिर हेर्नुभयो।
‘नानी।’
‘के कुरा, बा?’
‘अरूको लहैलहैमा लागेर हचुवाको भरमा कहिल्यै निर्णय नगर्नू।’
उहाँ केहीबेर चुप लाग्नुभयो।
‘आफ्नो घर कसले बिगार्छ भन्ने कुरा कहिलेकाहीँ घरबाहिर खोजिरहनु पर्दैन रहेछ।’
म चुपचाप सुनिरहेँ।
‘आफ्नो विवेकले काम नगरेपछि,’ उहाँले बिस्तारै भन्नुभयो, ‘अरूकै रायले पनि घर सत्यानाश हुँदो रहेछ।’
यति भनेर उहाँ उठ्नुभयो। लट्ठी टेक्दै बिस्तारै घरतिर लाग्नुभयो। म भने त्यहीँ उभिएर उहाँको घरतिर हेरिरहेँ।
आँगन उस्तै थियो। घर उस्तै थियो। ढोका उस्तै थियो। तर हजुरबाको अनुहारमा त्यो घरप्रतिको भरोसा उस्तै थिएन।
मनमनै एउटा प्रश्न उठ्यो—आखिर बाको घरमा त्यस्तो के भइरहेको छ?
त्यो प्रश्नको उत्तर हजुरबाले दिनुभएन।
वा सायद... उहाँ आफैँले पनि अझै पत्ता लगाउन सक्नुभएको थिएन।