नेकपा (एमाले)को दसौं महाधिवेशनबाट नयाँ सर्वसम्मत नेतृत्व चयनको सर्वाधिकार पाएका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय कमिटी सदस्यहरूको नाम छान्न चार नेतालाई जिम्मा दिएका छन्।
विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङलाई ओलीले सहमतिको खाका बनाउन भनेका थिए।
आफूहरूले त्यहीअनुसार खाका बनाएर अध्यक्ष ओलीलाई बुझाएका छन्।
‘हामीले हाम्रोतर्फबाट खाका बनाएर पठाएका छौं, अब त्यसमा के गर्नुहुन्छ?’ गुरूङले भने।
उनीहरूले ओली बसेको पार्क सफारी रिसोर्टमै बसेर सहमतिको खाकाबारे छलफल गरेका थिए। छलफलपछि पौडेल रिसोर्टको रिसेप्सनमा गएर केही प्रिन्ट गरेका थिए।
प्रिन्ट गर्न जाँदा उनी निकै प्रफुल्लित मुद्रामा थिए।
के को लिस्ट हो भन्नेबारे उनले खुलाउन चाहेनन्।
‘निकै खुसी देखिनुभएको छ, महासचिव बन्ने कन्फर्म भयो कि क्या हो?’ भन्ने प्रश्नमा उनले ‘म सधैं हँसिलो छैन र!’ भन्ने जवाफ फर्काए।
उनले सहमतिको प्रयास भइरहेको र आफूहरूले सबै कुरा सहमतिमै टुंग्याउने बताए।
अहिले उपमहासचिव रहेका पौडेलले यसपालि महासचिवमा दाबी गरेका छन्। उनीसँगै शंकर पोखरेल पनि महासचिवका दाबेदार छन्।


प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८, ०५:४९:००