आधा अनुहार जलेर एक पत्र निस्किएको थियो। रातो नयाँ छालामाथि लपक्क मलम लगाएको करिब २ वर्ष जतिको सानो बाबु। बल्खुमा आमाको काखमा गाडी कुर्दै गरेको बच्चाको त्यो मुहारमा सबैको नजर एक पटक पक्कै अडियो होला।
हेर्दै जीउ सिरिङ्ग हुने, कति दुख्यो होला, कति पोलिरा होला, सोच्दै थिएँ। छेउको सिटमा बसेको एकजना आमाले पनि त्यही दृश्य हेर्दै भन्नुभयो, ‘कठै त्यो आमा!’
एकछिन फेरि आमालाई नियालेर भनेँ, ‘बच्चालाई मात्र जस्तो छ पोलेको, आमा त सकुशल छिन्।’
लामो सास फेर्दै आमाले भन्नुभयो, ‘नानी, तिमीले त्यो बच्चाको बाहिरी घाउ देख्यौ, म जिन्दगी बाँचेकी मान्छे हुँ, मैले त्यो आमाको भित्री पीडा देख्दै छु। बच्चालाई त्यस्तो हुँदा त्यो आमाले कति सराप खाइन् होला, कतिले वचन लगाए होलान्— जाबो एउटा बच्चा स्याहार्न नि सकिनस्!’
मैले भनेँ, ‘आमाको गल्तीले पोलिएको हैन होला। बच्चा हो लड्छ, चकचक गर्छ, कहिलेकाहीँ यस्तो घटना घटिहाल्छ नि, आमाकै दोष मात्र पनि हुन्न नि।’
फेरि भन्नुभयो, ‘नानी, समाजको नजर यति निष्पक्ष छैन नि। मुटुको टुक्रा पोलिनुको पीडा एक तर्फ छ, समाजका बचनले झन् पिरोल्छन्। मेरो पनि बच्चा लड्थ्यो। म नजिकै छु, दोष मेरो हुन्थ्यो। म टाढा छु भने दोष मेरो जागिरको हुन्थ्यो।
सासू, ससुरा, श्रीमान्, माइती वा छरछिमेक जोसुकैले कोस्थे, ‘किन कमाउनु पर्यो? पैसाले कहिल्यै पुग्दैन। बुढाले कमाएकै छ, थपक्क छोरा हुर्क्याएर घरै बसे हुन्न? कसैको नभको; तँ र तेरो जागिर!’
बच्चा लड्यो, ‘तँ र तेरो जागिर’
बच्चा फेल भयो, ‘तँ र तेरो जागिर’
बच्चा बिग्रियो, ‘तँ र तेरो जागिर’।
उसले पाएका सम्मान र पुरस्कारमा केबल कुलघरान जोडिन्थ्यो, म कहिल्यै जोडिइनँ तर उसको असफलतामा दोष केबल म र मेरो जागिर।’
आमाले वर्षौँदेखि मनमा जमेको पीडा एकै सासमा पोख्नुभयो। न म उहाँसँग परिचित थिएँ, न ती पीडासँग सरोकारवाला। केबल केही क्षण बाटोको सहयात्री थिएँ। तर पनि कता-कता ती भोगाइ बुझ्थेँ। नारी हुनुको अनुभव भनूँ वा आफ्नै नातागोतामा देखिरहेको व्यवहार, ती गुनासो मेरो लागि नौलो थिएन।
स्विकार्दै भनेँ, ‘कस्तो बुझ्दैनन् है मान्छेहरू! जागिर केबल पैसा मात्र हैन नि, सपना पनि हो, पैसा कमाउने भाँडो मात्र नभएर अस्तित्व र पहिचान पनि हो नि।’
आमाले अघि भन्दा अलि शान्त हुँदै भन्नुभयो, ‘हो नानी, म त अझै जागिरमा पहिचानसँगै नारीको स्वतन्त्रता पनि देख्छु, किचनको भित्ता बाहिर संसार देख्ने बाटो देख्छु, आफ्ना कुरा राख्ने, आफ्नो धारणा सुनिइने, आफ्ना निर्णयको पनि सम्मान हुने।
मैले पनि जागिरसँग परिवार सम्हाल्न निकै संघर्ष गरेँ। मलाई अफिसमा न कसैको छोरी भनेर चिन्थे, न कसैको पत्नी वा बुहारी, म नितान्त मेरो नामले चिनिन्थेँ। मेरो पद, मेरो काम अनि मेरो गल्ती केबल मेरै हुन्थ्यो। छोड, पर्दैन, पुग्छ, घर हेर, बच्चा सानो छ आदि इत्यादि विविध कारण देखाउँदै छुटाउने प्रयत्न धेरैले गरे। तर त्यतिका वर्ष पढे लेखेर मिहिनेतले पाएको जागिर छोड्न कसलाई मन लाग्थ्यो र।’
‘अनि के गर्नुभयो, आमा? छोड्नु भयो जागिर?’
‘छोडिनँ नानी, गरिरहे। म बाँचेको समाजमा नारीको जागिरको महत्त्व, उसको रहर हुँदा मात्र नहुने हो, तर जब बाध्यता हुन्छ नि कसैले रोक्दैनन्। श्रीमान् बिते, खर्च धान्ने स्रोत बन्द भयो अनि घर धान्ने आधार बन्यो केबल- म र मेरो जागिर।
छोरा हुर्क्यो, पढ्यो लेख्यो, ऋण धान्ने आधार केबल- म र मेरो जागिर।’
आमा र मेरो कुराकानी झन् भन्दा झन् गहिरिँदै थियो, कौशलटार आइपुग्दा बोल्दै पर्सबाट चानचुन पैसा निकाल्नु भएको थियो। छुट्टिने समय आउँदै गरेको महसुस गरेर गफ छोट्टाएँ, ‘घरमा कमाउने मान्छे नै एक्लै भएपछि कसले रोकटोक गर्नु र? कि आफै पालिदिनु पर्यो। अनि अहिले छोरा कहाँ हुनुहुन्छ हजुरको?’
भन्नुभयो, ‘धेरैलाई जस्तै उसलाई पनि विदेशकै रहर लाग्यो। अहिले उतै अस्ट्रेलिया तिरै घरजम गरेर बसेको छ।’
सोधेँ, ‘हजुर जानुभएन कि पछि जाने?’
‘दुई चोटि गएर आएँ नानी, पहिलो चोटि बुहारी सुत्केरी हुँदा स्याहार्न गएँ। दोस्रो चोटि छोराले अब उतै बस्ने भनेर लगेको थियो। नेपाली मनले मानेन नानी, के नपुगे के नपुगे जस्तो। कतै बाहिर जाऊँ, हराइएला भन्ने पिर, घरै बसूँ कति एक्लै बस्नु, छोरा-बुहारी काममा जान्छन्, नातिनातिना स्कुल तिरै, काम गरिरहने ज्यानमा झन् रोग थपिएला जस्तै भयो र फर्किएँ।
ल नानी म झर्ने बेला भयो। आनन्द लाग्यो नानीसँग बोलेर, राम्ररी जाऊ है।’
ठिमी आइसकेको रहेछ, बिदा हुँदै भनेँ, ‘हस् आमा, बाटो कटेको पत्तै पाइएन गफ गर्दागर्दै। ख्याल राख्नुहोला।’
सिटबाट उठेर गाडी भाडा दिँदै गरेको आमालाई झट्टै सोध्न मन लाग्यो, ‘अनि अहिले यहाँ साथमा को छ त, आमा?’
हाँस्दै झर्नुभयो, ‘उहीँ, म र मेरो जागिर।’