हामीले हाम्रो जीवनमा धेरै सम्बन्धहरू बनाएका हुन्छौँ— विद्यालय, कलेज, घर, छरछिमेक अनि कार्यालयमा। आमा–बुबा, श्रीमान्–श्रीमती, छोराछोरी, काका–काकी, मामा–माइजू, बाजे–बज्यै, साथै साथी–भाइ। यीमध्ये केही सम्बन्ध रगतका नाताले बनेका हुन्छन् भने केही मन मिलेर।
मामा–माइजू, काका–काकी, ठुलो बुवा, ठुली आमा— यी सम्बन्ध केवल रगतका मात्र होइनन्, हाम्रो समाजले बनाउँदै ल्याएका सम्बन्ध पनि हुन्। धेरैजसो अवस्थामा यी पनि रगतकै नाताजस्तै बलिया हुन्छन्। यो सबैको जीवनमा मिल्ला या नमिल्ला तर मेरो व्यक्तिगत अनुभव भने यस्तै छ।
हामी जन्मदेखि जहाँसम्म पैताला पुगेको छ, त्यहाँसम्म मित्रता र परिवारजस्तै सम्बन्ध बनाउँदै आएका हुन्छौँ। अहिले त झन् प्रविधिको जमाना छ— आफू नपुगेको भूगोलमा पनि मन मिल्ने दौँतरी बनाएका हुन्छौँ।
सम्बन्ध भनेपछि जिम्मेवारी आएको जस्तो लाग्छ र जिम्मेवारीबाट टाढा जानु मानिसको स्वभाव नै हो। तर सम्बन्धबारे बुझ्न मलाई मेरो घर–परिवार, छिमेक र कार्यालयले धेरै कुरा सिकाएका छन्। समयसँगै प्रविधिले जस्तो फड्को मारेको छ, आजकल सम्बन्धहरूको परिभाषा पनि त्यस्तै बदलिएको छ। सम्बन्ध जोड्न सजिलो पनि छ, गाह्रो पनि छैन जस्तो लाग्छ तर आजकल जोड्न र तोड्न त सहज छ, निभाउन भने निकै कठिन।
२०२४ को अगस्टदेखि डिसेम्बरसम्म करिब पाँच महिना अस्पताल बस्नुपर्यो। यस अवधिमा सम्बन्धलाई हेर्ने मेरो दृष्टिकोण झन् बदलियो। अचानक परिवारको कुनै सदस्यको दुर्घटना वा बिरामीको खबरले सम्पूर्ण परिवारलाई हल्लाइदिन्छ। त्यो मेरो लागि पहिलो अनुभव थियो, त्यसैले डर र त्रास स्वाभाविक नै थियो।
भनिन्छ नि— परिस्थिति उल्टो मोडिँदा हामी सकारात्मकभन्दा बढी नकारात्मक कुरा सोच्न थाल्छौँ। मेरो मन पनि त्यस्तै भयो। धेरै वर्षअघि अल्पायुमा ठुलो दाइलाई गुमाएका सम्झना बारम्बार आइरहन्थ्यो। अस्पताल जाँदा मनमा नकारात्मक सोचबाहेक केही आउँदैनथ्यो तर घरपरिवारसँग फोन गर्दा भने ‘सबै ठिक छ’ भनेर ढाडस दिन्थेँ।
करिब डेढ महिना न्युरोसर्जिकल वार्ड बाहिर बस्दा दाइलाई होस आएको थियो। यही क्रममा धेरै कुरुवा भेटिए— कोही श्रीमती, कोही श्रीमान्, कोही दाइ, कोही आमा–बुबालाई कुर्दै। अस्पतालमा कुरुवा भएर बस्नु सजिलो हुँदैन। आफ्नो घरको चार पर्खालभित्रको न्यानो बिस्तरा र भान्साको मिठो खान छोडेर, खुला बरन्डामा क्यान्टिनको सस्तो खाना खाँदै आफ्नो मान्छेको स्वास्थ्यको कामना गर्दै बस्ने हामी कुरुवा। त्यही ठाउँमा हामीबिच एउटा नयाँ सम्बन्ध जोडिएको थियो— दुःखको सम्बन्ध। बिहान, दिउँसो र साँझ— हामी एकअर्कालाई सहयोग गर्थ्यौँ। रगत जाँच, रिपोर्ट ल्याउने, स्याम्पल बाहिर पठाउने— सबैमा साथ हुन्थ्यो। सबैले आफ्ना अनुभव साटासाट गर्थ्यौँ किनकि अन्तिम लक्ष्य एउटै थियो— आफ्नो मान्छेलाई ठिक गराएर घर लैजानु।
धेरै पटक सासको साटो आँसु लिएर फर्किनु परेका कुरुवाहरू पनि देखिए। तर ‘सबै ठिक हुन्छ’ भन्ने आश्वासन एकअर्कालाई दिन छोडिएको थिएन, चाहे मनभित्र बाढी नै किन नआएको होस्।
कहिले सर्किजल वार्ड, कहिले आइसियू, कहिले जनरल वार्ड— यी पाँच महिनामा छाउनी अस्पतालका धेरै कोठा चाहरियो। दसैँ पनि आइपुग्यो। टीकाको दिन बिरामी र कुरुवासँगै दसैँ मनाउन आउनेहरू पनि थिए। यी सबै आफ्ना सम्बन्धहरूको कारणले सम्भव भएको थियो—कतै रगतको नाता, कतै मनको। सुरुमा बिरानो र डर लाग्ने ठाउँ, पछि जाँदा मलाई खुसी नै लाग्न थाल्यो किनकि त्यहाँ पनि बाजे–बज्यै, दिदी–दाइ भेटिन्थे, सुख–दुःखका कुरा हुन्थे। हामी ‘मिसन ८२’ को पर्खाइमा थियौँ।
त्यही वार्डमा एक जना दिदी हुनुहुन्थ्यो, जसले आफ्नो श्रीमानलाई धेरै लामो समयदेखि कुर्दै आउनुभएको थियो। उहाँको श्रीमानको आँखाको हल्का मुभमेन्ट बाहेक शरीरको अरू कुनै भाग चल्दैनथ्यो। तर पनि दिदी हरेक दिन उही उत्साह, उही जोस र प्रेमका साथ उहाँको ख्याल राख्नुहुन्थ्यो। मिठा कल्पनाका कुरा सुनाउँदै, भविष्यका सपना बुन्दै दिन बिताउनुहुन्थ्यो।
हाम्रो दाइ र उहाँको श्रीमान् एउटै वार्डमा भएकाले हामी चिनजानमा आयौँ। दिदी कहिल्यै निराश देखिनुहुन्नथ्यो— प्रेम, धैर्य र आशाको प्रतिमूर्ति जस्तै। त्यसै गरी, एक जना काका पनि भेटिनुभयो। उहाँकी श्रीमतीलाई अकस्मात् पक्षघात भएर ल्याइएको थियो। लामो समयसम्म होस नआउँदा काका वार्ड बाहिरै कुर्सीमा बसिरहनु हुन्थ्यो। कहिलेकाहीँ हामीसँग आएर गफ गर्नुहुन्थ्यो। धेरै पटक उहाँका आँखा रसाएका, कहिलेकाहीँ खुलेर रोएका पनि देखेको छु। करिब दुई महिनापछि उहाँकी श्रीमतीलाई होस आएको देख्दा, काकालाई नजिकैको वार्डमा बल लिएर फिजियोथेरापी गराउँदै हिँडेको देख्दा मन नै खुसीले भरियो।
एक पटक एउटा परिवार बुजूको उपचारका लागि धादिङबाट आएको थियो। अस्पताल आएको करिब दुई हप्तापछि बुजूको स्वास्थ्य अवस्था कमजोर हुँदै गएकाले सबै छोराछोरी विदेशबाट फर्किएका थिए। बाजे गफ गर्दै कहिले हाँस्नुहुन्थ्यो, कहिले मौन भएर टोलाउनु हुन्थ्यो।
कार्तिक–मंसिरको जाडो सुरु भइसकेको काठमाडौँमा बिहान बाहिर बोइलरमा चिया पकाउँथ्यौँ। बाजेकी एक नातिनी थिइन्— नाम सबिना। नामको संयोगले हामी झन् नजिक भयौँ। चिया र नास्ता साट्दै, ‘आज बुजूले केही खानुभयो कि खानुभएन? रिपोर्ट कस्तो आयो?’ भनेर सोधपुछ हुन्थ्यो।
एक शनिवार अस्पताल जाँदा थाहा भयो— बुजू त्यही दिन बिहानै बित्नुभएको रहेछ। सबिना बेस्सरी रोइरहेकी थिइन्। के बोलूँ, के भनूँ— म अकमक्क परेँ। शब्दहरू मुखमै अड्किए। म केही समय उनीसँगै गएर बसेँ।
थोरै समयको मौन र सानो कुराकानीपछि उनीहरू सबै मिलेर बुजूलाई सम्हाल्न थाले। बाजेको अवस्था पनि कमजोर नै थियो। उहाँ बिपीका बिरामी हुनुहुन्थ्यो र जीवनको यो मोडमा उहाँका लागि पनि यो क्षण अत्यन्तै गाह्रो थियो। जान त यतै गइसकेको थियो, गाह्रो भनेको त यहाँ बच्नेहरूका लागि थियो। परिवारको सदस्य गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न गाह्रो हुन्छ। थाहा छैन, कस–कसको ‘मिसन ८२’ सफल भयो।
अस्पतालको अवस्था र अहिलेको समाज हेर्दा लाग्छ— आजकल सम्बन्ध जोड्न र तोड्न कति सजिलो भएको छ तर टिकाउन र निभाउन गाह्रो। सम्बन्ध पनि आजकल परिस्थितिअनुसार हुन थालेका छन्— ‘हेर्दै जाऔँ, कता पुग्छ’ भन्ने सोच। मानिस एक्लो रहन त चाहन्छ तर एक्लोपन चाहँदैन। सायद त्यसैले आजकल सम्बन्धहरू परिस्थितिअनुसार बन्ने र बदलिने गर्छन्।
मानिस सामाजिक प्राणी हो तर समाज र सोच दुवै बदलिँदै छन्। कतै अझै पनि श्रीमतीहरू घरेलु हिंसाको सिकार भएर सम्बन्ध जोगाउन बाध्य छन्, जहाँ सम्बन्ध तोड्नु पर्ने हुन्छ। कतै सानो मतभेदमै मिठा सम्बन्ध तोडिन्छन्। ‘प्याराडक्स अफ चोइस’ले गर्दा ‘प्याराडक्स अफ ह्याप्पीनेस’ नि बढेको छ।
मैले विजय कुमार पाण्डेद्वारा लेखिएको सम्बन्धहरू पढ्दा उहाँले आफ्ना जीवनमा विभिन्न व्यक्तिहरूसँग बनेका सम्बन्धहरूको उल्लेख गर्नुभएको पाउँछु, जुन अत्यन्तै भावनात्मक र आत्मीय छ। उक्त पुस्तकको कभरमा एउटा डोरीमा स–साना मोतीहरू गाँसिएको चित्र छ। ती मोतीहरू एक–एक गरेर जोडिँदै जाँदा मात्र एउटा सुन्दर माला बन्छ— ठिक त्यसै गरी, स–साना बुझाइ, धैर्य र समर्पण जोडिँदै जाँदा मात्र सम्बन्धहरू पनि एउटा सिंगो रूप लिन पुग्दा रहेछन्।
भनिन्छ— जिन्दगी बुझ्न अस्पताल र आर्यघाट जानुपर्छ। मलाई लाग्छ, सम्बन्ध जोगाइराख्न संवाद अत्यन्तै आवश्यक छ। धेरै भयो साथीभाइसँग कुरा नभएको— एउटा फोन गरौँ। धेरै भयो घरपरिवारसँग गफ नभएको— एउटा कल लगाऔँ। सायद जिन्दगी हेर्ने र मुस्कुराउने आधार नै फेरिन सक्छ।
अन्त्यमा, छाउनी अस्पताललाई पनि धेरै धन्यवाद दिन चाहन्छु। आफ्ना जवानहरूले देशको रक्षा गर्दा जीवन समर्पण गरेका छन्, उनीहरू तथा उनीहरूको परिवारप्रति सम्मान स्वरूप स्थापना गरिएको यो श्री वीरेन्द्र अस्पताल (छाउनी अस्पताल) हामीजस्ता सामान्य परिवारहरूका लागि ठुलो आधार बनेको छ।