‘हाम्रो विद्यालयमा पनि बाढी आयो भने हामी कहाँ भाग्ने? यहाँ त डाँडा नै छैन!’ कक्षा ६ मा पढ्ने मेरी बहिनीले डराउँदै सोधेको यो प्रश्नले मलाई धेरै सोच्न बाध्य बनायो।
मैले उनलाई पहिले एउटा कुरा सम्झाएँ, हामी बसेको ठाउँमा बाढी वा पहिरोको जोखिम कति छ, त्यो पनि जान्नुपर्छ। सबै ठाउँमा एउटै विपद् आउँदैन। कतै बाढी, पहिरोको जोखिम हुन्छ, कतै भूकम्प, कतै आगलागी, डुबान वा हावाहुरीको। तर जहाँ बसे पनि, विपद् आएमा के गर्ने भन्ने ज्ञान सबैलाई चाहिन्छ।
हालै भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीले धेरै परिवारको जीवन तहसनहस बनायो। हालैको प्रारम्भिक विवरणअनुसार रसुवा, नुवाकोट र धादिङका १९ विद्यालयमा अध्ययनरत करिब ६,९०० विद्यार्थी प्रभावित भएका छन्। तीमध्ये केही विद्यालय पूर्ण र केही आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।
तर यही दुःखद घटनाबिच एउटा आशाको कथा पनि छ। नुवाकोटको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा बाढी आउँदै गरेको सूचना पाएपछि शिक्षकहरूले करिब १४ मिनेटमै ९०० भन्दा बढी विद्यार्थीलाई सुरक्षित स्थानतर्फ पठाए। विद्यालय आफैँ विनाश भयो, तर विद्यार्थीको जीवन जोगियो।
यसले एउटा कुरा सिकाउँछ, सही सूचना, सही निर्णय र तयारीले जीवन बचाउन सक्छ। तर यो घटनाले मलाई एउटा अर्को प्रश्न पनि सोध्न बाध्य बनाएको छ- ‘यदि भोलि हाम्रो विद्यालयमा यस्तै विपद् आयो भने हामी के गर्छौँ?’
हामीमध्ये धेरैले यसको उत्तर सोचेकै छैनौँ।
त्यसैले विद्यालयमा गरिने विपद् ड्रिललाई औपचारिक कार्यक्रम नठानौँ। विद्यार्थीले भूकम्प आयो भने कहाँ बस्ने, बाढी आयो भने कहाँ जाने, आगलागी भए कुन बाटोबाट निस्कने र आपत्कालीन अवस्थामा कहाँ जम्मा हुने भन्ने कुरा अभ्यासमै सिक्नुपर्छ।
आफ्नो ठाउँको जोखिम पहिले चिनौँ
रसुवा वा नुवाकोटमा बाढी र पहिरोको तयारी महत्त्वपूर्ण होला। तर तराईका विद्यालयमा डुबान मुख्य जोखिम हुन सक्छ। भूकम्पको जोखिम भएका क्षेत्रमा भूकम्पीय सुरक्षा प्राथमिकतामा हुनुपर्छ। जंगल नजिकका क्षेत्रमा डढेलो, सहरमा आगलागी र भिडभाड भएका ठाउँमा अन्य आपत्कालीन जोखिम हुन सक्छन्। त्यसैले हरेक विद्यालयले आफ्नो विपद् नक्सा बनाउनुपर्छ।
कुन ठाउँ जोखिममा छ?
सुरक्षित खुला ठाउँ कहाँ छ?
विद्यालयबाट बाहिर निस्कने वैकल्पिक बाटो कुन हो?
विद्यार्थीहरू कहाँ जम्मा हुने?
आपत्कालीन सूचना कसले दिने?
यी प्रश्नको उत्तर विद्यार्थीले पनि जान्नुपर्छ। किनकि विपद्को समयमा ‘अब के गर्ने?’ भनेर सोच्ने समय नहुन सक्छ।
सरकारसँग एक विद्यार्थीको आस
विपद् अचानक आउँछ। भूकम्पले सूचना दिएर आउँदैन। पहिरोले समय माग्दैन। बाढीले परीक्षा तालिका हेर्दैन। आगलागीले विद्यालयको छुट्टी पर्खँदैन। त्यसैले विपद्को समयमा सबैभन्दा ठुलो हतियार कहिलेकाहीँ उद्धार टोली वा हेलिकोप्टर मात्र होइन, सही समयमा सही निर्णय गर्ने ज्ञान पनि हो। भोटेकोशी बाढीपछि सार्वजनिक भएका विद्यार्थीका अनुभवहरूले यही कुरा सम्झाउँछन्।
नेपालमा विद्यालय सुरक्षाका लागि ‘कम्प्रिहेन्सिभ स्कुल सेफ्टी’ सम्बन्धी नीति र कार्यक्रम पहिलेदेखि नै रहेछ। तर अब यस्ता योजना कागजमा मात्र सीमित नरहुन् भन्ने हाम्रो अपेक्षा हो।
संघीय सरकारसँग मेरो आग्रह छ- हरेक विद्यालयमा न्यूनतम विपद् सुरक्षा मापदण्ड अनिवार्य गरियोस्। विद्यार्थी र शिक्षकका लागि नियमित तालिम तथा ड्रिलको व्यवस्था होस्।
प्रदेश सरकारसँग मेरो अपेक्षा छ- काठमाडौँको विद्यालय र रसुवाको विद्यालयका विपद् एउटै हुँदैनन्। स्थानीय जोखिमअनुसार तालिम, उद्धार सामग्री, प्राथमिक उपचार सामग्री र प्राविधिक सहयोग विद्यालयसम्म पुर्याइयोस्।
स्थानीय सरकारसँग मेरो विशेष आग्रह छ- आफ्नो गाउँ–नगरका हरेक विद्यालयको जोखिम पहिचान गरी सुरक्षित स्थान, निकासी मार्ग र आपतकालीन सम्पर्क प्रणाली तयार गरियोस्।
हुन त विपद् सकिएपछि पनि सरकारको जिम्मेवारी सकिँदैन। विपद् आएपछि उद्धार गर्नु पहिलो काम हो। तर त्यसपछि पनि बालबालिकाको अर्को संघर्ष सुरु हुन्छ। घर छैन, विद्यालय छैन, किताब छैन, कपडा छैन।
कहिलेकाहीँ परिवारकै सदस्य छैनन्। हालैको बाढीबाट पनि हजारौँ बालबालिका प्रत्यक्ष प्रभावित भएको र उनीहरूलाई अस्थायी सिकाइ, शैक्षिक सामग्री तथा मनोसामाजिक सहयोग आवश्यक रहेको कुरा संचार माध्यम आइरहेको छ। त्यसैले पोस्ट-डिजास्टर योजनामा राहतसँगै शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास, परिवारसँग पुनर्मिलन र मानसिक स्वास्थ्य पनि प्राथमिकतामा पर्नुपर्छ।
नेपालका चुनौती ठुलो छन् तर असम्भव छैन
हाम्रो भौगोलिक अवस्था कठिन छ। हिमाल, पहाड र तराईका जोखिम फरक छन्। विद्यालयका भवन, स्रोतसाधन र तालिममा पनि समानता छैन। कतिपय ठाउँमा चेतावनी पाए पनि त्यसलाई छिटो समुदायसम्म पुर्याउन कठिन हुन्छ। तर चुनौती छ भन्दैमा तयारी रोक्न मिल्दैन। ‘आगो लागेपछि कुवा खन्नु’ भन्दा आगो लाग्नुअघि पानी तयार राख्नु बुद्धिमानी हो। विपद् रोक्न नसकिएला तर त्यसबाट हुने क्षति कम गर्न सकिन्छ।
म कक्षा १० को विद्यार्थी हुँ। सरकारसँग मेरो ठुलो माग होइन। मेरो सानो आग्रह मात्र छ, हामीलाई परीक्षाका लागि मात्र होइन, जीवनका लागि पनि तयार पारिदिनुहोस्। मलाई थाहा छ, देश चलाउन सजिलो छैन। सरकारसँग धेरै चुनौती छन्। विद्यालयमा पनि धेरै समस्या छन्। तर विपद् कुनै दलको होइन, भूकम्पले विद्यार्थीको राजनीतिक विचार सोध्दैन, बाढीले धनी र गरिब छुट्टाउँदैन, पहिरोले सरकारी र निजी विद्यालय छुट्टाउँदैन। विपद्ले कसैलाई चिन्दैन। त्यसैले तयारी पनि सबैका लागि समान हुनुपर्छ।
हामीलाई किताब चाहिन्छ, हामीलाई प्रयोगशाला चाहिन्छ, हामीलाई प्रविधि चाहिन्छ, हामीलाई खेलकुद चाहिन्छ। तर यी सबैभन्दा पहिले हामीलाई बाँच्न सक्ने ज्ञान चाहिन्छ।
त्यसैले हामीलाई आफ्नो ठाउँको जोखिम चिनाउनुस्। सुरक्षित ठाउँ देखाउनुस्। ड्रिल गराउनुस्। प्राथमिक उपचार सिकाउनुस्। आपत्कालीन अवस्थामा आत्तिन होइन, निर्णय गर्न सिकाउनुस्। ताकि भोलि मेरी बहिनीले फेरि डराउँदै, ‘बाढी आयो भने हामी कहाँ भाग्ने?’ भन्नु नपरोस्।
बरु उसले ढुक्क भएर भन्न सकोस्, ‘मलाई विपद् आयो भने के गर्ने पनि थाहा छ।’
किनकि हाम्रो उद्देश्य विपद् कहिल्यै नआओस् भन्ने कामना मात्र होइन। विपद् आउँदा पनि नआत्तिने पुस्ता तयार गर्नु हो। आजको एउटा अभ्यास, भोलिको एउटा जीवन हो।
(समृद्धि बस्ताकोटी अध्ययन स्कुल, सामाखुसीको कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन्।)