सबैले साधारण देखेको त्यो केटीमा
म एउटा छुट्टै संसार देख्छु
सबैले सुनेको उसको हाँसोमा
म आफ्नो दिनको उज्यालो भेट्छु।
ऊ ऐनामा आफूलाई हेर्छे,
म उसको अनुहारभन्दा पर
उसका आँखाभित्र
चुपचाप हुर्किरहेको
एउटा सपना हेर्छु।
सायद त्यसैले उसलाई हेर्दा
म आफैँलाई बिर्सन्छु।
हो, म प्रेममा छु।
मलाई थाहा छैन, उसको मुस्कान किन
यति धेरै आफ्नोजस्तो लाग्छ
किन उसको एउटा सानो खबरले
मेरो दिनभरको थकान
एकैछिनमा हराउँछ
किन ऊ चुप लाग्दा
उसले नभनेका कुराहरु सुन्न खोज्छु
किन ऊ टाढा हुँदा पनि
उसको सम्झना मेरो वरिपरि
हावाजस्तै घुमिरहन्छ।
उसले केही नभन्दा पनि
म उसको मौनता बुझ्न खोज्छु,
उसले केही नमाग्दा पनि
उसको मनले खोजेको कुरा
अनुमान गर्न खोज्छु
सायद प्रेम भनेकै
कसैका शब्दभन्दा बढी
उसको मौनता सुन्नु हो
हो, म प्रेममा छु।
म उसलाई पाउन मात्र चाहन्नँ,
बुझ्न चाहन्छु।
उसका डरहरूमा
आफ्नो हात राख्न चाहन्छु,
उसका कमजोरीहरूलाई
उसकै विरुद्ध प्रयोग नगरी
उसकै साथमा उभिन चाहन्छु
उसका सपनाहरूमा
आफ्नो नाम लेख्नुभन्दा
उसलाई आफ्नै आकाशमा
स्वतन्त्र उडेको हेर्न चाहन्छु।
म त्यस्तो प्रेम चाहन्नँ
जसले उसलाई बाँधेर राखोस्
म त त्यस्तो प्रेम चाहन्छु—
जहाँ ऊ स्वतन्त्र भएर पनि
मलाई आफ्नो ठान्न सकोस्
जहाँ उसको खुसीका लागि
मेरो उपस्थितिभन्दा
उसको मुस्कान ठुलो होस्।
हो, म प्रेममा छु।
उसको आँखामा एउटा आँसु देख्दा
किन मेरो मन भारी हुन्छ?
उसको ओठमा एउटा मुस्कान देख्दा
किन मलाई संसार जितेजस्तो लाग्छ?
सायद म उसको
खुसीसँग यति धेरै जोडिइसकेँ कि
उसको हाँसो मेरो खुसी भयो,
र उसको दुःख मेरो बेचैनी।
ऊ भन्छे- “केही भएको छैन।”
म मुस्कुराएर “ठिक छ” भन्छु,
तर उसको आँखाले नभनेको कुरा
मेरो मनले सुनिसकेको हुन्छ।
यही त हो होला— प्रेममा हुनु
कसैले केही नभन्दा पनि
धेरै कुरा बुझिरहनु
हो, म प्रेममा छु।
मसँग उसलाई दिने
सुनको महल छैन
ठूला-ठूला वाचा गर्ने
शब्दहरू पनि छैनन्
तर एउटा मन छ—
जहाँ उसले चाहे
आफ्नो थकान बिसाउन सक्छे
एउटा काँध छ जहाँ ऊ रोए पनि
उसलाई आफ्ना आँसु लुकाउनु पर्दैन
एउटा साथ छ उसको खुसीमा
उसैसँग हाँस्न सक्ने र उसको दुःखमा
केही नभनी उसकै छेउमा बसिरहन सक्ने।
म उसलाई जीवनभरको वाचा गर्न सक्दिनँ,
तर आज ऊ मेरो साथमा छ भने
आजको यो साथलाई साँचो बनाउन सक्छु
हो, म प्रेममा छु।
मलाई थाहा छैन यो कथा कहाँ पुग्छ
उसको हात कहिल्यै मेरो हातमा आउँछ कि आउँदैन,
उसको मनमा मेरो नाम बस्छ कि बस्दैन
सायद उसले मलाई
मेरो जति कहिल्यै सम्झिँदैन
सायद यो प्रेम
मेरो मनमै आएर
मेरो मनमै हराउँछ।
तर पनि म उसलाई प्रेम गर्न
उसको स्वीकृतिको प्रतीक्षा मात्र गरिरहन सक्दिनँ
किनकि प्रेम
सधैँ पाउनुको नाम होइन रहेछ
कहिलेकाहीँ कसैको खुसीमा
आफ्नो खुसी भेट्नु पनि प्रेम रहेछ
उसलाई टाढैबाट खुसी देख्न सक्नु पनि
प्रेम रहेछ
र कहिलेकाहीँ कसैलाई आफ्नो बनाउनुभन्दा
उसको जीवनमा एउटा सुन्दर सम्झना बनेर
बस्नु पनि प्रेम रहेछ।
उसलाई भेटेपछि म पहिलेको म रहिनँ
उसको एउटा मुस्कान
मेरो दिनको कारण बनेको छ
उसको एउटा पीडा
मेरो रातको बेचैनी बनेको छ
र उसको नाम मेरो मनले
कसैलाई नसुनाई बारम्बार दोहोर्याइरहने
सबैभन्दा प्रिय शब्द बनेको छ
त्यसैले यदि प्रेममा पर्नु
अलि बहुलाउनु हो भने
हो, म प्रेममा छु।
तर मेरो बहुलापन
संसारका लागि होइन,
मेरै लागि हो
उसलाई पाउनका लागि मात्र होइन,
उसलाई बुझ्नका लागि
उसलाई बाँध्नका लागि होइन,
उसलाई उड्न दिनका लागि
उसको जीवनमा
आफ्नो अधिकार खोज्नका लागि होइन
उसको खुसीमा
आफ्नो खुसी भेट्नका लागि
र सायद यही कारणले
मलाई भन्छन् यो मान्छे प्रेममा छ
किनकि मैले उसलाई अलि धेरै प्रेम गर्छु
त्यसैले म प्रेममा छु।