मसँग शब्दहरू सीमित छन्
कसरी पोख्नु असीमित मेरा भावनालाई?
कसलाई सुनाऊँ एक्लै बरबराएको कथा?
कहाँ खोजूँ मैले हराएको आफ्नै अस्तित्व?
बुझ्नेले मौनता पनि बुझ्दछन्-
देख्नेले शून्यता पनि देख्दछन्-
मसँग पात्रहरू सीमित छन्
कसरी ढाल्नु असीमित मेरा भोगाइलाई?
कसलाई सुनाऊँ रोदनको व्यथा?
कहाँ भेटूँ मैले छुटेको आफ्नै प्रतिबिम्ब?
एकदिन आकाशले पनि सुन्ने छ
मौन हृदयको चित्कार
एकदिन धरतीले पनि हेर्ने छ
शून्यताको गहिरो आकार
मसँग बाटोहरू सीमित छन्
कसरी रोक्नु असीमित मेरा यात्रालाई?
कसलाई सुनाऊँ गन्तव्यको तिर्सना?
कहाँ देखूँ मैले गुमाएको आफ्नै सहयात्री?
सम्भवतः
मेरो अस्तित्व हराएको छैन
म सँगै छ मेरो प्रतिबिम्ब
मै हुँ मेरो सहयात्री।