तिमी नेपालका रहेछौ। मैले तिम्रो प्रोफाइल हेरेँ। नेपालको भयानक अवस्थाले मलाई निकै दुःखी बनाएको छ।'
उसले यति भन्यो।
मैले 'धन्यवाद' भनेँ।
तर त्यो धन्यवादभित्र कति पीडा थियो, सायद उसले त्यतिबेला बुझेन।
म नियमित काम सकेर घर फर्किंदै थिएँ। घर पुग्न करिब ७० माइलको यात्रा बाँकी थियो। उबर अन गरेको थिएँ। खाली गाडी लिएर त्यति लामो यात्रा गर्नुको अर्थ थिएन। बाटोमा कोही यात्रु भेटिए पुलको टोल र गाडीको केही खर्च उठ्थ्यो।
केही समय सान फ्रान्सिस्कोकै स्थानीय कलहरू आए। मैले उठाइनँ।
वालनट क्रिक जाने एउटा कल आयो। करिब २४/२५ डलरको।
पुलको टोल मात्रै नौ डलर तिर्नुपर्थ्यो। बाँकी बाटो खर्च पनि उठ्ने भयो।
मैले कल स्वीकार गरेँ।
चार मिनेटको दूरीमा यात्रु रहेछ।
गएँ।
एउटा मानिस उभिरहेको थियो। अनुहार हेर्दा पूर्वी एसियाली मूलको जस्तो देखिन्थ्यो। उमेर पनि लगभग मेरै आसपास।
ऊ गाडीमा आएर बस्यो।
मेरो गाडी बाहिर रातो र भित्र सेतो थियो। उसलाई गाडी मन परेछ।
‘आइ लाइक्ड योर च्वाइस। रेड एन्ड ह्वाइट। ब्युटिफुल कार!’
मैले धन्यवाद भनेँ।
यात्रा सुरू भयो।
उसले सिट बेल्ट लगायो।
गाडी अगाडि बढ्यो।
केही क्षणपछि उसले भन्यो,
‘तिमी नेपालका रहेछौ। मैले तिम्रो प्रोफाइल हेरेँ। नेपालको अहिलेको अवस्थाले मलाई निकै दुःखी बनाएको छ।’
मसँग उसलाई धन्यवाद भन्नुबाहेक अरू केही थिएन।
मैले भनेँ,
‘हाम्रो दुःख बुझिदिनुभएकोमा धन्यवाद।’
उसले फेरि सोध्यो,
‘तिम्रो कोही आफन्त प्रभावित भएका छन्?’
प्रश्न सामान्य थियो।
तर मेरो मनमा त्यो प्रश्नले ठूलो ढुंगा खसालिदियो।
म करिब १५ वर्षदेखि विदेशमा छु। यति लामो समय विदेश बसेपछि पनि एउटा कुरा कहिल्यै बदलिएको छैन। मलाई लाग्छ, विदेशमा रहेका नेपालीका लागि नेपालमा हुने हरेक दुःख आफ्नै घरमा भएको दुःखजस्तै हुन्छ।
मैले उसलाई भनेँ,
‘मेरा आफन्त मात्रै होइनन्। नेपालमा दुःख पाएका ती सबै मेरा आफन्त हुन्।’
केही क्षण रोकिएँ।
फेरि थपेँ,
‘बाढीमा परेका ती सबै मेरा आफन्त हुन्। ज्यान गुमाएका सबै मेरा आफन्त हुन्।’
सायद मेरो आवाजमा केही काँपेको थियो।
ऊ केही बोल्न खोज्दै थियो।
तर त्यसअघि नै उसले भन्यो,
‘मेरो कथा सुन्यौ भने तिमीलाई यो सबै सहने शक्ति मिल्न सक्छ।’
मैले केही भनिनँ।
केवल यति भनेँ,
‘प्लिज।’
त्यतिबेलासम्म हामी बे ब्रिज पार गरिसकेका थियौँ।
र उसले आफ्नो कथा सुरू गर्यो।
‘म सन् २०१० को डिसेम्बरमा विद्यार्थी भिसामा अमेरिका आएको थिएँ।’
गाडीको गति उस्तै थियो।
तर मेरो ध्यान अब बाटोमा थिएन।
उसको आवाजमा थियो।
‘अमेरिका आएको तीन महिना पनि पुगेको थिएन। त्यसैबीच जापानमा ठूलो सुनामी आयो।’
उसले मिति सुनायो।
‘मार्च ११, २०११।’
त्यो मिति उसको जीवनमा यति गहिरो गरी गाडिएको रहेछ कि उसले आज पनि बिर्सन सकेको रहेनछ।
‘त्यो दिन ९ रेक्टर स्केलको भूकम्प आयो। त्यसपछि आएको सुनामीले मेरो घर बगायो। मेरा बुबा, आमा र दुई बहिनीलाई पनि बगाएर लग्यो।’
ऊ रोकिएन।
तर मेरो मन रोकियो।
उसले भनिरहेको थियो,
‘मेरो सारा संसार त्यही दिन लुटियो। म एक्लो भएँ।’
उसका परिवारका सदस्यहरूको शवसमेत भेटिएनछ।
शोक मनाउन शव पनि नपाउनु कस्तो पीडा होला?
म कल्पना गर्न खोज्दै थिएँ।
सकिरहेको थिइनँ।
उसले भन्यो,
त्यसपछि उसले एउटा वाक्य भन्यो, जुन आज पनि मेरो कानमा गुञ्जिरहेको छ।
‘फर्किंदा म रित्तो थिएँ।’
ऊ केहीबेर चुप लाग्यो।
‘हुन त जाँदा पनि रित्तै गएको थिएँ। मेरा बुबा, आमा र दुई बहिनी पनि यो संसारबाट रित्तै गए।’
म अब उसलाई सुन्दै मात्र थिइनँ।
रोइरहेको थिएँ।
उसले अन्तिममा भन्यो,
‘त्यसपछि म फेरि जापान गएको छैन।’
त्यो वाक्यसँगै मेरो आँखाबाट आँसु झर्न थाले।
म घुँक्क घुँक्क गर्न थालेँ।
पछाडिको सिटमा बसेको उसलाई रियर भ्यु मिररबाट हेरेँ।
उसका आँखामा पनि आँसु थिए।
ऊ आँसु पुछ्दै थियो।
तर म जस्तो डाँको छोडेर रोएको थिएन।
सायद उसको घाउमा समयले खाटा बसाइसकेको थियो।
मेरो घाउ भने त्यतिबेला ताजै थियो।
तर सत्य के हो भने, उसको घाउ र मेरो घाउको तुलना हुनै सक्दैनथ्यो।
उसले आफ्नो सिंगो परिवार गुमाएको थियो।
मैले आफ्नो देशका मानिसहरूको पीडा महसुस गरिरहेको थिएँ।
दुःख फरक थियो।
तर दुःखको भाषा एउटै थियो।
केहीबेरपछि उसले भन्यो,
‘सरी, माइ म्यान। इफ आइ हर्ट यू।’
मैले आँसु पुछेँ।
नरोएको जस्तो गरेँ।
र भनेँ,
‘आइ एम अलराइट, ब्रदर। आइ एम सरी फर योर लस।’
तर म अलराइट थिइनँ।
मनभित्र कताकता भत्किरहेको थिएँ।
हामी केहीबेर फेरि मौन यात्रामा रह्यौँ।
कहिलेकाहीँ दुई अपरिचित मानिसबीच शब्दको आवश्यकता पर्दैन रहेछ।
दुःखले नै कुराकानी गरिरहेको हुन्छ।
अन्ततः हामी उसको गन्तव्यमा पुग्यौँ।
ऊ गाडीबाट ओर्लनुअघि आफ्नो खल्तीबाट केही नोट निकाल्यो।
मेरो हातमा राख्दै भन्यो,
‘स्टे स्ट्रङ, माइ म्यान। मसँग यति मात्रै नगद छ। प्रभावित परिवारका लागि यो सहयोग गरिदिनू।’
उसको हातमा जम्मा १२० डलर थियो।
उसले त्यो सबै मलाई दियो।
म केही बोल्न सकिनँ।
ऊ गयो।
गाडी अगाडि बढ्यो।
तर मेरो मन त्यहीँ रोकियो।
त्यो १२० डलर मेरो लागि १२० डलर थिएन।
त्यो १२० मिलियन डलरजस्तै थियो।
किनभने त्यो रकम एउटा पीडित मानिसले अर्को पीडितको देशका लागि दिएको थियो।
आफ्नो परिवारको चिहानसमेत भेट्न नपाएको मानिसले मेरो देशका पीडित परिवार सम्झिएको थियो।
उसले मलाई पैसा मात्रै दिएको थिएन।
उसले आफ्नो दुःखबाट केही अंश निकालेर मेरो देशको दुःखमा राखिदिएको थियो।
त्यसैले त्यो १२० डलरको मूल्य पैसामा नाप्न सकिँदैन।
मैले अहिलेसम्म आफूले कसरी, कहाँ र कति सहयोग गरेँ भनेर फेसबुकमा लेखेको छैन।
विभिन्न समूह र सरकारका खातामार्फत, आफ्नो व्यक्तिगत हैसियतले पनि सकेकोभन्दा बढी सहयोग गरिसकेको छु।
तर त्यसको हिसाब सार्वजनिक गर्न मन लागेन।
कहिलेकाहीँ सहयोग पनि प्रदर्शन गर्नुपर्ने विषय होइन जस्तो लाग्छ।
मनले गरेको काम मनमै रहोस् भन्ने लाग्छ।
तर आज यो घटना लुकाउन सकिनँ।
किनभने त्यो १२० डलरले मेरो मन छोयो मात्रै होइन, मेरो मन रूवायो।
मलाई लाग्यो, संसारको जुनसुकै कुनामा पुगे पनि दुःखले मानिसलाई मानिससँग जोड्दोरहेछ।
जापानको सुनामीमा परिवार गुमाएको एउटा अपरिचित मानिस र नेपालको बाढीमा आफ्ना मानिस गुमाइरहेको अर्को अपरिचित नेपालीलाई जोड्न एउटा उबरको यात्रा पर्याप्त रहेछ।
हामी एउटै देशका थिएनौँ।
हाम्रो भाषा एउटै थिएन।
हाम्रो दुःखको कारण पनि एउटै थिएन।
तर आँसु एउटै थियो।
समवेदना एउटै थियो।
मानवता एउटै थियो।
र अन्ततः उसले छोडेर गएको १२० डलरले मलाई एउटा ठूलो कुरा सिकायो।
दुःखले मानिसलाई कमजोर मात्रै बनाउँदैन रहेछ। कहिलेकाहीँ आफ्नै घाउ बोकेको मानिस नै अरूको घाउमा मलम बन्ने रहेछ।
त्यो रात मेरो उबरमा एउटा यात्रु चढेको थियो।
गन्तव्यमा पुगेर ऊ ओर्लियो।
तर आफ्नो कथा, आफ्नो आँसु र १२० डलर छोडेर गयो।
म भने धेरै बेरसम्म गाडीभित्रै बसिरहेँ।
बाहिर रात थियो।
सडकमा गाडीहरू गुडिरहेका थिए।
तर मेरो मनमा एउटै वाक्य घुमिरहेको थियो:
मान्छे जहाँको भए पनि, दुःख पर्दा ऊ पहिले मान्छे नै हुँदो रहेछ।
र त्यो रात मैले पहिलोपटक महसुस गरेँ,
कहिलेकाहीँ एउटा अपरिचितले दिएको १२० डलरले करोडौँ रुपैयाँभन्दा ठूलो भरोसा दिन्छ।