मलाई काम विशेषले करिब एक महिना काठमाडौं बस्नुपर्ने भयो।
मेरो डेरा बालुवाटारकै सेरोफेरोमा थियो। चिनियाँ दूतावासको उत्तरतर्फबाट पूर्वतिर एउटा सानो गल्ली जान्छ। त्यही बाटो भएर म दिनहुँ डेरा आउजाउ गर्थेँ। एकदिन त्यही गल्लीको एउटा सानो पसलमा चिया खान छिरेँ— पसलको नाम थियो, ‘दिदीबहिनी खाजा पसल’।
पसल दुई जना दिदीबहिनीले चलाउँदा रहेछन्। जेठी अलि मोटी र खुट्टा खोच्याएर हिँड्ने; कान्छी भने दिदीभन्दा अलि अग्ली र पातली। देब्रे हातका तीन वटा औँला थिएनन् उसका। शारीरिक खोट भए पनि दुवै दिदीबहिनीका अनुहारमा बेग्लै कान्ति र बान्की थियो।
त्यसपछि म अक्सर चिया-खाजा खान त्यहीँ जान थालेँ।
सुरूका भेटमै उनीहरूसँग राम्रो चिनाजानी भयो, बिस्तारै आत्मीय कुराकानी पनि हुन थाल्यो। थाहा भयो— उनीहरूको घर रामेछापको कोलोन्जोर रहेछ।
माओवादी जनयुद्धका बेला दुवैलाई पार्टीले सेनामा भर्ती गराएको रहेछ। उनीहरू जनमुक्ति सेनामा गएको १५ दिन नबित्दै बुवालाई शाही सेनाले समातेर लगेछ। त्यसपछि बुवा मरे-बाँचेको केही अत्तोपत्तो रहेन। युद्धमै छँदा पनि यिनै छोरीहरूले आफूले पाउने भत्ताको केही रकम घर पठाउँथे, जसले गाउँमा रहेकी आमा र सानो भाइको गुजारा चलेको थियो।
पार्टीको बैठकले गाउँकै पिप्ले चौतारीमा उनीहरूका बुवा वीरबहादुर सुनुवारको शालिक राख्ने निर्णय गरेछ। यो खबर सुन्दा आमासँगै उनीहरू पनि हर्षित भएका थिए— बुवालाई मारेकै भए पनि उहाँको नाम त युगौँसम्म अमर रहने भयो भन्ने ठानेर! युद्ध जितेपछि ठूलो जागिर पाइने र जीवन फेरिने सपना देख्थे उनीहरू।
त्यही सपनाले उनीहरूमा नयाँ जोश भर्थ्यो। एकपल्ट कमान्डरले भनेका पनि थिए— 'युद्ध जितेपछि कमरेड जुनालाई उचित सम्मानका साथ राम्रो रोजगारी दिइनेछ।'
घरमा बोलाउने नाम खासै गतिलो थिएन। पार्टीमा जोडिएपछि जेठीले ‘जुना’ र कान्छीले ‘तारा’ नाम पाएका थिए। जनयुद्ध सफल पार्न दुवैले आफ्नो जिउज्यान बाजी लगाएका थिए।
त्यस्तैमा, विद्रोही माओवादी र सरकारबीच वार्ता चलिरहेको अवस्थामा युद्धविरामको घोषणा भएको थियो। यही अवसर पारेर रामेछापको होलेरीमा उच्च सैनिक कमाण्डरहरूको बैठक बसेको थियो। बैठकको सुरक्षाको लागि ठूलो संख्यामा माओवादी लडाकू परिचालन गरिएको थियो। युद्धविराम भएता पनि नेपाली सेनाले माओवादीको पूरै बटालियनलाई घेरा हाल्यो। धेरै जनमुक्ति सेना मारिए। संयोगले यी दिदीबहिनी भने बाँच्न सफल भए। तर, जुनाको तिघ्रामा गोली लाग्यो भने ताराले देब्रे हातको पन्जा गुमाइन्। केही महिनाको उपचारपछि उनीहरू पुनः युद्धमै फर्किए।
त्यतिबेला देशका ८० प्रतिशत गाउँ माओवादीको कब्जामा थिए। सहरमा पनि उनीहरूको उपस्थिति बाक्लिसकेको थियो। विजय अब धेरै टाढा छैन भन्ने लाग्थ्यो उनीहरूलाई। जुना त कमान्डर नै भइसकेकी थिइन्।
ठाउँ-ठाउँबाट जितका खबर आउँदा उनीहरू उत्साहित हुन्थे। तर, यो उत्साह धेरै दिन टिकेन। एकाएक पार्टीले जनयुद्ध अन्त्यको घोषणा गर्यो। हतियार र सेना संयुक्त राष्ट्रसंघको जिम्मा लगाएर पार्टी संसदीय राजनीतिमा प्रवेश गर्यो। देशभरिका जनमुक्ति सेनालाई शिविरमा राखियो। करिब एक वर्षपछि, सेना विघटन नगरी चुनावमा जान नपाइने भएपछि २०६४ मंसिरतिर जनमुक्ति सेना विघटन गरियो। केही समायोजनमा परे, तर जुना र ताराका हातमा केही रकम थमाएर घर फर्काइयो।
वर्षौंपछि घर फर्किँदा न आमा भेटिइन्, न त भाइ नै। घर पनि भत्किइसकेको थियो। गाउँलेले भने— 'तिमीहरूको आमा यहाँ बस्न नसकेर माइत गइन्।'
मावली पुग्दा अर्को दुःखद खबर थाहा भयो— दुःखी जिन्दगी काट्न धौ-धौ भएपछि माइतीले आमाको उमेर मिल्दो अर्कै पुरूषसँग विवाह गराइदिएछन्। यता भाइ कमाउन जान्छु भनेर हिँडेको आजसम्म पनि केही अत्तोपत्तो थिएन।
अब उनीहरूसँग न आमाको साथ थियो, न मावलीमा बस्ने ठाउँ।
यता, आफ्नै सुप्रिम कमान्डर ‘प्रचण्ड’ देशको प्रधानमन्त्री भइसकेका थिए। उनले त पक्कै केही गर्दिएलान् भन्ने आशा बोकेर दिदीबहिनी काठमाडौं छिरे।
त्यतिबेला काठमाडौंमा कमान्डरहरूका आलिशान बङ्गला बन्दै थिए, कसैले घरै किनेका थिए। प्रधानमन्त्रीदेखि मन्त्रीसम्म आफ्नै नेता थिए। जताततै शक्तिमा माओवादीकै हालिमुहाली थियो। जुना र ताराले नेताहरूका घर-घर चाहारे, ढोका-ढोका ढोगे। तर, कसैले पनि काममा लगाइदिन चाहेनन्।
अन्ततः कुनै उपाय नलागेपछि उनीहरूले यही सानो चिया-खाजा पसल सुरू गरेका रहेछन्।
एकदिन मैले उनीहरूको भविष्य र विवाहबारे सोध्दा जुनाले आफ्नो अपाङ्गतातर्फ लक्षित गरेर ओठ टोक्दै भनेकी थिइन्— 'दाइ! हाम्रा लागि त युद्धले आधा जिन्दगी त्यसै खोसिहाल्यो। म त अब के बिहे गर्नु र! बुढी भइसकेँ, शरीरमा गोलीका खत मात्रै छन्। तर यो ताराको चाहिँ कतै बिहे भइदिए हुन्थ्यो! भोलि हामी दुवै अशक्त हुँदा सहारा दिने एउटा टेक्ने लौरो हुने थियो कि भन्ने आशा गरेकी छु!'
मेरो काठमाडौं बसाइ सकियो। त्यसपछि लामो समय काठमाडौँ जाने मेलो मिलेन।
सोझै २०७२ सालको माघमा मात्रै काठमाडौँ पुगेँ। रातभरि जुना र ताराकै सम्झना आइरह्यो। भोलिपल्ट बिहानै उनीहरूको पसल भएको ठाउँमा पुगेँ। तर, त्यहाँ अर्कैले किराना पसल खोलिसकेको रहेछ।
साहुजीलाई सोध्दा मुटु नै सिरिङ्ग हुने खबर पाएँ— 'अहो दाइ! ती जेठी त पक्षघात भएर बितेको धेरै भयो। कान्छी चाहिँ लाम्टिङ मार्गको चोकमा कठघरा राखेर मकै पोल्छिन्।'
म दौडिँदै लाम्टिङ मार्गको चोकतिर लागेँ। मकैको धुवाँको बाक्लो बादलबीच एउटी महिला मुढामा बसेर मकै पोल्दै थिइन्। नजिकै एक जना सोझा देखिने पुरूष आगोमा दाउरा पन्छाउँदै थिए र काखमा ५-६ वर्षकी सानी छोरी थिइन्।
'तारा!' म नजिकै पुगेर पुकारेँ।
उनले धमिलो भइसकेका आँखा तन्काएर मतिर हेरिन्। सुरूमा चिन्न सकिनन्, तर मैले आफ्नो परिचय दिनासाथ उनका आँखा रसाए। पोल्दै गरेको मकैको घान छोडेर उनी हतार-हतार उठिन्।
'दाइ! तपाईं? यतिका वर्षपछि...' उनको स्वर काँप्यो।
'जुना दिदीबारे भर्खरै थाहा पाएँ तारा... सम्हालिनै सकिनँ,' मैले मलिन स्वरमा भनेँ।
ताराले आफ्नो कपडाको सानो सप्कोले आँसु पुछिन् र भनिन्, 'दिदीले मलाई एक्लै छाडेर गइन् दाइ! शिविरबाट निस्किँदा पाएको अलिकति पैसा दिदीको उपचारमै सिद्धियो। अन्तिममा न दिदी बचाउन सकेँ, न त आफ्नो जीवन नै सुधार्न सकेँ।'
उनले आफ्नो श्रीमान र छोरीतिर सङ्केत गर्दै थपिन्, 'उहाँ पनि सोझो हुनुहुन्छ, राम्ररी बोल्न सक्नुहुन्न। मकै पोल्दापोल्दै मेरो आँखाको ज्योति पनि कमजोर भइसक्यो दाइ। तर अब मलाई आफ्नो केही पर्वाह छैन। मेरो बाँकी जीवनको एउटै सपना छ— यो छोरी ‘दीपा’ लाई धेरै पढाउनुछ। हामीले त क्रान्तिका नाममा अन्धकार मात्र देख्यौँ, तर मेरी छोरीको भविष्य उज्यालो होस्!'
उनको त्यो दृढता र ममता देख्दा मेरो छाती भारी भएर आयो। छुट्टिने बेला हालखबर आदानप्रदान गर्न हामीले फोन नम्बर साटासाट गर्यौं।
पछि काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित भएको खबर सुनियो।
उनले काठमाडौं सफा गर्ने अभियानअन्तर्गत फुटपाथका पसलहरू हटाउन थालेको खबर आयो। मेरो मन झस्कियो— तारा पनि यसैको मारमा परिन् होला भन्ने लाग्यो!
केही दिनपछि मैले तारालाई फोन गरेँ।
'तारा, काठमाडौँमा त फुटपाथ पसल हटाइँदै छ रे! तिम्रो मकै पोल्ने ठाउँ सुरक्षित छ?' मैले चिन्तित हुँदै सोधेँ।
फोनको पछाडिबाट ठूलो रोदन र कोलाहलको आवाज आइरहेको थियो। ताराले निस्सासिएको स्वरमा भनिन्, 'नगर प्रहरीले कठघरा र सामान सबै उठाएर लगिदिए दाइ! अब सडकमा मकै बेच्न पनि पाइँदैन रे! केही दिन त हामी भोकभोकै जस्तै भयौँ।'
'अनि अब कसरी गुजारा चलाउँदै छौ त?'
'अहिले त उहाँ र म दुवै जना भवन निर्माण हुने ठाउँमा बालुवा-गिट्टी बोक्ने ज्यामी काम गर्दै छौँ दाइ। हातका औँलाहरू काटिएका छन्, पिठ्युँ दुख्छ, तर जेसुकै होस्, छोरीको पढाइ रोकेकी छैन। ऊ स्कुल गइरहेकी छे,' ताराको स्वरमा पीडासँगै अद्भूत साहस झल्कन्थ्यो।
समय बित्दै गयो। देशमा चरम कुशासन, भ्रष्टाचार, बेथिति र कालोबजारीले जनता आक्रान्त थिए। बेरोजगारीका कारण दिनहुँ हजारौँ युवा विदेशी भूमिमा भासिन बाध्य थिए। देशमै रहेका सचेत युवाहरूले सामाजिक सञ्जालमार्फत यो अन्याय र बेथितिविरूद्ध आवाज उठाए।
तर, सत्ताको उन्मादमा रहेका शासकहरूले युवाका आवाज सुन्नुको सट्टा सामाजिक सञ्जाल नै बन्द गरिदिए।
यसले युवाको आक्रोशलाई ज्वालामुखी बनाइदियो। काठमाडौँबाट सल्किएको आन्दोलनको आगो देशैभरि फैलियो। आन्दोलनको पहिलो दिनमै निरङ्कुश सरकारले शान्तिपूर्ण प्रदर्शनमा अन्धाधुन्ध गोली चलायो। बीस जना भर्खरका युवाहरू घटनास्थलमै ढले, हजारौँ घाइते भए।
भर्खर १४ वर्षमा टेक्दै गरेकी ताराकी छोरी दीपा पनि चुपचाप बस्न सकिनछन्। उनी पनि आफ्ना साथीहरूसँगै आन्दोलनको अग्रपङ्क्तिमा कुदिछन्। पहिलो दिनकै गोलाबारीमा दीपा गम्भीर घाइते भइन् र उनलाई अस्पताल पुर्याइयो।
यो खबर पाउनासाथ म स्तब्ध भएँ। म तुरून्तै काठमाडौँ हानिएँ र सोझै अस्पताल पुगेँ।
तर, ढिला भइसकेको थियो। जुन दीपलाई बाल्न ताराले धुवाँ, पसिना र रगतसँग सम्झौता गरेकी थिइन्, त्यो दीप निभिसकेको थियो— अर्थात्, दीपा अमर शहीद भइसकेकी थिइन्।
अस्पतालको चिसो भुइँमा पछारिएर तारा छाती पिटी-छाती रूँदै थिइन्— 'हामीले त देश बदल्न रगत बहायौँ, तर यो सत्ताले त हाम्रा सन्तानको रगत पनि पिउन छाडेन! मैले कुन पाप गरेकी थिएँ र मेरी निर्दोष छोरी खोसिइस्?'
ताराको त्यो कारूणिक चित्कार सुनेर त्यहाँ उभिएका डाक्टर, नर्स र आम मानिसका आँखा पनि रसाएका थिए।
म त्यहाँ अडिन सकिनँ। स्तब्ध भएर अस्पताल बाहिर निस्किएँ।
अस्पताल बाहिर निस्कँदा मेरा आँखा अगाडि बाटो वा सहर केही थिएन— केवल ताराको मुटु चुँडाउने रोदन र दीपाले बालिसकेको त्यो परिवर्तनको राँको थियो। मलाई महसुस भयो, शरीर ढले पनि अन्यायविरूद्ध बलेको त्यो दीप अझै ननिभ्ने निश्चित थियो।