‘राजनीति र चुनाव लड्ने कुरा तपाईंको आफ्नो निर्णय हो, ठिकै छ। तर स्वर्गवास भइसक्नुभएका आमा-बुवाले समेत गाली खाने हुन् कि भन्ने डर हो,’ भाउजूले भनेपछि म एकछिन सुनेर अड्किएँ।
भर्खरै पारिवारिक छलफलका क्रममा गाउँका दाजु-भाउजूले भन्नुभएको यो एक वाक्यले मलाई एकछिन स्तब्ध बनायो। म गम्भीर भएर सोच्न बाध्य भएँ। समाजशास्त्रको विद्यार्थी अनि दशकौँसम्म सामाजिक क्षेत्रमा लागेको एक युवाका नाताले यो कथन केवल मेरो परिवारको चिन्ता मात्र थिएन, हाम्रो समाज कता जाँदैछ भन्ने एउटा नग्न र तीतो चित्र पनि थियो।
जिन्दगी उकास्नका लागि घरको चौघेरा छाडेर सहर वा परदेश हान्निने कथा आज बहुसंख्यक नेपालीको साझा कथा हो, जसमा मेरो यात्रा पनि फरक थिएन। २०६६ सालतिर सदरमुकाममा पढेर बस्दा महिनाको कोठाभाडा ८०० रुपैयाँ पुर्याउन धौ-धौ हुन्थ्यो।
घरको रासन र वनको दाउराले दैनिकी धान्दै, अनेक कष्ट र व्यवस्थापनबिच +२ पूरा गरियो। घरमा मेरा बुवा-आमा धेरै बोल्नुहुन्नथ्यो, तर उहाँहरूको हात धेरै चल्थ्यो। ‘हातमा सीप भयो भने कसैले भोको र बेरोजगार बस्नुपर्दैन’ भन्ने उहाँहरूको बुझाइ थियो। त्यही प्रेरणा र दाजु-दिदीहरूको मलजलले प्राविधिक शिक्षा पनि लिएँ अनि म सहर हानिएँ।
काठमाडौँको जुझारु दौडमा स्नातक सिद्ध्याइयो, शिक्षक लाइसेन्स निकालियो। सरकारी सेवामा पेन्सनको आसले सरकारी सेवातिर जानुपर्छ भन्ने भनाइहरू हुँदाहुँदै पनि मेरो जीवनको बाटो भने गैरसरकारी तथा सामाजिक सेवातिर मोडियो, यो मेरो व्यक्तिगत निर्णय थियो।
गाउँमा हुर्किँदा पढेको-देखेको संस्कार नै खेतीपाती गर्ने, बाँडेर खाने र आपत्-विपत्मा एक-अर्कालाई सघाउने थियो। त्यही सामाजिक मोहले मलाई गैरसरकारी क्षेत्रमा पुर्यायो। झन्डै एक दशक यस क्षेत्रमा बिताउँदै गर्दा मैले एउटा महत्त्वपूर्ण पाठ सिकेँ— कुनै पनि सर्वसाधारणलाई गरिबीको रेखा पार गर्न कम्तीमा ५ देखि १० वर्ष लगातार पसिना, पाखुरा र समय बजार्नुपर्छ।
बल्ल-बल्ल त्यो ‘अग्निरेखा’ पार गरेपछि मात्रै खान र लाउन पुग्ने स्थिति बन्दो रहेछ। यस अवधिमा राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरका अनेकौँ विज्ञ, अध्ययनशील र सम्मानित व्यक्तित्वहरूसँग काम गर्ने अवसर मिल्यो। देशका विभिन्न भूगोलका साथै करिब एक वर्ष विदेशमा समेत काम गरेर अनुभव बटुल्ने मौका पाएँ। तर जहाँ पुगे पनि, जे गरे पनि आफ्नो हुर्केको गाउँ-ठाउँ र समुदाय मलाई कहिल्यै बिरानो लागेन।
अहिले पनि म युवा अवस्था र जोसमै छु। देशमा अनेकौँ राजनीतिक परिवर्तन आए, तर विकासको गति भने सोचेजस्तो भएन। अझै पनि हाम्रो विकास 'बैलगाडीको रफ्तार'मै सीमित छ। यस्तो अवस्थामा आफ्नो दस वर्षको कार्यअनुभव, सीप र क्षमतालाई आफ्नै गाउँपालिका वा स्थानीय तहमा पोखेर केही नमुना काम गरौँ भन्ने भावना मनमा पलाउँदै गर्दा गाउँका केही युवा साथीहरूले पनि ‘अब गाउँ आउनुपर्छ, मिलेर बनाउनुपर्छ’ भनेर हौसलाका आवाजहरू दिइरहेका छन्।
विगत ३५ वर्षको राजनीतिलाई नियाल्दा स्थानीय स्तरसम्मै यो क्षेत्र बेरोजगारहरूको थलो, गफाडीहरूको पेसा र पहुँचवालाहरूको कब्जामा परेको बुझाइ अनि देखाइ रहेको छ। समाजसेवा र राजनीति हुनुपर्ने ठाउँमा राजनीति बदनामीको पर्याय बनेको छ। यद्यपि, नयाँ जेन्जी पुस्ताको विद्रोह र वैकल्पिक राजनीतिक शक्तिको आगमनले पुराना दलहरूका परम्परागत संरचना पक्कै हल्लाइदिएको छ। जनता र नयाँ पुस्ताले धेरै कुरा सिकेका छन् र पुरानालाई पनि सोच्न बाध्य पारेका छन्।
यिनै सम्भावना र चुनौतीबिच गाउँपालिकामा स्थानीय चुनाव वा नेतृत्वमार्फत सेवा गर्ने विचार बनाएर मैले परिवारसँग सल्लाह माग्दै थिएँ। यो हिजोआजको कुरा मात्रै हो, तर परिवार र समाजको प्रतिक्रिया सोचेभन्दा बिलकुलै फरक र मैले सोचेभन्दा अर्कै आइरहेछ। आजको राजनीति यति दूषित बनेको छ कि, त्यसमाथि सामाजिक सञ्जालको 'अल्गोरिदम'ले आगोमा घिउ थप्ने काम गरेको छ। वास्तविक काम र समाजसेवा पछाडि परेको छ भने 'न्युज र भ्युज'को नाममा जे पनि पस्कने छाडापन बढेको छ।
पहिले गाउँघरमा कसैलाई गाली-गलौच गर्दा वा अपाच्य शब्द बोल्दा गाउँका भद्रभलादमी बसेर मिलाउने वा प्रहरीकहाँ पुगेर तुरुन्तै कारबाही हुने हुँदा मानिसहरूमा कानुनी र सामाजिक डर हुन्थ्यो। तर आज सोसल मिडियाको पहुँचसँगै अनलाइनमा नक्कली पहिचान (फेक आइडी) बनाउन सकिने, भौतिक रूपमा अगाडि पर्नु नपर्ने र तत्कालै कारबाही परिहाल्दैन भन्ने भ्रमका कारण मानिसहरूले सजिलै निकृष्ट शब्द प्रयोग गरी अरूको चरित्रहत्या गर्ने फेसन नै चलेको छ; यद्यपि कानुनी रूपमा भने विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार ५ वर्षसम्म कैद वा १ लाख जरिवाना र मुलुकी अपराध संहिता, २०७४ अनुसार बेइज्जतीमा थप सजाय हुने कडा प्रावधान छ।
कानुनमा प्रस्ट व्यवस्था भए तापनि साइबर ब्युरो वा अदालतको ढोका ढकढकाउँदा डिजिटल सबुत जुटाउने, प्राविधिक अनुसन्धान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने चरणहरू यति ढिलो र झन्झटिला छन् कि आम मानिसहरू न्यायका लागि भौँतारिनुभन्दा अपमान सहेरै बस्नुलाई आफ्नो नियति मान्न बाध्य छन्।
सहरी जीवन र डिजिटल संस्कृतिका यी र यस्तै परिदृश्यमा अलमलिएर आफ्नै जन्मथलो फर्केर स्वरोजगार गर्ने, लगानी गर्ने र देशमै केही गरौँ भन्ने भावना भएका कयौँ युवाहरू आज निराश हुन्छन् कि भन्ने डर छ। गाउँमा गएर केही नवीन काम गरौँ भन्ने मेरो सोचमा यही ‘डिजिटल गालीको प्रसाद’ र सामाजिक छाडापनले ठुलो धक्का दिन्छ कि जस्तो लागेको छ। किनकि म गाली दिने र खाने गरेर हुर्केकै छैन।
मेरो हुर्काइ र सिकाइ मिहिनेतमा विश्वास गर्ने, आफूले जाने-सिकेको काम आफैँ गर्ने र सकेसम्म अरूलाई दुःख नदिने किसिमको छ। मलाई जेसुकै भने पनि हुन्छ, म सहन सक्छु र आफूमा सकेसम्म सुधार ल्याउन लागिरहन्छु; किनकि मलाई राम्ररी थाहा छ- यो संसारमा कुनै पनि मानिस पूर्ण छैनन् र सबैले आफ्नो उत्कृष्ट प्रयास गरिरहनुपर्छ।
तर यहाँ अर्को दुखद कुरा के छ भने—स्वर्गवास भइसकेका आफन्त र मेरा आमा-बुबालाई समेत चरित्रहत्याको निशाना बनाइने डर र यो वातावरणले मलाई गम्भीर बनाएको छ।
सहर मात्र होइन, अब हाम्रा गाउँहरू पनि यस्तै गालीगलौज र द्वेषको चपेटामा परेर बाटो बिराउँदै छन्। वल्लो घरको फलानो पार्टीको, पल्लो घरको फलानो पार्टीको अनि तल्लो घरको फलानो पार्टीको भन्दै हाम्रै आफ्नै नातागोता र वरिपरि फाटो र विभाजन ल्याएको छ। यसको फाइदा गाउँमै नहुने नेताहरूले आफ्नो पकड छ भनेर लिएका छन्।
तर गाउँ र समुदाय, जुन मिलन र मिलापले बसेको थियो, त्यसमा फुट आएको छ। बोलचाल बन्द, झगडा, अनि एक-अर्कालाई गर्ने सरसहयोग (पैँचो) सम्म ठप्प भएको छ। यहाँसम्म कि जिउँदाको जन्ती र मर्दाको मलामीसम्म जान बन्द भएको छ। सोच्नुस् त, राजनीतिले समुदायमा के चाहिँ परिवर्तन ल्यायो?
यति हुँदाहुँदै पनि मैले मेरो निर्णयमा पूर्णविराम लगाएको छैन। दायाँ-बायाँ सोच्ने ठाउँ सधैँ खुला राखेको छु। राजनीति नै अन्तिम विकल्प होइन; समाजमा योगदान दिनका लागि जहाँबाट, जसरी पनि सकिन्छ मेरो आफ्नो मन, ज्ञान र सिकाइलाई जसरी पनि पुर्याउने नै छु, त्यो अर्को पुस्तामा पुर्याउने नै छु। तर संस्कारभन्दा दयनीय बनेको यस्तो राजनीतिले गर्दा धेरैले केही गर्ने साहस पनि रोक्नुपर्ने रहेछ।
यद्यपि, निराशाका बिचमा पनि आशाका किरणहरू सधैँ जीवितै हुन्छन्। मेरो विगत र मैले हासिल गरेको अनुभव नै मेरो सबैभन्दा ठुलो सामर्थ्य हो। तर प्रश्न यति मात्रै हो- के हाम्रो समाज र राजनीतिले गाली पखालेर मान्छेलाई स्वागत गर्ने सभ्यता कसरी र कहिले बसाउला? यो प्रश्नले अझै स्पष्ट रूप देखाएको छैन, तर यसको समाधान हामी आफैँ हुनु जरुरी पनि छ।
(लेखक विकास अभ्यासकर्ता हुन्।)