अहिलेसम्मको अध्ययनले एउटा कुरा स्पष्ट पारिसकेको छ — भदौ १० गते भोटेकोशी–त्रिशूलीमा बाढी आउनुको कारण लाङटाङ लिरूङ हिमालको हिमनदी खस्नु मात्र थिएन।
त्यस दिन करिब ५ हजार २०० मिटर उचाइमा रहेको हिमनदीसँगै त्यसलाई थामेर बसेको ठूलो चट्टानी पहाड नै खसेको थियो।
त्यो पनि डेढ किलोमिटर उचाइबाट।
वैज्ञानिक अन्वेषण यतिमै सीमित छैन।
अहिले वैज्ञानिकहरूले त्यो चट्टानी पहाड खस्नुअघि त्यहाँको मौसम कस्तो थियो भन्ने पनि केलाउन थालेका छन्।
एक नयाँ रिपोर्ट अनुसार चट्टानी पहाड खस्नुअघि ६ दिनसम्म लाङटाङको उक्त क्षेत्र 'असाधारण' रूपमा तातेको थियो।
अगस्ट २१ देखि २६ सम्म उक्त क्षेत्रमा औसत तापक्रम करिब ५ डिग्री सेल्सियस पुगेको अनुमान गरिएको छ।
पछिल्ला पाँच दशकभन्दा बढी समयको तापक्रम तुलनात्मक अध्ययन हेर्दा त्यो क्षेत्रमा अगस्ट महिनाको यति लामो अवधिसम्म औसत तापक्रम ४ डिग्रीभन्दा माथि पुगेको देखिँदैन।
अर्थात्, यस पटक लाङटाङको ५ हजार २०० मिटर उचाइमा रेकर्ड गरिएको तापक्रम सामान्यभन्दा बढी मात्र थिएन, त्यो उचाइका लागि असाधारण पनि थियो।
यसरी हिमनदी र चट्टानी पहाड खस्नुअघि त्यस क्षेत्रमा तापक्रम बढेको अनुमान अमेरिकाको क्यालिफोर्नियास्थित बर्क्ले अर्थ अर्गनाइजेसनका प्रमुख वैज्ञानिक रोबर्ट रोह्डले गरेका हुन्।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले रोबर्टको उक्त अनुमान सेप्टेम्बर ८ मा सार्वजनिक गरेको थियो।
रोबर्टले लाङटाङ वरपर ९ देखि १४० किलोमिटर दुरीमा रहेका १४ वटा उच्च हिमाली मौसम केन्द्रका तथ्यांक मिलाएर घटनास्थलको तापक्रम अनुमान गरेका हुन्।
उनको अनुसन्धान अनुसार अगस्ट २१ देखि २६ सम्मको औसत तापक्रम २०औं शताब्दीको मध्यतिरको भन्दा करिब १.८ डिग्री सेल्सियस बढी थियो।
उनको हिसाबमा मानवीय कारणले जलवायु परिवर्तन नभएको अवस्थामा यस्तै किसिमको तापक्रम वृद्धि त्यस्तो स्थान र समयका लागि अत्यन्तै दुर्लभ हो।
'जलवायु परिवर्तनको अवस्था नभइदिएको भए सम्भवतः यो केही हजार वर्षमा एक पटक मात्र देखिने खालको घटना हो,' रोबर्टले एएफपीसँग भनेका छन्।
एएफपीले युरोपको 'कोपरनिकस' स्याटलाइटबाट प्राप्त तथ्यांक विश्लेषण गर्दै अर्को तथ्य पनि अगाडि ल्याएको छ – लाङटाङ क्षेत्रमा सन् २०१६ को गृष्मकालमा मापन गरिएको तापक्रम १९७० यताकै चौथो बढी हो।

हिउँ पनि पग्लिएको थियो
तापक्रमको तथ्यांकभन्दा यो घटनासँग प्रत्यक्ष जोडिन सक्ने अर्को कुरा अझ महत्त्वपूर्ण छ।
फ्रान्सको राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र 'सिएनआरएस' का हिमनदी विज्ञ एथियन बेर्तिएका अनुसार स्याटलाइट तस्बिरमा पहाड खस्नुअघिका केही दिनमै उक्त क्षेत्रमा ठूलो मात्रामा हिउँ पग्लिएको देखिन्छ।
बेलायतको युनिभर्सिटी अफ सेफिल्डकका हिमनदी विज्ञ इथान लीले पनि घटनाभन्दा एक–दुई दिन अघिसम्म त्यो क्षेत्रमा हिउँको परिमाण जति थियो, घटनाको दिनसम्म त्यो ठूलो मात्रामा हराएको बताएका छन्।
यसरी हिउँ हराउनुको अर्थ के हुन सक्छ?
हिउँ छिटो पग्लिँदा त्यसबाट आएको पानी हिमनदीका चिरा र चट्टानका चिरा हुँदै भित्र पस्न सक्छ। पानी चट्टानको भित्री भागसम्म पुगेको अवस्थामा त्यसले चट्टानको पकडलाई कमजोर पार्छ।
जमेर बसेको भूमिगत भागमा पानी पुग्यो भने चट्टानहरूको चिरा फराकिलो हुँदै पहाड नै खस्न सक्ने एथियनले एएफपीलाई बताएका छन्।
इथान लीका अनुसार पनि हिउँ पग्लिएको पानी हिमनदीभित्रका चिराबाट तल पस्न सक्छ। त्यस क्रममा हिमनदीको तल्लो आधारसम्म पानी पुगे बरफ र चट्टानबीचको घर्षण घट्न सक्छ र त्यसले पहाडलाई हलचल गर्न सजिलो बनाइदिन्छ।
यी सबै तथ्य विचार गर्दा भदौ १० गतेको विनाशकारी बाढीको कारणबारे अहिलेको नयाँ वैज्ञानिक प्रश्न यही भएको छ — कतै लाङटाङ क्षेत्रको बढ्दो तापक्रम र असाधारण गर्मीले हिउँ पग्लेर त्यसकै पानीले चट्टानी पहाडलाई कमजोर बनाएको त थिएन?
एक घटना, दुई तथ्य
वैज्ञानिकहरूको अनुसन्धानबाट अहिले हामीसँग एकै घटनासँग जोडिएका दुई नयाँ तथ्य छन् —
एक, लाङटाङको त्यस क्षेत्रमा भदौ १० गतेभन्दा ६ दिनअगाडि असाधारण गर्मी थियो।
दोस्रो, त्यही समय त्यो ठाउँमा उल्लेख्य परिमाणमा हिउँ पग्लेको थियो।
यी दुई वैज्ञानिक तथ्यपछि अब हाम्रो अगाडि एउटा प्रश्न आउँछ — के भदौ १० गते लाङटाङको लिरूङ हिमालमा विशाल चट्टानी पहाड खस्नुका पछाडि असाधारण गर्मी र हिउँ पग्लिनु नै कारण थियो?
यो प्रश्नको उत्तर खोज्न हामीले भदौ १० गतेभन्दा अगाडिका ६ दिन होइन, त्योभन्दा धेरै नै अगाडि फर्किनुपर्छ।
अस्ट्रियाको युनिभर्सिटी अफ ग्राजका भूवैज्ञानिक जाकोब स्टाइनरले सन् २०१४ यता उच्च हिमाली क्षेत्रमा 'पर्माफ्रस्ट' (permafrost) को अवस्था अध्ययन गर्दै आएका छन्।
उनले जलवायु परिवर्तन, ऊर्जा र विज्ञानसम्बन्धी विषयमा केन्द्रित बेलायतको स्वतन्त्र डिजिटल मिडिया 'कार्बन ब्रिफ' सँगको कुराकानीमा ५ हजार २०० मिटर उचाइमा समेत वर्षौंदेखि पर्माफ्रस्ट पग्लिँदै गएको बताएका छन्।
जाकोबको यो भनाइ बुझ्न पर्माफ्रस्ट भनेको के हो, त्यो थाहा पाउनुपर्छ।
अत्यन्त चिसो उच्च हिमाली क्षेत्रमा जमिन वा चट्टान लामो समयसम्म जमेको अवस्थामा रहन सक्छ। कम्तिमा लगातार दुई वर्ष शून्य डिग्री सेल्सियस वा त्योभन्दा कम तापक्रममा रहने जमिन वा चट्टानी भूभागलाई पर्माफ्रस्ट भनिन्छ।
उच्च हिमालका यस्ता भूभागमा चट्टानका चिराभित्र बरफ जमेको हुन सक्छ। त्यो बरफले चिरिएका चट्टानलाई जोडेर राख्न सहयोग गर्छ।
यसलाई अझ सरल रूपमा बुझ्न, उच्च हिमाललाई चिरैचिरा परेको चट्टानको विशाल थुप्रो सम्झन सकिन्छ, जसका चिरा र जोर्नीमा जमेको बरफले त्यसलाई जोडेर राख्न मद्दत गरेको हुन्छ। तापक्रम बढ्दै जाँदा त्यो बरफ पग्लन सक्छ। यसले पानी चिराभित्र पस्छ। फेरि जम्छ। फेरि पग्लन्छ। बिस्तारै चिरा फराकिलो हुन थाल्छ।
यही क्रममा पर्माफ्रस्ट तातेर पग्लिँदा चट्टानका चिराभित्र जमेको बरफको पकड कमजोर हुन सक्छ।
जाकोब र उनको टिमले सन् २०१४ यता निरन्तर अनुगमन गरिरहेको लाङटाङको त्यो भेगमा पर्माफ्रस्ट तीव्र गतिमा कमजोर हुँदै गएको बताएका छन्।
उनीहरूका अनुसार पर्माफ्रस्ट कमजोर हुँदै गएकाले उक्त क्षेत्रको चट्टानी पहाडलाई लामो समयदेखि कमजोर बनाइरहेको हुन सक्छ।
यही अवस्था बढ्दै गएर भदौ १० गते पहाड खसेको हुन सक्ने जाकोबको अनुमान छ।
यहाँ त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका सह–प्राध्यापक तथा हिमनदी विज्ञ सुदीप ठकुरीले एउटा रोचक तथ्य दिएका छन्।
उनका अनुसार जति बेला त्यो भेगमा हिमनदी फुट्ने घटना भयो, त्यसको केही दिनअघिदेखि त्यहाँको वातावरण बादल लागेर धुम्म थियो।
त्यसरी धुम्म बादल लाग्दा त्यसमा रहेका पानीका कणहरू बरफको चिराभित्र पसेको हुनसक्ने उनको अनुमान छ।
'त्यस्तो भएको रहेछ भने यो पनि बरफका ढिस्काहरू खसाल्न कारण बनेको हुनसक्छ, तर यसलाई यकिनसाथ भन्न विस्तृत अनुसन्धान गरिनुपर्छ,' उनले सेतोपाटीसँग भने।

के उच्च तापक्रम नै विपदको कारण हो?
सबै वैज्ञानिकहरू यसलाई अहिले नै निष्कर्षका रूपमा स्वीकार गर्दैनन्।
फ्रान्सकी भूआकृतिविद (जियो–मर्फोलोजिस्ट) क्रिस्टेन कुकले एएफपीसँग भनेकी छन्, 'उच्च तापक्रम मात्रले यस्तो ठूलो घटना गरायो भनेर व्याख्या गर्न सकिँदैन।'
तापक्रमले केही भूमिका खेलेको भए पनि त्यो चट्टानी पहाड पहिले नै कमजोर भएर खस्ने अवस्थामा पुगिसकेको हुनुपर्ने उनको तर्क छ।
भन्नुको मतलब, लाङटाङको बढ्दो गर्मीले नै अहिले पहाड खस्ने घटना गराएको होइन। बरू पहिले नै कमजोर अवस्थामा पुगिसकेको पहाडलाई थप अस्थिर बनाएको भने हुन सक्छ।
अमेरिकी वैज्ञानिक रोबर्टले पनि आफ्नो विश्लेषणमा यहाँनिर सावधानी अपनाएका छन्।
उनका अनुसार, भदौ १० गते पहाड खसेको ठाउँमा वास्तवमै हिउँ पग्लेर चट्टान कमजोर भएको प्रमाण भेटियो भने त्यसले जलवायु परिवर्तनको भूमिका स्थापित गर्नेछ।
तीन दशकमा करिब ४५० मिटर खुम्चिएको थियो हिमनदी
भदौ १० गते लाङटाङ लिरूङ हिमालमा जुन हिमनदी खस्यो, त्यो कयौं वर्षदेखि निरन्तर खुम्चिँदै गएको वैज्ञानिक निष्कर्षहरू पनि सार्वजनिक भएका छन्।
बेलायतको युनिभर्सिटी अफ रिडिङकी वैज्ञानिक मारिया शाहगेदानोभाका अनुसार यो घटनामा खसेको हिमनदी सन् १९९० देखि २०२० बीचमा करिब ४५० मिटर खुम्चिएको थियो।
यसरी हिमनदी खुम्चिँदा त्यसले तलको चट्टानी पहाडलाई दिने टेवा घट्न सक्छ।
चट्टान र हिमनदीबीचको सम्बन्ध बदलिँदा पहाडको स्थिरतामा असर पर्न सक्छ।
यसैसँग मिल्दोजुल्दो निष्कर्ष गुञ्जन सिलवाल, बेथन डेभिस, जे रेचल कार लगायतका वैज्ञानिकले यसै वर्ष 'ग्लोबल एन्ड प्लानेटरी चेन्ज' जर्नलमा प्रकाशित गरेको रिपोर्टले पनि देखाएको छ।
उनीहरूले सन् १८१५ देखि २०२३ सम्म लाङटाङ क्षेत्रमा आएको परिवर्तन अध्ययन गरेका थिए।
उनीहरूका अनुसार यस अवधिमा लाङटाङको ७८.४६ वर्गकिलोमिटर हिमनदी क्षेत्र गुमेको थियो।
यो भनेको करिब ४१.५ प्रतिशत हो।
हिमनदी क्षेत्र घट्ने गति पनि तीव्र बनेको छ। सन् १८१५ देखि १९६४ सम्म हिमनदी क्षेत्र औसत वार्षिक करिब ०.११ प्रतिशत घटेको थियो। सन् १९६४ देखि २०२३ सम्म त्यो गति बढेर वार्षिक करिब ०.४९ प्रतिशत पुग्यो।
अर्थात् चार गुणाभन्दा बढी।
अध्ययनको अर्को तथ्य झन् रोचक छ।
सन् १८१५ आसपास लाङटाङ क्षेत्रमा ५८ वटा हिमनदी गणना गरिएको थियो। सन् २०२३ मा यो संख्या बढेर ११५ पुग्यो।
यसको अर्थ हिमनदी बढेका होइनन्। ठूला हिमनदी टुक्रिँदै, छुट्टिँदै र साना भागमा विभाजित हुँदै गएकाले संख्या बढेको हो।
वैज्ञानिकहरूले हिमनदीको मोटाइ घटेको, तिनको बहने गति कम भएको र धेरै भाग एकअर्काबाट छुट्टिएको पनि पाएका छन्।
यसरी लाङटाङ क्षेत्रको हिमनदी खुम्चिँदै वा घट्दै जानुको कारण पनि अमेरिकी वैज्ञानिक रोबर्ट रोह्डले भनेजस्तै त्यस क्षेत्रको बढ्दो तापक्रम हुन सक्छ।
त्यसैले भदौ १० गतेको विनाशकारी बाढीको कारण बुझ्न 'घटनाको अघिल्ला ६ दिन' लाई मात्र हेरेर पुग्दैन। पछिल्ला दशकमा हिमनदी कसरी बदलियो भन्ने पनि हेर्नुपर्छ।
अहिले वैज्ञानिकहरू कति निश्चित छन्?
अहिलेसम्मका यी वैज्ञानिक प्रमाणलाई हामी तीन तहमा बुझ्न सक्छौं।
पहिलो, भदौ १० गते लाङटाङमा पहाड खस्नुअघि ६ दिनसम्म त्यस क्षेत्रमा असाधारण गर्मी थियो। त्यही समय उल्लेख्य परिमाणमा हिउँ पग्लिएको स्याटलाइट तस्बिरहरूले देखाएका छन्।
दोस्रो, गर्मीका कारण हिउँ पग्लिएर पानी चट्टानका चिरामा पसेको हुन सक्छ। र, पहिले नै कमजोर हुँदै गएको पहाडलाई थप अस्थिर बनाएको हुन सक्छ।
र तेस्रो, हिमनदी लामो समयदेखि निरन्तर खुम्चिँदै जाँदा मुनिको चट्टानी पहाडले पाइरहेको भर वा टेवा कमजोर भएको हुन सक्छ। र, ठ्याक्कै भदौ १० गतेको बिहानसम्म आइपुग्दा त्यो चट्टानी पहाडले आफ्नो भार थाम्न नसकेर खसेको हुन सक्छ।
अहिलेसम्म सार्वजनिक यी तीन वैज्ञानिक कडीलाई जोडेर हेर्दा एउटा कुरा अनुमान गर्न सकिन्छ – दशकौंदेखि अस्थिर हुँदै आएको लाङटाङको त्यो हिमनदीलाई भदौ १० गते अन्तिम धक्का दिने काम त्योभन्दा ६ दिनअगाडिको 'असाधारण' तापक्रमले गराएको हुन सक्छ!
***