मंगलबार दिउँसो २ बजे पुल्चोक इन्जिनियरिङ क्याम्पसमा एउटा खबर आयो — चिलिमे जलविद्युत आयोजनाको सुरूङमा थुप्रिएको लेदो निकाल्ने काम सुस्त भयो। नेपाली सेनाले गरिरहेको काममा थप मद्दत पुर्याउन केही उपाय लगाउन सकिन्छ?
यस्तो खबर आउनासाथ पुल्चोक क्याम्पसका शिक्षक–विद्यार्थी सक्रिय भए।
उनीहरूले रातभर नसुती भोलिपल्ट बिहान ६ बजेसम्म एउटा मेसिन तयार पारे।
त्यो मेसिनलाई बिहीबार हेलिकप्टरबाट चिलिमे पुर्याइयो।
अहिले त्यही मेसिनले जलविद्युत आयोजनाको सुरूङभित्र थुप्रिएको लेदो र गेग्रान बाहिर निकाल्ने तयारी गरिरहेको पुल्चोक इन्जिनियरिङ क्याम्पसको रोबटिक क्लबका संयोजक तथा रोबटिक प्रशिक्षक रमेश चौधरीले जानकारी दिए।
'हाम्रा दुई जना विद्यार्थी सुरूङभित्रको लेदो तान्ने मेसिनसहित चिलिमे पुगेका छन्,' उनले भने, 'मेसिन जडान भइसकेको छ।'
हामीले यो मेसिन कसरी बन्यो भन्नेबारे चौधरीसँग विस्तारमा कुरा गरेका छौं।
२४ घन्टाभन्दा कम समय
चौधरीका अनुसार चिलिमे जलविद्युत आयोजनाको सुरूङमा बाढीले थुपारेको लेदो र गेग्रान निकाल्ने काम भइरहेको थियो।
कामको गति बढाउन थप केही गर्न सकिन्छ कि भन्ने खोजी भइरहेको थियो।
'नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत आयोजना, श्रीराम सर (सांसद श्रीराम न्यौपाने), सागरजी (सांसद सागर ढकाल) बाट यसमा हामीले केही गर्न सक्छौं कि भन्ने कुरा आयो,' चौधरीले भने, 'हामी तत्कालै शिक्षक–विद्यार्थी भेला भयौं अनि काम सुरू गर्यौं।'
करिब एक–डेढ घन्टा छलफल गरेपछि टोलीले प्रविधि निर्माणको काम थाल्यो।
त्यसपछि रातभर छलफल, डिजाइन र निर्माण चल्यो।
बुधबार बिहान ६ बजे पहिलो मेसिन तयार भयो।
आवश्यकता अझै पर्न सक्छ भनेर थप मेसिन बनाउँदा दिउँसो २ बजेको उनले बताए।
'त्यति बेला हेलिकप्टरबाट सिधै चिलिमे लैजान कठिन भयो। त्यसैले नुवाकोटको बट्टारसम्म गाडीमा लैजाने व्यवस्था गरियो,' उनले सेतोपाटीसँग भने।
बिहीबार बिहान बट्टार पुगेपछि हेलिकप्टरमार्फत चिलिमे पुर्याइएको उनले जानकारी दिए।

दुईवटा विन्च, एउटा ड्रम
चिलिमे पुर्याइएको मेसिनमा दुईवटा 'विन्च' जडान गरिएको छ। तिनलाई 'टी–वान' र 'टी–टू' नाम दिइएको छ।
'विन्च' भनेको डोरी वा तारलाई मोटरको सहायताले तान्ने वा छोड्ने उपकरण हो।
यहाँ एउटा विन्चले डोरी छाड्छ, अर्कोले तान्छ।
दुवै विन्चको तार जोडिएकाले एउटाले डोरी छाड्दा अर्कोले तान्न सक्छ।
सुरूङभित्र ड्रमलाई झुन्ड्याएर लैजान 'रिटर्निङ ह्विल' प्रयोग गरिएको छ। यसलाई सुरूङभित्र रहेको हुकमा राखिन्छ।
एउटा विन्चले डोरी छाड्दै ड्रमलाई सुरूङभित्र पठाउँछ। ड्रम लेदोमा पुगेपछि त्यसले माटो, ढुंगा र गेग्रान कोपर्छ। त्यसपछि अर्को विन्चले डोरी तानेर ड्रमलाई बाहिर ल्याउँछ।
'यसको संरचना सामान्य रूपमा बुझ्दा विन्चले डोरी छाड्दै जाने र अर्कोले तान्ने हो। यसमा चिप्लिने खालको 'स्लाइडिङ ड्रम' जडान हुन्छ,' चौधरीले भने, 'सुरूमा एउटा विन्चले डोरी छोड्दै ड्रमलाई सुरूङभित्र पठाउँछ। भित्र पुगेपछि ड्रमले लेदो कोपर्न थाल्छ र अर्को विन्चले डोरी तानेर ड्रमलाई बाहिर ल्याउँछ।'
अहिले नेपाली सेनाको टोलीले प्लास्टिकको ड्रम जोडेर पनि सुरूङभित्र काम गरिरहेको छ।
त्यसबाट माटो खन्ने र बाहिर फाल्ने काम भइरहेको छ।

मानिस नपठाई लेदो निकाल्ने
यो मेसिनको मुख्य विशेषता भनेको सुरूङभित्र मानिस पसिरहनु नपर्ने हो।
'भित्र कोही जान परेन। ड्रम लिएर आफै जान्छ,' चौधरीले भने।
सुरूङभित्र ठूला उपकरण लैजान कठिन भएकाले तत्काल बनाउन सकिने सरल प्रविधिमा काम गरिएको उनले बताए।
सुरूमा मानिसको 'ह्युमन चेन' बनाएर बाल्टिनमार्फत लेदो बाहिर निकाल्नेबारे पनि छलफल भएको थियो। तर त्यसका लागि मानिसलाई हेलिकप्टरबाट लैजानुपर्ने र फेरि बाढी आए समस्या हुन सक्ने देखिएपछि त्यो विकल्प छाडिएको थियो।
'ठूलो मेसिनभन्दा तत्काल आवश्यकताका लागि बनाइएको ग्याजेट वा जुगाडका रूपमा यसलाई बुझ्नुपर्छ,' चौधरीले भने।
मेसिनले एक पटकमा करिब एक हजार किलोसम्म लेदो बाहिर ल्याउन सक्ने उनको भनाइ छ।
'भित्र ढुंगा, माटो, गेग्रान जे छ, सबै बाहिर ल्याउँछ। मान्छे नगइकनै काम गर्ने भएकाले थप सजिलो पनि हुन्छ,' उनले भने।
चौधरीका अनुसार मान्छेले लामो समय सुरूङभित्र काम गर्दा एकातिर थकाइ बढी हुन्छ भने अर्कातिर अक्सिजनको समस्या पनि हुन सक्छ। मेसिन भने बाहिरै बसेर सञ्चालन गर्न सकिन्छ। त्यसैले जनशक्ति पनि कम लाग्छ।
'मान्छेले बेल्चाले कोपरेजस्तै यसले पनि कोपरेर लेदो बाहिर ल्याउन सक्छ,' उनले भने।

१५० मिटरपछि के छ?
चौधरी मेकानिकल इन्जिनियर पनि हुन्। उनी पटक पटक चिलिमे जलविद्युत आयोजना पुगेका छन्।
उनका अनुसार सुरूङको सुरूआती बिन्दु केही उचाइमा छ। त्यहाँबाट सुरूङ तलतिर जान्छ। करिब १५० मिटर पुगेपछि फेरि केही उकालोजस्तो भाग आउँछ।
त्यसैले बाढीका कारण आएको लेदो पनि त्यही भागसम्म मात्र थुप्रिएको हुन सक्ने उनको अनुमान छ।
पावरहाउस भने केही उचाइमा रहेको उनले बताए।
'जोडले लेदो ल्याउँदा हावा पनि त्यही गतिमा आएको हुन्छ। त्यो हावा भित्र छिरेका कारण पावरहाउसका लागि चाहिने अक्सिजन पनि पुग्न सक्छ,' उनले भने, '१५० मिटरभन्दा परको संरचनामा खासै असर नपरेको हुन सक्छ। त्यसैले सकारात्मक परिणाम आउन सक्ने सम्भावना धेरै देखेको छु।'
मेसिनलाई सुरूङभित्र लैजान पांग्रावाला संरचना पनि लगिएको छ। त्यसमा डुंगा जोड्न मिल्ने गरी पनि बनाइएको छ।
यसले सुरूङभित्र ड्रमलाई घुमाएर लैजान र लेदो कोपर्न सहयोग पुर्याउने चौधरीले बताए।
'विन्चलाई बाहिर घुमाएर जोडिएको छ भने डोरी करिब डेढ सय मिटर लामो छ। सुरूङभित्रको हुकमा तार अल्झाएर भित्र–बाहिर घुम्ने हुन्छ,' उनले भने।
यदि अनुमान गरेजस्तै करिब डेढ सय मिटरसम्म मात्र लेदो भरिएको हो र मेसिनले सोचे अनुसार काम गर्यो भने दुई दिनमा पावरहाउससम्म पुग्न सकिने उनको अपेक्षा छ।
१५–२० जनाको टोली
यो मेसिन निर्माणमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्रमुख अजयकुमार झा, मेकानिकल तथा एरोस्पेस विभागीय प्रमुख सुदीप भट्टराईसहित रोबटिक क्लबका शिक्षक तथा विद्यार्थी गरी १५–२० जनाको टोली सहभागी थियो।
रोबटिक क्लबमा मेकानिकल, इलेक्ट्रिकल, कम्प्युटर तथा रोबटिक इन्जिनियरिङका विद्यार्थी छन्।
सीमित समयका कारण सुरूमा विस्तृत डिजाइन बनाएर त्यस अनुसार अघि बढ्ने अवस्था थिएन। आवश्यकता अनुसार काम गर्दै, छलफल गर्दै र संरचना सुधार गर्दै मेसिन तयार पारिएको चौधरीले बताए।
'हामीसँग धेरै समय थिएन। काम गर्दै, छलफल गर्दै अघि बढ्यौं,' उनले भने।
मेसिन निर्माणका लागि आवश्यक बजेट भने पुल्चोक इन्जिनियरिङ क्याम्पसको एलुम्नाइबाट जुटाइएको उनले जानकारी दिए।
***