चाडपर्व भन्नासाथ मनमा सबैभन्दा पहिले आउने चित्र एउटै हुन्छ। आँगनको डिलमा बसेका हजुरबुवा, उहाँको छेउमा मायाको पोको बनेर बसेकी हजुरआमा, घरभरि दौडिरहेका नातिनातिना र भान्साबाट आइरहेको मीठो परिकारको सुवास।
कुनै समय हाम्रा चाडपर्व केवल पात्रोका रातो अक्षर थिएनन्, ती त परिवारका सदस्यहरूलाई एउटै आँगनमा बाँध्ने प्रेमका धागा थिए। तर आज समय बदलिएको छ। पात्रोमा चाडपर्व उस्तै छन्, घरका भित्ताहरू उस्तै छन्, आँगन उस्तै छ, तर त्यो आँगनमा पहिलेझैँ हाँसो गुञ्जिँदैन। किनकि घरको त्यो आत्मा—हजुरबुवा र हजुरआमा अब हामीमाझ हुनुहुन्न।
पहिले चाडपर्वमा हामी उहाँहरूको हातबाट आशीर्वाद लिन दौडिन्थ्यौँ। अहिले उहाँहरूको तस्वीर अगाडि फूल चढाउँछौँ। पहिले उहाँहरूलाई भेट्न घर आउँथ्यौँ। अहिले उहाँहरूको सम्झनामा घर आउँछौँ। पहिले उहाँहरू हामीलाई कुरिरहनुहुन्थ्यो, अहिले हामी उहाँहरूको सम्झनालाई कुरिरहेका हुन्छौँ।
कहिलेकाहीँ चाडपर्वमा सबै परिवार भेला हुन्छ। खाना पक्छ, मिठाइ बन्छ, घर सजिन्छ। नातिनातिना पहिलेझैँ जम्मा हुन्छन्। तर अब त्यो भेलामा एउटा ठूलो अभाव देखिन्छ। कसैले खुलेर भन्न नसकेको एउटा पीडा हावामा मिसिएको हुन्छ। हजुरबुवाको कुर्सी खाली हुन्छ। हजुरआमाको भान्साको कुनो सुनसान हुन्छ। त्यो खाली कुर्सीले हामीलाई उहाँहरूको अनुपस्थितिको खबर बारम्बार सुनाइरहन्छ।
उहाँहरू बितेपछि घरको एउटा कोठा बन्द भएको छ। तर सत्य के हो भने, बन्द भएको त्यो कोठा केवल कोठा होइन। हाम्रो बाल्यकाल हो। त्यहाँ उहाँहरूको पुरानो खाट छ, सिरानी छ, केही पुराना कपडा छन्, उहाँहरूले प्रयोग गरेका सामान छन्। ती निर्जीव वस्तुहरू पनि कहिलेकाहीँ बोल्छन् जस्तो लाग्छ। हजुरआमाको सारी देख्दा उहाँको सुगन्ध खोज्छौँ। अनि मनले चुपचाप प्रश्न गर्छ—उहाँहरू कहाँ जानुभयो?
हजुरआमाको निधनपछि त उहाँको अभाव झन् गहिरो भयो। किनकि उहाँ हुनुहुन्थ्यो भने घरमा अझै एउटा पुरानो समय बाँचेको अनुभूति हुन्थ्यो। उहाँका हातमा हाम्रो पुर्खाको स्पर्श थियो, उहाँका कथाहरूमा बितेका पुस्ताहरूको आवाज थियो, उहाँको ममतामा घरको इतिहास लुकेको थियो। तर हजुरबुवा...
हजुरबुवालाई त मैले देख्नसमेत पाइनँ। म संसारमा आउनुभन्दा अगाडि नै उहाँ यो संसारबाट बिदा भइसक्नुभएको थियो। मेरो आँखाले उहाँको अनुहार कहिल्यै देखेन, मेरो कानले उहाँको स्वर कहिल्यै सुनेन, उहाँको हात समातेर हिँड्न पाइनँ। उहाँको काखमा बसेर कथा सुन्न पाइनँ। दसैंको टीका उहाँको हातबाट थाप्न पाइनँ। उहाँको हातबाट निधारमा आफ्नो सानो हातले टीका लगाउन पाइनँ। तर अचम्म लाग्छ, कहिलेकाहीँ नदेखेको मान्छेको सम्झना पनि यति गहिरो हुन सक्दोरहेछ है।
सायद रगतका नाताहरू आँखाले देखेर मात्र बनेका हुँदैनन्। केही सम्बन्धहरू जन्मिनुभन्दा अगाडिदेखि नै आत्माको कुनै गहिरो तहमा लेखिएका हुन्छन्। हजुरबुवा मेरो जीवनमा उपस्थित हुनुभएन, तर उहाँको अनुपस्थिति भने मेरो जीवनभरि उपस्थित रह्यो।
यदि हजुरबुवा केही वर्ष अझै बाँच्नुभएको भए, मलाई कस्तो माया गर्नुहुन्थ्यो होला? सायद उहाँले मेरो कपाल मुसार्दै पुराना कथा सुनाउनुहुन्थ्यो होला। सायद दसैंमा सबैभन्दा पहिले उहाँकै हातबाट टीका थाप्थेँ होला। सायद मैले जिद्दी गर्दा उहाँ हाँस्दै मेरो पक्ष लिनुहुन्थ्यो होला। सायद हजुरआमाले गाली गर्दा उहाँले मलाई आफ्नो पछाडि लुकाउनुहुन्थ्यो होला। यी सबै केवल कल्पना हुन्। तर कहिलेकाहीँ कल्पनाले पनि वास्तविकताभन्दा बढी आँसु झाराउँछ।
हजुरबुवा–हजुरआमा बितेपछि थाहा भयो, मान्छे मात्र मर्दैन रहेछ; ऊसँगै एउटा युग मर्दोरहेछ, एउटा परम्परा हराउँदोरहेछ, एउटा घरको रौनक अस्ताउँदो रहेछ। उहाँहरू हुँदासम्म तिज, दसैं अनि तिहार आउँदा छुट्टै उमङ्ग हुन्थ्यो। उहाँहरूको उपस्थितिले घरलाई घरजस्तो बनाउँथ्यो। आज त्यही चाडपर्व आउँछन्, तर मनमा पहिलेको जस्तो उत्साह आउँदैन। बरू मनको कुनै कुनामा एउटा खालीपनले चुपचाप ढोका ढकढक्याउँछ। हजुरआमा भन्नुहुन्थ्यो, 'चाडपर्व भनेको नयाँ लुगा लगाउनु मात्र होइन, आफ्ना मान्छेसँग भेटिनु हो।'
त्यसबेला उहाँका शब्दहरू सामान्य लाग्थे। आज ती शब्दहरू जीवनका गहिरा सत्य जस्ता लाग्छन्। उहाँको हातबाट टीका लगाउँदा निधारमा अक्षता मात्र टाँसिँदैनथ्यो, उहाँको आशीर्वाद पनि टाँसिन्थ्यो। उहाँले टाउकोमा हात राखेर 'ठूलो मान्छे बन्नू, असल मान्छे बन्नू' भन्नुहुँदा त्यो आशीर्वाद संसारकै सबैभन्दा ठूलो सम्पत्ति जस्तो लाग्थ्यो।
हजुरआमा त झन् ममताकी प्रतिमूर्ति हुनुहुन्थ्यो। समयले मानिसलाई बिर्सन सिकाउँछ भन्ने सुनेको थिएँ, तर हजुरबुवा–हजुरआमाको माया यस्तो रहेछ, जसलाई समयले झन् गहिरो बनाउँदोरहेछ। उहाँहरू हामीबाट टाढा हुनुभएको धेरै समय बिते पनि उहाँहरूको बोली, हाँसो, स्पर्श र आशीर्वाद अझै हाम्रो वरिपरि घुमिरहेझैँ लाग्छ। रातको निस्तब्धतामा कहिलेकाहीँ उहाँहरूले बोलाएजस्तो लाग्छ। चाडपर्वको बिहान आँखा खुल्दा मनले अनायासै खोज्छ—हजुरआमा कहाँ हुनुहुन्छ? हजुरबुवा कहाँ हुनुहुन्छ? तर उत्तरमा केवल मौनता हुन्छ।
आज हामी ठूला भएका छौँ। आफ्नै जिम्मेवारी छन्, आफ्नै संसार छ। तर मनको कुनै कुनामा हामी अझै त्यही साना नातिनातिना हौँ, जो हजुरबुवाको काखमा बसेर कथा सुन्न चाहन्छन्, हजुरआमाको हातको खाना खान चाहन्छन्। जीवन जति अगाडि बढे पनि उहाँहरूको माया भएको त्यो बाल्यकाल कहिल्यै पुरानो हुँदैन रहेछ। सायद यही नै जीवनको कठोर सत्य हो। मानिस जान्छ, सम्झना बाँकी रहन्छ, आवाज हराउँछ, प्रतिध्वनि बाँकी रहन्छ, स्पर्श हराउँछ, अनुभूति बाँकी रहन्छ। अनि मान्छे संसारबाट बिदा भए पनि उसले दिएको प्रेम कहिल्यै बिदा हुँदैन।
हजुरबुवा, तपाईंलाई मैले कहिल्यै देख्न पाइनँ, तर सायद जीवनभरि तपाईंलाई खोजिरहनेछु। हजुरआमा, तपाईंको काख अब छैन, तर तपाईंको माया अझै मेरो मनको सबैभन्दा सुरक्षित कुनामा छ। समयले तपाईंहरूलाई हामीबाट टाढा लग्यो। तर सम्झनाले तपाईंहरूलाई हामीबाट कहिल्यै टाढा जान दिनेछैन। चाडपर्वको रौनक हराए पनि,
तपाईंहरूको सम्झना कहिल्यै हराउने छैन। तपाईंहरू जहाँ हुनुहुन्छ, शान्तिमा हुनुहोस्। हाम्रो निधारमा लाग्ने हरेक टीकामा तपाईंहरूको आशीर्वाद होस्।
हाम्रो घरमा बल्ने हरेक दियोले तपाईंहरूको बाटो उज्यालो पारोस्।
र हाम्रो हृदयमा धड्किने हरेक धड्कनले एउटै कुरा भनिरहोस्—हजुरबुवा, हजुरआमा, तपाईंहरू हामीसँग हुनुहुन्न, तर हामीभित्र सधैँ हुनुहुन्छ।