कहिलेकाहीँ इतिहासमा यस्ता क्षणहरू आउँछन्, जब एउटा घटना केवल घटना रहँदैन। त्यसले हामीले संसारलाई हेर्ने हाम्रो सम्पूर्ण दृष्टिमाथि प्रश्न उठाउँछ। साथै, हामी स्वयं माथि नै।
आज नेपाल त्यस्तै क्षणमा उभिएको छ।
हामीले भोगिरहेको यो विपत्ति केही सहर तथा बस्ती बगाएको बाढी होइन। कुनै एउटा पुल भत्किएको दुर्घटना होइन। कुनै एउटा सडक, विद्युत आयोजना, केही हजार मानव जीवनलाई नै समाप्त पार्ने गरी आइपरेको प्राकृतिक प्रहार मात्र होइन। यो त मानौं प्रकृतिको आफ्नै भूगोलभित्र सञ्चित एउटा परम शक्ति एकैचोटि विस्फोट भएको हो।
यसको विनाशको आयतनलाई मानिसले बनाएको कुनै परिचित मापनले नाप्न कठिन छ। परमाणु बमले कुनै एउटा सहर ध्वस्त पार्न सक्छ; तर प्रकृतिको एउटा विराट प्रकोपले जीवनको एउटा सम्पूर्ण भौगोलिक प्रणालीलाई— उसको जीविका, आवागमन, अर्थतन्त्र, शिक्षा, ऊर्जा, पर्यटन, अध्यात्म र भविष्यका आकांक्षासमेत—एकै चोटि हल्लाइदिन सक्छ।
आज हामी त्यही असम्भवजस्तो लाग्ने दृश्यका भुक्तभोगी भएका छौं। र, यसैले आजको प्रश्न केवल 'कति क्षति भयो' भन्ने होइन।
प्रधानमन्त्री बालेन शाहले संसदमा आफ्ना कुराहरू सविस्तार राख्नुभयो। विनाश तथा क्षतिको विवरण दिनुभयो। सरकारका प्रयासहरूका कुरा गर्नुभयो। म यसको स्वागत नै गर्दछु। तर, के अबको हाम्रो बाटो त्यही हो त?
यो प्रश्न अझ भयावह छ— हामीले आफ्नो जीवन, आफ्नो अर्थतन्त्र र आफ्नो भविष्यलाई कस्तो भूगोलमाथि उभ्याएका रहेछौं?
यो विनाश एउटा नदीको कथा होइन। हाम्रो आँखाअगाडि अहिले एउटा नदी प्रणालीको वरिपरि निर्मित मानवीय सभ्यताको एउटा विशाल अंश तहसनहस भएको छ।
त्यही नदीको जलाधारमा मानिसले आफ्नो अन्न उब्जायो। त्यही भूगोलमा पुस्तौंका पसिना मिसिएर बस्तीहरू बने। तिनै बस्तीहरूमा विद्यालय र शैक्षिक केन्द्रहरू उभिए— मानिसको अर्को पुस्ताको भविष्य निर्माण गर्न। त्यही पानीको शक्तिलाई विद्युतमा रूपान्तरण गर्न ठूलाठूला, मझौला र साना जलविद्युत आयोजनाहरू बने।
त्यसैले ती केवल कंक्रिट संरचना थिएनन्; तिनमा नेपालको औद्योगिक भविष्य, रोजगारी, राजस्व र आत्मनिर्भर ऊर्जाको सपना जोडिएको थियो।
त्यही भूगोलमा सडकहरू बने, पुलहरू बने, बजारहरू विस्तार भए, सहरहरू विकसित भए। पर्यटनको सम्भावना पछ्याउँदै होटल, आवास, सेवा र स्थानीय अर्थतन्त्रका अनेकौं तह निर्माण भए। त्यही मार्गबाट अन्तर्राष्ट्रिय आवागमन चल्यो।
नेपालको बाहिरी संसारसँगको एउटा महत्वपूर्ण सम्पर्क–द्वार त्यही भूगोलमा उभियो। त्यहीँबाट मानिसहरू केवल व्यापार र रोजगारीका लागि हिँडेनन्, उनीहरू कैलाश–मानसरोवरतर्फ लागे। गोसाइँकुण्डतर्फ लागे।
ती मार्गहरूमा मानिसले केवल दुरी पार गरेनन्— आफ्नो आस्था, अध्यात्म र आत्मिक यात्रासमेत बोकेर हिँडे।
अर्थात् त्यहाँ नदी मात्र थिएन। त्यहाँ नेपालको एउटा जीवित सभ्यता थियो। कृषि थियो। शिक्षा थियो। ऊर्जा थियो। व्यापार थियो। पर्यटन थियो। सहर थियो। आवागमन थियो। आस्था थियो। र, यी सबैलाई जोडेर एउटा भविष्य थियो। आज त्यसैको ठूलो अंश नदीको उन्मत्त प्रवाहसँगै बगेको छ।
यसैले यो क्षति पुलको क्षति होइन। यो सडकको क्षति होइन। यो विद्युत आयोजनाको क्षति होइन। यो केही सहरहरूको क्षति होइन। यो मानिसले प्रकृतिको एउटा भूगोलभित्र निर्माण गरेको सम्पूर्ण जीवन–सम्बन्धमाथिको आघात हो।
यस क्षणमा दोषी र दोषारोपणको प्रश्न पनि उठ्नेछ। उठ्नुपर्छ पनि। आज होइन भने पनि भोलि, हामीले यसको उत्तर खोज्नैपर्छ।
तर आज, जब मानिसहरू आफ्ना प्रियजन खोजिरहेका छन्, जब कसैको घर छैन, कसैको खेत छैन, कसैको रोजगारी छैन, कसैको वर्षौंको श्रम एकै क्षणमा माटोमा मिसिएको छ— त्यस बेला पीडित मानिसकै काँधमा दोषको भारी थोपर्नु न न्याय हो, न विवेक।
नदीको किनारमा बस्ने मानिसले नदीलाई जित्न खोजेको थिएन। उसले त्यहाँ जीवन खोजेको थियो। खेती गर्ने मानिसले बाढी बोलाएको थिएन। सानो पसल चलाउनेले प्रकृतिमाथि प्रभुत्व जमाउन खोजेको थिएन। विद्यालय बनाउने समुदायले प्रकृतिलाई चुनौती दिएको थिएन। ऊर्जा उत्पादन गर्ने राष्ट्रले विनाशको निम्तो दिएको थिएन।
मानिसको विकास गर्ने आकांक्षालाई अपराध ठहर गरेर प्रकृतिको रक्षा हुँदैन। त्यसैले म आजका योजनाकारहरूलाई कठघरामा उभ्याउन चाहन्नँ। किनकि उनीहरूले पनि आफ्नो समयको ज्ञान, प्रविधि, आवश्यकता र सम्भावनाभित्र निर्णय गरेका थिए।
तर यसको अर्थ हामीले प्रश्न गर्नै नपर्ने होइन। बरू यसको अर्थ हो— अब प्रश्न अझ गहिरो ठाउँमा गर्नुपर्छ।
व्यक्तिको निर्णयभन्दा पर, आयोजनाको डिजाइनभन्दा पर, सरकारहरूका नीतिभन्दा पर, हाम्रो विकास–दर्शनमै प्रश्न गर्नुपर्छ। मानिस कहाँ उभिएको छ?
सायद यही प्रश्नले हामीलाई अस्ट्रेलियाकी दार्शनिक भ्याल प्लमवुडतर्फ लैजान्छ।
प्लमवुडको महत्व उनी इकोफेमिनिस्ट भएर मात्र छैन। उनको बौद्धिक हस्तक्षेप अझ गहिरो थियो।
उनले आधुनिक पश्चिमी चिन्तनको एउटा पुरानो संरचनामाथि प्रश्न गरिन्— मानिस र प्रकृतिबीचको कृत्रिम द्वैत। मानिसलाई बुद्धि, संस्कृति, चेतना र नियन्त्रणको प्रतिनिधि बनाउने; प्रकृतिलाई जड, बाहिरी, अधीनस्थ र प्रयोग गर्न मिल्ने वस्तुका रूपमा राख्ने द्वैत। यही द्वैतबाट एउटा खतरनाक सभ्यता–चेतना जन्मिन्छ—मानिस प्रकृतिभन्दा अलग छ। मानिस प्रकृतिभन्दा माथि छ। र प्रकृति मानिसका लागि उपलब्ध स्रोत हो।
प्लमवुडको आफ्नै जीवनको गोहीसँगको मृत्यु–सन्निकट मुठभेडले उनलाई यस भ्रमको भौतिक सत्यसँग आमनेसामने गरायो। त्यो अनुभवमा मानिस 'प्रकृतिको निरीक्षक' रहेन। ऊ स्वयं खाद्य–शृंखलाभित्रको एउटा जीव भयो। यही अनुभूति आज हाम्रो लागि असाधारण रूपमा महत्वपूर्ण छ।
हामीले पहाडलाई भू–भाग भन्यौं। नदीलाई जलस्रोत भन्यौं। जंगललाई वनस्रोत भन्यौं। जमिनलाई सम्पत्ति भन्यौं। प्रकृतिका प्रत्येक तत्वलाई मानिसको उपयोगिताको भाषामा अनुवाद गर्यौं।
तर नदीले आज हामीलाई एउटा अत्यन्त कठोर प्रश्न सोधेको छ— तिमीले मलाई स्रोत भन्यौ; तर म आफै एउटा जीवन–प्रणाली हुँ भन्ने कुरा बिर्सियौ कि?
नदीको एउटा स्वभाव छ। उसको बहाव छ। उसको विस्तार छ। उसको बाढीको स्मृति छ। उसको भूगर्भीय सम्बन्ध छ। उसको पारिस्थितिक भूमिका छ। यो मानव इतिहासमा पहिलो पटक हाम्रो भूभागमा भएको होला तर संसारमा यसका अनुभवहरू छन्।
मानिसले आफ्नो नक्सामा नदीको सीमा कोर्न सक्छ। तर नदीले मानिसले कोरेको रेखा पढ्दैन। प्रकृतिले हामीलाई दण्ड दिएको होइन।
यहाँ एउटा सूक्ष्म तर अत्यन्त महत्वपूर्ण कुरा छ।
यस विपत्तिलाई 'प्रकृतिको प्रतिशोध' भन्नु पनि गलत हुन्छ। प्रकृति न क्रोधित हुन्छ, न बदला लिन्छ। प्रकृति आफ्नै नियममा चल्छ। हामीले ती नियम बुझ्यौं भने त्यो ज्ञान हो। नेपाल होस् कि चीन, नबुझी संरचना बनायौं भने त्यो जोखिम हो। र, प्रकृतिका नियमलाई नकारेर आफ्नो संरचनालाई अन्तिम सत्य ठान्यौं भने त्यो अहंकार हो।
त्यसैले आजको घटना मानिसविरूद्ध प्रकृतिको युद्ध होइन। बरू यो मानिसले आफूलाई प्रकृतिबाट अलग ठानेको भ्रममाथि परेको प्रहार हो।
विकासको अर्को अनुहार : एकाग्रता
यहीँबाट ई. एफ. शुमाकरको विचार प्रवेश गर्छ। शुमाकरले 'स्मल इज ब्युटिफुल' लेख्दा संसारलाई 'सानो राम्रो' भन्ने भावुक सन्देश मात्र दिएका थिएनन्।
उनको मूल प्रश्न थियो— अर्थतन्त्र कसका लागि? प्रविधि कसका लागि? विकासको आकार कस्तो हुनुपर्छ?
उनले विकासलाई केवल उत्पादनको वृद्धि र संरचनाको विशालताबाट मापन गर्ने आधुनिक औद्योगिक चेतनालाई चुनौती दिए। मानिसको आकारभन्दा विशाल, स्थानीय क्षमताभन्दा जटिल र प्रकृतिको वहन–क्षमताभन्दा बाहिर पुगेको विकास अन्ततः मानिसकै विरूद्ध जान सक्छ। त्यसैले उनको 'स्मल' केवल आकारको कुरा होइन। यो मानवीय आकार, स्थानीय क्षमता, उपयुक्त प्रविधि, विकेन्द्रीकरण र आत्मनिर्भरताको प्रश्न हो।
आजको नेपालमा यसको अर्थ झन् गम्भीर भएर आउँछ। हामीले विकासलाई जहाँ सम्भावना देख्यौं, त्यहीँ केन्द्रित गर्यौं।
जहाँ सडक थियो, त्यहाँ बजार आयो। जहाँ बजार आयो, त्यहाँ शहर आयो। जहाँ पानीको शक्ति थियो, त्यहाँ ऊर्जा आयोजना आयो। जहाँ आवागमनको सम्भावना थियो, त्यहाँ व्यापार र पर्यटन आयो। जहाँ ती सबै आए, त्यहाँ जनसंख्या, पुँजी र पूर्वाधार थपिँदै गए।
यो विकासको स्वाभाविक प्रक्रिया थियो। तर यसको एउटा अर्को सत्य हामीले कमै हेर्यौं— विकासको एकाग्रतासँगै जोखिम पनि एकाग्रित भइरहेको थियो। जब जीवनका धेरै आधारहरू एउटै संवेदनशील नदी–भूगोलमा जोडिन्छन्, तब त्यहाँ समृद्धि मात्र केन्द्रित हुँदैन। विपदको सम्भावित प्रभाव पनि केन्द्रित हुन्छ।
र, आज हामी त्यसको चरम रूप देखिरहेका छौं।
ठूलो गलत होइन; सबै कुरा ठूलो बनाउनु खतरनाक हुन सक्छ। यहाँ शुमाकरलाई गलत ढंगले बुझ्नु हुँदैन। नेपाललाई ठूला जलविद्युत आयोजना चाहिन्छ। ठूला राजमार्ग चाहिन्छ। ठूला सहर चाहिन्छ। अन्तर्राष्ट्रिय स्तरका पूर्वाधार चाहिन्छ। ठूलो सोच चाहिन्छ। प्रश्न 'ठूलो कि सानो' मात्र होइन।
प्रश्न हो— ठूलो संरचनाको साथमा के हाम्रो प्रणाली पर्याप्त रूपमा विकेन्द्रित, विविध र लचिलो छ?
यदि एउटा पुल भत्किँदा सम्पूर्ण क्षेत्रको सम्पर्क बन्द हुन्छ भने समस्या पुलको मात्र होइन, वैकल्पिकताको अभाव हो। एउटा ऊर्जा प्रणाली प्रभावित हुँदा विशाल भूभाग अन्धकारमा जान्छ भने समस्या आयोजनाको क्षमताको मात्र होइन, ऊर्जा प्रणालीको विविधीकरणको हो। एउटा सडक अवरूद्ध हुँदा पूरा अर्थतन्त्र थुनिन्छ भने समस्या सञ्जालको कमजोर प्रतिरोध क्षमताको पनि हो।
त्यसैले भविष्यको विकासको एउटा नयाँ मन्त्र हुनुपर्छ— केन्द्रीकृत क्षमता + विकेन्द्रित विकल्प।
ठूलो आयोजना बनाऔं, तर त्यसलाई एक्लो नबनाऔं। ठूलो सहर बनाऔं, तर देशको जीवनलाई एउटा सहरमा निर्भर नबनाऔं। ठूलो विद्युत प्रणाली बनाऔं, तर स्थानीय ऊर्जा सम्भावनाहरूलाई मर्न नदिऔं। मुख्य मार्ग बनाऔं, तर वैकल्पिक मार्गहरूको जालो पनि बनाऔं।
यही हो शुमाकरको चेतनालाई आजको नेपालको भाषामा पुनः पढ्नु।
पुनर्निर्माण : पुरानै ठाउँमा पुरानै सपना?
अब हामी पुनर्निर्माण गर्नेछौं। गर्नैपर्छ।
तर एउटा खतरा यहाँ पनि छ — विनाशको पीडा सकिएपछि हामी तुरून्तै पुरानै भाषामा फर्किन सक्छौं।
'भत्किएको पुल बनाऊ।'
'भत्किएको सडक बनाऊ।'
'आयोजना फेरि उठाऊ।'
'बस्ती फेरि बसाऊ।'
यो सबै आवश्यक छ तर पर्याप्त छैन। किनकि यदि हामीले भत्किएको संरचना मात्र पुनः निर्माण गर्यौं र त्यसलाई जन्माउने जोखिम–संरचना उही राख्यौं भने, हामी पुनर्निर्माण होइन, अर्को विपत्तिको सम्भावना पुनः निर्माण गरिरहेका हुनेछौं।
त्यसैले पुनर्निर्माणको अर्थ बिल्ड ब्याक बेटर (build back better) मात्र होइन। योभन्दा पनि अगाडि— बिल्ड डिफरेन्ट्ली (build differently) अर्थात् फरक ढंगले निर्माण गर्ने साहस हो।
नदीको पुरानो बहाव बुझेर, भूगोलको वहन–क्षमता बुझेर, जोखिमको नक्सा बनाएर, प्राकृतिक प्रणालीलाई विकास योजनाको 'अवरोध' होइन, विकासकै आधार मानेर पुनर्निर्माण हुनुपर्छ। र, सबैभन्दा महत्वपूर्ण— एउटा विपत्तिले सबै कुरा एकैचोटि नष्ट गर्न नसक्ने गरी समाज निर्माण गर्नुपर्छ।
हामीले हाम्रा सम्पूर्ण महत्त्वपूर्ण पूर्वाधारहरू— ऊर्जा, यातायात, मुख्य वैदेशिक व्यापार, पर्यटन, शिक्षा र अध्यात्म—सबैलाई एउटै भौगोलिक र नदी प्रणालीमा असीमित रूपमा केन्द्रित गर्यौं।
शुमाकरका अनुसार अत्यधिक ठूला र केन्द्रीकृत प्रणालीहरू संकटका बेला पूरै ध्वस्त हुन्छन् र तिनले पुनः उठ्न नसक्ने गरी क्षति पुर्याउँछन्। यदि हामीले स्मल इज ब्युटिफुल अवधारणा अर्थात्, विकेन्द्रित, साना, स्थानीय प्रविधि र वातावरण–मैत्रीमा आधारित विकास मोडल अपनाएको भए, आज एउटा नदीको विपत्तिले सिंगो देशलाई असर पार्ने थिएन!
अब विकासको सफलता कसरी नाप्ने? हामीले विकासको सफलता धेरै वर्षसम्म एउटा भाषामा नाप्यौं— कति किलोमिटर सडक बन्यो? कति मेगावाट विद्युत उत्पादन भयो? कति ठूलो पुल बन्यो? कति नयाँ सहर बने? कति पर्यटक आए? कति लगानी भित्रियो?
अब अर्को प्रश्न थप्नुपर्छ— ती संरचना संकटमा कति टिक्छन्?
विकासको सफलता शान्त समयमा कति उत्पादन गर्छ भन्ने मात्र होइन। विपत्तिको समयमा समाजलाई कति जीवित राख्छ भन्ने पनि हो। यसलाई नै आजको भाषामा 'रेजिलियन्स' (प्रतिरोध क्षमता) भन्न सकिन्छ। एउटा प्रणाली जसले सामान्य अवस्थामा अत्यधिक दक्षता देखाउँछ, तर एउटा धक्कामा पूर्ण रूपमा ढल्छ— के त्यो साँच्चै सफल प्रणाली हो?
कहिलेकाहीँ केही अतिरिक्त बाटो, केही अतिरिक्त क्षमता, केही स्थानीय विकल्प, केही साना आयोजना, केही विकेन्द्रित संरचना आर्थिक हिसाबले 'अनावश्यक' देखिन सक्छन्। तर संकटको दिनमा त्यही 'अनावश्यक' विकल्प जीवनको सबैभन्दा आवश्यक आधार बन्न सक्छ। प्रकृतिले आज हामीलाई यही अर्थशास्त्र सिकाइरहेको हुन सक्छ।
नदीलाई ठाउँ दिनु भनेको विकास रोक्नु होइन। अब हामीले अर्को भ्रमबाट पनि मुक्त हुनुपर्छ— प्रकृतिलाई सम्मान गर्नु भनेको विकास रोक्नु होइन। नदीको बाढी क्षेत्र बुझ्नु भनेको किनारका मानिसलाई विस्थापित गर्नु मात्र होइन। पहाडको संवेदनशीलता बुझ्नु भनेको सडक नबनाउनु होइन।पर्यावरणीय सीमाको सम्मान गर्नु भनेको उद्योग नचलाउनु होइन।
प्रश्न विकास गर्ने कि नगर्ने भन्ने होइन। प्रश्न हो— कस्तो विकास गर्ने? कहाँ गर्ने? कति गर्ने? कुन प्रविधिले गर्ने? कति जोखिम स्वीकार गर्ने? र, संकट आएपछि त्यसको भार कसले बोक्ने?
यही प्रश्नबाट नै विकासको नैतिकता जन्मिन्छ। र, यहीँ भ्याल प्लमवुड र शुमाकर, दुई फरक बौद्धिक परम्पराबाट आएका भए पनि एउटै गहिरो ठाउँमा भेटिन्छन्।
प्लमवुडले हाम्रो मानव केन्द्रित चेतनालाई प्रश्न गर्छिन्। शुमाकरले हाम्रो असीमित आर्थिक विस्तार र अतिशय केन्द्रीकरणलाई प्रश्न गर्छन्। एकले भन्छिन्— मानिस प्रकृतिभन्दा बाहिर छैन। अर्काले सम्झाउँछन्— अर्थतन्त्र मानिस र प्रकृतिभन्दा ठूलो हुन सक्दैन।
यी दुई विचारलाई सँगै राख्दा एउटा नयाँ प्रश्न जन्मिन्छ—हामीले निर्माण गर्ने विकास स्वयं जीवनको प्रणालीसँग कति मिलेको छ?
शोकलाई केवल आँसु बन्न नदिऔं। आज मृतकहरूको संख्या गन्नुपर्छ। क्षतिको मूल्यांकन गर्नुपर्छ। पुनर्निर्माण गर्नुपर्छ। पीडित परिवारलाई राज्यले सम्हाल्नुपर्छ। भत्किएका संरचनाहरू उठाउनुपर्छ।
तर त्यसपछि पनि एउटा काम बाँकी रहनेछ।
हामीले आफ्नो चेतना पुनः निर्माण गर्नुपर्नेछ— विकास सम्बन्धी चेतना, प्रकृति सम्बन्धी चेतना, प्रविधि सम्बन्धी चेतना। हाम्रो केन्द्रीकरण सम्बन्धी चेतना। र, अन्ततः—मानिस आफैप्रतिको हाम्रो धारणा।
किनकि प्रकृतिको अगाडि मानिस शक्तिशाली पनि छ र अत्यन्त कमजोर पनि। उसले बाँध बनाउन सक्छ तर नदीको सम्पूर्ण स्वभाव बदल्न सक्दैन। उसले पहाड छेड्न सक्छ तर पहाडको सम्पूर्ण भूगर्भीय जीवन नियन्त्रण गर्न सक्दैन। उसले सहर बनाउन सक्छ तर पृथ्वीको नियम परिवर्तन गर्न सक्दैन।
मानिसको महानता प्रकृतिलाई जित्नुमा होइन। प्रकृतिका सीमाभित्र आफ्नो बुद्धिलाई अनुशासित गर्न सक्नुमा हो।
अन्तिम प्रश्न, आज यो नदीले हामीलाई कुनै भाषण दिएको छैन। उसले कुनै दर्शन लेखेको छैन। उसले कुनै आरोप लगाएको छैन। यस पटकको नदीको बहाव अपूर्व थियो। तर धार पुरानै थियो, केवल आफ्नो पूर्व स्वभावविपरीत, प्रलयकारी तवरमा बगेको छ।
तर त्यसको प्रवाहले हाम्रो सभ्यताको एउटा ठूलो प्रश्न उजागर गरिदिएको छ।
हामीले प्रकृतिलाई कति बुझेका छौं? हामीले विकासलाई कति बुझेका छौं? र, सबैभन्दा ठूलो प्रश्न— हामीले आफूलाई कति बुझेका छौं?
सायद अब नेपालले विकासको अर्थ फेरि परिभाषित गर्नुपर्ने समय आएको छ। विकास भनेको प्रकृतिलाई जित्नु होइन। विकास भनेको प्रकृतिसँगको संघर्षमा केही समयका लागि विजयी हुनु पनि होइन।
विकास भनेको यस्तो जीवन–व्यवस्था निर्माण गर्नु हो, जहाँ मानिस समृद्ध होस्, तर प्रकृति नष्ट भएर होइन। जहाँ ऊर्जा होस्, तर नदीको अस्तित्व मेटाएर होइन। जहाँ सहर होस्, तर भूगोलको स्मृति मेटाएर होइन। जहाँ सडक होस्, तर पहाडको स्वभाव अस्वीकार गरेर होइन। जहाँ पर्यटन होस्, तर पवित्र भूगोललाई केवल उपभोगको वस्तु बनाएर होइन। जहाँ आर्थिक वृद्धि होस्, तर संकटको पहिलो धक्कामै समाजको मेरूदण्ड भाँचिने गरी होइन। र जहाँ 'ठूलो' हुनु प्रगतिको एक मात्र प्रमाण नहोस्।
कहिलेकाहीँ सानो हुनु बुद्धिमानी हुन सक्छ। विकेन्द्रित हुनु बलियो हुनु हुन सक्छ। सीमा स्वीकार गर्नु पराजय होइन—सभ्यताको परिपक्वता हुन सक्छ।
आज हामीले गुमाएका मानिसहरू फर्किने छैनन्। बगेका घरहरू उही रूपमा फर्किने छैनन्। नष्ट भएका संरचनाहरू फेरि बन्न सक्छन्। तर इतिहासले हामीलाई एउटा अवसर भने दिएको छ— के हामी यस महाविनाशलाई केवल एउटा प्राकृतिक विपत्तिका रूपमा सम्झनेछौं, वा नेपालको विकास–चेतनाको एउटा निर्णायक मोड बनाउनेछौं?
म दोस्रो सम्भावनामा विश्वास गर्न चाहन्छु।
किनकि प्रकृतिको यो प्रहारपछि हामीले फेरि सडक बनाउन सक्छौं, पुल बनाउन सक्छौं, विद्युत आयोजना बनाउन सक्छौं, सहर बनाउन सक्छौं। यदि हामीले सोच्ने तरिका परिवर्तन गरेनौं भने हामीले भग्नावशेष त हटाउनेछौं, भग्नावशेष जन्माउने चेतना भने जोगाइ राख्नेछौं।
त्यसैले आज नदीको शोक केवल नदीको शोक होइन। यो हाम्रो चेतनाको परीक्षा हो। र सम्भवतः, यही महाविनाशको सबैभन्दा ठूलो प्रश्न पनि 'हामी प्रकृतिलाई फेरि जित्न निर्माण गर्नेछौं कि प्रकृतिसँगै बाँच्न सिकेर' भन्ने हो।
आज हामी शोकमा छौं। यो शोक केवल रोएर बिताउने समय होइन। यो त हाम्रा पुराना विकासका अवधारणा, एकल प्रविधिप्रतिको अन्धो मोह र प्रकृतिप्रतिको मानवकेन्द्रित दृष्टिकोणलाई पुनर्विचार गर्ने ऐतिहासिक मोड पनि हो।
यो निर्णय केवल आजको पुनर्निर्माणको निर्णय होइन, यो आउने पुस्ताको नेपाल कस्तो हुनेछ भन्ने पनि हो।
***
(जयप्रकाश आनन्द (जेपी गुप्ता) पूर्वमन्त्री तथा राजनीतिक विश्लेषक हुन्।)