शुक्रबार स्कुल सकिएपछि म ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०, २०२६’ हेर्न बानेश्वरको थापागाउँ भन्ने ठाउँमा गएँ। प्रदर्शनीको अन्तिम दिन रहेछ। सुरूमा मलाई सामान्य लागेको थियो। तर त्यहाँ पुगेपछि विद्यार्थी दाइ-दिदीहरूले बनाएका परियोजना हेर्दा प्रविधि केवल किताबमा पढ्ने विषय मात्र होइन, आफ्नै हातले केही नयाँ बनाउन सकिने साधन रहेछ भन्ने महसुस गरेँ।
प्रेसिडेन्सियल ग्रेजुएट स्कुलले आयोजना गरेको यस प्रदर्शनीमा एआई, रोबोटिक्स, साइबर सुरक्षा, स्मार्ट होम, सफ्टवेयर र डिजिटल इनोभेसन सम्बन्धी धेरै प्रोजेक्ट राखिएका थिए।
म अहिले कक्षा ९ मा पढ्छु। स्कुलमा हामी कम्प्युटर, विज्ञान र गणित पढ्छौँ। तर किताबमा पढेको कुरा वास्तविक रूपमा मेसिन, रोबोट, सफ्टवेयर र प्रणाली बनेर अगाडि देख्दा धेरै फरक अनुभव भयो। त्यहाँ पुगेपछि मलाई लाग्यो, प्रविधि बुझ्न केवल ठुलो मान्छे हुनुपर्दैन, जिज्ञासु हुनु धेरै ठूलो कुरा रहेछ।
मलाई सबभन्दा बढी रोबोटिक्सका प्रोजेक्ट मन परे। फुटबल खेल्ने रोबोट हेर्दा निकै रमाइलो लाग्यो। रोबोटले कसरी बललाई पछ्याउँछ, कसरी दिशा परिवर्तन गर्छ र कसरी काम गर्छ भन्ने देख्दा अचम्म लाग्यो। डान्सिङ रोबोटले गीतमा नाचेको देख्दा पनि विद्यार्थीहरूले यति राम्रोसँग मेसिनलाई चलाउन सक्छन् भन्ने कुराले उत्साहित बनायो। म जस्तै स्कुल पढ्ने विद्यार्थीका लागि यो हेर्नु केवल रमाइलो मात्र थिएन, सिकाइ पनि थियो।
एआई सम्बन्धी प्रोजेक्ट पनि मलाई निकै रोचक लाग्यो। अनुहारको भाव पत्ता लगाएर सङ्गीत सिफारिस गर्ने प्रणालीले मलाई विशेष रूपमा सोच्न बाध्य बनायो। हामीले फोन वा कम्प्युटरमा प्रयोग गर्ने धेरै कुरा पछाडि कसरी काम गर्छन् भन्नेबारे मैले पहिले त्यति ध्यान दिएको थिइनँ। तर त्यहाँ गएपछि एआई भनेको केवल सुन्ने शब्द होइन, मानिसको दैनिक जीवनसँग जोडिन सक्ने प्रविधि रहेछ भन्ने बुझेँ।
साइबर सुरक्षा सम्बन्धी परियोजनाले भने मलाई सतर्क पनि बनायो। अहिले हामी धेरैजसो कुरा अनलाइन गर्छौँ। गेम खेल्ने, सामाजिक सञ्जाल चलाउने, भिडियो हेर्ने, कहिलेकाहीँ अनलाइन फारम भर्ने, यी सबै गर्दा हाम्रो डाटा कसरी सुरक्षित राख्ने भन्ने कुरा महत्त्वपूर्ण रहेछ। अनलाइन ठगी, डाटा लिक र बैंक खाता सुरक्षासम्बन्धी जानकारी देख्दा प्रविधि प्रयोग गर्दा सावधानी पनि उत्तिकै आवश्यक रहेछ भन्ने कुरा बुझेँ।
मलाई स्मार्ट सिँचाइ प्रणाली र ग्यास लिक हुँदा अलार्म बज्ने तथा स्वचालित रूपमा ग्यास कट हुने प्रणाली पनि धेरै उपयोगी लाग्यो। यस्ता प्रोजेक्ट हेर्दा प्रविधिले केवल सहरका मानिसलाई मात्र होइन, किसान, परिवार, घर र समाजलाई पनि सहयोग गर्न सक्ने रहेछ भन्ने लाग्यो। सानो विचारले ठूलो समस्या समाधान गर्न सक्दो रहेछ भन्ने कुरा मैले त्यहाँ देखेँ।
प्रदर्शनीमा विद्यार्थी दाइ-दिदीहरूले आफ्ना प्रोजेक्टबारे धेरै उत्साहका साथ बुझाइरहनुभएको थियो। उहाँहरूले बनाएको प्रोजेक्टमा मेहनत, अभ्यास र टिमवर्क देखिन्थ्यो। अझ रमाइलो कुरा, केही प्रोजेक्ट व्यवसाय वा स्टार्टअपका रूपमा पनि अघि बढ्न सक्ने सम्भावना बोकेको मलाई अङ्कलले बताउनुभयो।
मैले त्यहाँ गएर एउटा महत्त्वपूर्ण कुरा सिकेँ, सिकाइ केवल परीक्षा पास गर्नका लागि मात्र हुनुहुँदैन। सिकाइले नयाँ कुरा बनाउने हिम्मत दिनुपर्छ। हामीले पढ्ने विज्ञान, गणित र कम्प्युटरलाई जीवनका समस्या समाधान गर्न प्रयोग गर्न सकियो भने त्यसको अर्थ अझ ठुलो हुन्छ। प्रेसिडेन्सियल इन्नोभिस्टा २.० ले मलाई यही कुरा महसुस गरायो।
स्कुल सकेर केही घण्टा प्रदर्शनी हेर्न गएको त्यो अनुभव मेरो लागि धेरै प्रेरणादायी बन्यो। घर फर्किँदा मेरो मनमा धेरै प्रश्न र सपना थिए। के म पनि भविष्यमा यस्तो कुनै प्रोजेक्ट बनाउन सक्छु? के म पनि रोबोट, एप वा कुनै उपयोगी प्रणाली बनाउन सक्छु? मलाई लाग्यो, सुरूआत सानो भए पनि जिज्ञासा ठूलो हुनुपर्छ।
मेरो विचारमा यस्ता प्रदर्शनी स्कुल पढिरहेका विद्यार्थीहरूले अनिवार्य रूपमा हेर्नुपर्छ। यसले भविष्यमा के पढ्ने, कुन क्षेत्रमा रूचि छ र प्रविधिले समाजमा कसरी काम गर्छ भन्ने बुझ्न सहयोग गर्छ। मैले केवल प्रदर्शनी हेरेको होइन, भविष्यका सम्भावना देखेको छु।
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० बाट फर्किएपछि मलाई प्रविधिप्रति अझ बढी रूचि बढेको छ। अब म कम्प्युटर र विज्ञान पढ्दा केवल किताबको पाठ सम्झने होइन, त्यसबाट के बनाउन सकिन्छ भनेर पनि सोच्नेछु। मेरो लागि यो प्रदर्शनी एक दिनको कार्यक्रम मात्र थिएन, भविष्यबारे सोच्न प्रेरित गर्ने अनुभव थियो।
(सम्राट घिमिरे टिलिङ्गाटार उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्छन्।)