राजेश एउटा मिटिङको लागि समयमा पुग्न छिटो–छिटो हिँडिरहेको थियो।
पैसाको अभावले गर्दा ऊ कहिले पैदल, कहिले बसबाट त कहिले हतार भएको बेलामा अटोरिक्सामा जाने गर्दथ्यो।
मानिसहरूको नजरमा ऊ एक सम्पन्न व्यक्ति थियो। ऊ यो तथ्यलाई अस्वीकार गर्न चाहँदैनथ्यो। यसको कारण यो थियो कि जब कसैले ऊसँग आर्थिक सहयोग माग्दथ्यो, त्यसबेला उसले कहिल्यै रित्तो हात फर्काएको थिएन। दिएपछि पनि उसले कहिल्यै फिर्ता मागेको थिएन।
ऊ काठमाडौंको व्यस्त सडकमा आफ्नै सुरमा हिँडिरहेको थियो। कार्यक्रम स्थल उसको होटलबाट केवल दुई किलोमिटर टाढा थियो होला, त्यसैले ऊ अनावश्यक रूपमा सय रुपैयाँ खेर फाल्न चाहँदैनथ्यो।
अगाडिबाट आउँदै गरेकी एक सुन्दर महिलासँग राजेश ठोक्किन पुग्यो।
उसलाई थाहा भएन यो कसको गल्ती थियो, तर उसले गाली सुन्नु पर्यो। ती महिलाले भनिन्, 'इडियट, के तिमी अन्धा छौ? देख्न सक्दैनौ?'
राजेशले टाउको उठाएर नरिसाई भन्यो, 'म्याडम, यो कुरा त तपाईंलाई पनि लागू हुन्छ नि।'
महिलाले रिसाउँदै भनिन्, 'के तपाईंलाई महिलासँग कसरी कुरा गर्ने थाहा छैन?' यस पटक राजेशले ती महिलालाई ध्यानपूर्वक हेर्यो। उनलाई कतै चिने जस्तो लाग्यो।
यसरी हेरेको देखेर महिलाले छक्क पर्दै भनिन्, 'तपाईंले मलाई यसरी किन हेरिरहनुभएको? पहिला तपाईंले मलाई धकेल्नुहुन्छ र अब निर्लज्ज भएर हेरिरहनुभएको छ।'
उनीहरूको संवाद सुनेर बाटो हिँड्ने केही बटुवाहरू त्यहाँ उभिन थाले।
स्थिति बिग्रँदै गएको देखेर राजेशले झस्किँदै भन्यो, 'लक्ष्मी, तिमी अझै पनि उस्तै छ्यौ, कुनै परिवर्तन आएको छैन।'
अब अपरिचितको मुखबाट आफ्नो नाम सुनेर छक्क पर्ने पालो महिलाको थियो। उनले भनिन्, 'मेरो नाम कसरी थाहा भयो?'
त्यसपछि राजेशलाई ध्यानपूर्वक हेर्दै महिलाले भनिन्, 'तिमी कलेजमा पढ्दाको राजेश हैन?'
राजेशले टाउको हल्लाउनेबित्तिकै ती महिलाले सबै कुरा छोडेर उसलाई कसिलो अँगालो हालिन्।
अब तमाशा हेर्नेहरूको अनुहार हेर्नलायक थियो। महिलाले भनिन्, 'तिमी हतारिँदै कहाँ जाँदै थियौ?'
राजेशले भन्यो, 'मिटिङ छ।'
उनले भनिन्, 'म क्राउन प्लाजा होटलमा बसेको छु, मिटिङ सकेर त्यहाँ आऊँ, अनि तिमी कहाँ बस्छौ?'
राजेशले भन्यो, 'म सुन्धारामा बसेको छु।'
उनले सोधिन्, 'होटल... कोठा नम्बर?'
उसले भन्यो, 'शाम्बला ४०५।'
उनीहरूले मोबाइल नम्बरहरू साटासाट गरे र आ–आफ्नो काममा लागे। मिटिङ सकिएपछि राजेश पूरै फुर्सदमा थियो। ऊ लक्ष्मीलाई भेट्ने कि नभेट्ने भनेर सोच्दै थियो, त्यसैबेला उनको फोन आयो... मानौँ उनले राजेशको मिटिङ सकिएको थाहा पाएकी थिइन्।
लक्ष्मीले भनिन्, 'राजेश, यदि तिमीलाई फुर्सद छ भने, म तिम्रो होटलमा आउँछु।'
राजेशले भन्यो, 'हुन्छ! म पन्ध्र मिनेटमा होटलमा पुग्छु।'
आधा घण्टापछि उनी राजेशको होटलको कोठा अगाडि उभिरहेकी थिइन्। उनको उमेर ढल्केको भए पनि उनी अझै धेरै सुन्दर थिइन्। उनी भित्र आइन्, उनको हातमा एउटा झोला थियो। भित्र आएर कुर्सीमा बस्दै भनिन्, 'ढोका बन्द गर, म तिमीलाई बलात्कार गर्दिनँ।'
राजेशले मुस्कुराउँदै भन्यो, 'मलाई आफैमा विश्वास छैन।'
त्यसपछि लक्ष्मी ठूलो स्वरले हाँस्दै भनिन्, 'म तिमीलाई चिन्छु, तिमी त सायद आफ्नी श्रीमतीको सहमति बिना उसलाई पनि छुँदैनौ। मलाई त्यो घटना याद छ, जब सरिताले तिमीलाई प्रपोज गरेकी थिइन्। तिमी अर्को दिन स्कुल आएनौ। पछि, सबैजना फरक–फरक कलेज गयौँ। हाम्रो अन्तिम भेट महेशको जन्मदिनको पार्टीमा भएको थियो। जब मैले तिम्रो हात समातेर तिमीलाई प्रपोज गरेको थिएँ। त्यतिबेला तिमीले भनेका थियौ कि मेरो आफ्नो कुनै ठेगान छैन, म तिम्रो जिम्मेवारी कसरी लिन सक्छु। अहिले तिमीले आफ्नो श्रीमती, बालबच्चाहरूको हेरचाह गर्छौ कि गर्दैनौ?'
राजेशले भन्यो, 'उनीहरूले मेरो ख्याल राख्छन्, मैले होइन।'
लक्ष्मी हाँसिन्। राजेशले सोध्यो, 'तिमी के खान चाहन्छौ, चिया कि कफी?'
लक्ष्मीले भनिन्, 'यो मौसम... काठमाडौंमा चिया वा कफी पिउनु मूर्खता हो। मानिसहरू यहाँ खान र पिउन आउँछन्। मैले स्कच ल्याएको छु। तिमी पिउँछौ कि पिउँदैनौ?'
राजेशले हिचकिचाउँदै भन्यो, 'म कहिलेकाहीँ एक वा दुई पेग पिउँछु।'
उनी खुसी हुँदै भन्छिन्, 'त्यसो भए ठीक छ, तिमी जति चाहन्छौ पिउन सक्छौ।'
उनले आफ्नो गिलाससँगै राजेशको लागि पनि एक पेग बनाइन्। झोलाबाट नुनिलो काजू, भुटेको बदाम र चीजको टुक्रा निकाल्दै भनिन्– 'मलाई यी चीजका टुक्रा मन पर्छ।'
उनले आफ्नो गिलासमा दुई टुक्रा बरफ मात्र राखिन्, जबकि राजेशको गिलास पानीले भरिदिइन्।
यो देखेर लक्ष्मीले हाँस्दै भनिन्, 'योभन्दा राम्रो पानी पिएको भए हुन्थ्यो।'
राजेशले एउटा पेग सक्दासम्म लक्ष्मीले तीनवटा ठूला पेग पिइसकेकी थिइन्।
राजेशले उनलाई भन्यो, 'लक्ष्मी! यति धेरै पिउनु स्वास्थ्यका लागि राम्रो होइन।'
उनले मुस्कुराउँदै भनिन्, 'म हरेक दिन आधा बोतल पिउँछु। के तिमीले मेरो शरीरमा कुनै फरक देखेका छौ?'
यसो भन्दै लक्ष्मीले आफ्नो माथिको कपडा फुकालिन्। राजेशले असहज महसुस गर्दै आत्तिएर भन्यो, 'लक्ष्मी, तिमी के गर्दैछौ, वेटर खानाको अर्डर लिएर आउँदैछ।'
लक्ष्मीले भनिन्, 'के भो त? के मसँग केही विशेष छ र? मेरो शरीर पनि अरूको जस्तै छ।' उनको यो कार्यले गर्दा राजेशले जे पिएको थियो, त्यो सबै पानीमा परिणत भएको थियो।
राजेशले अनुरोध गर्दै भन्यो, 'खाना आउँदैछ, लुगा लगाऊ, छिटो खाना खाउँला, अनि म तिमीलाई तिम्रो होटलमा छोडेर आउँछु।'
'कसको लागि छोड्छौ? मेरो बुढो श्रीमानका लागि... ऊ ९ बजेपछि घुर्न थाल्छ र बिहान ५ बजेपछि मात्र उठ्छ। त्यसले मेरो जीवन बर्बाद पारेको छ।'
लक्ष्मीको कुरा सुनेर राजेश छक्क परेर सोध्यो, 'तिमीले बुढो मान्छेसँग विवाह गर्यौ! किन, तिमी जस्तो सुन्दर केटीसँग जो कोहीले पनि विवाह गर्न चाहन्थ्यो।'
लक्ष्मीले राजेशलाई हेर्दै भनिन्, 'के तिमीले गर्यौ त मसँग? तिमी पुरुषहरू सबै उस्तै हौ। तिमीहरूले महिलालाई कहिल्यै खुसी देख्न सक्दैनौ। म कलेज पढ्दा संजीबसँग प्रेममा परें... त्यो हरामी कुकुरले मलाई गर्नु सम्म शोषण गर्यो र भाग्यो। आमाबाबुले एक जनासँग मेरो जबरजस्ती विवाह गरिदिए। मैले उसँग दस दिनभन्दा बढी समय बिताइनँ। उसले महिलाहरूलाई दासी ठान्थ्यो। यस्तो नगर, त्यस्तो नगर, यसरी बस, यसरी हिँड। मलाई लाग्थ्यो कि म उसले किनेर ल्याएको केटी हुँ। दसौँ दिनमा मैले उसलाई लात हानेर निस्केँ। त्यसपछि मेरो परिवारले पनि मलाई निकालिदिए। आमाबाबुले पनि उनीहरूको कुरा पत्याए, छोरीको कुरा पत्याएनन्। मैले काम गर्न थालेँ। मेरो हाकिमले मलाई मन पराउन थाल्यो र मलाई भावनामा फसाएर उसले मसँग विवाह गर्ने वाचा गर्यो... सम्बन्ध बनायो... तर केही दिनमै मलाई थाहा भयो कि ऊ विवाहित पुरूष रहेछ।'
राजेश लक्ष्मीको कुरा अचम्म मानेर सुनिरहेको थियो। त्यो केटी, जो एकदमै शुद्ध सोच भएकी केटी थिइन्। उनले राजेशलाई पहिलो पटक विवाहको प्रस्ताव राखेकी थिइन्, जुन समयमा धेरै केटाहरू उनीप्रति पागल थिए। राजेशलाई पनि मन पर्थ्यो। तर उसको परिवार रूढिवादी थियो। ऊसँग आफ्नो विवाहको बारेमा कुरा गर्ने हिम्मत थिएन र आफ्नो समुदायभन्दा बाहिरको बारेमा सोच्न पनि सक्दैनथ्यो।
लक्ष्मीले भन्दै गइन्, 'बिस्तारै सबैले मलाई बेवास्ता गर्न थाले, मेरा आमाबाबु, दाजुभाइ, दिदीबहिनी, साथीभाइ, सबैले सोचे कि यदि तिनीहरूले मसँग कुरा गरे भने, तिनीहरूको इज्जतमा दाग लाग्न सक्छ।'
त्यत्तिकैमा वेटरले घण्टी बजायो। उसको अवस्था देखेर राजेशले बिस्तारै ढोका खोलेर ट्रे लिएर ढोका बन्द गर्यो। राजेशले भन्यो, 'तिमी खाना खाऊ, म पनि खान्छु, आज ढिलो भइसकेको छ।'
लक्ष्मीलाई रक्सी लागिसकेको थियो, उनले भनिन्, 'तिमी खानको लागि मात्र जीवित रहेछौ।'
राजेशले लक्ष्मीको कुरामा ध्यान नदिई दुई वटा प्लेटमा खाना राख्यो। एउटा लक्ष्मीलाई दियो र आफ्नो प्लेट लिएर खान थाल्यो।
'म तिमीलाई खान्छु।' भन्दै ठूलो स्वरमा हाँसिन्।
त्यसपछि उनले फेरि भन्न लागिन्, 'मलाई धेरै पैसा कमाउने लत लागेको थियो, किनभने मलाई लाग्थ्यो कि मसँग जति धेरै पैसा हुन्छ, त्यति नै धेरै इज्जत पाउनेछु र मैले जीवनको आनन्द लिन सक्नेछु। म यति बदनाम भइसकेको थिएँ कि कोही पनि मसँग विवाह गर्न चाहँदैनथे। सबैजना मसँग रात बिताउने मौका खोजिरहन्थे। मानिसहरूले मलाई चरित्रहीन ठान्थे। त्यसपछि एक पटक मेरो वृद्ध श्रीमानले मलाई पार्टीमा देखेपछि, उसले मसँग विवाह गर्ने आफ्नो इच्छा व्यक्त गरे। त्यसबेला म धेरै कठिन अवस्थाबाट गुज्रिरहेकी थिएँ।
मेरो जागिर थिएन, मसँग जे जति थोरै पैसा थियो, त्यो पनि सकिन लागेको अवस्था थियो। नाता–सम्बन्ध कोही बाँकी थिएनन्, सबै टाढिएका थिए। उनी धेरै धनी थिए, मभित्रको लोभले भोलिपल्ट अदालतमा गएर उसँग विवाह गरेँ। एकै दिनमा म अरबौँको मालिक भएँ... तर अरू सबै कुरा शून्य भयो। मैले उसबाट शारीरिक सन्तुष्टि पाउन सकिनँ, ऊ केवल सुन्दर शरीर हेर्न चाहन्थ्यो। सायद त्यसैले होला, उनका पहिलो दुई श्रीमतीले दुई–दुई करोड लिएर सम्बन्धविच्छेद गरेका थिए। म आफ्नो शारीरिक सन्तुष्टिका लागि बाहिर घुम्न थालेँ। मलाई थाहा छैन, मैले को–कोसँग रात बिताएँ।'
मलाई उनको कुरा सुनेर अनौठो लागिरहेको थियो। मलाई थाहा छैन किन हो कुन्नि, अहिले उसको कुरा सुनेर दिक्क लागिरहेको थियो। उनी फेरि अर्को पेग पिउँछिन्।
अनि उनी भन्छिन्, 'राजेश, तिमीले नै भन, म कहाँ गलत थिएँ। आज मसँग सबै कुरा छ, तर न माया छ, न सम्बन्ध छ, न शान्ति छ, किन?'
जब मैले लक्ष्मीलाई हेरें, उनले भनिन्, 'तिमीलाई थाहा छ, जब कलेजमा पहिलो पटक केटाहरूसँगको सम्बन्ध जुन चर्चाको विषय बन्यो, त्यसबेला यदि मेरा आमाबाबुले दुई थप्पड हानेर मलाई सम्झाएको भए, म यति धेरै अगाडि आउने थिइनँ होला। यदि त्यो वृद्ध लोग्नेले मलाई थप्पड हानेर मनपरी गर्नबाट रोकेको भए वा आमा र बुबाले मलाई गाली गरेर बुझाएको भए, सायद यस्तो हुने थिएन। आज मसँग पैसा छ, गाडी छ, सबै सुविधाहरू छन् तर साथमा आफ्ना कोही छैनन्।'
लक्ष्मीले एक पेग केही नराखी पिउँछिन् र बाथरूम गएर हातमुख धोएर आउँछिन्। उनी ओछ्यानमा लड्छिन् र भन्छिन्, 'मानिसहरूले मलाई किन गलत ठान्दछन्?' अनि बर्बराउँदै उनी त्यहीँ निदाउँछिन्।
म एउटा तकिया लिएर सोफामा सुत्न गएँ र सोचें कि मैले उनलाई बाटोमा चिन्नु नै मेरो गल्ती भयो। म बिहान उठ्दा पनि उनी मस्त सुतिरहेकी थिइन्।
म मर्निङवाकमा निस्किएँ। दुई घण्टापछि फर्किँदा उनी गइसकेकी थिइन्। दस बजेतिर लक्ष्मीले मलाई फोन गरिन्, 'राजेश, हिजो राति मैले तिमीलाई डिस्टर्ब गरें, माफ गर्नु, तर तिमी भन्न सक्छौ, मैले कहाँ गलत गरेँ?'
मैले फोन नम्बर हेरेँ र फोन काटेर उनको नम्बर ब्लक गरेँ।
त्यसै पनि, म तयार भएर तुरून्तै विमानस्थल पुग्नुपर्थ्यो।
***