म घर पुग्दै थिएँ, छोरी पनि घर पुगिन् र मलाई हेर्दै प्रश्न गरिन्।
'बाबा, हजुरले बच्चा कुट्नु हुन्छ हो? अबदेखि नकुट्नुस्, दुई वर्ष जेल हुन्छ।'
म त अक्क न वक्क परेँ। आज किन छोरीले अनायासै यस्तो गम्भीर प्रश्न गरिन्? उनलाई म मास्टर भन्ने थाहा छ, यसैले भनेको हुनुपर्छ।
म कमलो मनको मान्छे ठान्छु आफैलाई। त्यस मानेमा कि फिल्ममा पीडाको दृश्य आए म रून्छु। मलाई थाहा छ, त्यो काल्पनिक हो, तापनि धान्नै सक्दिनँ। यसैले पिट्ने खालको त म होइन र पनि कहिलेकाहीँ 'अति सर्वत्र वर्जिते' झैं धेरै रिस उठ्छ, हाँसेर शान्त पार्छु।
सायदै मेरी छोरीलाई शिक्षा ऐन नियमावली थाहा छैन, तर विद्यालयमा कसैले कुरा गरेको सुनेर कतै बाबालाई पनि गल्ती गरेर सजाय मिल्छ कि भन्ने कारणले उनले मलाई सतर्क गराइन्।
विगतमा बिबिए पढाउँदा एक विद्यार्थीलाई उसले पटक्कै विषयवस्तुमा ध्यान नदिएको, पढाएको बेलामा कुरा गरेको देखेर गाली गर्दै उसको झोला उठाएर बजारेको, त त्यो झोलामा ल्यापटप रहेछ, विद्यार्थी मसँग रिसायो।
शिक्षा नियमावली संशोधन दशौँ, २०८३ हेरेको, त्यहाँ पनि नियम २५ उपनियम १ को ट '१' मा 'कुनै पनि अवस्थामा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामा नकारात्मक असर पर्ने कुनै पनि गतिविधि विद्यालय परिसर वा कक्षा कोठाभित्र गर्न वा गराउन नदिने' उल्लेख छ। स्पष्टीकरणमा कपाल काट्ने, विद्यार्थी अपमानित गर्ने, लाञ्छित गर्ने, आत्मसम्मान मर्यादामा असर पर्ने, स्वास्थ्य र मनोसामाजिक स्वास्थ्यमा प्रतिकूल हुने कार्य र व्यवहार उल्लेख छ।
यो नियमावलीले हामी मास्टरलाई सचेत गराएको छ, यसबाट चुनौती पनि थपिएको छ।
आफू विद्यालय पढ्दाको अनुभवमा एक दिन विज्ञान शिक्षकले एक जना साथीलाई नपढेको भनेर ढाडमा मुड्कीले हान्दा उहाँको कोनोग्राफ घडी नै उछिट्टिएर ढोका बाहिर पुग्यो।
म विद्यालय तहमा नै दुई विद्यालय पढ्न पाएकोले अनुभव पनि धेरै छ।
गाउँमा त त्यो बेला शिक्षकहरू पनि प्रायः आफन्त, छिमेकी हुनुहुन्थ्यो। विज्ञान, गणित, अंग्रेजी शिक्षक मात्र बाहिरको हुनुहुन्थ्यो। म कक्षा चारमा पढ्दा अंग्रेजी सरले स्कुल बारको बाँसको भाटाले कुटेको याद छ, तर कदापि अन्यथा सोचिएन।
म आफैले विद्यार्थी कुटेको छैन, तर गाली गर्ने, थर्काउने गर्छु। अब त त्यो पनि गर्न भएन। सायद फेरि 'एक रुपैयाँको मासुलाई पाँच रुपैयाँको मसला' जस्तो भयो भने गर्ने के?
एउटा शिक्षक अन्तर्वार्तामा सामेल हुँदा एक जना म्याडमले सोध्नुभयो, 'याङ्गर मेनेजमेन्ट गर्न सक्नुहुन्छ? बच्चाहरू आजकल अलिक चन्चले छन्।'
मैले उत्तर दिएँ। सक्छु। मनमा आयो, हङ्गर मेनेजमेन्ट गर्न याङ्गर मेनेजमेन्ट त गर्न पर्यो नि, फेरि आफू परियो बच्चाको बाउ।
हुन त 'रिसको बेलामा वेद पढिन्न' भनिन्छ, तर अब शिक्षण पेसामा आउने हो भने वेद होइन, त्रिपिटक, कुरान, बाइबल सबै पढ्नुपर्छ किनकि कक्षामा पनि आजकल अनेक रूपरङ्गका बच्चाहरू हुन्छन्।
केही वर्ष पहिले एउटा विद्यालयमा पढाउँदा, एक अस्थिर स्वभावको बाबु कक्षामा दौडँदा झोलामा अल्झेर लड्यो, दाँत भाँचियो, रगत आयो, बच्चा रोइरहेको थियो। मैले तत्काल इन्फर्मरीमा लगेर बच्चालाई बुझाएर नर्सलाई अभिभावकसँग कुरा गर्न लगाए। शिक्षक भएपछि रिस व्यवस्थापन मात्र होइन, दुर्घटना, घटना र समस्या व्यवस्थापनमा पनि चनाखो हुनुपर्छ, नत्र नखाएको विष लाग्छ।
शिक्षक बनेपछि सूचना र सञ्चारमा पनि अब्बल हुनुपर्छ, तब सबै व्यवधान र बाधाबाट जोगिन बच्न सकिन्छ। आखिर बच्चा त बच्चा नै हुन्। उनीहरू दाता, क्लाइन्ट, कस्टमर पनि हुन्। 'कस्टमर इन अलवेज राइट' यसैले सावधानीपूर्वक कर्तव्य पूरा गर्ने हो। जसमा बच्चाहरूको इज्जत र आत्मसम्मानलाई शिरमा राखी काम गर्नुपर्छ। जबर्जस्ती गर्ने, सिकाउन, घोटाउनकै लागि उनीहरूलाई धरपकड गर्न भएन। बरू ढिलो सिकून्, कम सिकून्, सबैको चाहनाअनुसार हामी चल्नुपर्छ।
अब कक्षाभित्र जाँदा कम्तीमा पनि रिस, राग, द्वेष, घृणा, तनाव र दबावलाई बिर्सेर कुल, ठन्डा भएर, विषयवस्तु दख्खल पारेर, जाने बिस्तारै बोल्ने, बिस्तारै पढाउने, बिस्तारै सिकाउने, हरेक पटक उनीहरूको मनोसामाजिक, शारीरिक, मनोवैज्ञानिक विषयलाई शिरोपर गरी काम गर्नुपर्छ।
'घरको कुरा विद्यालयमा, विद्यालयको कुरा घरमा नलैजाने' अर्को तथ्य हो। पढाउने कलाको विषयमा त भन्नै परेन, सबै अब्बल हुनुहुन्छ। तपाईंको शिक्षण कला जहिले पनि विद्यार्थीको मर्यादा र आत्मसम्मानलाई नडगमगाउने खालको हुनुपर्ने, यो मन्त्र कुरा बिर्सन भएन। पिट्न त अरूले मरिहत्ते गरेर जन्माएका, पाएका, हुर्काएका बच्चालाई पिट्ने, कुट्ने र थर्काउने हामी को हौँ? कसले दियो अधिकार? शिक्षक लाइसेन्स विद्यार्थी कुट्ने लाइसेन्स हो र? त्यो त अब कल्पना गर्न पनि सकिन्न।
पूर्वीय दर्शनमा भनेझैं गुरू, शिक्षक, अभिभावक, बाआमाले बच्चाको हितको लागि गाली गर्न, एक दुई थप्पड हान्न पाइने, जमाना गए, अब शिक्षक धेरै संयमित हुनुपर्यो।
पहिला पहिला पिट्ने शिक्षक अब्बल मानिन्थे। कालजमानासँगै अब नपिट्ने शिक्षक अब्बल मान्ने जमाना आयो। आफूलाई परिवर्तन गरौँ, सम्हालौँ, पुरानो मान्यता बिसौँ। युगानुकूल चलौँ।