कर्मकल्चर
धेरै वर्षअघि मैले एउटा लोकभाका संकलन गरेको थिएँ। मैले साथीभाइलाई जति सुनाएँ, सबैले सराहना मात्र गरेनन्, साँझका बसाइमा फर्माइस पनि गर्न थाले।
त्यसपछि मेरो साहस बढ्यो।
नेपथ्यका अमृत गुरूङले त्यसलाई न्याय गर्छन् भन्ने लागेर मैले त्यो गीत सुनाएँ। उनले टाउको हल्लाए।
त्यसको मर्म नमरोस् भनी मैले उनैलाई लाङटाङका चौंरी र भेडीगोठहरूतिर जान सर्त गराएँ। गितारवादक सहकर्मी डानियल कार्थक पनि मिसिए।
चौथो व्यक्तिका रूपमा हिँडेका ब्यान्डका व्यवस्थापक किरणकृष्ण श्रेष्ठले भिडिओमा हामीलाई पछ्याए। त्यसैको प्रतिफल स्वरूप त्यो भाका खोज्दै यात्रा गरेको त्यही नामको डकुमेन्ट्री फिल्म बन्यो।
दुई दशकदेखि अमृतले देशको जुनसुकै सहर वा विदेशका जुनसुकै स्टेडियममा पनि खुब रौसिएर गाउँदै आएका छन्। जुन गाउँदा स्टेजबाट फुसफुसे हिउँ पनि पर्छ।
आकाशैबाट के उडी आयो
भेडाको ऊनजस्तो
मायाको फोटो मै खिची लान्छ
पूर्णेको जुनजस्तो…!
गत भदौ १० गते बिहान भने लाङटाङ लिरूङको उत्तरी मोहडा गर्ल्यामगुर्लुम खसेर ल्हेन्दे खोला बहुलाएपछि केही बेरमै हामीले हातहातका मोबाइलमा देख्यौं— आकाशबाट कुनै नरम र सेता भुवा होइन, धमिला र लेदिला चट्टानहरूको बाढी आयो।
म कैयौंपल्ट गोसाइँकुण्ड गएको छु। आसपासका गाउँ घुमेको छु। काठमाडौंबाट देखिने लाङटाङ शृंखलाले मलाई सधैं लोभ्याएको छ। स्याफ्रुबेसीको ओरालो सधैं सम्झनामा आउँछ। रसुवाबाट समाचार र कफीगफका थुप्रै किस्ता लेखेको पनि छु।
काठमाडौंको सिधा उत्तरी भूगोल पर्यटन र तीर्थाटनसँगै व्यापारका लागि पनि सीमा–नाकाको जोड चल्न थालेपछि केरूङ हाम्रो मानसपटलमा केन्द्र बन्न थाल्दै थियो।
त्यही बिहानसम्म, जतिखेर हिमाली सुनामीका रूपमा त्यो अकासिँदै यसरी बत्तियो, जसरी त्यो बाटो कुनै दिन बुलेट ट्रेन आउने पो हो कि भन्ने भान पारिँदै थियो।
अघिल्लो चुनावको झन्डै दुईतिहाइ मत गन्न भ्याउँदा नभ्याउँदै हौसिएर त्यतिखेरका ठूला कम्युनिस्ट नेताहरू चीनतिर फर्किएर लाङटाङमुनि उभिएको फोटो खिचाएका थिए। विकासका लागि हिमाल छेड्ने तहको अभिमान उच्च भएको थियो।
राजनीति गर्नेहरूले सपना बेच्न ठूला आयोजना कोरल्ने, पत्रकारहरूले पनि कुनै चिनियाँ भेट्यो कि त्यही केरूङ रेलको सम्भावनाबारे प्रश्न गरिहाल्ने, 'झोलामा खोला' भन्ने थेगो बन्ने गरी कुनै पनि नदी–नाला नछाड्ने विकासको बतास यसरी चलेको थियो।
त्यसमाथि नदी–नाला भनेकै बिजुली मात्र होइन, तलतिर ढुंगा–बालुवाको स्रोतका रूपमा भरमार प्रयोग गर्ने उपयोगितावादी हाम्रो चालढाल बनिसकेको थियो।
आकाशे बाढी वा हिमाली सुनामीले हाम्रा जति परिवार, इष्टमित्र, आफन्त, साथीभाइ र नागरिकहरूलाई हामीबाट चट्याङको गतिमा खोसेर लगेको छ र हामीलाई शोकमग्न पारेको छ, त्यसको दुःखमनाउ गरेर मौन बस्ने सुविधा हामीलाई छैन।
हामीलाई यो शोकबाट निस्केर सही सोचाइ र सामर्थ्य चाहिएको छ, जसले हामीलाई हाम्रा सोच र समझदारीबारे समीक्षा गर्न, यसबाट मिलेको सन्देश स्वीकार गर्ने साहस प्रदान गरोस्।
हो, हामीलाई छिटो विकास चाहिएको छ। कति छिटो भने पछिल्लो चुनावमा जनताले कुनै अलमल नगरी अर्को दुईतिहाइ नै दिए। देशमा केही भइहालोस् भन्ने बलियो भावना छ।
अहिलेसम्म जे–जति भयो, त्यसबाट हामी सन्तुष्ट छैनौं। अरू त अरू, बहुदल आएपछि भएका प्रगति पनि केही होइन भन्ने बिन्दुमा पुगेर 'पैंतीस वर्षमा के गर्यौ' भन्ने नारा लगाउनेहरूको बल देखेर प्रस्ट हुन्छ—हामी हतारिएका छौं।
विकासका कुरामा हुर्रिएका छौं।
लाङटाङ प्रलयपछि विकासबारे समीक्षा गर्ने आवाज उठ्न थालेको छ। राष्ट्रपतिको देशवासीलाई सन्देशमा पनि यो परेको छ। सही हो। तर प्रश्न अलि जरैसम्म उधिन्ने गरी गरौं।
हामी प्रश्न गर्न थालौं— विकास त विकास, केको विकास? विकास भन्नेबित्तिकै भौतिक विकास बुझिन्छ। संरचना निर्माण भन्ने सुनिन्छ। बाह्य ऋण र अनुदान ताकेर ठेक्कापट्टा बन्दोबस्त गरेर कुल गार्हस्थ्य उत्पादन बढाउने भन्ने स्पष्ट हुन्छ। विकास एउटा यस्तो अजिंगर भएको छ, जसले हाम्रो सम्पूर्ण ध्यान हरबखत खाएको खायै छ।
यो 'विकास' जनतालाई सोधेर, प्रकृतिलाई बुझेर, संस्कृतिलाई स्वीकार गरेर, आत्मनिर्भर जनजीवनलाई टेवा पुर्याउन सुरू भएन। यो विकास हामीलाई बदल्न सुरू भयो।
हामी जेजस्ता छौं, त्यो भएन। हामी जे गर्न सक्छौं, त्यसले पुगेन। हामी 'वीर' त भयौं, 'विकसित' भएनौं।
'विकास' ले त्यो रसुवा, त्यो लाङटाङलाई कहिल्यै चौंरीगोठाला, भेडीगोठालाका रूपमा परिभाषित गरेन। स्वीकार गरेन। चिनेन। त्यो सीप, त्यो परम्परा, प्रतिभा, पौरख, श्रम, संस्कार र संस्कृतिका रूपमा सम्मान गरेन।
के हामीले राज्यको बोलीचालीमा हिमाली किसान भनेर कहिल्यै ससम्मान बोलेको, तिनका विषय बुझ्न खोजेको, तिनको सरोकारप्रति श्रद्धा व्यक्त गरेको सुनेका छौं?
हाम्रो राज्यको प्राथमिकता हामीलाई हाम्रो विशेषता जे हो, त्यस आधारमा नीति निर्माण तय गर्ने होइन, हामीलाई बदलिदिने हो।
लाङटाङ वा रसुवाकै कुरा गर्ने हो भने गोसाइँकुण्डको उकालोको चन्दनबारीमा उहिल्यै चीज केन्द्र बनाएयता राज्यको भूमिका कृषि र जडीबुटीमा आधारित समृद्ध हिमाली संस्कृति र अनुपम प्रकृतिको थलोका रूपमा कहिल्यै न्याय पाएन।
गाउँमा डम्फू बजाएर बस्नु लम्फू बन्नु हो भन्ने मनोविज्ञान यसरी बन्यो, जो जहाँको हो, त्यो त्यहाँ नबस्ने भयो।
हाम्रो 'विकास' ले हामीलाई बेँसी झर भन्यो। खोला र नदीकिनार सुविधा दियो। सडक ल्याइदियो। चौंरी र भेडीखर्कतिर बस्नेहरूलाई कसले सम्झना गर्ने? उनीहरू आत्मसम्मान ह्रास हुने वातावरणबीच निस्सासिँदै गए।
'सफल' हुन चौंरी बेचेरै तल झर्नुपर्ने भयो। भेडीखर्कलाई राज्यले उत्कृष्ट किसानी संस्कृति र प्रकृतिको सम्पदाका रूपमा स्वीकार गर्यो?
पाखामा बस्नेहरूलाई पाखा पार्ने 'विकास' ले हामीलाई हाम्रै वनपाखाबाट बेदखल गर्यो, हाम्रै आत्मसम्मान, हाम्रै पौरख, हाम्रै सीप, हाम्रै सिर्जना र हाम्रै संस्कृतिबाट हामीलाई पन्छाइदियो।
हामी आफ्ना थातथलो छाड्दै, ज्ञान तथा सीप परम्पराबाट पन्छिँदै, विकसित हुने लालसामा सुविधाको खोजी गर्दै उपभोक्ता बन्न व्यग्र हुन थाल्यौं।
हिमाल हाम्रा लागि बासस्थान होइन, व्यवसाय गर्ने माध्यम हुन थाल्यो। नदीनाला हामीले उपभोग गर्ने र बिजुली बेच्ने स्रोत बन्न थाले। वनजंगल हाम्रो जीविका होइन, वनपैदावरको अर्को नाम हुन पुग्यो।
प्रकृतिसँगको हाम्रो संस्कृति र जनजीवनको सम्बन्ध कारोबारमा बदलिन थाल्यो।
लाङटाङले लाङटाङलाई कस्तो रहन दिने भन्ने निर्णय गर्न लाङटाङवासीलाई हामीले कहिल्यै लोकतान्त्रिक प्रक्रियामा न्यायपूर्ण पैरवी गरेनौं। लाङटाङका बारेमा न हामीले गहिरो चिन्तन–मनन गर्यौं, न कुनै गहकिला अध्ययन–अनुसन्धान गरेर, गराएर, त्यहाँको विशिष्टताको जगेर्ना गर्ने र त्यहीँको विछट्ट जैविक विविधता जोगाउने सोच नै बनायौं।
काठमाडौंले लाङटाङलाई आफ्नो बनायो। लाङटाङले लाङटाङलाई आफ्नो बनाउन पाएन। काठमाडौंले बेइजिङसँग मिलेर नाका खोल्ने र रेल तान्ने योजना गर्न भ्यायो।
नेपालले बिजुली बेचेर डलर कमाउने अनि भएभरका उत्पादन आयात गर्ने रवैया लिएपछि लाङटाङमुनिका नदीनाला सबै गौंडामा बिजुलीको विकासका मापक बने।
हामी विकसित हुने लहरमा हामी आफैलाई भुलेर अर्कै बन्न खोजेका छौं। आफैलाई बिर्सिने देशले आत्मसम्मान कहाँ कमाउँछ र?
आकाशबाटै बाढी आउने तहको यो प्रलयले जे चोट दिएको छ, त्यसको मलम हामी आफैमा छ कि?
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle