सहर र औद्योगिक करिडोरहरूमा ठूला व्यावसायिक भवन, आधुनिक डिपार्टमेन्ट स्टोर, सिमेन्ट उद्योग र कारखानाहरू देख्दा जो कोहीको मनमा कुरा खेल्छ— यी विशाल साम्राज्यहरू रातारात ठडिएका हुन्? वा, तिनका मालिकका बाहिरी चम्किलो अनुहार, अत्याधुनिक कार्यालयको चमकधमक र ठूला कर्पोरेट विज्ञापनले हामीलाई यस्तै भ्रमित पार्छन्?
कुनै पनि व्यावसायिक साम्राज्यको चम्किलो महल सजिलै उभिएको हुँदैन। यसका भित्री पत्र पल्टाएर हेर्ने हो भने, त्यसभित्र बाबु वा बाजेले हाडछाला घोटेर, घामपानी नभनी, आँसु र पसिनाको धारा बगाएर तयार पारेको दशकौं लामो कष्टकर संघर्षको इतिहास लुकेको हुन्छ।
एउटा सामान्य झुपडी, सानो खाद्यान्न पसल वा सीमित पुँजीको बन्द–व्यापारबाट सुरू भएको यात्रा जब पुस्ताहरूको उत्तराधिकार पार गर्दै विशाल कर्पोरेट घराना बन्छ, तब त्यो परिवारका लागि मात्र होइन, सिंगो देशकै अर्थतन्त्रका लागि गर्वको विषय बन्छ। एउटै छानामुनि बसेर एउटा परिवारका सदस्यहरूले कोरेका सुनौलो भविष्यका सपनाहरू र समाजमा सिर्जना गरेका रोजगारीका अवसरले देशको मुहार फेरेका हुन्छन्।
तर कहिलेकाहीँ यी गौरवशाली व्यावसायिक घरानाभित्र एउटा कठोर र तितो यथार्थ लुकेको हुन्छ। बाहिरबाट सोझै नदेखिने तर भित्रभित्रै पोलिरहेको ठूलो आगो दन्किएको हुन्छ।
त्यो आगो कुनै बाहिरी शत्रुले लगाएको हुँदैन। आफ्नै परिवारभित्र उम्रिएको कलह, अहम र द्वेषको लडाइँ, पुस्तान्तरणको बेमेल र खराब आर्थिक अनुशासनका कारण त्यो आगो सुरू हुन्छ।
कतिपय नयाँ पुस्ताको हातमा आफ्ना पूर्वजले रगत र पसिना बगाएर जोडेको अमूल्य धरोहर र प्रतिष्ठाको ढुकुटी पुग्दा उनीहरूले त्यसको सही सम्भार र सम्वर्द्धन गरिरहेका हुन्छन्। दुर्भाग्यवश, कतिपयले आपसी द्वन्द्व, मोजमस्ती, भोगविलासपूर्ण प्रवृत्ति र अदूरदर्शिताका कारण सिंगो पुर्ख्यौली धरोहर तासको घरझैं ढलेर गएका उदाहरण पनि प्रशस्त छन्।
यो लेखमा नेपाल र विश्वभरका विभिन्न व्यावसायिक घरानाको उत्थान, विफलता र पतनको कथा गहिरिएर विश्लेषण गर्दै हाम्रा नयाँ पुस्ताले भविष्यको कर्पोरेट संसारमा कसरी सुरक्षित र सफल भएर अगाडि बढ्ने भन्नेबारे गम्भीर जीवनोपयोगी पक्ष पर्गेल्ने प्रयास गरिएको छ।
सफलताका बलिया आधारशिला
संसारका जुनै कुनामा किन नहोस्, यदि कुनै पारिवारिक व्यवसाय शताब्दीयौंसम्म टिकेको छ, मन्दी तथा आर्थिक आँधीबेहरीका बीच पनि खडा छ भने त्यसका पछाडि केही अकाट्य आधारशिला हुन्छन्। यी आधारशिला जसले तोड्छ, उसको साम्राज्य ढल्न सुरू हुन्छ।
पहिलो र सबैभन्दा महत्त्वपूर्ण मन्त्र— भावना र व्यापार कहिल्यै मिसाउनु हुँदैन।
घरको भान्सामा भएको वादविवाद, पतिपत्नीको पारिवारिक मनमुटाव वा दाजुभाइबीचको घरायसी रिसइबीलाई अफिसको बोर्डरूम वा प्रबन्ध निर्देशकको कार्यकक्षमा बोकेर आउनु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हो। पारिवारिक सम्बन्ध र व्यावसायिक निर्णयहरू दुई बिल्कुलै अलग ध्रुव हुन्।
परिवारमा प्रेम, आदर, मतान्तर र गुनासा होलान्, तर जब कर्पोरेट निर्णय गर्ने पालो आउँछ, त्यहाँ योग्यता, नाफा-नोक्सान, बजारको नियम र संस्थागत हित मात्रै चल्नुपर्छ।
दोस्रो मन्त्र— नातावादभन्दा योग्यता सधैं माथि हुन्छ।
म परिवारको रगत हुँ, मेरो बुबा संस्थापक हुन्, त्यसैले म यो कम्पनीको हाकिम बन्नै पर्छ भन्ने सामन्ती र संकुचित मानसिकताले अबको आधुनिक बजारमा एक दिन पनि कम्पनी टिक्न सक्दैन। यदि परिवारभित्रै त्यो पद धान्न सक्ने उच्च क्षमता, पढेलेखेको र दूरदर्शी युवा छ भने ऊ स्वागतयोग्य छ।
छैन भने, परिवारको नाक बचाउने नाममा अयोग्य सन्तानलाई पदासीन गराएर जोखिम मोल्नु हुँदैन। बाहिरबाट अब्बल व्यावसायिक विज्ञहरूलाई ल्याएर जिम्मेवारी सुम्पिनु बुद्धिमानी हुन्छ। विश्वका ठूला घरानाले यही सिद्धान्त अँगालेर नै आज विश्व बजारमा राज गरिरहेका छन्।
तेस्रो मन्त्र— स्पष्ट लिखित पारिवारिक विधान।
जसरी एउटा देशलाई सुचारू रूपमा चलाउन कानुनी संविधान अपरिहार्य हुन्छ, त्यसैगरी दर्जनौं कम्पनी र अर्बौंको लगानी भएको ठूलो व्यापार धान्न परिवारका सदस्यहरूबीच सेयर बाँडफाँट, नाफाको हिस्सा, उत्तराधिकारी छान्ने स्पष्ट मापदण्ड र जिम्मेवारीको दायरा कानुनी रूपमा पहिल्यै कोरिएको हुनुपर्छ।
जब नियमहरू लिखित र पारदर्शी हुन्छन्, तब गलतफहमी वा षड्यन्त्रका लागि ठाउँ रहँदैन।
विश्वबजारका ऐना—कसले इतिहास रचे, कसले साम्राज्य गुमाए?
व्यापारको यो खुला र तीव्र प्रतिस्पर्धाको मैदानमा कसैलाई सफलताले शिरमा राख्यो भने कसैको अहंकार र अल्छीपनले माटोमा मिलाइदियो। विश्वको कर्पोरेट इतिहास यस्ता रोचक, प्रेरणादायी र चेतनामूलक उदाहरणहरूले भरिपूर्ण छ।
बेरेटा
इटालीको पुरानो र प्रतिष्ठित 'बेरेटा' कम्पनीलाई हेरौं।
सन् १५२६ मा स्थापना भएको बन्दुक तथा सैन्य हतियार निर्माण गर्ने कम्पनीलाई एउटै परिवारले १५ भन्दा बढी पुस्तादेखि निरन्तर चलाइरहेको छ। आज संसारमा कति देश बने र भत्किए, कति राजा–राष्ट्र प्रमुख आए र गए, तर बेरेटा परिवारको व्यापार निरन्तर चलिरहेको छ।
यो कसरी सम्भव भयो?
उनीहरूले पुर्ख्यौली गुणस्तर र प्रतिष्ठालाई कहिल्यै मर्न दिएनन्। साथै, समयको गतिसँगै आधुनिक प्रविधि, अनुसन्धान र बजारको माग पनि सँगै बोकेर हिँडे। उनीहरूले परिवारको स्वार्थभन्दा संस्थाको निरन्तरतालाई सधैं प्राथमिकता दिए।
कोडाक
प्रविधि र बजारको संसारमा अर्कोतर्फ ठूला गल्ती र अहंकारका पाठहरू पनि कम छैनन्। एक समय फोटोग्राफी बजारमा ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको विश्वप्रसिद्ध 'कोडाक' कम्पनी आज इतिहासको पानामा मात्र सीमित छ।
अचम्मको कुरा त के छ भने, संसारको पहिलो डिजिटल क्यामरा कोडाककै इन्जिनियरले सन् १९७५ मै बनाएका थिए। तर कम्पनीको उच्च व्यवस्थापनले 'यसले हाम्रो परम्परागत कागज र फिल्मको व्यापार खत्तम पार्छ' भन्ने डर र पुरातन मान्यताका कारण त्यो क्रान्तिकारी प्रविधि लुकायो र बाहिर ल्याएन।
बजार तीव्र गतिमा डिजिटलतर्फ बदलिँदै गयो। कोडाक परिवार परम्परागत सोचमै अल्झिरह्यो र अन्त्यमा टाट पल्टियो।
नोकिया
ठ्याक्कै उस्तै हाल मोबाइल फोनको निर्विवाद राजा मानिएको फिनल्यान्डको 'नोकिया' को भयो। बजार बटनवाला फोनबाट टचस्क्रिन र एन्ड्रोइडतर्फ जाँदा नोकियाले आफ्नै पुरानो सिम्बियन प्रणालीमा घमण्ड गरिरह्यो।
बजारको परिवर्तनलाई समयमै चिन्न नसक्दा नोकियाको विशाल साम्राज्य पनि केही वर्षमै तासको घरझैं ढल्यो।
टाटा ग्रुप
जमशेदजी टाटाले सन् १८६८ मा स्थापना गरेको टाटा समूह आज भारतको मात्र होइन, विश्वकै सबैभन्दा विश्वसनीय कर्पोरेट साम्राज्यमध्ये एक हो।
टाटाको सफलताको सबैभन्दा ठूलो रहस्य के हो भने, उनीहरूले परिवारको स्वामित्वलाई भन्दा संस्थागत सुशासन, मूल्य–मान्यता र राष्ट्रिय हितलाई सधैं माथि राखे।
टाटा परिवारमा प्रत्यक्ष रगतको नाताभन्दा पनि 'योग्यता र निष्ठा' का आधारमा उत्तराधिकारी चयन गर्ने परम्परा बस्यो। रतन टाटाको दुरदर्शिताले डेऊ, नाट स्टिल, एयर इन्डिया, टेटली चिया, कोरस स्टिल र ज्यागुअर ल्यान्ड रोभर जस्ता विश्वस्तरीय ब्रान्ड अधिग्रहण गर्दै टाटालाई बहुराष्ट्रिय उचाइमा पुर्यायो।
जब कुनै व्यापारलाई व्यक्तिगत वा पारिवारिक सम्पत्तिभन्दा माथि उठाएर समाज र राष्ट्रको सम्पत्ति ठानिन्छ, तब त्यो लामो समय टिक्छ भन्ने उदाहरण हो टाटा।
महिन्द्रा ग्रुप
सन् १९४५ मा दाजुभाइ केसी महिन्द्रा र मलिक गुलाम महिन्द्राले स्टिल उत्पादन र पछि जीप निर्माणबाट सुरू गरेको यो समूह आज अटोमोबाइल्स, वित्तीय सेवा, आइटी र आतिथ्यता क्षेत्रमा विशाल साम्राज्य बनेको छ।
महिन्द्रा परिवारले पनि समयको परिवर्तनसँगै कम्पनीमा परिवारका सदस्यलाई मात्र च्याप्नेभन्दा बाहिरबाट उत्कृष्ट 'प्रोफेसनल्स' ल्याएर जिम्मा दिने संस्कृति बसाल्यो।
आनन्द महिन्द्राको नेतृत्वमा कम्पनीले आधुनिक युग सुहाउँदो छलाङ मार्यो। उनीहरूले परम्परागत गाडी उत्पादनबाट इभी र एरोस्पेससम्मको जोखिमपूर्ण तर दूरदर्शी यात्रा तय गरे।
पारिवारिक स्वामित्वमा रहेर पनि आधुनिक बजारको प्रविधि र व्यावसायिक नेतृत्व आत्मसात गर्न सके कसरी निरन्तरता र प्रगति हासिल गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण महिन्द्रा हो।
रेमन्ड्स
सन् १९२५ मा स्थापित 'रेमन्ड्स' भारतको कपडा र फेसन बजारको सबैभन्दा विश्वासिलो र प्रतिष्ठित ब्रान्ड हो। दशकौंसम्म यो नाम गुणस्तर र सुझबुझपूर्ण पारिवारिक व्यवसायको पर्याय थियो।
तर पछिल्लो समय यो घराना व्यापारिक सफलताका कारण चर्चा पाउनुभन्दा पनि पारिवारिक विग्रह, अहमको लडाइँ र बाबुछोराबीचको सार्वजनिक विवादका कारण बढी कलंकित बन्यो।
पूर्वअध्यक्ष विजयपत सिंघानिया र उनका छोरा गौतम सिंघानियाबीचको सम्पत्ति विवाद, अदालती लडाइँ र सार्वजनिक रूपमा एकअर्काविरूद्ध लगाइएका गम्भीर आरोपहरूले रेमन्ड्सको ब्रान्ड इमेजलाई ठूलो धक्का दियो।
छोराले बुबालाई घरबाट निकालेको र सडकमा पुर्याएको जस्ता बजारिया खबरहरूले कर्पोरेट संसारलाई नै स्तब्ध बनायो।
अम्बानी साम्राज्य
धीरूभाइ अम्बानीले रगत र पसिनाले रोपेको कर्पोरेट विरासतका दुई कर्णधार एउटै रूखका दुई मुख्य हाँगा थिए—मुकेश र अनिल।
जब उनीहरूले आफ्ना बुबाले जोडेको छाता उघार्न सकेनन्, तब दाजुभाइबीचको बाटो मोडियो। जेठा मुकेशले भविष्यको डिजिटल आँधीलाई गम्लंग अँगाले, 'जियो' मा अपार लगानी गरे र विश्वका धनीहरूको शिखरमा चुलिए।
कान्छा अनिलले अहम, छिटो प्रगति गर्ने होड र अत्यधिक ऋणको भारी बोकेर अन्धाधुन्ध कारोबार विस्तार गरे। परिणाम स्वरूप, उनको साम्राज्य तासको घरझैं ढल्यो।
यो कथा दुई दाजुभाइको मात्र होइन, यो आधुनिक व्यापारको ऐना पनि हो। दुरदर्शिता र अनुशासनले शिखर चुमाउँछ भने अहंकार र अदुरदर्शिताले माटोमा मिलाउँछ भन्ने कुराको गतिलो उदाहरण पनि हो।
यसबाट सिक्ने सबैभन्दा ठूलो र अकाट्य पाठ के हो भने, समयको परिवर्तनसँगै आफूलाई फेर्न नसक्ने, पुरानो ढर्रामा मात्र बाँच्ने र अहंकार पालिरहनेहरू जतिसुकै ठूला 'राजा' भए पनि समयको चक्रले माटोमा मिलाइदिन्छ।
नेपालको कर्पोरेट धरातल—कोही शिखरमा, कोही पतनको बाटोमा
अब आफ्नै देशको माटो र आँगनतिर फर्कौं।
नेपालमा पनि पारिवारिक व्यवसायका उतारचढाव, सफलताका शिखर र पतनका कहालीलाग्दा कथा कम रोचक छैनन्। नेपालको भूराजनीतिक र आर्थिक सीमाभित्र रहेर पनि केही घरानाहरूले कसरी उचाइ छुन पुगे र कोही किन इतिहासमा खुम्चिए, त्यो गहिरिएर अध्ययन गर्न लायक छ।
एकल प्रयास र दूरदर्शिताको कुरा गर्दा, विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी ग्रुप (सिजी) ले नेपालको सीमा कटेर वाइवाइ चाउचाउदेखि विश्वका ठूला लक्जरी होटलहरूसम्म आफ्नो झण्डा गाडेको छ।
उसले प्रमाणित गरेको छ— दृढ आँट, सुदृढ वित्तीय व्यवस्थापन र आक्रामक व्यावसायिक सोच छ भने नेपाली माटोमा जन्मेर पनि विश्वबजारमा राज गर्न सकिन्छ।
त्यसैगरी, अर्कोतर्फ कुनै ठूला पारिवारिक साझेदार, विदेशी लगानी वा पुराना घरानाको बैसाखीबिना केवल आफ्नो कडा मेहनत, जिद्दी, जोखिम मोल्ने क्षमता र उपभोक्ताको मनोविज्ञान ठ्याक्कै बुझेर मीनबहादुर गुरूङले भाटभटेनी डिपार्टमेन्ट स्टोरलाई नेपालको रिटेल बजारको एक्लो सम्राट बनाएका छन्।
यो नेपालको कर्पोरेट इतिहासमा एक्लो योद्धाको सबैभन्दा गतिलो र सफल उदाहरण हो।
एउटा सामान्य सानो पसलबाट सुरू भएको यात्रा आज देशको सबैभन्दा ठूलो करदाता र रिटेल चेन बन्नुको पछाडि कठोर नेतृत्वको ठूलो हात छ।
यद्यपि, यति ठूलो र केन्द्रिकृत साम्राज्य भोलिका दिनमा सुरक्षित र सहज रूपमा पुस्तान्तरण गर्न यसले कस्तो संस्थागत स्वरूप लिन्छ भन्ने कुरा भविष्यकै गर्भमा छ।
त्यस्तै, स्वर्गीय मोहनगोपाल खेतानले स्थापना गरेको एक समयको नेपालको कहलिएको खेतान समूह पछिल्लो समय तुलनात्मक रूपमा सुस्त र निष्क्रिय देखिएको छ।
नयाँ पुस्ताको विदेश पलायन, नयाँ प्रविधि र जोखिमपूर्ण बजार लगानीतर्फ चासो नदिनु तथा पुराना उद्योगहरूको आधुनिकीकरण गर्न नसक्नुले यो समूह बजारको अग्रपंक्तिबाट पछाडि धकेलिँदै गएको छ।
यी केही सफल कथा हुन्। नेपालका केही पुराना र ऐतिहासिक घरानाहरूको वर्तमान अवस्था पीडादायी र चिन्ताजनक पनि छ।
१०४ वर्षभन्दा लामो इतिहास बोकेको र नेपालको उद्योग–व्यापारको मेरूदण्ड मानिएको ज्योति ग्रुपदेखि त्रिवेणी, जगदम्बा, संघाई, गोल्छा अर्गनाइजेसन, दुगड ग्रुप, मंगतुराम, धनावत, चाचान, मित्तल, खनाल र अमात्य समूहजस्ता ऐतिहासिक नामहरू हेरौं।
यीमध्ये कतिपय घराना आज पुर्ख्यौली पारिवारिक सम्पत्ति, व्यावसायिक मामिला, अत्यधिक ऋण वा पारिवारिक भागबण्डामा परेर साँघुरो घेरामा खुम्चिन बाध्य भएका छन्। कतिले विरासत नै गुमाएका छन्।
यो नेपालको समग्र औद्योगिक क्षेत्रकै लागि एउटा ठूलो र गहिरो धक्का हो।
नयाँ पुस्ताका लागि चेतावनी र मार्गदर्शक सूत्र
व्यावसायिक घरानाका यी तमाम उतारचढाव र घटनाहरूले भोलि साम्राज्य हाँक्ने जिम्मेवारी बोक्न तयार नयाँ पुस्तालाई केही घनीभूत र गम्भीर सन्देश दिएका छन्।
संघर्षको कथा र पसिनाको मूल्य कहिल्यै नभुल्नू— बाबुबाजेले शून्यबाट, एक रूपैयाँ गोजीमा नभएको अवस्थाबाट यो साम्राज्य खडा गर्दा लगाएको रगत र पसिनाको मूल्य बुझ्नू। यो सम्पत्ति रातारात मोजमस्ती गर्न, विलासी गाडी चढेर हिँड्न वा जुवातास तथा फजुल खर्च गर्न मात्र होइन। पुस्तौंदेखि समाजमा जोगाएर राखिएको इज्जत, प्रतिष्ठा र लाखौं मानिसको विश्वासको ढुकुटी हो।
पारिवारिक सम्पत्ति व्यवसायबाट कानुनी रूपमा अलग गर्नू उपयुक्त— घरमा बाबुआमा, दाजुभाइ वा नातेदारबीच जोसँग जस्तोसुकै पारिवारिक वा व्यक्तिगत मनमुटाव होस्, त्यसले कम्पनीको दैनिक कार्यसञ्चालन, उत्पादन, कर्मचारी व्यवस्थापन र बैंक खातालाई कहिल्यै छुने अधिकार नदिनू। पारिवारिक विवाद घरभित्रै समाधान होस्, तर संगठनलाई सधैं कानुनी र व्यावसायिक रूपमा सुरक्षित राख्नू।
अधैर्य र अत्यधिक ऋणको पासोबाट बच्नू— रातारात अकुत कमाउने, देखासिकी गर्ने वा बाहिरी बजारमा रवाफ देखाउने होडमा आफ्नो वास्तविक पुँजी र नगद प्रवाह बेवास्ता गर्दै क्षमताभन्दा बढी कर्जा नलिनू। अन्धाधुन्ध व्यवसाय विस्तार गर्नु आत्मघाती साबित हुन्छ। वित्तीय अनुशासन नै कम्पनीको प्राणवायु हो।
एकता नै सबैभन्दा ठूलो शक्ति हो— एउटा प्रचलित उखान छ, एक्लै दौडिए छिटो पुगिन्छ, सँगै दौडिए टाढा पुगिन्छ। पारिवारिक व्यवसायलाई शताब्दीयौं टिकाइराख्न परिवारका सदस्यबीचको आपसी विश्वास, खुला संवाद, एकअर्काको क्षमताको सम्मान र सहिष्णुता अपरिहार्य हुन्छ। जब परिवार एकजुट हुन्छ, तब जस्तोसुकै मन्दी वा आँधीले पनि त्यो साम्राज्य हल्लाउन सक्दैन।
पारिवारिक व्यवसायको यो लामो र चुनौतीपूर्ण महायात्रामा कुनै पनि कर्पोरेट साम्राज्य तब मात्र पूर्ण रूपमा सुरक्षित र अमर रहन्छ, जब 'अतीतको बलियो संस्कार र भविष्यको आधुनिक सुशासन' को सुन्दर र वैज्ञानिक मेल हुन्छ।
नेपालका व्यावसायिक घराना तथा नवपुस्ताले यो बुझ्ने घडी अब आइसकेको छ— पुर्खाले सुम्पिएको विरासत केवल विलासी जीवन बिताउने अधिकार होइन, यो एक ठूलो ऐतिहासिक, आर्थिक र सामाजिक उत्तरदायित्व हो।
जब यो जिम्मेवारी इमानदारी, त्याग, उच्च नैतिकता र आधुनिक व्यावसायिक ज्ञानका साथ बोकिन्छ, तब व्यक्तिगत सफलतासँगै देशको समग्र अर्थतन्त्र, रोजगारी र समृद्धिको ढोका पनि आफैं खुल्नेछ।
विरासत जोगाउनु भनेको खरानीको ढेरी थुपार्नु होइन, त्यसभित्र दन्किइरहेका अँगारलाई भोलिको पुस्ताका लागि न्यानो र उज्यालो दिने सदाबहार अगेनोमा बदल्नु हो।
(लेखक पुरूषोत्तम रिजाल 'रिजाल फुड एन्ड वेभरेजेज प्रालि' का प्रबन्ध निर्देशक हुन्।)