नेपालको विकास र समृद्धिबारे बहस विगत ६ दशकदेखि विभिन्न सिद्धान्त, मोडल र प्राथमिकतामा अल्झिँदै आएका छन्।
कहिले कृषि क्रान्तिको नारा दिइयो, कहिले भारी उद्योग स्थापनाका खाका कोरिए। त कहिले जलविद्युतलाई मात्र समृद्धिको निर्विकल्प चाबी मानियो।
तर भू–राजनीतिक बनोट, विश्वव्यापी व्यापारिक समीकरण र आफ्नै भौगोलिक सीमाहरूलाई गहिरोसँग विश्लेषण गर्ने हो भने एउटा यथार्थ स्पष्ट हुन्छ। नेपालले औद्योगिक उत्पादन वा ठूला पूर्वाधार निर्माणमा आफ्ना दुई विशाल छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्दैन।
त्यसो भए नेपालको आर्थिक रूपान्तरणको वास्तविक आधार के हो त?
उत्तर स्पष्ट छ— पर्यटन।
समृद्धिको तुलनात्मक लाभ: प्रकृतिको वरदान र हाम्रो आत्मरति
संसारका धेरै देशले मरूभूमिमा कृत्रिम सहर बसाएर, विशाल भौतिक संरचना खडा गरेर वा समुद्रको बालुवामा अर्बौं डलर खर्च गरेर पर्यटक आकर्षित गरिरहेका छन्। तर प्रकृति र संस्कृतिले नेपाललाई त्यस्तो उपहार निःशुल्क दिएका छन्, जसको तुलना विश्वका अन्य कुनै ठाउँसँग हुन सक्दैन।
संसारको सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये आठ वटा नेपालमै छन्। जैविक विविधता, बहुसांस्कृतिक सम्पदा र धार्मिक तथा पौराणिक धरोहरका दृष्टिले पनि नेपाल अदभूत छ। हिन्दु आस्थाको प्रमुख पीठ काठमाडौंको पशुपतिनाथ, रामायणकालीन इतिहासको केन्द्र जनकपुरको जानकी मन्दिर र मुक्तिनाथजस्ता धामहरू यहीँ छन्।
अर्कोतर्फ, बौद्ध धर्मावलम्बीहरूका लागि विश्वकै श्रद्धाको केन्द्र भगवान बुद्धको जन्मस्थल लुम्बिनी पनि यही पावन भूमिमा अवस्थित छ।
तर विडम्बना के छ भने हामी वर्षौंदेखि 'हामीकहाँ सबथोक छ' भन्ने घमण्ड र आत्मरतीमै रमाएर बस्यौं। छिमेकी भारत र चीनको कुल जनसंख्या करिब तीन अर्ब २० करोड छ। तर १५० करोड जनसंख्या भएको भारत र १७० करोड जनसंख्या भएको चीनको बीचमा सानो भूपरिवेष्ठित टापूजस्तै बनेर बसेको नेपालले वार्षिक १०–१२ लाख पर्यटक भित्र्याउँदा पनि गर्व गरेर बस्नुपरेको छ।
भारतको एउटै नयाँ धार्मिक सहर अयोध्यामा सन् २०२५ मा मात्रै आठ करोड तीर्थारू पुगेको तथ्यांक छ।
त्यस्तै, प्राचीन सहर बनारस (काशी) मा आन्तरिक तथा बाह्य गरी वार्षिक १५ करोड पर्यटक पुग्छन्। हाम्रा दुई छिमेकीले धार्मिक र सांस्कृतिक आस्थालाई आधुनिक पूर्वाधार, सडक सञ्जाल, ब्रान्डिङ र प्रविधिसँग जोडेर करोडौं पर्यटक भित्र्याइरहेका छन्। हामी भने सम्भावनाको थुप्रोमाथि बसेर दरिद्रताको गीत गाइरहेका छौं।
पर्यटनलाई भाषणमा मात्र सीमित नराखी व्यवहारमै आर्थिक समृद्धिको प्रमुख आधार बनाएर कायापलट गरेका विश्वका थुप्रै मुलुक हाम्रा लागि उदाहरण हुन्। कुनै समय माछा मार्ने र रूखका नटहरू बेच्ने गरिब टापु राष्ट्र माल्दिभ्सले 'वन आइल्यान्ड, वन रिसोर्ट' को नीति अपनायो।
आज यसको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटनको योगदान ६० प्रतिशतभन्दा बढी छ। यो दक्षिण एसियाकै सबैभन्दा उच्च प्रतिव्यक्ति आय भएको देश बनेको छ।
'तेल सधैं रहँदैन' भन्ने बुझेर दुबई (युएई) ले विश्वकै अग्ला संरचना र हवाई ट्रान्जिट हब निर्माण गर्यो। यसरी उसले आफ्नो अर्थतन्त्रमा तेलमाथिको निर्भरता एक प्रतिशतभन्दा तल झारेर पर्यटनलाई मुख्य आधार बनायो। थाइल्यान्डले धार्मिक, प्राकृतिक र सडक खानपिन (स्ट्रिट फुड) लाई जोडेर वार्षिक चार करोड पर्यटक भित्र्याउँदै जिडिपीमा २० प्रतिशत योगदान पुर्याएको छ।
सिंगापुर र स्पेनजस्ता देशले पनि आधुनिक पूर्वाधार र प्रविधिको बलमा पर्यटनबाटै लाखौं रोजगारी सिर्जना गरेका छन्। छिमेकी भुटानले समेत 'उच्च मूल्य, कम प्रभाव' को दिगो नीति अपनाएको छ। यसबाट प्राप्त राजस्व उसले नागरिकको निःशुल्क शिक्षा र स्वास्थ्यमा खर्च गरिरहेको छ।
माल्दिभ्सको प्राकृतिक सौन्दर्य, भुटानको हिमाली संस्कृति तथा थाइल्यान्ड र स्पेनको जस्तै धार्मिक र जैविक विविधता नेपालसँग पनि छ। खाँचो केवल यी सफल मुलुकले जस्तै पर्यटन पूर्वाधार, डिजिटल नाका र दृढ राजनीतिक इच्छाशक्तिलाई एकीकृत गरेर अघि बढ्नु हो।
पर्यटन नै किन आर्थिक रूपान्तरणको प्रस्थानविन्दु?
पर्यटनलाई नेपालको आर्थिक समृद्धिको मेरूदण्ड मान्नुपर्ने वैज्ञानिक र व्यावहारिक कारण छन्। यसले अर्थतन्त्रका अन्य क्षेत्रलाई कसरी अघि बढाउँछ भन्ने विश्लेषण नगरी पर्यटनको वास्तविक क्षमता बुझ्न सकिँदैन।
रेमिटेन्सको दिगो विकल्प
नेपालको वर्तमान अर्थतन्त्र वैदेशिक रोजगारीमा गएका युवाले पठाउने रेमिटेन्समा आधारित छ। खाडीका मरूभूमि र मलेसियाको कडा घाममा युवाको पसिना बेचेर चल्ने अर्थतन्त्र न दिगो हुन्छ, न सम्मानजनक नै।
पर्यटन यस्तो उद्योग हो, जसले देशकै जल, जंगल, जमिन र संस्कृतिको उपयोग गरेर स्वदेशमै विदेशी मुद्रा आर्जन गर्छ। यसले शोधनान्तर स्थिति सन्तुलनमा राख्छ र देशभित्रै दिगो पुँजी निर्माण गर्छ।
मल्टिप्लायर इफेक्ट: गाउँ र किसानसम्म सोझै नगद प्रवाह
अन्य उद्योगबाट हुने फाइदा प्रायः राजधानी वा ठूला सहरका सीमित उद्योगी र बिचौलियाको पोल्टामा पुग्छ। तर पर्यटन यस्तो क्षेत्र हो, जसको लाभ समाजको तल्लो तहसम्म सोझै पुग्छ।
उदाहरणका लागि, एकजना पर्यटक नेपाल प्रवेश गर्दा विमानस्थलका ट्याक्सी चालकदेखि राजमार्गका होटल व्यवसायीसम्मले आम्दानी गर्छन्। पर्यटकीय क्षेत्रका रेस्टुरेन्ट, पथप्रदर्शक (गाइड) र हिमाली भेगका भरियाले पनि काम पाउँछन्। गाउँमा तरकारी, दूध, मासु र अण्डा उत्पादन गर्ने साना किसानसम्म सोझै नगद प्रवाह पुग्छ।
यसले गाउँ र सहरबीचको आर्थिक असमानता द्रुत गतिमा घटाउन मद्दत गर्छ।
कृषि र घरेलु उद्योगको संवाहक
नेपालका किसानले वर्षौंदेखि उत्पादनको उचित मूल्य र बजार नपाएको गुनासो गरिरहेका छन्। पर्यटकको आगमन बढ्नासाथ नेपालको कृषि र घरेलु उद्योगमा क्रान्ति आउन सक्छ।
पर्यटक बढ्दा होटल र रेस्टुरेन्टमा अर्गानिक तरकारी, फलफूल, दूध, मासु र रैथाने अन्नको माग ह्वात्तै बढ्छ। इलामको चिया, मुस्ताङको स्याउ, मनाङको ओखर, हिमाली क्षेत्रको छुर्पी, हस्तकलाका सामान, थांका चित्र, काठका कलाकृति, ढाकाका कपडा र पश्मिनाको बिक्री पनि बढ्छ।
यसले किसान र कालिगडलाई आफ्नै गाउँमा उद्यमी बन्न प्रेरित गर्छ।
युवा पलायन र ब्रेन ड्रेनमा स्थायी रोकथाम
नेपालबाट दैनिक हजारौं शिक्षित तथा अदक्ष युवा बाहिरिरहेका छन्। पर्यटन क्षेत्रको विकासले हस्पिटालिटी, ट्राभल, साहसिक खेलकुद, डिजिटल मार्केटिङ, यातायात र कृषि पर्यटनमा लाखौं नयाँ रोजगारीका अवसर सिर्जना गर्छ।
यसले युवालाई आफ्नै माटोमा सम्मानित जीवन जिउने आधार दिन्छ।
छिमेकी बजार र हाम्रा वास्तविक कमजोरी: जहाँ हामी चुकिरहेका छौं
हामीकहाँ पशुपतिनाथ र काशी विश्वनाथ तथा जानकी मन्दिर र राम मन्दिरलाई समान पौराणिक महत्त्वका रूपमा हेरिन्छ। धार्मिक र सांस्कृतिक मान्यता अनुसार 'रामबिना सीता र सीताबिना राम' को यात्रा अपूरो मानिन्छ।
त्यस्तै, 'काशीनाथको दर्शनपछि पशुपतिनाथको दर्शन' नगरेसम्म मुक्ति पाइँदैन भन्ने गहिरो धार्मिक विश्वास छ। आस्थाका हिसाबले यी गन्तव्यहरू एकअर्काका अनिवार्य पूरक हुन्।
तर पनि बनारस र अयोध्याको तुलनामा जनकपुर र काठमाडौं ओझेलमा पर्नुको कारण धार्मिक महत्त्वको कमी होइन। बरू हाम्रो नीति, पूर्वाधार, दृष्टिकोण र प्रविधिको कमजोरी मुख्य जिम्मेवार छन्।
नाकाको सास्ती र झन्झटिलो आवागमन
भारतीय पर्यटक आफ्नै निजी गाडी लिएर परिवारसहित नेपाल आउन चाहन्छन्। तर सीमा नाका (सुनौली/बेलहिया, वीरगन्ज, काँकडभिट्टा र गड्डाचौकी) मा उनीहरूले विभिन्न समस्या भोग्नुपर्छ।
कागजी प्रक्रिया, घन्टौंको लाइन, भन्सारको झन्झट र ठाउँठाउँमा हुने सुरक्षा निकायको अनावश्यक जाँचले उनीहरूलाई असहज बनाउँछ। कतिपय अवस्थामा आफूलाई अतिथिभन्दा पनि शंकास्पद व्यक्तिका रूपमा हेरिएको महसुस गर्छन्।
'पर्यटक' र 'तीर्थयात्री' बीचको गलत दृष्टिकोण
हाम्रा नीतिनिर्माता र व्यवसायीमा अझै एउटा ठूलो भ्रम छ— केवल पश्चिमा (डलर खर्च गर्ने) पर्यटक मात्र सक्कली पर्यटक हुन्। भारतीय तीर्थयात्रीहरू थोरै खर्च गर्छन् वा गाडीमा आएर बेलुका फर्किहाल्छन्।
यो अत्यन्तै संकीर्ण र गलत दृष्टिकोण हो। अयोध्या र बनारस पुग्ने भारतीय मध्यम तथा उच्चमध्यम वर्गका पर्यटक होटल, पूजापाठ, उपहार र खानपिनमा ठूलो रकम खर्च गर्न सक्षम छन्। उनीहरू खर्च गर्न इच्छुक पनि छन्।
तर हामीले उनीहरूलाई सोही अनुसारको सम्मानजनक र सहज वातावरण दिन सकेका छैनौं।
राजमार्गमा शुद्ध र स्वच्छ भोजनको संवेदनशीलता तथा शुद्ध शाकाहारी खानाका विकल्पको अभाव
गुजरात, राजस्थान, महाराष्ट्र र मध्य प्रदेशका धार्मिक तीर्थयात्रीका लागि भोजन केवल पेट भर्ने माध्यम होइन। यो उनीहरूको धार्मिक निष्ठा र संस्कारको आधार पनि हो।
उनीहरूका लागि शाकाहारी खाना मात्र भएर पुग्दैन, भान्साको शुद्धता पनि अनिवार्य हुन्छ। मांसाहारी र शाकाहारी खाना एउटै भान्सामा पाक्ने वातावरण उनीहरूका लागि स्वीकार्य हुँदैन।
नेपालमा पूर्ण रूपमा मांसाहारी खाना निषेध गरिएका, प्रमाणीकरण भएका 'शुद्ध वैष्णव भोजनालय' र 'जैन किचन' को निकै अभाव छ। यही कारण धेरैजसो भारतीय तीर्थयात्री नेपाल आउँदा गाडीमै भान्साका चुलोचौका, भाँडाकुँडा र रासन बोकेर आउन बाध्य छन्।
यसले स्थानीय अर्थतन्त्रमा उनीहरूबाट हुने प्रत्यक्ष आम्दानी लगभग शून्यप्रायः बनाउँछ।
वित्तीय र डिजिटल झन्झट
भारतीय पर्यटक नेपाल आउँदा भारू १०० भन्दा ठूला नोट (भारू ५०० का नोट) चलाउन पाइने वा नपाइने भन्ने स्पष्टता नहुनु अर्को समस्या हो।
भारतमा अत्यन्तै लोकप्रिय डिजिटल भुक्तानी प्रणालीहरू (फोनपे, गुगलपे र यूपीआई) नेपालका पर्यटकीय क्षेत्र र नाकामा सहजै नचल्दा पनि उनीहरूलाई खर्च गर्न असहज हुन्छ।
अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न भारतीय सीमावर्ती क्षेत्रका नयाँ र रोमाञ्चक पर्यटकीय गन्तव्यसँग प्रतिस्पर्धा गर्नुपर्ने
भारतका सीमावर्ती दार्जिलिङ, सिक्किम, हिमाचल र उत्तराखण्डका हिमाली क्षेत्रमा निर्माण भएका सुरूङमार्ग, फ्लाइओभर र आधुनिक पूर्वाधारले नेपालको पर्यटन उद्योगका लागि गम्भीर चुनौती सिर्जना गरेका छन्।
आधुनिक सडक पूर्वाधारका कारण ती भारतीय गन्तव्यमा अन्तर्राष्ट्रिय तथा भारतीय पर्यटकका लागि यात्रा बढी सुरक्षित, सहज र छिटो बनेको छ। यसको तुलनामा नेपालका पर्यटकीय सडक अझै जीर्ण छन्। निर्माणमा ढिलासुस्ती छ र पहिरोको जोखिम पनि उत्तिकै छ।
यस्तो अवस्थामा पर्यटकको आकर्षण छिमेकी मुलुकतर्फ मोडिन र नेपालका गन्तव्य ओझेलमा पर्न सक्छन्।
यो चुनौती सामना गर्न नेपालले पनि युद्धस्तरमा सुरूङमार्ग निर्माण, सडक सञ्जालको स्तरोन्नति, नाकामा झन्झटमुक्त सेवा र पर्यटन पूर्वाधारको आधुनिकीकरण गर्न आवश्यक भइसकेको छ।
बनारसको 'कुल्हड चिया' र स्ट्रिट मार्केटको पाठ
पर्यटन भनेको ठूला पाँचतारे होटल र करोडपति व्यापारीका लागि मात्र होइन। सडक किनारमा कुल्हडमा चिया बेच्ने र नाङ्लोमा सामान राखेर बस्ने सामान्य नागरिकको चुलो बाल्ने सबैभन्दा ठूलो आधार पनि हो।
भारतको बनारस पुग्ने जोकोहीलाई त्यहाँको एउटा दृश्यले लोभ्याउँछ र अचम्ममा पार्छ। राति २–३ बजे पनि दशाश्वमेध घाट वा गढौलिया चोकका सडक किनारमा तातो कुल्हड चिया, बनारसी चाट, लस्सी र पानीपुरीका स्टलमा मानिसको बाक्लो घुइँचो हुन्छ।
त्यहाँ ठूला रेस्टुरेन्ट वा झिलिमिली महल आवश्यक पर्दैन। सानो ठेलागाडा, एउटा चुलो र केही माटाका कुल्हड नै उनीहरूको व्यापारको मुख्य आधार हुन्। बर्सेनि १५ करोड पर्यटक पुग्ने बनारसमा यी सडक पसलले न्यून आय भएका हजारौं मानिसको जीवनस्तर कसरी बदलिरहेका छन् भन्ने कुरा नेपालका लागि ठूलो पाठ हो।
साना उद्यमी र श्रमजीवी वर्गको दैनिक आम्दानीमा उछाल
नेपालका पशुपतिनाथ, जानकी मन्दिर, पोखराको लेकसाइड वा लुम्बिनी परिसरमा २४ सै घण्टा खुला रहने व्यवस्थित 'स्ट्रिट फुड' र 'नाइट मार्केट' को अवधारणा लागू गर्न सकिन्छ।
यसबाट दैनिक नगद प्रवाह हुन्छ। सडक किनारमा मकै पोलेर बेच्ने, सेलरोटी, मोमो, चाट, सेकुवा र पानीपुरी बेच्ने न्यून आय भएका नागरिकले दैनिक तीन हजारदेखि १० हजार रूपैयाँसम्म सोझै आम्दानी गर्न सक्छन्।
श्रमको सम्मान र आत्मनिर्भरता बढ्छ। खाडी मुलुकमा मासिक ३०–४० हजार रूपैयाँका लागि कडा श्रम गर्न बाध्य युवाले आफ्नै गाउँसहरका सडक किनारमा चिया वा खाजा पसल चलाएर त्योभन्दा दोब्बर वा तेब्बर रकम सम्मानका साथ कमाउन सक्नेछन्।
परम्परागत पेसा र साना कालिगडको पुनर्जीवन
बनारसमा चिया पिउन प्रयोग गरिने माटोको सानो भाँडो 'कुल्हड' ले त्यहाँका कुमाले समुदायको आर्थिक अवस्था नै फेरिदिएको छ।
नेपालमा पनि पर्यटक बढ्दा माटाका भाँडा बनाउने प्रजापति/कुमाले समुदाय, काठ र धातुका साना सामग्री बनाउने विश्वकर्मा तथा हस्तकला कालिगड, डोरी, नाङ्लो र गुन्द्री बुन्ने ग्रामीण महिला सबैका परम्परागत सीपले उचित बजार र मूल्य पाउनेछन्।
स्ट्रिट र प्याकेट फुडको सम्भावना
पर्यटक बढेसँगै सडक किनारमा पाइने ताजा खानपिन (स्ट्रिट फुड) को खपत १५० देखि २५० प्रतिशतसम्म र प्याकेज्ड फुड (चाउचाउ, दालमोठ, भुजिया, बिस्कुट, इनर्जी बार र बोतलको पानी) को खपत ८० देखि १५० प्रतिशतसम्म बढ्छ।
यसले साना किराना पसलदेखि स्वदेशी खाद्य प्रशोधन उद्योग र स्थानीय घरेलु उद्योग (छुर्पी, चिया, चिप्स) लाई प्रत्यक्ष आर्थिक लाभ पुर्याउँछ।
नागरिक सुरक्षा र रात्रिकालीन अर्थतन्त्र
रातभर चल्ने सडक पसलले सहरलाई सधैं जीवन्त र सुरक्षित बनाउँछन्। सडकमा जति धेरै चहलपहल र पसल हुन्छन्, अपराध र चोरीका घटना त्यति नै घट्छन्।
काठमाडौं, जनकपुर र पोखराजस्ता पर्यटकीय सहरलाई 'राति ८ बजे नै सुत्ने सहर' को अवस्थाबाट मुक्त गराई २४ सै घण्टा चल्ने रात्रिकालीन पर्यटकीय सहरमा बदल्न सकिन्छ। यसबाट समाजका तल्लो तहका व्यापारीले प्रत्यक्ष लाभ पाउनेछन्।
सहरी घरधनीका लागि नयाँ क्षितिज: 'एयर–बिएनबी र सहरी होमस्टे'
पर्यटन क्षेत्रमा ठूला होटल र रिसोर्टको मात्र एकाधिकार रहने दिन अब पुराना भइसकेका छन्। पछिल्लो समय पारिवारिक पर्यटक, लामो समय बस्ने पर्यटक, डिजिटल नोम्याड र समूहमा यात्रा गर्नेहरूका लागि एयर–बिएनबी र सहरी होमस्टे लोकप्रिय तथा सुलभ विकल्पका रूपमा उदाएका छन्।
काठमाडौं, पोखरा, ललितपुर, चितवन र जनकपुरजस्ता प्रमुख सहरमा तीन–चार आना जग्गामा बनेका बहुतेले घर वा अपार्टमेन्ट भएका घरधनीका लागि एयर–बिएनबी 'निष्क्रिय आम्दानी' को आकर्षक स्रोत बनिरहेको छ।
थोरै जग्गामा बनेको बहुतेले घरको भुइँतलामा पार्किङ र रिसेप्सन, पहिलो र दोस्रो तलामा पारिवारिक दुई बेडरूम र एउटा बैठक कोठा (२–बिएचके) भएका अपार्टमेन्ट, तेस्रो तलामा एक्लै यात्रा गर्ने पर्यटकका लागि स्टुडियो अपार्टमेन्ट र छतमा कौसी खेती वा चिया पिउने क्याफे बनाउन सकिन्छ।
यसरी सञ्चालन गर्दा घरधनीले घरमै बसेर डलर र विदेशी मुद्रा आर्जन गर्न सक्छन्।
आशाको नयाँ किरण: पूर्वाधार निर्माणले बढाएको उत्साह र अयोध्या–जनकपुर रेलसेवाको सुखद सन्देश
केही समय अघिसम्म सडकको दुर्दशाका कारण भारतीय पर्यटक नेपालभित्र आफ्ना गाडी ल्याउन डराउँथे। तर पछिल्लो समय मुग्लिन–पोखरा सडक स्तरोन्नति र नारायणगढ–बुटवल खण्डको राजमार्ग निर्माण अन्तिम चरणमा पुगेसँगै दृश्य बदलिएको छ।
सडक फराकिलो र कालोपत्रे हुनासाथ भारतका उत्तर प्रदेश, बिहार, दिल्ली, राजस्थान र गुजरातबाट आफ्ना महँगा तथा विलासी गाडी लिएर सिधै पोखरा, चितवन, लुम्बिनी, जोमसोम र मुक्तिनाथ पुग्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ।
यसले के प्रमाणित गर्छ भने पर्यटक नआएका होइनन्, उनीहरूलाई आउने बाटो र वातावरण नबनाइदिएका मात्र हौँ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र सडक कनेक्टिभिटीले अहिले पश्चिम नेपालको पर्यटनमा नयाँ ऊर्जा भरेको छ। पोखरा, चितवन र लुम्बिनीलाई जोडेर 'गोल्डेन ट्रयांगल' का रूपमा विकास गर्न सकिने आधार तयार भएको छ। लुम्बिनीमा अध्यात्म, चितवनमा वन्यजन्तु सफारी र पोखरामा प्राकृतिक तथा साहसिक पर्यटनलाई सडक र हवाई मार्गबाट सहजै जोड्न सकिने अवस्था बनेको छ।
जनकपुरधाम र अयोध्याबीच सीधा रेल सेवा सञ्चालन गर्ने भारत सरकारको स्वीकृतिले नेपालको पर्यटन विकासमा नयाँ आशा जगाएको छ। शताब्दीयौं पुरानो सांस्कृतिक र धार्मिक सम्बन्ध भएका यी दुई ऐतिहासिक सहर रेल सञ्जालमार्फत सिधै जोडिँदा नेपालको धार्मिक पर्यटनमा क्रान्तिकारी परिवर्तन आउने निश्चित छ।
यदि दुई छिमेकीबाट एक–एक करोड पर्यटक आए भने के हुन्छ?
यदि नेपालले आफ्ना दुई छिमेकी भारत र चीनबाट वार्षिक एक–एक करोड गरी कुल दुई करोड पर्यटक भित्र्याउन सक्यो भने देशको अर्थतन्त्रमा अभूतपूर्व सकारात्मक रूपान्तरण आउनेछ।
हाल वार्षिक १०–१२ लाख पर्यटकबाट करिब ७०–८० करोड अमेरिकी डलर मात्र वैदेशिक मुद्रा आर्जन भइरहेको छ। दुई करोड पर्यटक आउँदा यो आम्दानी १० देखि १५ अर्ब अमेरिकी डलर (करिब १३ देखि २० खर्ब नेपाली रुपैयाँ) पुग्नेछ।
यसले कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटनको योगदान हालको तीन–चार प्रतिशतबाट बढाएर २५ देखि ३० प्रतिशतसम्म पुर्याउनेछ।
यसबाट २५ देखि ३० लाख नयाँ प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुनेछन्। युवा पलायन पूर्ण रूपमा रोकिनेछ भने कृषिजन्य उत्पादनको स्वदेशमै शतप्रतिशत खपत भई किसानले उच्च मूल्य पाउनेछन्।
साथै, पर्यटकको चाप धान्न ६–८ लेनका आधुनिक राजमार्ग, द्रुत रेल, नयाँ विमानस्थल र व्यवस्थित सहरी पूर्वाधारको तीव्र विकास हुनेछ। यसरी नेपाल अल्पविकसित अवस्थाबाट सोझै उच्चमध्यम आय भएको समृद्ध राष्ट्रमा स्तरोन्नति हुनेछ।
वार्षिक दुई करोड पर्यटक भित्रिनु भनेको केवल पर्यटक संख्या बढ्नु मात्र होइन। यो नेपाललाई अल्पविकसित अवस्थाबाट सोझै उच्चमध्यम आय भएको विकसित राष्ट्रमा पुर्याउने आर्थिक महाअभियान पनि हो।
दुवै छिमेकी देशका पर्यटकका रूचि, संस्कार र प्राथमिकता बिल्कुलै फरक छन्। त्यसैले नेपालले उनीहरूका लागि छुट्टाछुट्टै बजारीकरण र प्याकेज बनाउनुपर्छ।
चिनियाँ पर्यटकका लागि: फोटोग्राफी, बौद्ध धर्म र प्रविधि
चिनियाँ पर्यटक (विशेषगरी जेनजी र युवा वर्ग) फोटोग्राफी, सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ सेयर गर्ने, बौद्ध अध्यात्म र आरामदायी साहसिक पर्यटनमा रूचि राख्छन्।
♦ विशेष प्याकेज: काठमाडौं–पोखरा फोटोग्राफी टुर, लुम्बिनी–बौद्धनाथ–नमोबुद्ध ध्यान तथा योग प्याकेज, पोखरा–भोटेकोसी साहसिक खेल र भक्तपुर–नगरकोट लक्जरी प्रि–वेडिङ तथा हनिमुन प्याकेज।
♦ भुक्तानी र भाषा: नेपालका होटल र पसलमा विच्याट पे र अलीपे अनिवार्य सञ्चालन गर्ने। चिनियाँ भाषा बोल्ने गाइड तथा चिनियाँ भाषामै मेनु र सूचना पाटीको व्यवस्था गर्ने।
♦ डिजिटल बजारीकरण: चीनमा प्रतिबन्धित फेसबुक वा इन्स्टाग्राममा मात्र निर्भर नभई चीनका लोकप्रिय एपहरू सियाओहोङ्सु (रेड) र डोयिन (टिकटक) मा नेपालको प्रभावकारी प्रचार गर्ने।
भारतीय पर्यटकका लागि: रामायण/शिव सर्किट र शुद्ध भोजन
♦ धार्मिक सर्किट कनेक्टिभिटी: अयोध्या–जनकपुर र बनारस–काठमाडौं–मुक्तिनाथ जोड्ने सीधा बस सेवा, हवाई उडान र एकीकृत तीर्थयात्रा प्याकेज बिक्री गर्ने।
♦ शुद्ध वैष्णव र जैन किचन प्रमाणीकरण: पशुपतिनाथ क्षेत्र, जनकपुर, पोखरा र राजमार्गमा शतप्रतिशत शुद्ध शाकाहारी (प्याज–लसुनरहित विकल्पसहित) तथा अण्डा र मासु पूर्ण रूपमा वर्जित रेस्टुरेन्टको सञ्जाल खडा गर्ने।
♦ पारिवारिक र मनोरञ्जनात्मक वातावरण: भारतीय पर्यटक परिवार र बालबालिकासहित आउने भएकाले होटलमा सांगीतिक साँझ, परम्परागत सांस्कृतिक कार्यक्रम र बालबालिकाका लागि गेमजोन विकास गर्ने।
पर्यावरण संरक्षण र दिगो पर्यटनको चुनौती तथा प्रभावकारी नियमन
वार्षिक दुई करोड पर्यटकको चाप (ओभर टुरिजम) ले नेपालको अति संवेदनशील हिमाली पारिस्थितिक प्रणाली र जैविक विविधतामाथि ठूलो दबाब सिर्जना गर्न सक्छ। यदि हामीले पर्यावरण जोगाउन सकेनौं भने पर्यटन क्षेत्र आफै ध्वस्त हुन सक्छ।
त्यसैले पर्यटक बढाउँदै प्रकृतिको रक्षा गर्न निम्न दिगो उपाय अपनाउनुपर्छ।
♦ पर्यटकीय विकेन्द्रीकरण: पर्यटकलाई काठमाडौं र पोखरामा मात्र सीमित नराखी सुदूरपश्चिम (खप्तड, रारा), कर्णाली, मध्यपहाडी क्षेत्र र पूर्वी नेपाल (इलाम, ताप्लेजुङ) तर्फ आकर्षित गर्ने।
♦ हरित गतिशीलता: मनाङ, मुस्ताङ, सगरमाथा क्षेत्र, पोखराको लेकसाइड र धार्मिक परिसरमा इन्धनबाट चल्ने गाडी प्रतिबन्ध गरी विद्युतीय बस (इभी), केबलकार र साइकल मात्र चलाउन दिने।
♦ क्यारिङ क्यापासिटी र टाइम स्लट: सगरमाथा र अन्नपूर्णजस्ता संवेदनशील पदमार्गमा हिमाली वातावरणले धान्न सक्ने निश्चित संख्याका आधारमा मात्र दैनिक परमिट दिने। धार्मिक स्थलमा अनलाइन टाइम स्लट प्रणाली लागू गर्ने।
♦ लेभी (हरित शुल्क) र प्लास्टिक प्रतिबन्ध: हिमाली क्षेत्रमा एकपटक प्रयोग हुने प्लास्टिक पूर्ण रूपमा प्रतिबन्ध गर्ने। पर्यटकबाट उठाइने शुल्कको निश्चित हिस्सा 'ग्रिन फन्ड' मा राखी हिमाल सफाइ र फोहोर प्रशोधन प्लान्टमा लगानी गर्ने।
अबको बाटो र राष्ट्रिय संकल्प
नेपाल प्राकृतिक र सांस्कृतिक रूपमा विश्वकै धनी देश हो। तर सम्भावना छ भनेर मात्र पेट भरिँदैन। सम्भावनालाई समृद्धिमा रूपान्तरण गर्न पूर्वाधार, प्रविधि, सोच र नीति चाहिन्छ।
नेपाललाई गरिबी, बेरोजगारी र युवा पलायनको दुश्चक्रबाट बाहिर निकाल्ने भरपर्दो र द्रुत मार्ग पर्यटन नै हो। हाम्रा सीमा नाका डिजिटल र झन्झटमुक्त बन्नुपर्छ। राजमार्ग विश्वस्तरीय हुनुपर्छ। बनारसका कुल्हड चिया पसलदेखि एयर–बिएनबीसम्मका साना–ठूला सबै व्यावसायिक सम्भावनालाई आत्मसात गर्नुपर्छ। गाउँगाउँका किसानलाई पर्यटनको भान्सासँग जोड्नुपर्छ।
अन्यथा हामी १०–१२ लाख पर्यटकमै सीमित भइरहनेछौं।
समयले हामीसामु ठूलो सम्भावनाको ढोका खोलेको छ। पूर्वाधार निर्माणलाई गति दिऔं, प्रविधिलाई आत्मसात गरौं, आतिथ्य सत्कारलाई विश्वस्तरीय बनाऔं र प्रकृतिको संरक्षण गर्दै पर्यटनलाई राष्ट्रिय समृद्धिको मूल इन्जिन बनाऔं।
पर्यटन पूर्वाधार र प्रविधिमा आज गरिएको लगानीले नै भोलिको समुन्नत, आत्मनिर्भर र समृद्ध नेपालको भविष्य सुनिश्चित गर्नेछ।
(लेखक पुरूषोत्तम रिजाल 'रिजाल फुड एन्ड वेभरेजेज प्रालि' का प्रबन्ध निर्देशक हुन्।)