बेइजिङ डायरी
चिनियाँ राष्ट्रपति सी चिनफिङको अमेरिका भ्रमणले यति बेला विश्व तरंगित बनेको छ। विश्व अर्थतन्त्रमा पहिलो शक्ति अमेरिका र दोस्रो शक्ति चीनबीच हुने समझदारी र सम्झौताले विश्वको जुनसुकै कुनामा प्रत्यक्ष तथा परोक्ष असर पार्ने भएकाले भ्रमणको चर्चा–परिचर्चा पनि व्यापक बनेको हो।
सी चिनफिङको अमेरिका भ्रमणको चर्चा उनले अमेरिकी भूमि टेक्नासाथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विमानस्थलमै पुगेर गरेको स्वागतबाट भएको हो।
सामान्यतया विदेशी राष्ट्र प्रमुखलाई स्वागत गर्न अमेरिकी राष्ट्रपति विमानस्थलमै पुग्ने चलन छैन। यद्यपि यसअघि अन्य केही राष्ट्र प्रमुखलाई यसरी स्वागत गरिएको पनि छ।
गत मे महिनामा ट्रम्प चीन भ्रमणमा आउँदा बेइजिङको विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान चङले स्वागत गरेका थिए। यस पटक ट्रम्पले कूटनीतिक प्रोटोकलभन्दा माथि पुगेर सीलाई विमानस्थलमै स्वागत गरेका छन्।
सीको स्वागतमा ट्रम्पले ह्वाइट हाउसमा स्वागत समारोह आयोजना गरेका थिए। सीले समारोहमा सम्बोधन गर्दै चीन र अमेरिकाजस्ता दुई ठूला देशले मानव जातिको विकास र प्रगति अगाडि बढाउने ऐतिहासिक जिम्मेवारी वहन गरिरहेको बताए।
उनले अर्को कुरामा पनि जोड दिए— चीन र अमेरिकाबीच रचनात्मक रणनीतिक स्थिर सम्बन्ध निर्माण गर्ने।
आलंकारिक भाषा प्रयोग गर्द सीले भने, 'दुई देशका जनता र अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा चीन र अमेरिकाबीचको सुमधुर सम्बन्धलाई स्वागत गरेका छन्। राष्ट्रपति ट्रम्पसँग मिलेर चीन–अमेरिका सम्बन्धको यो जहाज स्थिर रूपमा अगाडि बढाउन म प्रयास गर्न चाहन्छु।'
सम्बोधन क्रममा उनले केही बुँदा अगाडि सार्दै चीन र अमेरिका बीच सञ्चार बलियो बनाउनुपर्ने बताए। दुई देशको राष्ट्रिय अवस्था फरक रहेकाले खुला, गहिरो र निरन्तर वार्ताद्वारा आपसी बुझाइ बढाउन, समानता खोज्दै भिन्नता स्वीकार गर्न र आपसी विश्वास सञ्चित गर्न सकिनेमा उनले जोड दिए।
कूटनीति, अर्थवाणिज्य, वित्त, कानुन प्रवर्तन तथा मानवीय विभागहरूबीच सञ्चार बढाउन प्रोत्साहित गर्दै दुई देशको विधायिकाबीचको आदानप्रदान विस्तार गर्ने कुरा पनि उनले अगाडि सारे।
दुई मुलुका हितहरू गहिरो रूपमा जोडिएकाले आपसी सहकार्यका क्षेत्र पनि फराकिला छन्। सहकार्यले संसारका सबै समस्या समाधान गर्न नसके पनि दुईबीच सहकार्य नहुँदा संसारका धेरै समस्या समाधान गर्न गाह्रो हुने कुरा सीले उठाए।
यसो भनेर उनले अमेरिकाको एकल र अहंकारी कार्यप्रति सुक्ष्म असहमति प्रकट गरेका छन्।
आर्थिक उदारीकरणको चर्चा गर्दै चीनको खुलापनको ढोका सधैं खुला राखेर अमेरिकी उद्यमलाई आफ्नो मुलुकमा लगानी र व्यवसाय गर्न स्वागत गर्ने कुरा सीले दोहोर्याए। अमेरिकाले चिनियाँ उद्यमहरूसँग निष्पक्ष व्यवहार गरोस्, सहकार्यको सूची लम्ब्याउन र समस्याको सूची घटाउन मिलेर काम गरोस् भन्ने आह्वान पनि उनले गरे।
पछिल्लो समय चीन र अमेरिकाबीच छलफलको मुख्य विषयमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआई रहन थालेको छ। एआई विकास र नियमन क्षमता तथा जिम्मेवारीबारे पनि सीले चिनियाँ धारणा स्पष्ट पारे। उनले एआई विकास मानिसको नियन्त्रणमा रही यसले मानव जातिको हितमा काम गर्नुपर्ने बताए।
त्यस्तै चिनियाँ पक्षले अमेरिकासँग लागुपदार्थ नियन्त्रण, कानुन प्रवर्तन आदि क्षेत्रमा सहकार्य बढाउने इच्छा व्यक्त गरे।
चीन र अमेरिकाजस्ता ठूला देश मिलेर काम गर्दा दुवैको लाभ हुने, झगडा गर्दा हानि हुने पनि उनले बताए। प्रतिस्पर्धा नलुकाउने र त्यसलाई स्वस्थ्य र सीमित बनाउनुपर्ने उनले बताए।
उनको भनाइ थियो, 'प्रतिस्पर्धा एकअर्कालाई पछ्याउने दौड हुनुपर्छ। एकले जित्ने र अर्कोले हार्ने लडाइँ हुनु हुँदैन।'
सीले थ्युसिडाइड्सको जालो पार गर्न सक्नुपर्ने पनि बताएका छन्। थ्युसिडाइड्सको जालो भनेको एक भूराजनीतिक अवधारणा हो। यसले कुनै उदाउँदो शक्ति र स्थापित शक्तिबीचको प्रतिस्पर्धाले अनिवार्य रूपमा युद्ध निम्त्याउने जोखिमलाई जनाउँछ।
प्राचीन ग्रीक इतिहासकार थ्युसिडाइड्सको पेलोपोनेसियन युद्धको विश्लेषणमा आधारित छ यो सिद्धान्त। आधुनिक अन्तर्राष्ट्रिय सम्बन्धमा यसलाई हार्वर्ड विश्वविद्यालयका राजनीतिक वैज्ञानिक ग्राहम एलिसनले सन् २०१२ मा लोकप्रिय बनाएका हुन्। यो सिद्धान्तले सानातिना मुद्दाबाट युद्ध निम्तिने र दुवै पक्षलाई दीर्घकालीन नोक्सान हुने कुरा औंल्याउँछ।
सीले जापानको प्रसंग उल्लेख गरेर अमेरिकालाई चेपुवामा पनि पारे।
दोस्रो विश्व युद्धमा चीन र अमेरिका एउटै मोर्चामा रहेर जापानविरूद्ध लडेका थिए। अहिले जापान र अमेरिका एउटा मोर्चामा छन्।
पछिल्लो समय नयाँ सरकार बनेपछि चीनविरूद्ध 'आक्रामक' बनेको जापानलाई काउन्टर दिन सीले अमेरिका पुगेर ट्रम्पकै अगाडि भने, 'दोस्रो विश्वयुद्धको समयमा चीन र अमेरिकाले सँगै फासिवादी आक्रमणको सामना गरेका थिए। यो इतिहास चिनियाँ जनताले बिर्सेका छैनन्, अमेरिकी जनताले पनि बिर्सेका छैनन्। चीन र अमेरिकाको सम्बन्धको आशा जनतामा छ र भविष्य युवाहरूमा छ। यहाँ म घोषणा गर्न चाहन्छु कि आगामी ५ वर्षमा चीनले १० हजार अमेरिकी किशोरकिशोरीहरूलाई चीनमा आदानप्रदान र अध्ययन गर्न आमन्त्रित गर्नेछ।'
राष्ट्रपति सीले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनामा ऐतिहासिक भूमिका निर्वाह गरेका दुई पक्ष 'पाण्डा कूटनीति' र 'टेबुलटेनिस कूटनीति' को पनि प्रसंग जोडेका छन्।
उनले भने, '५० वर्षअघि चीन र अमेरिकाबीच टेबल टेनिस कूटनीतिले लामो समयदेखि बन्द रहेको आदानप्रदानको ढोका खोलिदियो। तत्कालीन चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ चतोङ र तत्कालीन अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन लगायत पुराना पुस्ताका राजनीतिज्ञहरूले सानो बलले ठूलो बल घुमाउने कूटनीतिक बुद्धि प्रयोग गरेर सम्बन्ध सामान्यीकरण गरे। त्यति बेला राष्ट्रपति निक्सनले उपहारका रूपमा दिएको विशेष राष्ट्रिय उपहार— रेड सिडरको रूख मैले काम गरेको चच्याङ प्रान्तमा रोपिएको छ।'
त्यसैगरी चीनले अमेरिकालाई दिने पाण्डा जोडीको पनि सीले उल्लेख गरे।
पाण्डा चीन र अमेरिकी जनताबीचको मित्रताको दूत हो। केही दिनपछि पाण्डा 'फिङफिङ' र 'फुसुआङ' एटलान्टा चिडियाखानामा बसोबास गर्नेछन् र अमेरिकी जनतासँग भेट्नेछन्।
सन् १९४९ पछि, कम्युनिस्ट पार्टी सत्तामा आएपछि, चीनले कूटनीतिक सम्बन्ध प्रगाढ बनाउन पाण्डा उपहार दिन थालेको हो। यसलाई पाण्डा कूटनीति भनिन्छ। सन् १९९० पछि चीनले कानुन बनाएरै पाण्डा उपहार दिने प्रचलन रोक्यो र भाडामा दिने नयाँ चलन चलाएको छ।
चीन र अमेरिकाका राष्ट्र प्रमुखहरूले ह्वाइट हाउसको रोज गार्डेनमा सम्मान गार्डको निरीक्षण गरे। लडाकु विमानहरू ह्वाइट हाउस माथिबाट उडेर राष्ट्र प्रमुखहरूलाई सम्मान अर्पण गरे।
दुवै राष्ट्रपतिले सामूहिक वार्ता पनि गरे। वार्तामा चीन–अमेरिका रचनात्मक रणनीतिक स्थिर सम्बन्ध कायम राख्ने प्रस्ताव चीनले राखेको छ। उक्त प्रस्तावको नयाँ परिभाषाले दुई देशको सम्बन्धको वास्तविकता प्रतिबिम्बित गरेको र भविष्यको आकांक्षा पनि समेटेको मानिन्छ। चीन–अमेरिकाबीचको सम्बन्ध अझै स्थिर, स्वस्थ र दिगो भविष्य सिर्जना गर्ने ठानिएको छ।
वार्ता क्रममा सी चिनफिङले सबै देशको सार्वभौमसत्ता र सुरक्षाको सम्मान गर्नुपर्ने चीनको स्थायी अडान भएको दोहोर्याए। चीनले परिस्थिति शान्त पार्न र तनाव घटाउन निरन्तर रचनात्मक भूमिका खेलिरहेको पनि बताए। सबै पक्षलाई शान्तिको मार्ग रोज्न र वार्ताको गति कायम राख्न प्रोत्साहित गर्ने भन्दै अमेरिका र इरानलाई इस्लामाबाद समझदारीमा फर्किन उनले आह्वान गरे। दुई पक्षले चाँडै वार्ता र बातचितबाट समस्या समाधान गर्ने मार्गमा फर्किएर आणविक मुद्दा सहितको व्यापक सम्झौतामा पुगेर चाँडै शान्ति हासिल गर्ने आशा चीनले राखेको उनले बताए।
वार्ताको अर्को र मुख्य विषय थियो, ताइवान मामिला।
सीले राष्ट्रिय एकता र भूभाग अखण्डताको रक्षा गर्ने चीनको अडान स्पष्ट रहेको बताए। अमेरिकाले ताइवान स्वतन्त्रताको विरोध गर्ने सही अडान कायम राखोस्, ताइवान मामिलालाई सावधानीपूर्वक सम्हालोस् र चीन–अमेरिका रणनीतिक सहकार्य तथा सम्बन्ध विकासका लागि बलियो आधार तयार गरोस् भन्ने आशा चीनले राखेको उनले बताए।
चीनले उठाएको अर्को विषय थियो, व्यापार र भन्सार दर।
यसमा चीनको मात्र नभई अमेरिकाबाहेक सबै मुलुकको चासो र स्वार्थ लुकेको छ।
सीले भने, 'दुई देशका वाणिज्य टोलीले नयाँ चरणको वार्ता गरेर नयाँ संयुक्त व्यवस्थामा पुगेका छन्। जुन दुई देशको उद्योग जगत, आम जनता र विश्व अर्थतन्त्रका लागि राम्रो खबर हो। समानता, सम्मान र पारस्परिक लाभको भावना अपनाए समस्या समाधान गर्ने मार्ग भेट्टाउन सकिन्छ। दुई पक्षले एकअर्कातिर अगाडि बढ्दै पारस्परिक लाभ र जितको दिशा कायम राखी वाणिज्य सम्बन्ध निरन्तर स्थिर र राम्रो दिशातर्फ लैजाने म आशा राख्छु।'
प्रत्युत्तरमा राष्ट्रपति ट्रम्पले अमेरिका–चीन सम्बन्ध अवश्य राम्रो बनाउन सकिन्छ भन्दै वाणिज्य टोलीको नयाँ चरणको वार्ताबाट नयाँ उपलब्धि हासिल भएको बताए। दुई पक्षले निरन्तर वार्ता गरेर अझै राम्रो सम्झौतामा पुग्नुपर्ने उनको भनाइ थियो। त्यस्तै, एआई मानव जातिको भविष्यसँग जोडिएको विषय रहेको भन्दै अमेरिका र चीनले वार्ता कायम राखी सहकार्य बलियो बनाउनुपर्ने बताए।
यो भेटवार्ता चीन–अमेरिका द्विपक्षीय सम्बन्धको एक नाजुक अवस्थामा भएको हो।
राष्ट्रपति सीले ११ वर्षपछि वासिङटन भ्रमण गरेका हुन्। त्यसैले दुवै पक्षले यसलाई उच्च महत्त्व दिए। ट्रम्प आफै एयरपोर्ट गएर सीको स्वागत गर्नुले यसको औपचारिकता र महत्त्व जनाउँछ।
वार्ताको मुख्य लक्ष्य द्विपक्षीय सम्बन्ध स्थिर बनाउनु र व्यापार युद्ध चर्किन रोक्नु हो।
सन् २०२६ मेमा बेइजिङमा भएको भेटवार्तापछिको महत्त्वपूर्ण मानिएको यो भेटवार्ताले 'रचनात्मक रणनीतिक स्थिरता सम्बन्ध' निर्माण गर्ने सहमति गरेको छ।
यो वार्ताको सबभन्दा ठोस उपलब्धि हो— नोभेम्बर १० मा सकिने व्यापार युद्धविराम दुई महिना लम्ब्याएर सन् २०२७ जनवरी १० सम्म पुर्याउनु।
यसले तत्कालका लागि शतप्रतिशतभन्दा माथि पुगेका पारस्परिक भन्सार महसुल थप बढ्नबाट रोक्छ।
त्यसैगरी नयाँ आर्थिक संयन्त्रका रूपमा संयुक्त व्यापार आयोग स्थापना गर्ने सहमति भएको छ। दुवै नेताले एआईको जोखिम र लाभबारे छलफल गर्न संवाद जारी राख्ने सहमति जनाएका छन्। अमेरिकाले एआई दुर्घटना पूर्वसूचना संयन्त्र स्थापना गर्ने प्रस्ताव गरेको छ।
चीन र अमेरिकाबीच ठूलो व्यापार घाटा छ।
विशेष गरी चीनमा उत्पादित सामान अमेरिकी बजारमा सस्तो हुने भएकाले अमेरिकी उद्योगधन्दा धराशायी भएको भन्दै ट्रम्पले पहिलो पटक राष्ट्रपति भएपछि चीन लगायत विभिन्न देशका सामग्रीमाथि उच्च भन्सार दर लगाउन थालेका थिए। दुई देशबीच सबभन्दा ठूलो तनाव यही कारण सुरू भएको हो। चीनले अमेरिकाबाट आयात गर्ने प्रमुख वस्तु उच्च प्रविधि उपकरण, कृषि र ऊर्जा स्रोतजन्य उत्पादन हुन्।
मध्यपूर्वको अवस्था, युक्रेन संकट, कोरियाली प्रायद्वीप लगायत महत्त्वपूर्ण अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलाबारे पनि उनीहरूबीच विचार आदानप्रदान भयो।
यो वार्तालाई अन्तर्राष्ट्रिय सञ्चार जगतले पनि प्राथमिकताका साथ स्थान दियो। कतिपय विश्लेषकले 'उच्च प्रतीकात्मकत तर सीमित ठोस उपलब्धि' भनेर आलोचनात्मक समर्थन पनि गरे। प्रमुख सञ्चार माध्यमहरूले यसलाई द्विपक्षीय सम्बन्ध स्थिर बनाउने प्रयासका रूपमा व्याख्या गर्दै ताइवान, व्यापार र एआईजस्ता संरचनागत मुद्दामा कुनै ठोस समाधान ननिस्केको औंल्याएका छन्।
चिनियाँ सञ्चार माध्यमहरूले यो भ्रमणलाई ऐतिहासिक र कोशेढुंगाका रूपमा प्रस्तुत गरेका छन्।
सिन्ह्वाले लेखेको छ, 'दुई राष्ट्र प्रमुखले आधा वर्षभन्दा कम समयमा एकअर्काको देश भ्रमण गरेको घटना चीन–अमेरिका सम्बन्धको इतिहासमा अभूतपूर्व हो।'
राष्ट्रपति सीले वार्तामा 'सहयोग मुख्य, प्रतिस्पर्धा सीमित, मतभेद नियन्त्रित र शान्तिको आशा' भन्ने नयाँ ढाँचा प्रस्ताव गरेको कुरालाई चिनियाँ सञ्चार माध्यमले प्राथमिकतासाथ उठाएका छन्।
हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टले दुई नेताबीचको प्रत्यक्ष संवादलाई सम्बन्धको 'एंकर' का रूपमा चित्रित गरेको छ।
ह्वाइट हाउसले सिएनएन लगायत केही सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएकाले उनीहरूले समाचार सम्प्रेषण गरेनन्। खालिज टाइम्सले भने वार्ता प्रतीकात्मकताले भरिपूर्ण तर सारतत्त्वमा हलुका भनेर आलोचना गरेको छ।
उसले लेखेको छ, 'एआई, व्यापार, ताइवान र इरान युद्धजस्ता जटिल मुद्दामा कुनै सफलताको संकेत देखिएन।'
युरोपेली सञ्चार माध्यमहरूले यो वार्तालाई जी२ को पुनर्स्थापना भन्दै युरोप यसमा दर्शक मात्र बनेको भनेर चिन्ता व्यक्त गरेका छन्।
फ्रान्सेली अखबारले चीन–अमेरिका रचनात्मक रणनीतिक स्थिरता सम्बन्धको सामग्री समृद्ध बनाउनु, संवाद र सहयोग बढाउनु र मतभेदहरू राम्ररी व्यवस्थापन गर्नु रहेको उल्लेख गरेको छ। चीनले भ्रमणअघि अमेरिकी भटमास र एलएनजी खरिद गरेर सदभाव देखाएको भन्दै संरचनागत मतभेद कायमै रहेको विश्लेषण गरेको छ।
जापानी मिडिया एफएनएनले ट्रम्पले रात्रिभोजमा दोस्रो विश्व युद्धमा जापानविरूद्ध चीनसँग मिलेर लडेको इतिहासको कुरा उठाएको कुरालाई प्राथमिकता साथ छापेको छ।
जापान सरकारका प्रवक्ताले पत्रकार सम्मेलनमा अमेरिका–चीन सम्बन्ध जापान लगायत अन्तर्राष्ट्रिय समुदायको स्थिरतामा योगदान दिने खालको हुनुपर्ने बताएका छन्। जापानी प्रधानमन्त्री ताकाइची सानाएले शिखर वार्ताअघि नै ट्रम्पसँग भेटेर अमेरिकाले चीनसँग जापानविरूद्ध सम्झौता नगरोस् भन्ने चिन्ता व्यक्त गरेकी थिइन्।
भारतीय सञ्चार माध्यमहरूले यो वार्तालाई भारतको रणनीतिक स्थितिसँग जोडेर विश्लेषण गरेका छन्।
न्यूज १८ ले क्वाड, व्यापार र एआईमा केन्द्रित रहेर भारतले यो वार्तालाई नजिकबाट हेरिरहेको छ भन्ने विश्लेषण प्रस्तुत गरेको छ।
एबिपी लाइभले 'ट्रम्प र सी भेट्छन्, विश्व हेर्छ अनि भारत पनि हेर्छ' भन्ने सम्पादकीय लेखेको छ।
विकासोन्मुख देशहरूका मिडियाले भने यो वार्तालाई सकारात्मक स्थिरताको संकेतका रूपमा हेरेका छन्। दक्षिण अफ्रिकी, थाई र पाकिस्तानी विज्ञहरूले पनि यसलाई 'माइलस्टोन' र 'सकारात्मक संकेत' भनेर व्याख्या गरेका छन्।