बेइजिङ डायरी
यति बेला बेइजिङका मुख्य चोकहरू चौपट्टै सिँगारिएका छन्। विशेषगरी बेइजिङको केन्द्रभाग थिआनआनमन स्क्वायर (चोक) र त्यसको पूर्वपट्टि रहेको तोङतान चोक अनि पश्चिमपट्टि रहेको सितान चोकलाई विभिन्न फूल र वनस्पतिको आकर्षक सजावटबाट चिटिक्क बनाइएको छ।
हरेक वर्ष अक्टोबर १ तारिखभन्दा अगाडि बेइजिङलाई चिरिच्याट्ट पारेर सिँगार्ने गरिन्छ। अक्टोबर १ तारिख चीनको राष्ट्रिय दिवस हो। सन् १९४९ अक्टोबर १ मा चिनियाँ कम्युनिस्ट पार्टीले सत्ता लिएको दिनलाई चीनमा राष्ट्रिय दिवस मनाइन्छ।
चीनमा राष्ट्रिय दिवसका अवसरमा सप्ताहव्यापी बिदा दिइन्छ। यही अवसरमा बाहिरबाट बेइजिङ घुम्न आउने तथा स्थानीय बासिन्दाको पनि आकर्षक रूपमा सजावट गरिएका चोकमा फोटो र भिडिओ खिच्न भीड लाग्छ।
बेइजिङमा यस्तो सजावट सेप्टेम्बर महिनाको अन्ततिर गरिन्छ। सजावटलाई एक महिना अर्थात् लगभग अक्टोबरभर राखिन्छ। यस्तो सजावट चीनको राष्ट्रिय दिवसबाहेक चिनियाँ नयाँ वर्ष र अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा पनि गरिन्छ।
अनि चीनमा कुनै ठूलो अन्तर्राष्ट्रिय सम्मेलन हुने भएमा सो अवसरमा पनि बेइजिङका चोकहरूलाई सिँगारिन्छ। यस अगाडि बिआरआईको अन्तर्राष्ट्रिय मञ्च, एसिया प्रशान्त आर्थिक मञ्चको शिखर सम्मेलन, हिउँदे ओलम्पिक खेलकुदजस्ता ठूला समारोहको समयमा पनि बेइजिङलाई यसरी चिटिक्क पारिएको थियो।
राष्ट्रिय दिवसको अवसर पारेर सिँगार्न थालेको चाहिँ चालीस वर्ष भइसकेको छ। यस्ता सजावटले चिनियाँ गौरव, चीनको राष्ट्रिय एकता र चीनको प्रगतिको सन्देश बोकेका हुन्छन्। नागरिकहरूमा 'गौरवपूर्ण, उत्साहजनक र शुभ' वातावरण निर्माण गर्नका लागि गरिने सजावटका लागि फूल र वनस्पति प्रयोग गरिन्छ।

यस्ता सजावटले चिनियाँ जनतालाई राष्ट्रिय गौरवको अनुभूति दिलाउनुका साथै पर्यटकहरूलाई आकर्षित गर्ने लक्ष्य राखेको हुन्छ।
पर्यटकका लागि आकर्षण र सहरी सौन्दर्य देखिने यो सजावटका लागि निकै ठूलो योजना र अर्थतन्त्र लुकेको छ। सजावटका लागि हरेक वर्ष छुट्टाछुट्टै थिम/नारा सिर्जना गरिएको हुन्छ। चालु वर्ष सन् २०२६ चीनमा पन्ध्रौं पञ्चवर्षीय योजनाको सुरू वर्ष हो। त्यस कारण यस पटकको सजावटको नारा 'पन्ध्रौं पञ्चवर्षीय योजनातर्फ अग्रसर, नयाँ यात्रामा दृढ कदम' छ।
राष्ट्रिय दिवसका फूल बगैंचाको थिम तय गर्ने काम करिब एक वर्ष अगाडिबाट सुरू हुन्छ र धेरै चरणको छलफल, विशेषज्ञ परामर्श र तहगत स्वीकृतिबाट टुंगो लाग्छ। यो सजावट सकिनासाथ अर्को वर्षको फूल सजावटका लागि डिजाइन टोलीले काम सुरू गर्छ।
थिमका लागि राष्ट्रिय महत्त्वका घटना, नीतिगत दिशा र समाजका चासोका विषयहरू अध्ययन गरेर सामग्री जम्मा गरिन्छ। थिमको दिशा तय गर्न उद्योग विशेषज्ञ, प्रचार विभागका पदाधिकारी, सामाजिक विज्ञान प्रतिष्ठानका विज्ञहरू सम्मिलित हुन्छन्। राष्ट्रिय गतिविधि र जनजीवनका नयाँ परिवर्तनहरू प्रतिबिम्बित गर्ने विषय समेटेर थिमको मुख्य भाव निर्धारण गर्न कम्तीमा एक महिना लगाएर विज्ञहरूसँग धेरै चरणको छलफल गरिन्छ।
त्यसपछि ७० देखि ८० वटा डिजाइन योजना तयार गरिन्छ। ती योजनामा धेरै पटक संशोधन, छनोट र खारेजी हुँदै मूल्यांकन प्रक्रिया अघि बढ्छ। कम्पनीभित्रको आन्तरिक मूल्यांकनपछि बेइजिङ नगरपालिकाको वन तथा हरियाली ब्युरोमा पेस गरिन्छ। ब्युरोले पारित गरेपछि बेइजिङ नगर जनसरकारमा पेस गरिन्छ र पारित गरेपछि सोही अनुसारको सजावट बनाइन्छ।
यो सबै प्रक्रिया पूरा गर्न करिब ५ महिना लाग्छ, जहाँ करिब १०० जना संलग्न हुन्छन्।
तयार भएको थिमले त्यस वर्षको राष्ट्रिय भावना, समाजको परिवर्तन र भविष्यप्रतिको आशालाई फूलहरूमार्फत व्यक्त गर्छ।

सजावटको सबभन्दा ठूलो आकर्षण चाहिँ बेइजिङको केन्द्रमा रहेको थिआनआनमन स्क्वायरको फूलको टोकरी हो। यो विशाल टोकरीलाई चीनमा 'मातृभूमिलाई आशीर्वाद' नाम दिइन्छ।
यस पटकको टोकरीको उचाइ १८ मिटर अग्लो छ। फेदमा ४५ मिटर व्यासको पिओनी फूलको ढाँचा छ। पिओनी फूललाई समृद्धि र वैभवको प्रतीक मानिन्छ।
टोकरीभित्र १५ प्रकारका फूल र ५ प्रकारका फलफूल राखिएका छन्। ढकमक्क फूल र लटरम्म फलले सबैलाई शुभ सन्देश दिएर उत्साह र हौसला थप्छ।
थिआनआनमन स्क्वायर क्षेत्रको पूर्व र पश्चिमपट्टिका दुई चोकमा दस ठाउँमा त्रिआयामिक फूलका बगैंचा बनाइएका छन्। तिनीहरूले चीनको भूत, वर्तमान र भविष्यको कथा बोकेका छन्। रोबोट र रकेट प्रविधिजस्ता राष्ट्रिय समृद्धि र उच्च गुणस्तरीय विकासमा केन्द्रित बिम्बदेखि जनताको सुखद जीवन, ग्रामीण पुनर्निर्माण र पारिस्थितिक सभ्यता झल्किने संकेतहरू पनि सजावटमा समेटिएको छ।
यस वर्षको सजावटमा ५० नयाँ प्रजातिका फूलहरू पहिलो पटक प्रयोग गरिएका छन्। साथै, 'सबै मिलेर फूल रोपौं, हजारौं घरबाट देशलाई शुभकामना' अभियानमार्फत सर्वसाधारण नागरिकले आफ्ना घरमा फुलाएका फूलहरू पनि सडक सजावटमा समावेश गरिएका छन्, जसले जनसहभागितालाई प्रोत्साहित गरेको छ।
सजावटका लागि अधिकांश फूल बेइजिङभित्रैका विशेष उत्पादन आधारबाट आउँछन्। बेइजिङबाहिरका केही प्रान्तबाट पनि ल्याइन्छ।
त्यसैगरी 'हजारौं घर, हजारौं गमला, फूलले मातृभूमिलाई शुभकामना' कार्यक्रममार्फत बेइजिङका सर्वसाधारणले आफै हुर्काएका फूलहरू पनि छनोट गरी यस सजावटमा राखिन्छ। यस पटक सर्वसाधारण नागरिकका एक हजार गमला फूल समावेश छन्।
राष्ट्रिय दिवस त अक्टोबर एक तारिख हो। तर सजावटका लागि महिनौं अथवा एक वर्ष अगाडिदेखि गरिन्छ। राष्ट्रिय दिवस अगाडि फुल्ने फूलका लागि विशेषज्ञहरूले वर्षौं अगाडिबाट फूलका बिरूवा उमार्ने र हुर्काउने काम गरिरहेका हुन्छन्।
यो सजावटको कुल खर्चबारे आधिकारिक रूपमा कुनै जानकारी प्राप्त छैन। सन् २०१३ मा, थिआनआनमन चोकको फूल बगैंचाको मात्र बजेट ५७ लाख चिनियाँ युआनभन्दा बढी भएको चिनियाँ मिडियाले जनाएका थिए। त्यसैगरी सन् २००५ मा थिआनआनमन र आसपासका सबै सजावटको खर्च करिब २० लाख चिनियाँ युआन रहेको बताइन्छ।
बेइजिङमा यस्तो सजावट पहिलो पटक सन् १९५९ मा नयाँ चीन स्थापना भएको दसौं वार्षिकोत्सवका अवसरमा गरिएको थियो। त्यति बेला थिआनआनमन चोक र बेइजिङका मुख्य चोकहरूमा देशभरबाट ल्याइएका दुर्लभ फूल तथा बोटबिरूवाले सजाइएको थियो, जसमा करिब १ लाख गमला फूल प्रयोग गरिएका थिए।


सन् १९५९ पछि केही समय यो क्रम रोकियो। सन् १९८४ देखि भने थिआनआनमन चोकमा हरेक वर्ष नियमित रूपमा फूल सजावट गर्न थालियो। सन् १९८६ मा पहिलो पटक त्रिआयामिक 'थ्रीडी' फूलको संरचना बनाइयो। अहिलेसम्म त्रिआयामिक संरचनाबाट सजावट हुँदै आएको छ।
थिआनआनमन चोकमा विशाल फूलको टोकरी राख्ने सुरूआत सन् २००९ मा भएको हो। यो फूलको टोकरी सबैभन्दा ठूलो र अग्लो चाहिँ सन् २०१३ मा थियो। त्यति बेला टोकरीको उचाइ १८.२ मिटर, टोकरीको मुखको व्यास १५ मिटर र तल्लो फूलको गोलाइ ५० मिटर थियो।
सन् २०२४ को सजावट निकै भव्य थियो। पहिले फूल मात्र प्रयोग हुने सजावटमा उक्त समयमा पहिलो पटक तरकारी तथा फलफूलको टोकरी पनि प्रयोग गरियो।
बेइजिङभरि ६० भन्दा बढी विषयगत फूल बगैंचा बनाइएका थिए र कुल २ करोड १० लाखभन्दा बढी फूल प्रयोग गरिएको थियो।
सन् २०२१ को जुलाई १ तारिख अगाडि पनि थिआनआनमन क्षेत्रमा भव्य सजावट गरिएको थियो। त्यो समय चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकोत्सव थियो। चीनमा भएको एक सय वर्षको प्रगति र उन्नति देखाउने काम सजावटले नै गरेको थियो।
दोस्रो विश्व युद्धमा चीनको जनप्रतिरोध युद्ध र फासिस्टविरोधी विश्वयुद्धको विजयको ८० औं वार्षिकोत्सवका अवसरमा सन् २०२५ मा सबैभन्दा भव्य सजावट थियो। त्यो समयमा थिआनआनमन चोकमा मात्र चार लाख ३० हजार भाँडा फूलहरू राखिएका थिए। उक्त सजावटले गम्भीर र भव्य वातावरण सिर्जना गरेको थियो।
सजावट गर्दा हरेक वर्ष नयाँ प्रयोग र नयाँ डिजाइन गर्ने गरिन्छ। यस पटक पनि विगतमा भन्दा थुप्रै नयाँपन र अनौठा आविष्कार गरिएको छ। यस पटक बेइजिङ सिँगार्न ४५ लाख गमला फूलहरू प्रयोग गरिएका छन्। फूल सजावटको क्षेत्रफल करिब ७,००० वर्गमिटर छ।
थिआनआनमन चोकका दुवै छेउको हरियो भूभागमा फूल राखिएको कुल क्षेत्रफल ५,०५० वर्गमिटर छ, जहाँ १८ वटा फूलका गोला बनाइएका छन्।
यस वर्षको सजावटले केही महत्त्वपूर्ण नयाँ परिवर्तन ल्याएको छ। विगतका वर्षहरूमा फूलको टोकरीको उत्तरी र दक्षिणी भागमा एउटै आकारका फूल र फलहरू राखिन्थ्यो।
यस पटक भने उत्तरी र दक्षिणी भागमा फरक फरक फूल र फलका आकार प्रयोग गरिएका छन्। साथै, उत्तरतर्फ पिओनी र दक्षिणतर्फ गुलाबलाई केन्द्रीय फूलका रूपमा राखिएको छ।

यस वर्ष ५० वटा नयाँ फूलका प्रजातिहरू पहिलो पटक प्रयोग गरिएका छन्। यीमध्ये २२ वटा चीनमै विकसित र २८ वटा विदेशबाट ल्याइएका प्रजातिहरू हुन्।
बेइजिङ कृषि विश्वविद्यालयले विकास गरेको साल्भिया जातको फूल नयाँ प्रजाति हो, जसको 'रातो रिबन' र 'रंगीन घण्टी' पहिलो पटक देखिएका छन्। फूलको टोकरीमा पहिलो पटक पिओनी, नरगिस, गुलाब, आरूका फूल, बदामको फूल, जुही र चिनियाँ गुलाबजस्ता नयाँ फूलहरू समावेश छन्। फलफूलमा पनि स्याउ, अनार, खुर्सानी, अंगुर र आरूजस्ता नयाँ प्रकार थपिएका छन्।
फूल बगैंचाको विषयवस्तुले १५ औं पञ्चवर्षीय योजनातर्फ अग्रसर, नयाँ यात्रामा दृढ कदम प्रतिबिम्बित गर्छ। यसैगरी, फूल बगैंचाहरूमा उच्च गतिका चिनियाँ रेल, पुनः प्रयोग गर्न मिल्ने रकेट र मानव आकारका रोबोटजस्ता आधुनिक प्रविधिका विषय समावेश छन्।
फूलको टोकरीमा त्रिआयामिक प्रिन्टिङ र स्मार्ट सिँचाइजस्ता नयाँ प्रविधि पनि प्रयोग गरिएका छन्। प्राकृतिक रूपमा झैं देखाउन ५ प्रकारका फूल र ४ प्रकारका पातका आकार नयाँ तरिकाले डिजाइन गरिएका छन्।
बेइजिङका सजाइएका यी चोकहरू कति लोकप्रिय हुन्छन् भन्ने कुरा निम्नानुसारका तथ्यांकले पुष्टि गर्छ। चिनियाँ इन्टरनेटमा खोजी गर्दा पाइएको तथ्यांक यस प्रकार छ।
सन् २०२५ को राष्ट्रिय दिवस बिदामा थिआनआनमन क्षेत्रमा दैनिक औसत ४ लाख मानिस पुगेको र यो सामान्य दिनको भन्दा करिब तीन गुणा बढी थियो। थिआनआनमन क्षेत्रमा सबभन्दा बढी पुगेको संख्या चाहिँ ५ लाख २० हजार थियो।
यसैगरी, बेइजिङका ३०८ वटा पार्कहरूमा राखिएका फूलका बगैंचाले पनि ठूलो संख्यामा दर्शक तान्छन्। सन् २०२५ को बिदाको चौथो दिनमा ७ लाख ६३ हजार मानिसले पार्कहरूको भ्रमण गरेका थिए।
ती स्थानमा पुग्ने मान्छेको प्रमुख काम नै फोटो र भिडिओ खिच्नु हो। सिताननमा राखिएको 'भायोलिन बजाउने केटी' फूल बगैंचा यति बेला चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएको छ।
धेरै पर्यटकहरूलाई विशेष रूपमा तानेको र फोटो खिचेर सामाजिक सञ्जालमा हाल्नेको संख्या लाखौं पुगिसकेको छ।

