बेइजिङ डायरी
पुरूषप्रधान समाजमा छोरीभन्दा छोरालाई प्राथमिकता दिने पछौटे सोच अझै छ। तर यो लेखमा मैले मान्छेले होइन, पान्डाले आफ्ना छोराछोरीमाथि कसरी भेदभाव गर्छ भन्नेबारे चर्चा गरेको छु।
पान्डा चीनको राष्ट्रिय जनावर हो। यो जनावरमाथि चीनले एकाधिकार कायम गरेको छ अर्थात् पान्डा चीनमा मात्र पाइन्छ। विश्वका विभिन्न ठाउँमा रहेका पान्डा चीनले महँगो भाडामा दिएको हो।
चिनियाँ राष्ट्रपति सी चिनफिङको अमेरिका भ्रमणलगत्तै गत सेप्टेम्बर २७ तारिख चीनले 'फिङ फिङ' र 'फु शुआङ' नामका दुई वटा पान्डा एटलान्टा चिडियाखानामा पठाएको छ। यी पान्डा १० वर्षसम्म त्यहाँ बस्नेछन्।
चीनले अमेरिकालाई ती पान्डा उपहार दिएको होइन, भाडामा पठाएको हो। यो चीनले अपनाएको पान्डा कूटनीतिको एउटा अंश हो। पान्डा कूटनीतिबारे मैले दुई वर्षअघि लेखिसकेको छु।
गत मे महिनामा म परिवारसँग घुमफिरका लागि चीनको सछ्वान प्रान्तको छङ्तू गएको थिएँ। छङ्तूलाई पान्डाको राजधानी भनिन्छ। त्यहाँ पुगेपछि पान्डा नहेर्ने कुरै भएन।
हाम्रो पर्यटक गाइड तङ मङमङ थिइन्। उनलाई 'मङमङ' भनेर बोलाएको मनपर्दो रहेछ।
उनले अघिल्लो दिन नै भनेकी थिइन्, 'पान्डा हेर्ने हो भने बिहानै जानुपर्छ, उनीहरूको ब्रेकफास्टको समयमा। त्यति बेला पान्डाको चहलपहल मज्जाले हेर्न पाइन्छ।'
हामी बिहान साढे आठ बजे पान्डा प्रजनन तथा अनुसन्धान आधारमा पुग्यौं। त्यहाँ आमा पान्डाहरू आफ्ना बच्चासँग बसेर बाँसका तामा मज्जाले चपाउँदै थिए।
कोही रूखमा चढेका थिए भने कोही फेदमा बसेर खान व्यस्त थिए। बच्चाहरू चकचके हुने नै भए। उनीहरू यताउता गरिरहेका थिए।
त्यहाँको वातावरणभन्दा रमाइलो त मङमङको व्याख्या थियो। उनलाई पान्डाबारे थाहा नभएको कुनै कुरा छैन जस्तो लाग्थ्यो।
चीनको पश्चिममा पर्ने सछ्वान प्रान्तको सदरमुकाम छङ्तूमापान्डा प्रजनन तथा अनुसन्धान आधार छ। सन् १९८७ मा स्थापना भएको यो विश्वप्रसिद्ध केन्द्र पान्डा स्थानान्तरण तथा संरक्षण, वैज्ञानिक अनुसन्धान, प्रजनन, विज्ञान शिक्षा र सांस्कृतिक पर्यटनका लागि परिचित छ।
यसको मुख्य क्षेत्र करिब २.३८ वर्ग किलोमिटरमा फैलिएको छ। यहाँ २७० भन्दा बढीपान्डा छन्। यो विश्वकै सबैभन्दा ठूलो कृत्रिम प्रजननबाट हुर्काइएका पान्डाको जनसंख्या भएको केन्द्र हो।
यहाँ १०० भन्दा बढी पान्डा छन्। नवजात शिशुदेखि वयस्क पान्डासम्म हेर्न पर्यटकको घुइँचो लाग्छ। चीन सरकारले सन् १९८० को दशकमा जंगलमा घाइते, बिरामी र भोकभोकै अवस्थामा फेला परेका पान्डाको उपचार तथा हेरचाह गर्न यो आधार स्थापना गरेको हो।

सुरूमा जंगलबाट उद्धार गरिएका ६ वटा बिरामी र भोकाएका पान्डा यहाँ ल्याइएका थिए। यो गैरनाफामूलक संस्थाका रूपमा सञ्चालन गरिएको थियो। यसको मुख्य उद्देश्य पान्डा लगायत दुर्लभ वन्यजन्तुको संरक्षण, अनुसन्धान र प्रजनन थियो।
आधार स्थापना भएको केही दशकभित्रै यसले पान्डाको संरक्षण र कृत्रिम प्रजननमा विश्वमै अग्रणी प्रविधि हासिल गरेको छ। आज यो कृत्रिम प्रजननबाट हुर्काइएका सबैभन्दा धेरै पान्डा भएको केन्द्र हो। यहाँ २०० भन्दा बढी पान्डा छन्।
सन् २०२२ मा यसलाई विस्तार गरी 'पान्डा आधार विस्तारित क्षेत्र' बनाइएको छ। पहिले ६९ हेक्टरमा फैलिएको क्षेत्र बढाएर २३८ हेक्टर पुर्याइएको छ। नयाँ क्षेत्रमा पान्डाका लागि १३० भन्दा बढी नयाँ बासस्थान थपिएका छन्।
प्रजननका लागि पोथी पान्डा वसन्त ऋतुमा, मार्चदेखि मे महिनासम्म तयार हुन्छन्। पोथी पान्डाले गर्भधारण गर्न सक्ने समय दुईदेखि तीन दिनको मात्र हुन्छ। प्रजनन सफल भएमा पोथी पान्डाले ९० देखि १८० दिनपछि बच्चा जन्माउँछ। सामान्यतया जुलाईदेखि अक्टोबरका बीचमा नयाँ बच्चा जन्मिन्छन्।
प्रजननको समयावधि ९० देखि १८० दिनसम्म हुन्छ भन्ने सुन्दा मलाई निकै अचम्म लाग्यो। यति धेरै फरक कसरी हुन्छ भनेर मैले मङमङलाई सोधेँ। उनले 'गुड क्वेस्चन' भन्दै जबाफ दिइन्।
उनका अनुसार गर्भावस्थाको अवधि ९० देखि १८० दिनसम्म फरक पर्नुको मुख्य कारण 'विलम्बित इम्प्लान्टेसन' हो। निषेचन भएपछि पनि भ्रूण पाठेघरको भित्तामा तुरून्तै टाँसिँदैन। केही समय स्वतन्त्र रूपमा तैरिरहन्छ। यसले गर्दा बच्चा जन्मिने समय अनुमान गर्न कठिन हुन्छ।
पान्डाले सामान्यतया एउटा बच्चा जन्माउँछ। तर कृत्रिम गर्भाधान गर्दा जुम्ल्याहा बच्चा जन्मिने सम्भावना बढी हुन्छ। शिशु पान्डाले माउको दूध कति समयसम्म खान्छ र कहिले दूध खान छोड्छ भन्ने विषयमा पनि मङमङले राम्रोसँग व्याख्या गरिन्।
सामान्यतया शिशु पान्डाले आठदेखि नौ महिनासम्म माउको दूध खान्छ। दूध खान छाडेपछि पनि बच्चा करिब दुई वर्षको उमेरसम्म माउसँगै रहन्छ। माउसँग बस्ने समय बच्चा भाले हो कि पोथी भन्ने कुरामा पनि भर पर्ने रहेछ।
पोथी बच्चा डेढ वर्षमै माउबाट अलग भएर स्वतन्त्र हुन्छ भने भाले बच्चा साढे दुई वर्षको हुँदासम्म माउसँगै रहन्छ।
पान्डाका भाले र पोथी बच्चाबीच यस्तो भिन्नता हुनुको कारण पनि रोचक रहेछ। मङमङले आँखा नचाउँदै पान्डातिर औंल्याएर यसको विस्तृत व्याख्या गरिन्।
उनको भनाइको सार यस्तो थियो—
जंगली अवस्थामा भाले बच्चा आमासँग लामो समय बस्नु र पोथी बच्चा चाँडै छुट्टिनुको पछाडि पान्डाको विकासक्रम, पारिस्थितिक सन्तुलन र प्रजनन रणनीतिसँग सम्बन्धित मुख्य कारण छन्।
पोथी पान्डाले वयस्क भएपछि आफ्नो निश्चित क्षेत्र बनाउँछ र त्यसको रक्षा गर्छ। यदि पोथी बच्चा आमासँगै बसिरह्यो भने उसले खानाका लागि बाँस र बासस्थानमा आमासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ।
साथै, आफ्नै बुबा वा दाजुभाइसँग प्रजनन हुने जोखिम पनि बढ्छ। त्यसैले प्रकृतिले पोथी बच्चालाई चाँडै आमाको क्षेत्र छाडेर नयाँ ठाउँ खोज्न प्रेरित गर्छ। यसले स्वस्थ र विविध वंशाणु कायम राख्न मद्दत गर्छ।
पोथी पान्डाको आफ्नै क्षेत्र सानो र सीमित हुने रहेछ। उसले यो क्षेत्र बच्चा हुर्काउन प्रयोग गर्छ। पोथी बच्चा ठूलो भएपछि पनि आमाकै क्षेत्रमा बस्यो भने आमा र छोरीबीच बाँसका लागि कडा प्रतिस्पर्धा हुन्छ।

भाले पान्डाको हकमा अवस्था फरक हुन्छ। भाले पान्डाको क्षेत्र ठूलो हुन्छ र त्यसले धेरै पोथीका क्षेत्रलाई समेटेको हुन्छ। त्यसैले भाले बच्चा आमाको क्षेत्रमा बसे पनि खानाका लागि आमासँग कडा प्रतिस्पर्धा गर्नुपर्दैन। आमाले पनि भाले बच्चालाई सहजै सहन सक्छे।
पोथी पान्डाले सामान्यतया हरेक दुई वर्षमा एक पटक बच्चा जन्माउँछ। जब आमा फेरि गर्भवती हुन्छे वा नयाँ बच्चा जन्माउने तयारी गर्छे, तब उसले अघिल्लो बच्चालाई आफ्नो क्षेत्रबाट लखेट्न थाल्छे। पोथी बच्चा चाँडै परिपक्व हुने भएकाले पनि आमाले उसलाई चाँडै लखेट्छे।
भाले बच्चा भने शारीरिक रूपमा अलि ढिलो परिपक्व हुन्छ र आमाका लागि कम खतरा हुन्छ। त्यसैले आमाले उसलाई केही समय आफ्नै क्षेत्रमा बस्न दिन्छे।
भाले पान्डाले वयस्क भएपछि अरू भालेसँग प्रतिस्पर्धा गर्न ठूलो र बलियो शरीर बनाउनुपर्छ। यसका लागि उसलाई बढी समय चाहिन्छ। आमासँग बिताएको अतिरिक्त समयले उसलाई बाँस खोज्न, शत्रुबाट बच्न र आफ्नो क्षेत्रको रक्षा गर्न आवश्यक सीप सिक्न मद्दत गर्छ। आमाको संरक्षणमा बसेर उसले शारीरिक रूपमा बलियो बन्ने मौका पाउँछ।
अनुसन्धान आधारहरूमा शिशु पान्डाको हेरचाह गर्नु सबभन्दा जटिल काम हो। पान्डा जन्मिँदा निकै सानो हुन्छ। माउको शरीरको तुलनामा पान्डाको बच्चा स्तनधारी प्राणीमध्ये सबभन्दा सानो हो। जन्मिएका सबै बच्चा बचाउन कठिन हुने भएकाले पनि पान्डा लोपोन्मुख भएको हो।
जन्मिएको सात दिनसम्मका नवजात शिशुलाई कर्मचारीहरूले माउ पान्डाको दूध खान सहयोग गर्छन्। माउ पान्डाले दूध दिन नसकेको अवस्थामा कर्मचारीहरूले आमाको दूध निकालेर कृत्रिम रूपमा खुवाउनुपर्छ।
पान्डासँग घुलमिल हुन कर्मचारीहरूले निकै परिश्रम गर्नुपर्छ। सुरूमा पान्डाकै रङको पोसाक तयार गरिन्छ। ती पोसाक पान्डाको पिसाबमा चोबेर प्राकृतिक गन्ध आउने बनाइन्छ। यस्तो पोसाक लगाएर कर्मचारीहरू हातखुट्टा टेकी पान्डाको नजिक पुग्छन्।
गन्ध र दृश्यका कारण पान्डाले उनीहरूलाई आफ्नै प्रजातिको ठानेर प्रतिक्रिया दिन थाल्छ। त्यसपछि उनीहरूबीच घुलमिल बढ्छ रपान्डासँग मित्रता कायम हुन्छ।
जन्मिएका शिशु पान्डालाई इन्क्युबेटरमा राखिन्छ। त्यहाँको तापक्रम ३५.५ देखि ३६.५ डिग्री सेल्सियस र आर्द्रता ६० देखि ८० प्रतिशत हुनुपर्छ। कर्मचारीहरूले २४ घन्टा पालैपालो शिशुको तापक्रम, श्वासप्रश्वास र मुटुको धड्कन निरन्तर निगरानी गर्छन्।
अत्यन्तै कम तौल भएका, जस्तै ७० ग्रामभन्दा कम तौलका, वा कमजोर शिशुलाई तुरून्तै पूर्ण कृत्रिम हेरचाहमा राखिन्छ।
हेरचाहको पहिलो चरण पूरा भएपछि दोस्रो चरण सुरू हुन्छ। यस चरणमा शिशु पान्डाको आठदेखि १२० दिनसम्मको विकास र आहारमा हुने परिवर्तनको निगरानी गरिन्छ। यो अवधिमा शिशुको शारीरिक विकास तीव्र गतिमा हुन्छ।
त्यसपछि दूध छुटाउने, खानपानको बानी बसाल्ने र सामाजिक व्यवहार सिकाउने चरण सुरू हुन्छ। यसलाई तेस्रो चरण भनिन्छ। यो अवधिमा शिशुले बाँस खान सिक्छ र आमाको दूधमाथिको निर्भरता घट्दै जान्छ। कर्मचारीहरूले शिशु पान्डाहरू बीचको अन्तरक्रियालाई नजिकबाट निगरानी गर्छन्। उनीहरूबीच झगडा भएमा हस्तक्षेप गर्छन् र सामाजिक व्यवहार सिकाउँछन्।
शिशुलाई प्राकृतिक वातावरणको अनुभूति गराउन खोरभित्र बाँसका चिप्लेटी, बाँसका झुला र रूखका प्वालजस्ता संरचना राखिन्छन्। यस्ता संरचनाले शिशुको जिज्ञासा र चञ्चलता बढाउँछन्।
पान्डाका शिशुको हेरचाहको चौथो चरण उनीहरूलाई स्वतन्त्र जीवनका लागि तयार पार्नु हो। एक वर्ष नपुग्दासम्म शिशुले मुख्यतया आमाको दूध खान्छ। एक वर्ष पुगेपछि उनीहरूले आमासँगै अर्धजंगली वातावरणमा खाना र पानी खोज्न, रूख चढ्न र शत्रुबाट बच्न सिक्छन्।
जंगली वातावरणमा बस्न सिकाउने तालिम दुई चरणमा हुन्छ। सुरूमा सानो तालिम क्षेत्रमा आधारभूत सीप सिकाइन्छ। एक वर्ष पुगेपछि दुई हजार वर्गमिटरको ठूलो जंगली क्षेत्रमा थप उन्नत सीप सिकाइन्छ।

अनुसन्धान आधारमा पान्डालाई दैनिक निश्चित तालिका अनुसार खाना दिइन्छ। वयस्क पान्डाले दिनको करिब १० देखि १३ घण्टा खानपानमै बिताउँछ र दैनिक १२ देखि २० किलोग्राम बाँस खान्छ।
बिहान साढे आठ बजे पहिलो मुख्य आहार दिइन्छ। यसमा ताजा बाँस र बाँसको मुना हुन्छ। बिहान १० बजे केही बाँस र एक वा दुई वटा पान्डा केक खाजाका रूपमा दिइन्छ। साढे ११ बजे पान्डा केक, स्याउ र गाजर दिइन्छ।
दिउँसो साढे दुई बजे स्याउका टुक्रा दिइन्छ। साँझ साढे चार बजे दोस्रो मुख्य आहारका रूपमा ताजा बाँस र केही केक दिइन्छ। साँझ पाँच बजे अन्तिम आहारका रूपमा बेलुकाको खाना दिइन्छ।
पान्डाको आहारमा ९९ प्रतिशत बाँस हुन्छ। विभिन्न मौसममा बाँसका फरक फरक भाग खुवाइन्छ। वसन्तमा बाँसको टुसा, गर्मीमा पात र जाडोमा डाँठ दिइन्छ।
पान्डा केक विशेष रूपमा तयार पारिएको पौष्टिक खाना हो। यसमा मकै, भटमास, चामल र गहुँको पिठो, ओट्स, तेल, नुन, क्याल्सियम र भिटामिन मिसाइएको हुन्छ।
यस अनुसन्धान आधारमा गर्भवती पान्डाका लागि छुट्टै ठाउँ छ। पोथी पान्डा गर्भवती भएपछि भालेबाट अलग राखिन्छ। वैज्ञानिकहरूका अनुसार, यसो गर्नुको मुख्य कारण भालेको उपस्थितिले पोथीमा तनाव उत्पन्न गर्ने हर्मोन बढाउन सक्ने जोखिम कम गर्नु हो।
यस्तो तनावले गर्भधारण र भ्रुणको विकासमा नकारात्मक असर पार्न सक्छ। यस अवधिमा भालेलाई पोथीको प्रसूति क्षेत्रमा प्रवेश गर्न पनि दिइँदैन।
गर्भवती पान्डालाई विशेष रूपमा तयार पारिएको एकल कोठामा सारिन्छ। यस्तो कोठा सामान्यतया शान्त, आरामदायक र वातानुकूलित हुन्छ। कर्मचारीहरूले २४ सै घन्टा पान्डाको हेरचाह गर्छन्। यस अवधिमा उनीहरूले पान्डाको व्यवहार र हर्मोनको निरन्तर निगरानी गर्छन्।
पान्डाले गर्भावस्थाका लक्षण देखाएमा, जस्तै प्रसूति कक्षमा गएर बस्ने, बाँस कम खाने वा बढी सुत्ने गरेमा, उसको आहारमा पनि परिवर्तन गरिन्छ। उसलाई उच्च गुणस्तरको बाँस, फलफूल र विशेष पान्डा केकजस्ता पौष्टिक खानेकुरा दिइन्छ।
पान्डाहरू बिहान र साँझ बढी सक्रिय हुन्छन्। बिहान साढे सातदेखि साढे दस बजेसम्म उनीहरू ब्रेकफास्ट गर्ने, रूख चढ्ने र खेल्ने गर्छन्। पर्यटकका लागि पान्डा अवलोकन गर्ने यो सबभन्दा उपयुक्त समय हो।
मध्याह्न ११ बजेदेखि अपराह्न दुई बजेसम्म पान्डाहरू सुत्छन्। अपराह्न तीनदेखि पाँच बजेसम्म उनीहरू फेरि केही सक्रिय हुन्छन्। तर बिहानको तुलनामा कम सक्रिय हुने भएकाले पर्यटकले पान्डा हेर्न बिहानको समय रोज्छन्।