गत सोमबार नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ समूहको दीक्षान्त समारोह थियो।
समारोहमा प्रधानमन्त्री तथा सरोकारवाला अधिकारीहरूकै अगाडि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरीलाई प्रविधिमैत्री, पारदर्शी र पूर्ण व्यावसायिक बनाउनुपर्नेमा जोड दिए।
त्यही समारोहमा प्रधानमन्त्री आउने भएकाले प्रहरी बिहानैदेखि (तीन घण्टा अगाडि नै) सवारी ड्युटीका लागि सडकमा उभिइरहेका थिए। जबकि प्रधानमन्त्रीको सरकारी निवासबाट समारोहस्थल पुग्न पाँच मिनेट मात्रै लाग्छ।
तर पनि विगतमा झैं प्रहरी लगायत सुरक्षाकर्मीको अह्रनखटन उस्तै छ। अझै पनि प्रहरीका कतिपय गतिविधि सेरेमोनियल नै देखिन्छन्।
यस्तो बेला मलाई २३/२४ वर्षअघि जिल्ला प्रहरी कार्यालय, उदयपुर, गाईघाटमा कार्यरत रहँदाको एउटा प्रसंग पुनः स्मरण हुन्छ। माओवादी गतिविधि बढ्दै जाँदा तत्कालीन शाही नेपाली सेनाका सेनामुख निरीक्षणमा आएका थिए।
त्यस बेला तत्कालीन ब्रिगेडियर जनरललाई तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) ले भनेको शब्द अहिले पनि ताजा छ।
तत्कालीन परिस्थिति अनुसार सेनाको माथिल्लो निकायबाट माग गरिए अनुसारको व्यावसायिक कामभन्दा देखावटी तामझाम बढी भएपछि सिडिओले भनेका थिए, 'हजुरहरूको कामभन्दा तामझाम नै बढी।'
उक्त भनाइ सुनेपछि ब्रिगेडियर जनरल केही नभनी मुस्कुराएका थिए।
अब सुरक्षा निकायलाई यस्ता तामझामभन्दा व्यावसायिकतामा जोड दिनुपर्ने देखिन्छ। वास्तवमा प्रहरी प्रमुखले औंल्याएको प्रहरीको पूर्ण व्यावसायिकता आवश्यक मात्र होइन, अत्यावश्यक भइसकेको छ।
सोही समारोहमा प्रधानमन्त्रीले उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार वितरण गर्दै गर्दा प्रशिक्षार्थीको सलाम फर्काउँदै गरेको दृश्य पनि चर्चित बन्यो। फौजी संस्थाहरूमा गरिने सलामीको विशेष महत्त्व हुन्छ र त्यसको आफ्नै प्रक्रिया हुन्छ।
गृहमन्त्री सुधन गुरूङ पहिलो पटक गृहमन्त्री भएका बेला आफ्नो फेसबुकमा सशस्त्र प्रहरीको गारतको सलामीको फोटो पोस्ट्याउँदै लेखेका थिए, 'पिरकेको सलामीको उचाइभन्दा, हातको साथ ठूलो हुन्छ, जहाँ राष्ट्रसेवकको सम्मान हुन्छ, त्यहीँ राज्यको शान हुन्छ। जय देश।'
त्यस बेला उनले प्रहरीले ऐननियममा तोकिएको आफ्नो कामकारबाहीभन्दा पनि अनावश्यक सलामीमा ध्यान दिनुपरिरहेको अवस्थामा गृहमन्त्रीको नजर पुगेको सन्देश दिन खोजेको रूपमा बुझिएको थियो।
बीचमै राजीनामा दिएर बाहिरिएका उनै गुरूङ फेरि गृहमन्त्रीकै रूपमा फर्किएपछि विगतमा दिएको आफ्नो सन्देश याद गरिरहेकै होलान् भन्ने अपेक्षा गर्दै त्यसलाई पुनः स्मरण गराउन मन लाग्यो।
मलाई जहिल्यै एउटा दृश्यले मन कुँड्याउँथ्यो र अहिले पनि कुँड्याउँछ।
भिआइपी (मन्त्री लगायत) हरू आफ्नो अगाडिबाट पास हुँदा ड्युटीमा खटिएका प्रहरीले एकदम सतर्क भएर उनीहरूलाई अभिवादन (सलाम) गर्छन्। तर भिआइपीहरूले प्रहरीको सलाम बेवास्ता गर्दै आफ्नै सुरमा अगाडि बढिरहेका हुन्छन्।
विशेषतः संसद भवन वा मन्त्रिपरिषद बैठकमा भाग लिन आफ्ना अंगरक्षक (सेनाका कनिष्ठ अधिकृत) लाई आफ्नो ब्रिफकेस वा ब्याग बोकाएर भित्र जाँदै गरेका मन्त्रीहरूलाई ड्युटीमा खटिएका प्रहरीले सलाम गर्दा नफर्काइ अगाडि बढिरहेको दृश्य देखिन्छ।
त्यसपछि म यसलाई बेलायतका प्रधानमन्त्री निवासको गेटबाट प्रधानमन्त्री वा मन्त्रीहरू भित्रबाहिर गर्दा ढोकामा ड्युटीमा उभिएका प्रहरीले वास्तै नगरी, अर्थात् अभिवादन नगरी, आफ्नो ड्युटी निर्वाह गरिरहेको दृश्यसँग तुलना गर्छु।
त्यस बेला दुई वटा कुरा मनमा आउँछन्।
पहिलो, सुरक्षाकर्मीले गरेको अभिवादनको बदलामा भिआइपीले पनि अभिवादन फर्काउनु पर्दैन र?
दोस्रो, सुरक्षाजस्तो संवेदनशील ड्युटीमा खटिएका बेला प्रहरीले आफ्नो ड्युटीतिर चनाखो नभई आफ्नै सुरमा हिँडिरहेको भिआइपी (फेरि भिआइपी पनि थोरै भए पो!) लाई सलाम गरिरहनु जरूरी छ? वा यो सान्दर्भिक हो त?
भिआइपी (मन्त्री, सांसद, न्यायाधीश, सचिवहरू) को भीडलाई अनावश्यक सलाम गर्ने परिपाटीले नै होला, उनीहरू आफूलाई भव्य र सुरक्षाकर्मीहरूले आफूलाई दबिएको ठान्ने। यो कुरा सुरक्षाकर्मीको मनोबलसँग प्रत्यक्ष जोडिएको हुन्छ।
यो प्रसंगमा मलाई आजभन्दा ३० वर्षअघि, २०५३ सालमा, हामी नेसनल पुलिस एकेडेमी, महाराजगन्जमा इन्स्ट्रक्टरका रूपमा कार्यरत रहँदाको एउटा घटना स्मरण हुन्छ।
त्यहाँ प्रत्येक हप्ता वरिष्ठ अधिकृतहरूको साप्ताहिक बैठक हुन्थ्यो। एक बैठकमा तत्कालीन प्रहरी निरीक्षक रमेश खरेल (पछि डिआइजी) र एकेडेमीका तत्कालीन प्रमुख (डिआइजी) रामकाजी बान्तवाबीच कुराकानी भइरहेको थियो।
त्यस बेला इन्स्पेक्टर रमेश खरेलले डिआइजी रामकाजी बान्तवालाई प्रश्न राखे, 'सर, आफूभन्दा जुनियर प्रहरीले गरेको सलाम सिनियरले फर्काउनु पर्दैन र?'
जबाफमा डिआइजी (पछि एआइजी) रामकाजी बान्तवाले भने, 'बकाइदा पर्छ। यो सलाम भनेको जुनियरले सिनियरलाई गर्ने मात्र होइन, सिनियरले पनि जुनियरलाई उही शैलीमा गर्ने हो। सलाम फर्काउने भनेको पहिले जुनियरले सिनियरलाई अभिवादन गर्ने हो, त्यसपछि सिनियरले पनि जुनियरलाई अभिवादन गर्ने हो।'
मेरो मनमा सधैं उठिरहने प्रश्न चाहिँ के हो भने— भिआइपीहरू ओहोरदोहोर गरिरहँदा उनीहरू लगायत सर्वसाधारणको सुरक्षाका लागि चनाखो भएर खटिरहेका सुरक्षाकर्मीले आफ्नो काम छाडेर भिआइपीतिर फर्किएर सलाम गरिरहनु सान्दर्भिक छ?
जबकि अधिकांश भिआइपीलाई सुरक्षाकर्मीले गरेको सलाम फर्काउने तरिकासमेत थाहा हुँदैन।
भिआइपीको औपचारिक वा अनौपचारिक सवारी हुँदा सलाम त छँदै छ, त्यसभन्दा बढी सडकमा दिनभरि सुरक्षाकर्मी उभ्याएर आफ्नो बाटो हिँडिरहेका सर्वसाधारणको आवागमन घण्टौं बन्द गरिन्छ। सर्वसाधारण र सुरक्षाकर्मीलाई सास्ती दिइन्छ।
त्यति बेला पनि भिआइपीतिर फर्किएर कतिपय सुरक्षाकर्मी सलाम गरिरहेका हुन्छन्।
भिआइपी सवारीमा खटिएका कतिपय सुरक्षाकर्मी सर्वसाधारणतिर फर्किएका हुन्छन् भने कतिपय भिआइपीतिर। अनि, जब आफ्नो अगाडिबाट भिआइपी पास हुन्छन्, तब सलाम गर्छन्।
अब प्रहरी र गृह प्रशासनले सवारी प्रोटोकलबारे गृहमन्त्रीलाई ब्रिफिङ गरेर समसामयिक सुधार गर्नु अत्यावश्यक भइसकेको छ।
परम्परागत सवारी प्रोटोकल वा सलामी कायम राख्दा त्यो भद्दा, अव्यावहारिक र अव्यावसायिक देखिन्छ। तर सत्तामा हुनेहरूले शक्ति देखाउन मन पराउने सेरेमोनियल प्रवृत्ति परिवर्तन गर्न खोज्दा सत्ताको कोपभाजनमा परिने डर हुन्छ।
त्यसैले सुधारका कुरा गर्न माथिल्लो तहमा पुगेकाहरू र त्यहाँ पुग्न लाइनमा बसेकाहरू धक मान्छन् अर्थात् जोखिम लिन चाहँदैनन्। माथि पुग्ने बाटो बन्द हुँदै गरेका व्यक्तिहरू बोल्न त खोज्छन्, तर उनीहरूको आवाज सम्बन्धित ठाउँसम्म पुग्दैन वा सुनुवाइ नै हुँदैन।
एउटा दृष्टान्त सम्झिन्छु।
२०५३ सालतिर हामी वरिष्ठ अधिकृतहरूलाई तालिम गराउने नेसनल पुलिस एकेडेमीमा थियौं। त्यहाँ एक पटक वरिष्ठ प्रहरी अधिकृतहरू र निजामती प्रशासनका उच्चाधिकारीहरूको सम्मेलन चलिरहेको थियो।
त्यस बेला अन्तरक्रियामा तत्कालीन सहसचिव डा. विमल कोइराला (पछि मुख्यसचिव) सहितको टोली थियो। अन्तरक्रियाकै क्रममा देशमा भ्रष्टाचार र प्रशासनमा राजनीतिक हस्तक्षेप बढेको प्रसंग निस्कियो।
उनले त्यस बेलाका भारतका लोकप्रिय प्रशासक तथा प्रमुख निर्वाचन आयुक्त टी.एन. शेषनको किताबको आधार दिँदै प्रशासनमा कसरी सुधार गर्न सकिन्छ भनेर दृष्टान्त दिइरहेका थिए। त्यहाँ छलफलमा रहेका तत्कालीन डिआइजी रामबहादुर थापाले सुधारका लागि गर्न सकिने केही कडा कुरा राखे।
सबै हाँसे।
त्यसपछि पछाडिको पंक्तिमा बसेका अर्का डिआइजीले छेउमा बसेका अर्का डिआइजीलाई खुसुक्क भने, 'यी बूढा त रिटायर हुने बेला भयो, हामीलाई पनि डुबाउने कुरा गर्दैछन्।'
त्यसो भन्ने डिआइजी पछि आइजिपी भए भने रामबहादुर थापा डिआइजीबाटै अवकाश भए। यसरी राजनीतिक हस्तक्षेपको बिगबिगीमा सुधारका कुरा गर्नु पनि चुनौतीपूर्ण मानिन्थ्यो। अहिले पनि यही परम्पराले निरन्तरता पाएको देखिन्छ।
हुन त नेपालको सेना र प्रहरीका सेरेमोनियल कार्यक्रमहरू ब्रिटिसहरूको सेरेमोनियल प्रोटोकलबाट प्रभावित छन्। अझ भनौं, ब्रिटिसहरूबाटै सिकिएको इतिहास छ। कुनै बेला नेपालका राणा प्रधानमन्त्रीहरू ब्रिटिस भारतको भ्रमणमा जाने बेला होस् वा बेलायत, कति तोपको सलामी दिइन्छ भनेर सोधिन्थ्यो र त्यसपछि मात्र भ्रमणको निर्णय गरिन्थ्यो।
त्यस बेलाका श्री ३ हरू आफ्नो मर्यादाबारे त्यतिसम्म सरोकार राख्थे।
तर ब्रिटिसहरूले आफूलाई समयअनुकूल परिमार्जन गरिसके। हामी भने जहाँको त्यहीँ छौं।
बेलायतकै सिको गरेर सवारी प्रोटोकल बनाइएको हुँदा हाम्रो सवारी वा सलामी प्रोटोकललाई बेलायतसँग दाँजेर हेर्नु सान्दर्भिक होला।
बेलायतमा भिआइपी सवारीमा मोटरसाइकल प्रहरीले स्कर्टिङ गर्छ। पछाडि ब्लू लाइट वा साइरनको व्यवस्था हुन्छ। तर ती अत्यावश्यक परेका बेला मात्र प्रयोग गरिन्छन्।
यहाँको सबभन्दा प्रभावकारी पक्ष भनेको 'रोलिङ रोड ब्लक' प्रणाली हो। अर्थात्, अस्थायी रूपमा केही समयका लागि मात्रै बाटो रोक्ने।
प्रहरीले जङ्क्सनमा उभिएर केहीबेर सवारी रोकी भिआइपीलाई पास गराउँछन् र त्यसपछि बाटो खुला गरिहाल्छन्। यहाँ प्रहरीले सकेसम्म कम अवरोध होस् भन्ने कुरामा ध्यान दिन्छन्।
सवारी लस्कर (कन्भोय) पनि सानो र छिटो गुड्ने प्रकृतिको हुन्छ। माथि भनिएझैं साइरन वा ब्लू लाइट आवश्यक पर्दा मात्र प्रयोग हुन्छ। सर्वसाधारणलाई कमभन्दा कम बाधा पुर्याउने कुरामा सजग भएको पाइन्छ।
नेपालमा भने प्रहरीले धेरै ठाउँमा सम्पूर्ण रूपमा बाटो बन्द गर्छन् र भिआइपी आउँदा लामो समय रोकिन्छ।
यतिसम्म कि, एक पटक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको लाजिम्पाट हुँदै कतै सवारी थियो। लाजिम्पाट चोकको बाटो लामो समय बन्द गरियो। त्यसको असर माथि चक्रपथ (रिङरोड) सम्मै पुग्यो र ट्राफिक जाम भयो। सर्वसाधारण आजित थिए।
त्यसपछि सडकमा रोकिएका सवारी चालकहरूले असन्तुष्टि र विरोधस्वरूप आ-–आफ्ना सवारीसाधनका हर्न बजाए। तैपनि बाटो बन्द नै रह्यो। आजित भएका चालकहरूले ट्राफिक प्रहरी र सुरक्षाकर्मीको आदेश अवज्ञा गर्दै गाडी अगाडि बढाए।
त्यस बेला सुरक्षाकर्मी हेरेको हेर्यै भएको समाचार आएको थियो।
सायद यही कुरा मनन गरेर वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले आफू बहाल भएपछि सर्वसाधारणको आवागमन बन्द नगरी सवारी चलाउने आदेश दिएका थिए।
त्यसैगरी, हामीकहाँ धेरै गाडी र साइरन प्रयोग हुन्छन्। यसले सर्वसाधारणको अनावश्यक चासो बढाउँछ। जबकि बेलायतमा कतिपय भिआइपी सवारी भइरहेको कुरा त्यहीँ हिँडिरहेकालाई समेत थाहा हुँदैन।
यसरी हेर्दा भिआइपी सवारी हुँदा बेलायतमा सर्वसाधारण प्राथमिकतामा हुन्छन्। नेपालमा भिआइपी नै प्राथमिकतामा हुन्छन्। आवश्यकताभन्दा बढी सुरक्षा प्रबन्ध हुन्छ।
नेपालमा सुरक्षा व्यवस्था पनि देखिने किसिमको हुन्छ। अझ ब्यारिकेड, हतियारबन्द सुरक्षाकर्मी र निश्चित प्रकृतिको सेटअपमा सुरक्षा प्रबन्ध गरिन्छ। बेलायतमा इन्टेलिजेन्समा आधारित, सुरक्षा जोखिमअनुसार लचिलो र कम देखिने (लो प्रोफाइल) सुरक्षा व्यवस्थापन देखिन्छ।
देखिने र एकदम कडाइका साथ गरिने सुरक्षा व्यवस्था परिवर्तन गर्न गाह्रो हुन्छ। बेलायतीहरूको भने आवश्यकता अनुसार परिवर्तन गर्न सकिने व्यवस्था छ।
हामीकहाँ भिआइपी सवारीमा सर्वसाधारणलाई धेरै रोकावट हुन्छ। कतिपय अवस्थामा बिनासूचना एक्कासि बाटो बन्द हुन्छ। सूचना र समन्वयको कमी हुँदा सर्वसाधारण आजित भएको देखिन्छ।
बेलायतमा सर्वसाधारणलाई कम असर पार्ने, जनमैत्री दृष्टिकोण अपनाउने तथा पर्याप्त सूचना र समन्वय गर्ने परिपाटी भएकाले सर्वसाधारण धेरै आजित भएको देखिँदैन।
बेलायत सबै मानिस बराबर हुन् र भिआइपीहरू जनताका सेवक हुन् भन्ने मानसिकताबाट निर्देशित छ। नेपालमा पद र स्तर हेरेर सम्मान वा स्थान दिनुपर्छ भन्ने मानसिकता देखिन्छ।
बेलायतमा प्रत्येक दिनजसो विदेशी पाहुना अर्थात् भिआइपीको आगमन भइरहेको हुन्छ। त्यसबारे यहाँ कमैलाई मात्र जानकारी हुन्छ। बेलायत आफ्नो व्यवस्थापनमा यति कटिबद्ध छ कि, भिआइपीले सरकारले तोकेको कार्यक्रमबाहेक अरू कार्यक्रम राखेको अवस्थामा स्कर्टिङ त के, सुरक्षा व्यवस्थासमेत गरिँदैन।
यसको एउटा दृष्टान्त हाम्रै देशका तत्कालीन प्रधानमन्त्री सन् २०२१ अक्टोबरमा बेलायतको ग्लास्गोमा भएको सिओपी–२६ वातावरण सम्मेलनमा भाग लिन आएको बेलाको हो।
ग्लास्गोको सम्मेलन सकेर लन्डन आई नेपाली राजदूतावासमा बसेका प्रधानमन्त्री नजिकै लन्डन घुम्न निस्किँदा दूतावासले सुरक्षाका लागि बेलायती सरकारलाई अनुरोध गरेको थियो।
तर 'यो हाम्रो कार्यक्रमभन्दा बाहिर भएको हुँदा प्रधानमन्त्रीलाई सुरक्षा प्रबन्ध गर्न नसकिने' भन्दै सुरक्षाकर्मी पठाइएन। उनी आफ्नै जोखिममा बाहिर निस्किएका थिए।
यसरी विदेशी राष्ट्रका बहालवाला प्रधानमन्त्रीलाई समेत त्यहाँ विशेष प्राथमिकतामा राखिँदैन।
अब सुधारको आवश्यकता
नेपालमा भिआइपी सवारी सुरक्षा व्यवस्थापन र ड्युटीमा खटिएका सुरक्षाकर्मीले अभिवादन गर्ने प्रणालीमा व्यापक सुधार वा परिवर्तन गर्ने बेला भइसकेको छ।
विभिन्न सन्दर्भमा बहालवाला सुरक्षाकर्मी र गृह प्रशासनका अधिकारीहरूसँग अनौपचारिक कुराकानी हुँदा म यही कुरा भन्थेँ। तर आफू सत्ताबाहिर रहँदा भिआइपी सवारीबाट आजित भएकाहरू आफू भिआइपी बनिसकेपछि उही बाटोमा हिँड्थे! त्यसैले सम्बन्धित गृह प्रशासन र सुरक्षा निकायका अधिकारीहरू पनि यसबारे 'तैँ चुप, मै चुप' को अवस्थामा रहन्थे।
यो परम्पराले निरन्तरता पाइरह्यो, सर्वसाधारणको सास्तीले पनि निरन्तरता पाइरह्यो।
अब सम्बन्धित गृह प्रशासन र सुरक्षा निकाय, विशेषतः प्रहरीले अग्रसरता लिएर पुरानो प्रोटोकल प्रतिस्थापन गर्ने वा परिमार्जन गर्नेतिर लाग्नुपर्छ। हामीले बेलायतकै प्रणाली फोटोकपी गर्ने होइन, हाम्रो सन्दर्भ अनुसार व्यावहारिक र सन्तुलित व्यवस्था गर्न जरूरी छ।
१. सवारीका बेला सर्वसाधारणको आवागमन पूर्ण रूपमा बन्द गर्ने परिपाटी हटाउने— यो अत्यन्त महत्त्वपूर्ण कुरा हो। यसका लागि बेलायतमा जस्तै 'रोलिङ रोड ब्लक' अर्थात् दुईदेखि पाँच मिनेटभन्दा बढी सवारी आवागमन नरोक्ने उपाय अपनाउन सकिन्छ।
अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल) लाई प्राथमिकता दिनुपर्छ। यसो गर्दा जनतामा निराशा र असन्तुष्टि घट्छ अनि सुरक्षा निकाय तथा भिआइपीप्रति पनि सकारात्मक भावना बढ्छ।
२. नियम र मापदण्ड स्पष्ट बनाउने— कसले भिआइपी सुविधा पाउने र कस्तो स्तरको सुरक्षा आवश्यक पर्ने भन्ने स्पष्ट नियममा उल्लेख हुनुपर्छ। यसो भएमा सुविधाको दुरूपयोग कम हुन्छ।
३. गाडीको लस्कर घटाउने— अगाडि र पछाडि गुड्ने गाडीको सीमा तोक्नुपर्छ। चारदेखि ६ वटा प्रयोग गर्न सकिन्छ। त्यस्तै महँगा र ब्याकअप गाडी घटाउन उपयुक्त हुन्छ। रूट अनुसार लचिलो कन्भोय हुनुपर्छ। यसले सवारी र सुरक्षा व्यवस्था चुस्त बनाउँछ। ट्राफिक अवरोध घटाउँछ।
४. जोखिमको स्तर अनुसार सुरक्षा व्यवस्था गर्ने— हामीकहाँ जुनसुकै सवारीमा उस्तै सुरक्षा व्यवस्था छ। जोखिमको स्तर मूल्यांकन गरेर सोही अनुसार सुरक्षा व्यवस्था मिलाउने परिपाटी बसाल्नु उचित हुन्छ।
सबै भिआइपीलाई एउटै स्तरको सुरक्षा दिनु अब सान्दर्भिक छैन। यसका लागि 'थ्रेट असेस्मेन्ट सिस्टम' विकास गर्नु जरूरी छ। अर्थात्, उच्च जोखिममा उच्च सुरक्षा र न्यून जोखिममा न्यून सुरक्षा प्रदान गर्ने प्रणाली लागू गर्नुपर्छ।
५. परम्परागत अभिवादन (सलाम) प्रणालीलाई आधुनिकीकरण गर्ने— नेपालका सुरक्षा निकायमा औपचारिक अभिवादन (सलाम) गर्ने परम्परा छ। आफूभन्दा वरिष्ठलाई जतिखेर भेटे पनि सलाम गर्ने चलन छ। अरू त अरू, काम गरिरहँदाका बीचमा मात्र होइन, खाना खाइरहँदा वरिष्ठ अधिकारी आए भने पनि सलाम गर्नुपर्ने परम्परा छ।
यस सन्दर्भमा म आफू भर्खर प्रहरी निरीक्षकमा उत्तीर्ण भएको र तालिममा जाने तयारी गरिरहेका बेला मेरी १३ वर्षीया बहिनीले हाँस्दै सुनाएको एउटा कथा सम्झिन्छु।
एक दिन गाउँमा प्रहरी गस्ती गर्दै हिँडिरहेका बेला एउटा इनारभित्रबाट 'गुहार, गुहार, मलाई बचाऊ' भन्दै चिच्याएको आवाज सुनियो। प्रहरी जवानले हतारहतार डोरीले तानेर इनारमा डुबेको मान्छेलाई माथि निकाले।
माथि तानिसकेपछि प्रहरी जवानले डुबेको मान्छेलाई चिने। 'ए, इन्स्पेक्टर साब पो रहेछ' भनेर तानिरहेको डोरी छाडेर सलाम गर्दै 'जय नेपाल, सर' भनेछन्। त्यसपछि इन्स्पेक्टर साब फेरि इनारभित्रै!
अब यो कथाजस्तै परिदृश्यबाट बाहिर निस्किनुपर्छ। दैनिक कामका क्रममा सलाम गर्ने चलन हटाउनु वा समयसापेक्ष बनाउन उपयुक्त देखिन्छ।
बेलायतमा म बेलाबखत प्रहरीका सल्लाहकारहरूको बैठकमा जान्छु। त्यहाँ कनिष्ठदेखि वरिष्ठ प्रहरी अधिकृतसम्म, सामान्यतया प्रहरी प्रमुख अर्थात् चिफ कन्स्टेबलसमेत सहभागी हुन्छन्। तर बैठकमा प्रवेश गर्दा समयअनुसार मुखले 'गुड आफ्टरनुन' वा 'गुड इभनिङ' भन्नुबाहेक सलाम गरेको अहिलेसम्म देखेको छैन।
हाम्रोमा यति छिट्टै यस्तो व्यवस्था लागू गर्न गाह्रो होला, तर यसलाई समसामयिक बनाउनु आवश्यक छ। औपचारिक कार्यक्रमहरूमा मात्र सलाम राख्नु उचित होला।
आदरभाव देखाउन सामान्य शारीरिक हाउभाउ अपनाउने परिपाटी सुरू गर्नु पनि ठीक हुन्छ। यसका लागि बेलायतमा हल्का टाउको झुकाउने (हेड नड) चलन छ। हाम्रोमा पनि यो उपयुक्त हुन सक्छ। यसो गर्दा व्यावसायिकता बढ्छ र अनावश्यक औपचारिकता घट्छ।
६. सार्वजनिक सूचना आदानप्रदानमा बढोत्तरी गर्ने— भिआइपी सवारी आवागमनबारे सर्वसाधारणलाई पर्याप्त समयअगावै जानकारी दिन सार्वजनिक सूचना प्रसारण गर्न आवश्यक छ। अहिले यसमा ठूलो खाडल देखिन्छ।
सार्वजनिक सञ्चारमाध्यम वा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषण गर्ने व्यवस्था मिलाउनुपर्छ। वैकल्पिक रूटबारे पनि जानकारी दिनुपर्छ। साथै, ट्राफिक प्रहरीको स्पष्ट निर्देशन हुनुपर्छ। यसले मानिसहरूलाई आफ्नो यात्रा योजना बनाउन सजिलो हुन्छ।
७. समय व्यवस्थापन गर्ने (अफ पिक आवर)— भिआइपी सवारीलाई व्यस्त समय (अफिस आवर) मा नगरी बिहान चाँडो वा बेलुका ढिलो गर्ने हो भने सर्वसाधारणमा पर्ने असर कम हुन्छ।
८. निश्चित र वैकल्पिक रूट व्यवस्था गर्ने— सधैं एउटै मुख्य सडक प्रयोग गर्दा जाम बढ्छ। त्यसैले पहिल्यै तय गरिएको रूट, सम्भव भएसम्म कम भीड हुने सडक र वैकल्पिक रूट खुला राख्ने लगायतका योजना आवश्यक हुन्छन्।
९. प्रविधि प्रयोग गर्ने— सवारी व्यवस्थापनमा समयसापेक्ष प्रविधिको प्रयोग सान्दर्भिक भइसकेको छ। यसमा स्मार्ट ट्राफिक लाइट, रियल–टाइम ट्राफिक अपडेट र जिपिएसमा आधारित समन्वय गर्न सकिन्छ। यस्ता प्रविधिले ट्राफिक अवरोध कम गर्न मद्दत गर्छन्।
संक्षेपमा भन्नुपर्दा, भिआइपीको सुविधाभन्दा जनताको सहजतालाई प्राथमिकता दिने नीतिबाट मात्र भिआइपी सवारी व्यवस्थापनको सन्तुलित समाधान सम्भव हुन्छ।
***
(लेखक शिवजी श्रेष्ठ नेपाल प्रहरीका पूर्वअधिकारी हुन्। उनी हाल ब्रिटिस प्रहरीको ह्याम्पसायर पुलिस कन्स्टेबुलरीका सल्लाहकार छन्।)