डोल्पाको एक गाउँपालिकाले तराईका जिल्लामा पढ्न गएका विद्यार्थी घर फर्काउनका लागि ३० लाख रुपैयाँ रकम छुट्याएको छ।
काइके गाउँकार्यपालिकाको आपत्कालीन बैठकबाट जिल्ला बाहिर पढ्न गएका करिब ३०० विद्यार्थी घर फर्काउनका लागि ३० लाख रकम छुट्याएको हो।
देशव्यापीरूपमा कोरोनाको त्रासका कारण नेपालगञ्ज, काठमाडौँ, पोखरा, सुर्खेतलगायतका जिल्लामा पढ्न गएका विद्यार्थीहरु घर फर्कन चाहेकाले उनीहरुलाई फर्काउनका लागि बैठकबाट रकम छुट्याइएको गाउँपालिकाका अध्यक्ष अङ्गत रानाले जानकारी दिए।
आफू बसेको ठाउँबाट हवाईजहाज वा गाडी जुनसुकै सवारी साधनबाट घर फर्कने विद्यार्थीको भाडा गाउँपालिकाले व्यहोर्ने उनले बताए। विद्यार्थीका लागि छुट्याइएको ३० लाख रकमबाट मास्क, स्यानिटाइजर र साबुन पनि खरिद गर्ने बताइएको छ।