काठमाडौं महानगरपालिकाले इन्धन परिमाण, खाजा खर्च घटाएर तथा भत्ता कटाएर प्रशासनिक खर्च घटाउने निर्णय गरेको छ।
सोमबार महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बसेको खर्च कटौती सम्बन्धी बैठकले यस्तो निर्णय गरेको महानगरले जनाएको छ।
‘महामारीले जनतामा परेको सकसमा बढी खर्च गर्न सकियोस् भनेर यसप्रकारको निर्णय गरेका हौं,’ महानगरद्वारा जारी विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृत अर्यालका भनाइ उद्धृत गरिएको छ, ‘सरकारको खर्च मितव्ययी सम्बन्धी नीति, अन्तिम लेखा परीक्षणका क्रममा महालेखा परीक्षकको कार्यालयबाट प्राप्त सुधार सम्बन्धी सुझाव आधार मानेर हामी खर्च कटौती गर्ने निर्णयमा पुगेका हौंं।’
साउन महिनाबाटै लागू हुने गरी गरिएको निर्णयमा फोहोरमैला व्यवस्थापनमा खटिने चालक र कुचीकार तथा कोरोना नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीलाई महाशाखा प्रमुखको सिफारिसमा सुरू तलब स्केलको ५० प्रतिशत भत्ता दिने र अन्य सबैको भत्ता कटौती गर्ने निर्णय गरिएको छ।
तत्काल देखिएका धेरै खर्च हुने क्षेत्रमा कटौती गरेको साथै आवश्यकता अनुसार मितव्ययी खर्च गरिने महानगरपालिकाले जनाएको छ।
बैठकले साउनबाट प्रमुख प्रशासकीय अधिकृतको मासिक इन्धन १०० लिटर, सहसचिवको ८० लिटर, विभागीय प्रमुख-महाशाखा प्रमुख र महानगरका सवारीका लागि ७० लिटर र मोटरसाइकल प्रयोगकर्ताका लागि १० लिटर पेट्रोल उपलब्ध गराउने निर्णय गरेको छ।
प्रशासन विभाग प्रमुख नमराज ढकालकाअनुसार यसअघि प्रमुख प्रशासकीय अधिकृतका लागि १२० लिटर, सहसचिवका लागि १०० लिटर इन्धन उपलब्ध गराइँदै आएको थियो। यसै गरी विभागीय प्रमुखहरूका लागि ८० लिटर तोकिएको थियो तर थप माग गरेर १०० लिटरसम्म लिने गरेको देखिन्छ।
ढकालका अनुसार अब कुनै सवारीले थप इन्धन लिनु पर्यो भने लगबुक भरेर किलोमिटरका आधारमा मात्र उपलब्ध गराइनेछ।
यसअघि कार्यपालिका बैठकको खाजा खर्च २५० रुपैयाँ थियो। त्यसलाई घटाएर १५० रुपैयाँ कायम गरिएको छ।