चालु वर्षमा झैं स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिनेदेखि भान्छालाई विषादीरहित बनाउने घोषणासहितका कार्यक्रम समेटिएको प्रदेश १ सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ।
नीति तथा कार्यक्रममा अघिल्लो वर्षझैं यसपटक पनि स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ। गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिवद्धता भन्ने मूल नारासहित प्रदेश मातहतका सबै अस्पतालको गुरुयोजना तयार पारिने उल्लेख छ।
अक्सिजन प्लान्ट, सघन उपचार कक्ष, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी र आवश्यक औजार तथा यन्त्र उपकरणसहित मेची अस्पताललाई २ सय, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय-सय तथा अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैयामा स्तरोन्नति गरिने नीति कार्यक्रममा उल्लेख छ। गरिब तथा विपन्न वर्गको उपचारका लागि प्रदेशमा उपचार कोषको उपचार स्थापना गरिने प्रदेश प्रमुख सोमनाथ अधिकारी 'प्यासी'द्वारा पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ।
यस्तै प्रदेशद्वार सञ्चालित कोशी अस्पताल अन्तर्गतको कोभिड-१९ उपचार केन्द्रलाई कोभिडको पूर्ण रोकथाम र नियन्त्रणपश्चात प्रादेशिक प्रसुति तथा स्त्री रोग अस्पतालका रूपमा रूपान्तरण गरिने प्रदेश सरकारको योजना छ। सबै माध्यमिक विद्यालयमा तालिमप्राप्त शिक्षकशिक्षिकाद्वारा किशोरकिशोरीलाई नियमित मनोसामाजिक विमर्श तथा यौन शिक्षा प्रदान गर्न स्थानीय तहसँग समन्वय गर्ने पनि घोषणा गरिएको छ।