प्रदेश २ मा असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिका रोगीलाई सहायता गर्न स्थापना गरिएको मुख्यमन्त्री कोषबाट प्रदेश प्रमुखकी पत्नीले लिएको रकम फिर्ता गरेकी छन्।
सरकारले आर्थिक सहायता उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७६ लाई मिच्दै मन्त्रिपरिषदको बैठकबाट निर्णय गरी प्रदेश प्रमुख हरिशंकर मिश्रकी पत्नी उषा मिश्रलाई दिन काटेको चेक फिर्ता भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ।
स्वास्थ्य उपचारका लागि सरकारले प्रदेश प्रमुखकी पत्नी मिश्रलाई ५ लाख रुपैयाँ दिएको सेतोपाटीमा समाचार प्रकाशन भएपछि उनले रकम फिर्ता गरेकी हुन्। स्रोतका अनुसार प्रदेश प्रमुखको निवासमा लडेर उनलाई समान्य चोट लागेको थियो।
मिश्रको नाममा काटिएको चेक रद्द गर्न मुख्यमन्त्री कार्यालयका सचिव यमप्रसाद भुसालले आइतबार आफुलाई फिर्ता दिएको लेखा अधिकृत दिनेश पण्डितले जानकारी दिए।
‘त्यो चेकको पैसा अफिसको खातामा गइसक्यो। क्याबिनेटबाट पास भएर हामीलाई भुक्तानी गर्न कागज आएपछि शुक्रबार हामीले चेक बनाएका थियौँ,’ उनले भने।
प्रदेश भित्रका असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिको रोग लागेका व्यक्तिलाई जीवनयापन वा औषधी उपचारका लागि प्रदेश सरकारले सहयोगस्वरूप गर्ने आर्थिक सहायताबाट प्रदेश प्रमुखकी श्रीमतीले स्वास्थय उपचारका लागि रुपैँया लिएको समाचार आएपछि समाजिक संजालमा उनको व्यापक आलोचना भएको थियो।
स्रोतका अनुसर समाचार प्रकाशन भएपछि प्रमुख सचिव हरिप्रसाद मैनालीले सचिव भुसाललाई मिश्रको नाममा काटिएको चेक फिर्ता गर्न निर्देशन दिएका थिए।
‘समाचार हेरिसकेपछि प्रमुख सजिवज्यू आफैंले चासो देखाएर चेक फिर्ता गर्न सचिवज्यूलाई निर्देशन दिनुभयो। आज बिहान ११ बजेतिर सचिवज्यूले चेक फिर्ता ल्याएर एकाउन्टेन्टलाई दिनुभयो,’ स्रोतले भन्यो।
यसअघि पनि सरकारले कार्यविधि मिचेर पूर्वमन्त्री, प्रदेशसभा सदस्य तथा नेता निकटस्थ व्यक्तिलाई पैसा दिएपछि आलोचना भएको थियो। यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेशका तत्कालीन पूर्वभौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डिम्पल झा तथा केही सांसदहरूलाई पटक–पटक गरी ५० लाख भन्दाबढी रकम दिएको थियो।
यद्दपी सो रकम फिर्ता गर्न मुख्यमन्त्री कार्यालयले कुनै चासो देखाएन्।
यो पनि: प्रदेश २ मा असहाय र विपन्न कोषको पाँच लाख प्रदेश प्रमुखकी पत्नीलाई दिइयो