नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय पाउनुपर्ने बताएका छन्।
मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकपछि सेतोपाटीसँग कुराकानी गर्दै सरकारमा जान उपप्रधानसहित तीन मन्त्रालय बटमलाइन भएको बताएका हुन्।
यस्तै मुख्यमन्त्रीबारे भने छलफल नै नभएको पनि उनले बताए।
‘सरकारमा जानका लागि उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय हाम्रो बटमलाइन हो। मुख्यमन्त्रीबारे छलफल भएको छैन,’ उनले भने।
यस्तै अर्का एक सचिवालय सदस्यले पनि तीन वटा मन्त्रालय पाउनुपर्ने माग राखेको बताए। विकास र जनसम्पर्कसँग जोडिएका मन्त्रालय आफूहरूले पाउनुपर्ने उनले बताए।
‘हामीले कम्तिमा तीन मन्त्रालय चाहिन्छ भनेका छौं। विकास र जनसम्पर्कसँग जोडिएका मन्त्रालय चाहिन्छ। कुन/कुन भन्ने केही छैन,’ ती सदस्यले भने।
पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार सत्ता गठबन्धनमा अहिलेसम्म मन्त्रालयको भागबन्डा मिलिसकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीको नाम मागेपछि पठाइने पनि उनले बताए।
‘प्रधानमन्त्रीले नाम मागेपछि बैठक बसेर मन्त्री पठाउँछौं। सिट बाँडफाँट नमिलेकोले अहिले मन्त्री छानेका छैनौं,’ केन्द्रीय सचिवालय बैठकपछि प्रवक्ता खतिवडाले भने।
प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९, १४:२३:००