राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंले सरकारसँग आफूहरूका माग पूरा गर्न पुस २ गतेसम्म समय रहेको बताएका छन्।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रसाईंले व्यवस्था परिवर्तन, २० लाख सम्मका ऋण मिनाहा लगायतका मागहरू आफूहरूले प्रस्तुत गरेको र यो माग सरकारले पूरा गर्नुपर्ने बताए।
उक्त मागपत्रलाई अध्ययन गर्न प्रधानमन्त्री कार्कीले पुस २ गतेसम्मको समय माग गरेको उनको भनाइ छ।
‘सर्वदलीय तरिकाले यो व्यवस्था ठीक छ कि छैन भनेर जनमत संग्रहमा जाऔं। जनताले खुशीसाथले भोट हाल्यो भने त सकियो नि त। जनता जनार्दन होनि त। झगडा, आन्दोलन लडाइँ नगर्ने हो भने सबै विषयमा जनमत संग्रहमा जाऔं। यदी पुस २ गतेसम्म डिजिसन दिन सक्नुभएन भने चुनाव हुँदैन। चुनाव त चाहिँदैन हामीलाई,’ उनले भने।
प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले प्रसाईंका मागबारे विस्तृत रूपमा सुनेको पनि उनले बताए।
‘आज समग्र रूपमा हाम्रा मागका विषयमा मजाले सुन्नुभयो। तपाईंका माग जनजीविकापार्जन माग हुन् भन्नुभयो। यी माग भनेका कम्युनिष्टले बोकेर हिँड्ने माग हुन्। तर उनीहरूले यीनै मागहरूलाई भर्याङ बनाएर र यीनै गरिबहरूको लासमाथि टेकेर अर्बौं कमाए,’ प्रसाईंले वार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै भने।
प्रधानमन्त्री कार्कीले पनि पुस २ गते सम्ममा निर्णय दिने बताएको पनि उनले बताए।
‘प्रधानमन्त्रीज्यूले यी कुरा विज्ञसँग बुझ्नपर्छ भन्नुभयो। मैले तपाई एक्जुक्युटिभ पावर एक्सर्साइज गर्ने ठाउँमा हुनुहुन्छ। त्यो ठाउँमा म भइदिएको भए फलानोलाई यस्तो गर्नुस्, फलानोलाई यस्तो गर्नुस्, फलानोलाई यस्तो गर्नुस् भन्थेँ। यस्तो गज्याङगुजुङ गर्न पाइँदैन भनेपछि उहाँले यो सबै कुरा अध्ययन गर्छु र सबैसँग सल्लाह गर्छु। सबै कुरामा म पोजिटिभ छु। म एकदम सकारात्मक छु। आउने पुसको २ गते हामी डिसिजन दिन्छौं भनेको छ,’ उनले भने।
प्रसाईंले भेटको क्रममा प्रधानमन्त्री कार्कीलाई दुर्गाको मूर्ति समेत दिएका थिए।