नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा आफू डडेल्धुराबाट उम्मेदवार हुनेबारे पार्टीका कार्यकर्ताहरूलाई जानकारी दिन थालेका छन्।
गृहजिल्ला डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग आज निवास महाराजगञ्जमा भएको कुराकानीमा पनि सभापति देउवाले आफू अबको चुनावमा डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार हुने कुरा बताएका हुन्।
‘सभापतिज्यूसँग आज कुराकानी गरेको थिएँ, उहाँले अन्तिम पटक म डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्ने पक्षमा छु भन्नुभयो,’ भट्टले सेतोपाटीसँग भने।
भट्टले भने युवाहरूलाई अब पार्टीले अघि बढाउनुपर्ने कुरा राखेका थिए। ‘चुनाव उठ्ने, नउठ्ने कुरा चाहिँ तपाईंले नै निर्णय लिनुहोस्,’ सभापति देउवालाई भट्टले भनेका थिए।
कतिपयले सभापति देउवा अब चुनाव नलड्ने आकलन गर्दै आएका थिए। तर गृह जिल्लाका युवाहरूसँगको भेटमा सभापति देउवाले आफू अन्तिम पटक डडेल्धुराबाट प्रतिनिधि सभा चुनाव लड्न चाहेको र सहयोग गर्न आग्रह गरेका छन्।
सभापति देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा डडेल्धुराबाट निर्वाचित भएका थिए।
हिजोआज कांग्रेसका देशैभरका क्षेत्रीय समितिहरूको बैठक गरेर प्रतिनिधि सभा र राष्ट्रिय सभातर्फ उम्मेदवार हुन चाहेका व्यक्तिहरूको नामावली सिफारिस गर्ने काम भइरहेको छ। डडेल्धुराबाट सभापति देउवाको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गर्ने तयारी छ।
साथै सभापति देउवाले केन्द्रीय समितिले ल्याएको कार्यतालिकाअनुसार पुस २६ गतेदेखि २८ गतेसम्म १५ औं महाधिवेशन हुने कुरा पनि गरेका छन्।
‘उहाँले तोकिएकै समयमा महाधिवेशन हुन्छ भन्नुभएको छ, युवाहरूलाई पार्टीमा र आम निर्वाचनमा अर्थपूर्ण प्रतिनिधित्व गराउन सकारात्मक छु भन्नुभएको छ,’ उनले भने।