भदौ २३ र २४ गते भएको घटनासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको बयान लिने भएको छ।
आयोगले मंगलबार बयान लिनलाई बोलाएको आयोगका प्रवक्ता एवं पूर्वएआइजी विज्ञानराज शर्माले जानकारी दिए।
पछिल्लो केही दिन यता आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल र जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एसएसपी विश्व अधिकारीको बयान लिएको हो।
उनीहरूको बयान सकिएपछि आयोगले सशस्त्रका आइजिपी अर्यालको बयान लिन लागेको हो।
उनको बयान सकेपछि नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीलाई बोलाउने तयारी छ।
त्यसपछि गृहसचिव तहको अधिकृतको पनि बयान लिने आयोगले निर्णय गरेको छ। क्रमश: राजनीतिक तहसम्म बयानमा पुग्ने आयोगको तयारी छ।
तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसम्मलाई बयान लिने गरी आयोगले तयारी गरेको छ। उनीहरूको बयान भने अन्तिम चरणमा हुने देखिएको छ।
यसअघि आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा, डिआइजी ओम राना, फिल्डमा त्यतिबेला खटिएका प्रहरी अधिकृतहरूलाई समेत बोलाएर बयान लिइसकेको छ।