प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरूद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने बताएकी छन्।
भ्रष्टाचारविरूद्धको २२ औं अन्तरराष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले यो सरकार चुनावी सरकार मात्र नभई सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरकार भएको उल्लेख गरिन्।
‘सरकारले नियमित कार्य सँगसँगै सुशासनका निमित्त तीब्र गतिमा काम गरिरहेको छ। जेनजीका माग र अपेक्षा बमोजिमका आशातीत उपलब्धि हासिल हुन समय लाग्ला तर भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि हट्ने छैन। यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेका छन्,’ उनले भनिन्।
साथै उनले भ्रष्टाचारविरूद्ध चालिएका कदमबाट अत्तालिएर कतिपय तत्त्वले प्रत्यक्ष वा परोक्षरूपमा धम्क्याए पनि आफूहरू नडराउने उल्लेख गरेकी हुन्।
सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि कत्ति पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न प्रधानमन्त्रीको आग्रह छ।