नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडेको भन्दै नेताहरूप्रति असन्तुष्टि जनाएका छन्।
भृकुटीमण्डपमा आज बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले केही नेताहरूले अरूका एजेन्डा बोकेको आरोप लगाएका हुन्।
‘आत्मआलोचनाका नाममा अरूका एजेन्डा बोकेर हिँडेका छन्,’ अध्यक्ष ओलीले भने, ‘भदौ २३ र २४ गतेको आन्दोलनपछि कतिपय हाम्रै साथीहरूले तत्कालीन प्रधानमन्त्रीले अध्यक्षबाट पनि राजीनामा दिनुपर्छ भने। यो कुरा विपक्षी दलहरूले भन्न सकेका थिएनन्, मिडियाले पनि भनेको थिएन। अरूका एजेन्डा बोकेर हाम्रै साथीहरू हिँडे।’
यो बैठकमा अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने प्रस्ताव ल्याउने तयारी गरेका छन्। उक्त प्रस्ताव आए वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकट नेताहरूले प्रतिवाद गर्ने तयारी गरेका छन्।
अध्यक्ष ओलीले पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ पुर्याउने गरी प्रस्ताव गर्न लागेको नेताहरूको भनाइ छ।
गत भदौको विधान महाधिवेशनले पदाधिकारी र केन्द्रीय कमिटीको आकार सानो बनाएको थियो। नेताहरू व्यवस्थापन गर्न भन्दै अध्यक्ष ओलीले पदाधिकारी र केन्द्रीय कमिटीको आधार बढाउन लागेका छन्।