इसराइलले गजामा गरेको हवाई हमलामा हमासका वरिष्ठ कमाण्डर मारिएको दाबी गरेको छ।
शनिबार गजामा एउटा कारमाथि हवाई हमला गरी हमासका वरिष्ठ कमाण्डर रायद सइद मारिएको इसराइलले दाबी गरेको हो।
इसराइलका अनुसार सइद सन् २०२३ को अक्टोबर ७ हमासले इसराइलमा गरेको हमलाको मुख्य योजनाकारमध्येका हुन्।
गजामा युद्धविरामपछि कुनै वरिष्ठ हमास नेतामाथि भएको सबैभन्दा ठूलो कारबाही रहेको भनेर सराइलले भनेको छ।
हमासले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाइनसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
इसराइली रक्षामन्त्री इसराइल कात्जले विज्ञप्ती जारी गरी हमासको आक्रमणमा दुई इजरायली सैनिक घाइते भएपछि प्रतिकार स्वरूप हमला गरिएको र त्यसमा वरिष्ठ कमाण्डरको मृत्यु भएको बताएका छन्।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार उक्त आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने कम्तीमा २५ जना घाइते भएका छन्। यद्यपि, हमास वा चिकित्सकहरूले साएदको मृत्यु भएको पुष्टि तत्काल गरेका छैनन्।
इजरायली सैन्य अधिकारीले साएद हमासको उच्च तहका सदस्य भएको र संगठनको हतियार उत्पादन सञ्जाल स्थापना तथा विस्तारमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।
युद्धविरामपछि पनि उनले हमासको सैन्य क्षमता र हतियार उत्पादन पुनःस्थापना गर्ने प्रयास गरेको आरोप इजरायलको छ।
हमास स्रोतहरूका अनुसार साएद सशस्त्र शाखाका दोस्रो कमाण्डर थिए र यसअघि गाजा सिटी बटालियनको नेतृत्व गरेका थिए। उक्त बटालियन हमासको सबैभन्दा ठूलो र सुसज्जित इकाइमध्ये एक मानिन्छ।
हमासले आक्रमणलाई युद्धविराम सम्झौताविपरीत भन्दै निन्दा गरेको छ तर साएद घाइते वा मारिएको भन्नेबारे केही नबताएको र तत्काल प्रतिशोधको चेतावनी पनि नदिएको जनाइएको छ।
गजा युद्ध हमास नेतृत्वमा भएका लडाकुहरूले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इसराइलमा आक्रमण गरी करिब १ हजार २०० जनाको हत्या र २५१ जनालाई बन्धक बनाएपछि सुरु भएको थियो।
त्यसपछि इसराइलले थालेको सैन्य कारबाहीमा ७० हजार ७ सयभन्दा बढी प्यालेस्टिनी मारिएको गाजाका स्वास्थ्य अधिकारीहरूको दाबी छ, जसमा अधिकांश सर्वसाधारण रहेका छन्।
अक्टोबर १० मा लागू भएको युद्धविरामपछि लाखौँ प्यालेस्टिनी गाजा सिटीका भग्नावशेषमा फर्किन सकेका छन्।
इजरायलले सहरभित्रका केही स्थानबाट सेना फिर्ता गरेको र मानवीय सहायता प्रवाह बढेको बताइएको छ।
तर हिंसा पूर्ण रूपमा रोकिएको छैन।
गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार युद्धविरामयता इसराइली आक्रमणमा कम्तीमा ३८६ जनाको मृत्यु भएको छ भने इजरायलले यस अवधिमा आफ्ना तीन सैनिक मारिएको र दर्जनौं लडाकुमाथि आक्रमण गरिएको जनाएको छ।