नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पुरानै विधान कायम गरेर ११औं महाधिवेशनमा जाने प्रस्तावमा छलफल हुँदा विभिन्न कुरा उठे पनि मतान्तर नभएको बताएका छन्।
वरिष्ठ उपाध्यक्ष पद हटाउने तथा अध्यक्ष १ जना, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी तथा पोलिटब्युरो ९९ सदस्यीय र पोलिटब्युरोको एकतिहाइ संख्यामा स्थायी कमिटी बनाउने केन्द्रीय कमिटीको निर्णय सहमतिबाटै भएको उनले बताए।
'यो सैद्धान्तिक प्रश्न नभएर प्राविधिक विषय भएकाले यसरी नै जाऊँ भनेर अध्यक्षले भन्नुभयो,' आइतबार पार्टीको ११औं महाधिवेशन स्थल बाहिर पत्रकारहरूसँग कुरा गर्दै बास्कोटाले भने, 'विभिन्न कुरा उठे तर मत–मतान्तर भने भएन।'
उनले पार्टीको ११औं महाधिवेशनले एकताबद्ध एमाले बनाउने र एमाले सबभदा बलियो शक्ति भएर बाहिर निस्कने दाबी पनि गरे।
'एमाले पार्टी छ्वालीको लौरो होइन, यो बलियो स्टिलको लौरो हो, विविधता बीचको एकता नै एमाले हो,' उनले भने।
गोदावरीको विधान महाधिवेशन र अहिलेको अवस्थामा केही फेरबदल आएकाले व्यवस्थापनको लागि यस्तो निर्णय गरिएको उनको भनाइ थियो।
'संख्या १०औं महाधिवेशनको जस्तै रह्यो, वरिष्ठ उपाध्यक्ष लगायतका केही पदाधिकारीको संख्या घट्यो तर कुल पदाधिकारी संख्या १९ नै रहने भयो,' उनले भने।
बास्कोटाले प्रतिनिधिहरूको सहमतिबाटै नेतृत्व टुंगियोस् भन्ने चाहना रहेको बताउँदै सहमतिका लागि प्रयास हुने उल्लेख गरे। सहमति नभए मतदानबाट निर्णय हुने र त्यसले पनि एमाले पार्टीमा कुनै फरक नपर्ने बास्कोटाको भनाइ छ।
'प्रतिनिधिले गरेको निर्णय सबैले मान्नुपर्छ, मानिन्छ,' उनले भने।
बास्कोटाले आफू केपी ओलीसँग पर नभएको स्पष्ट पार्दै अगाडि भने, 'उहाँ र म एउटै पाटीमा छौँ, कसरी पर हुन्छु? केपी ओली डुब्दा म पनि डुब्छु, म डुब्दा उहाँलाई पनि असर पर्छ, त्यसैले कुनै नेतालाई मैले सिरानी हालेर हिँड्नुपर्ने अवस्था छैन।'
'अधिवेशनमा आगो बलेको बेला धुवाँ आउँछ नि, यसलाई स्वाभाविक रूपमा लिनु पर्छ,' उनले भने।
बास्कोटाले एमाले चुनावबाट नभाग्ने बताउँदै चुनावका लागि वातावरण बनाउन आग्रह गरे। लुटिएका हतियार फिर्ता ल्याउनुपर्ने, एमाले अध्यक्षलाई लगाएको स्थानहद खोलिदिनुपर्ने र राजनीतिक दलहरू सहज रूपमा निर्वाचनमा जाने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।