न्यायाधीश समाज नेपालले न्यायपालिकामाथि पूर्वाग्रहपूर्ण, प्रतिशोधपूर्ण र तथ्यहीन टिप्पणी र आलोचना हुन थालेको भन्दै चिन्ता व्यक्त गरेको छ।
आइतबार विज्ञप्ति जारी गर्दै समाजले न्यायपालिका र न्यायाधीशमाथि पछिल्लो समय भइरहेका टिप्पणी र आलोचना सुधारको भावनाबाट प्रेरित नरहेको भनेको छ।
'प्रणालीगत र व्यक्तिगत रूपमा पनि न्यायपालिकामा केही कमी-कमजोरी रहेको हुन सक्छ तथा ती कमी-कमजोरी सुधार्नुपर्ने पनि होलान्,' विज्ञप्तिमा भनिएको छ, 'सुधार गर्नुपर्ने कर्तव्य र दायित्वबाट न्यायाधीशहरू र न्यायपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरू पन्छिनु हुँदैन भन्नेमा पनि न्यायाधीश समाज विश्वस्त छ। तर जुन किसिमका आलोचना र टिप्पणी आएका छन्, ती टिप्पणी र आलोचना हेर्दा सुधारको भावनाबाट प्रेरित रहेकोभन्दा पूर्वाग्रहपूर्ण, प्रतिशोधपूर्ण र तथ्यहीन रहेको देखिन्छ।'
यस्तो व्यवहारले निष्पक्ष र भयमुक्त वातावरणमा न्याय पाउने हकअधिकार माथि नै खतरा उत्पन्न हुने बताइएको छ।
समाजले न्यायपालिका र न्यायकर्मीमाथि गरिने आलोचना न्यायिक स्वतन्त्रताको प्रवर्द्धनका लागि हुनुपर्ने भनेको छ।
'न्यायपालिका र न्यायकर्मीप्रति आलोचना गर्न नपाइने भन्ने होइन, तर त्यस्तो आलोचना पनि न्यायिक स्वतन्त्रताको प्रवर्द्धनकै लागि हुनुपर्छ। यदि आलोचना गर्ने हो भने न्यायाधीशले अपनाएको प्रक्रिया र निर्णयमा दिइएको कारणमा आधारित हुनुपर्छ। साथै, त्यस्तो आलोचना स्वस्थ र तथ्ययुक्त पनि हुनुपर्छ,' विज्ञप्तिमा भनिएको छ, 'प्रक्रिया र कारणमा गरिने आलोचनाले न्यायिक कारबाहीमा स्वच्छता कायम गर्न मद्दत पुग्छ।'
विज्ञप्तिमा अगाडि भनिएको छ, 'पूर्वाग्रह र प्रतिशोधको भावनाबाट प्रेरित आलोचनाले स्वच्छ र निष्पक्ष ढंगबाट न्याय सम्पादनमा मद्दत पुग्ने नभई न्यायकर्मीहरूमा अनुचित प्रभाव र दबाब बढ्न जाने भई न्याय सम्पादनको कार्यमा थप विलम्ब र अनिश्चितता बढ्ने कुरा बिर्सन हुँदैन।'

