नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीमा नयाँ जीवन ल्याउनका लागि उम्मेदवारी दिन लागेको बताएका छन्।
पाण्डेले सोमबार पत्रकारहरूसँग कुराकानीमा पार्टी भित्र लोकतान्त्रिक विधि र परिपाटी स्थापित गर्नका लागि पनि आफूले उम्मेदवारी दिन लागेको बताएका हुन्।
पाण्डेले संस्थापन इतर पक्षबाट महासचिव पदमा उम्मेदवारी दिँदै छन्।
‘पार्टीमा नयाँ जीवन ल्याउनका लागि, पार्टीको पुनर्गठनका लागि विधि र परिपाटी स्थापित गर्नका लागि, म होइन हामी संस्कृति विकास गर्नका लागि मेरो महासचिवमा उम्मेदवारी दिएको छु,’ उनले भने।
उनले चुनावमा प्रतिस्पर्धा हुने भएसँगै एमालेमा लोकतन्त्र छैन भन्ने भाष्य पनि चिर्ने बताए।
‘एमालेमा लोकतन्त्र छैन, एमालेमा चुनाव हुँदैन, एमालेमा बोल्नै पाइँदैन, सक्कली एमाले प्रतिस्पर्धा, लोकतन्त्रबाट कहिल्यै डराउँदैन भन्ने पनि पुष्टि गर्न चाहन्छु,’ उनले भने।