ईश्वर पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका कृष्णगोपाल श्रेष्ठ तिनै व्यक्ति हुन्, जो लामो समयदेखि केपी शर्मा ओलीका 'डाई हार्ड फ्यान' थिए।
कतिसम्म भने, पार्टीभित्र र बाहिर ओलीको विरोध हुँदा उनी सार्वजनिक रूपले बचाउमा ओर्लिन्थे।
२०७८ सालमा शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीको पक्ष लिँदै उनले दिएको भाषण निकै चर्चित भएको थियो।
उनले त्यति बेला आक्रोशित मुद्रामा पटक पटक भनेका थिए, 'केपी ओलीलाई हटाउने कोही माइकालाल छ?'
उनी यतिमै रोकिएनन्, अगाडि भने, 'केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेले हो।'
तर उनै श्रेष्ठ जारी ११औं महाधिवेशनमा ओली समूह छाडेर उनका प्रतिद्वन्द्वी पोखरेल समूहतिर लागेका छन्। उनले सचिवमा उम्मेदवारी दिइसकेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेका श्रेष्ठ त्यही सम्बन्धका कारण ओलीबाट टाढिएका हुन्।
भण्डारीलाई एमाले सदस्यता नदिएर 'केपी ओलीले अपराध गरेको' भन्दै ओलीकै विरोधी खेमाबाट उम्मेदवारी दिने टुंगोमा पुगेको उनी निकटहरू बताउँछन्।
लामो समयदेखि काठमाडौं उपत्यकामा केन्द्रित रहेर एमाले राजनीति गरेका श्रेष्ठ उपत्यकाका लोकप्रिय नेता पनि हुन्। २०४७ सालयता चार पटक संसद निर्वाचन जितेका उनी छैठौं महाधिवेशनदेखि एमालेका केन्द्रीय सदस्य रहँदै आएका छन्।
उनी पटक पटक मन्त्रीसमेत भइसके। विगतमा स्थानीय विकास राज्यमन्त्री, सहरी विकास मन्त्री स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन वातावरण र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री थिए।
उनी शिक्षामन्त्री हुँदा विवादमा आएका थिए। त्यही बेला त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीको पक्ष लिँदै दिएको भाषण पनि विवादित बनेको थियो।