पदाधिकारी र केन्द्रीय सदस्य संख्या बढाउँदा पनि आकांक्षी व्यवस्थापन गर्न नसकेपछि केपी शर्मा ओली समूहका नेताहरू धमाधम इतर पक्ष र स्वतन्त्र ढंगले उम्मेदवारी दिन थालेका छन्।
भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ मा झार्ने र ३०१ सदस्यीय केन्द्रीय समितिको आकार घटाएर २५१ सदस्यीय बनाउने निर्णय गरेको थियो।
महाधिवेशनको मुखमा ओली पक्षका नेताहरूले पदाधिकारीमा दाबी नछाडेपछि भागबन्डा मिलाउनका लागि आइतबारको केन्द्रीय कमिटी बैठकबाट ओलीले पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटीको आकार पनि ३०१ सदस्यीय नै कायम राख्ने गरी विधान संशोधन प्रस्ताव पारित गराएका थिए।
संशोधित विधानअनुसार पदाधिकारीमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव रहने भएको छ।
आकांक्षीहरूको व्यवस्थापनकै लागि विधान संशोधन गरिए पनि त्यसले ओली पक्षको आकांक्षीहरूको व्यवस्थापन सम्पूर्ण रूपमा हुन नसकेको देखिएको छ।
कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, राजेन्द्र गौतम लगायतले ओली समूहमा स्थान नपाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूह र स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गरेका छन्।
कृष्णगोपालले ईश्वर पोखरेल समूहबाट सचिव पदका लागि उम्मेदवारी दिएका छन्।
श्रेष्ठ तिनै व्यक्ति हुन् जसले पार्टीभित्र र बाहिर ओलीको विरोध हुँदा सार्वजनिक रूपले बचाउमा ओर्लिन्थे।
२०७८ सालमा शिक्षा मन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीको पक्ष लिँदै उनले दिएको भाषण निकै चर्चित भएको थियो।
उनले त्यति बेला आक्रोशित मुद्रामा पटक पटक भनेका थिए, 'केपी ओलीलाई हटाउने कोही माइकालाल छ?' उनी यतिमै रोकिएनन्, अगाडि भने, 'केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेले हो।'
तर उनै श्रेष्ठ जारी ११औं महाधिवेशनमा ओली समूह छाडेर उनका प्रतिद्वन्द्वी पोखरेल समूहतिर लागेका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेका श्रेष्ठ त्यही सम्बन्धका कारण ओलीबाट टाढिएका हुन्। भण्डारीलाई एमाले सदस्यता नदिएर 'केपी ओलीले अपराध गरेको' भन्दै ओलीकै विरोधी खेमाबाट उम्मेदवारी दिने टुंगोमा पुगेको उनी निकटहरू बताउँछन्।
लामो समयदेखि काठमाडौं उपत्यकामा केन्द्रित रहेर एमाले राजनीति गरेका श्रेष्ठ उपत्यकाका लोकप्रिय नेता पनि हुन्। २०४७ सालयता चार पटक संसद निर्वाचन जितेका उनी छैठौं महाधिवेशनदेखि एमालेका केन्द्रीय सदस्य रहँदै आएका छन्।
उनी पटक पटक मन्त्रीसमेत भइसके। विगतमा स्थानीय विकास राज्यमन्त्री, सहरी विकास मन्त्री स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन वातावरण र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री थिए।
उनी शिक्षामन्त्री हुँदा विवादमा आएका थिए।
त्यही बेला त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीको पक्ष लिँदै दिएको भाषण पनि विवादित बनेको थियो।
आफू प्रधानमन्त्री हुँदा ओलीले शिक्षामन्त्री बनाएका रघुजी पन्तले पनि उनको साथ छाडेका छन्।
पन्त ओली समूहबाटै उपाध्यक्षका आकांक्षी थिए। त्यसको सम्बोधन नभएपछि उनले ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमै उम्मेदवारी दिएका छन्। 'मैले उम्मेदवारी दर्ता गरेको छु। उपाध्यक्षमा उम्मेदवारी दिएँ,' पन्तले सेतोपाटीसँग भने
यसअघि प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौतम पनि ओलीका विश्वास पात्र हुन्। सोही आधारमा उनले उपमहासचिव पदमा आकांक्षा व्यक्त गरेका थिए। तर ओलीले बनाएको आफ्नो टिममा गौतम अटाउन सकेनन्।
ओलीको टिममा नपरेपछि गौतमले पनि उनको साथ छाडेर उपमहासचिव पदमै उम्मेदवारी दर्ता गरेका छन्। 'मैले उपमहासचिव पदका लागि उम्मेदवारी दर्ता गरिसकेको छु,' गौतमले सेतोपाटीसँग भने।
अग्नि खरेलले पनि स्वतन्त्र रूपमा सचिव पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता थिए।
सचिव पदका आकांक्षी उनी पनि ओलीको टिममा नअटाएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।
ओली समूहबाट शंकर पोखरेल महासचिव बन्ने निर्णय भएपछि यसअघिका उपमहासचिव प्रदीप ज्ञवाली रूष्ट छन्। ज्ञवाली सुरूवातदेखि नै महासचिवको आकांक्षी थिए।
ओलीले शंकर पोखरेललाई नै महासचिव दोहोर्याएर आफूलाई उपाध्यक्ष बनाएपछि ज्ञवाली रूष्ट हुँदै मनोनयन दर्तास्थलबाटै बाहिरिएका थिए।
उनलाई उपाध्यक्षमै सहमत गराएर उम्मेदवारी दर्ता गर्न विष्णु पौडेलले प्रयत्न समेत गरेका थिए। त्यसका बाबजुद पनि उनी सहमत नभएको ज्ञवाली निकटकै एक नेताले बताए।
ओलीले सोमबार बिहान आफ्नो फाइनल टिम घोषणा गर्दा उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा 'बादल', गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीको नाम राखेका थिए।
महासचिवमा शंकर पोखरेल, उपमहासचिमा रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम समावेश गरेका थिए।
पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराईलाई सचिवको उम्मेदवार बनाएका थिए।
पूर्वमाओवादी पृष्ठभूमिका लेखराज भट्टले आफूलाई सचिवमा राखेपछि उम्मेदवार नै नबन्ने घोषणा गरे।
नेकपा विभाजन हुँदा प्रचण्डको साथ छाडेर उनी ओलीतर्फ खुलेका थिए। पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्जसमेत रहेका उनी यसअघिका पनि सचिव हुन्।
भट्टले उम्मेदवार नै नबन्ने घोषणा गरेपछि उनलाई उपमहासचिव र उपमहासचिवको उम्मेदवार बन्ने टुंगो लागिसकेका भानुभक्तलाई सचिवको उम्मेदवार बनाउने भएपछि मात्रै सहमति जुटेको छ।
ईश्वर पोखरेल समूहले पनि पदाधिकारीमा ओलीतर्फका असन्तुष्ट आकांक्षीहरूलाई टिममा सहभागी गराउने नीति लिएको छ।
भोलि हुने मतदानका लागि सोमबार साँझ ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका छ।