लामो समयदेखि केपी शर्मा ओलीका 'डाई हार्ड फ्यान' भनेर चिनिएका कृष्णगोपाल श्रेष्ठले अब ओलीको अहंकार, दम्भ र घमण्डी प्रवृत्तिले पार्टी चल्न नसक्ने टिप्पणी गरेका छन्।
जारी ११औं महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका श्रेष्ठले नयाँ नेतृत्वसहित पार्टी रूपान्तरण गर्ने उपयुक्त अवसर आएको बताए।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, 'आफूलाई मन परे जे पनि गर्ने र मन नपर्दा योग्य र सक्षम कार्यकर्तालाई पनि लतार्ने र घिसार्ने जुन प्रवृत्ति रह्यो, हाम्रो उम्मेदवारी त्यही प्रवृत्ति विरूद्ध हो।'
'हामी अब नयाँ नेतृत्वमा नेकपा एमालेलाई संस्कारयुक्त बनाउनुका साथै विधि र प्रक्रियासम्मत ढंगले चल्ने पार्टीका रूपमा रूपान्तरण गर्नेछौं,' उनले भने।
उनले अध्यक्षका दाबेदार ईश्वर पोखरेललाई एमाले पार्टी निर्माणका 'आर्किटेक्ट' भनेका छन्।
'तत्कालीन नेकपा मालेबाट आजको एमाले बनाउनमा ईश्वर पोखरेल आर्किटेक्ट हुनुहुन्छ। एमालेलाई यो स्थितिमा ल्याउन उहाँको भूमिका महत्त्वपूर्ण छ,' उनले भने, 'तर उहाँलाई नै जसरी अपमान र उपेक्षा गर्ने काम भयो, यो अहंकार, दम्भ र घमण्डी प्रवृत्तिको विरोधमा हामी उभिएका हौं।'
उनले जारी ११औं महाधिवेशन एमालेका लागि महत्त्वपूर्ण 'टर्निङ प्वाइन्ट' बन्ने र यसका लागि ईश्वर पोखरेल कुशल क्याप्टेन भएको बताए।
कृष्णगोपाल श्रेष्ठ उनै व्यक्ति हुन्, जो कुनै बेला पार्टीभित्र र बाहिर ओलीको विरोध हुँदा उनी सार्वजनिक रूपले बचाउमा ओर्लिन्थे।
२०७८ सालमा शिक्षामन्त्री हुँदा त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीको पक्ष लिँदै उनले दिएको भाषण निकै चर्चित भएको थियो।
उनले त्यति बेला आक्रोशित मुद्रामा पटक पटक भनेका थिए, 'केपी ओलीलाई हटाउने कोही माइकालाल छ?'
उनी यतिमै रोकिएनन्, अगाडि भने, 'केपी ओली इज केपी ओली, केपी ओली फुटबलको पेले हो।'
उनै श्रेष्ठ जारी ११औं महाधिवेशनमा ओली समूहलाई छाडेर उनका प्रतिद्वन्द्वी पोखरेल समूहतिर लागेका छन् र सचिवमा उम्मेदवारी दिइसकेका छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट रहेका श्रेष्ठ त्यही सम्बन्धका कारण ओलीसँग टाढिएका हुन्।
भण्डारीलाई एमालेको सदस्यता नदिएर ओलीले अपराध गरेको भन्दै ओलीकै विरोधी खेमाबाट उम्मेदवारी दिने टुंगोमा पुगेको उनी निकटहरू बताउँछन्।
लामो समयदेखि काठमाडौं उपत्यकामा केन्द्रित रहेर एमाले राजनीति गरेका श्रेष्ठ उपत्यकाका लोकप्रिय नेता पनि हुन्। २०४७ सालयता चार पटक संसद निर्वाचन जितेका उनी छैठौं महाधिवेशनदेखि एमालेका केन्द्रीय सदस्य रहँदै आएका छन्।
उनी पटक पटक मन्त्रीसमेत भइसके। विगतमा स्थानीय विकास राज्यमन्त्री, सहरी विकास मन्त्री स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, श्रम रोजगार तथा सामाजिक सुरक्षा, वन वातावरण र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री थिए।
उनी शिक्षामन्त्री हुँदा विवादमा आएका थिए। त्यही बेला त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ओलीको पक्ष लिँदै दिएको भाषण पनि विवादित बनेको थियो।