नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन सरकारको बजेट भाषणमा 'विकास' र 'समृद्धि' का ठूला कुरा धेरै सुनिए पनि बजेटको प्राथमिकता हेर्दा वास्तविकता निकै फरक देखिएको टिप्पणी गरेका छन्।
विकास आयोजनाहरू विगतभन्दा कम प्राथमिकतामा परेको र साधारण खर्च कटौतीको कुरा गरिए पनि यथार्थमा वृद्धि गरिएको उनको भनाइ छ।
'जेनजी विद्रोहको जगमा बनेको भनिएको सरकारले युवा तथा खेलकुद मन्त्रालयको बजेट समेत कटौती गर्यो। बिदेसिएका नेपालीलाई स्वदेशमै रोजगारी दिने वाचा गर्ने सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट पनि घटायो। कृषि र वन मन्त्रालयको बजेट कटौतीले सरकारको प्राथमिकता उत्पादन वृद्धि र आत्मनिर्भरता होइन, रेमिटेन्समा आधारित अर्थतन्त्र नै हो भन्ने सन्देश दिएको छ,' महासचिव पोखरेलले भनेका छन्।
उनी अगाडि भन्छन्, 'भाषणमा नारा र सपना धेरै सुनिए, तर बजेटले उत्पादन, रोजगारी र युवालाई प्रोत्साहनभन्दा परनिर्भरतालाई बढी प्राथमिकता दिएको देखियो।'
करका दर निर्धारण र राजस्व लक्ष्यबीच कुनै संगति र सन्तुलन नदेखिनुका साथै बजेटले यथार्थता स्वीकार गर्न नसकेको उनको प्रतिक्रिया छ।
भदौ २३ र २४ को विध्वंसका कारण उत्पन्न असुरक्षा र भयलाई सम्बोधन गर्नुपर्ने बेला, शान्ति सुरक्षाको प्रत्याभूति दिने बेला गृहमन्त्रालयको बजेट कटौती गरिएको उनले उल्लेख गरेका छन्।
'शान्ति सुरक्षाको अभावमा न लगानी प्रवर्द्धन हुन्छ, न त रोजगारी सिर्जना नै हुन्छ। तैपनि बजेट भाषणमा सुनिएजस्तै परिणाम पनि त्यस्तै आएको भए कति जाति हुन्थ्यो!' उनले भनेका छन्।