पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालेन सरकारको पहिलो बजेटमा विगतको क्रमभंगता नदेखेको टिप्पणी गरेका छन्।
गाउँको आँगनमा बसेर विद्वान अर्थमन्त्रीको बजेट भाषण सुन्दा निकै रोमाञ्चक अनुभूति भए पनि समग्रमा निरन्तरतामा क्रमभंगता नभएको उनले बताएका छन्।
'शब्द र प्रस्तुति निकै नयाँ र आकर्षक छ। नीतिगत रूपमा नयाँ प्रविधिमैत्री पुस्ता, निजी क्षेत्र, विदेशमा बस्ने नेपाली, कर्मचारी आदिलाई बढी आकर्षित गर्ने खालको पनि छ,' भट्टराई भन्छन्, 'मलाई पनि निजी रूपमा बूढीगण्डकी परियोजना लामो अन्योल र आशंकापछि मैले सुरूमा प्रस्ताव गरेझैं 'अधिकारसम्पन्न प्राधिकरण' मार्फत निर्माण गर्ने कुराले केही सन्तोष दिएको छ।'
'परन्तु गहिराइमा गएर बजेटको समग्र संरचनात्मक ढाँचा ( आय-व्ययको अनुपात, राजस्वको श्रोत, क्षेत्रगत विनियोजन, वित्तीय संघीयता आदि) हेर्दा निरन्तरतामा क्रमभंगता खासै दृष्टिगोचर हुन्न,' उनको भनाइ छ।
'त्यसैले यत्तिकैमा बजेट वक्तव्यमा भनिए जस्तो 'संरचनात्मक सुधारको नयाँ चरण' कसरी पूरा होला र?'