पूर्वअर्थमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले आगामी आर्थिक वर्षका लागि संघीय संसदमा शुक्रबार प्रस्तुत बजेटले तल्लो वर्गलाई उपेक्षा गरेको प्रतिक्रिया दिएका छन्।
वर्तमान संसदमा रहेका एक मात्र पूर्वअर्थमन्त्री पुनले बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै किसान, मजदुर, नवयुवा, तल्लो वर्ग र सुकुम्बासीका लागि बजेटमा आशालाग्दा कार्यक्रम समावेश नगरिएको टिप्पणी गरे।
बजेटमा राज्यका तर्फबाट रोजगारी सिर्जना गर्ने विषयलाई उपेक्षा गरिएको उनको भनाइ थियो।
'समग्रमा मध्यम वर्ग केन्द्रित बजेट आएको छ। तत्लो वर्गका लागि लक्षित कार्यक्रम छैनन्,' पुनले भने, 'मजदुर, किसान, बेरोजगार नवयुवा र सुकुम्बासीहरूका लागि कुनै सम्बोधन गरिएन। रोजगारी सिर्जना गर्ने वा स्वरोजगार बनाउने कार्यक्रम नै छैनन्। रोजगारी दिने जिम्मेवारी सबै निजी क्षेत्रको हो भनेर पन्छिन खोजेजस्तो देखिन्छ।'
पुनले नेपाल टेलिकम र नेपाल वायुसेवा निगम जस्ता नाफामा सञ्चालित सार्वजनिक संस्थानलाई निजीकरण गर्ने नीति लिएकोमा आलोचना गरे।
'नाफामा चलिरहेका कम्पनीको सेयर बिक्री गर्ने भनेको निजीकरणतिर लानु हो, यो ठिक छैन,' उनले भने।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुराना दलमाथि मुलुकलाई ऋणको पासोमा पारेको आरोप लगाउँदै आएको भन्दै बजेटको स्रोतका रूपमा आन्तरिक र वैदेशिक ऋण लिने विषय उल्लेख रहेको बताए।
पुनले आफूले आर्थिक वर्ष २०८०/८१ को बजेटमा समावेश गरेका गण्डकी त्रिभुजलाई चतुर्भुज, कर्णालीलाई जडिबुटीको हब बनाउने भनेकामा कर्णाली चुर्तुज तथा सुदूरपश्चिमलाई धार्मिक पर्यटन हब बनाउने योजनालाई धार्मिक चतुर्भुज नामाकरण गरी बजेटमा ल्याएकामा धन्यवाद दिए।